खेर जाने प्राङ्गारिक पदार्थहरू जस्तैः झारपात, स्याउला, सोत्तर,भान्साको फोहोरमैला, बालीका अवशेषहरू आदिलाई खाल्डो वा थुप्रोमा मिलाएर राखि विघटन गराएर वा कुहाएर बनाइने मललाई कम्पोष्ट मल भनिन्छ । गोठेमल जस्तै यो पनि एउटा महत्वपूर्ण प्राङ्गारिक मल हो । नेपालमा कम्पोष्ट मलका बारेमा बर्षौदेखि जति प्रचार प्रसार गरिएको भए तापनि कुषकहरूले कम्पोष्ट मल बनाई प्रयोग गर्ने गरेको कम नै पाइन्छ । तर, झारपात तथा स्याउलाहरू सङ्कलन गरि गोठमा सोत्तर हाल्ने र गोठेमलको उत्पादन बढाउने चलन भने प्रशस्तै छ । गोठेमल र कम्पोष्ट मल कसरी छुट्याउने भन्ने कुरा तल दिइएको छ ।
गोठेमल
१. गाईवस्तुको मलमुत्रको साथमा विभिन्न प्रकारका सोत्तरहरू मिसाएर बनाइन्छ ।
२. यदाकदा सोत्तर बिनाको पनि गोठेमल बनाईने गरिन्छ । तर, यसलाई पनि गोठेमल नै भनिन्छ ।
३. गोठेमल बनाउने काम गोठको नजिकै हुन्छ ।
४. गोठेमल बनाउन गाईवस्तु पालेकै हुनुपर्दछ ।
कम्पोष्ट मल
१. खेर जाने प्राङ्गारिक पर्दाथहरू जस्तैः झारपात, स्याउला, सोत्तर, भान्साको फोहोरमैला, बालीका अवशेषहरू आदिलाई जोरनसँग मिसाएर वा खाडल थुप्रोमा राखेर
विघटन गराइन्छ ।
२. गोबर वा मुत्र नपाइने स्थानमा भने अन्य जोनहरू जस्तै जङ्गलको माटो, ई.एम आदिको प्रयोगद्वारा पनि कम्पोष्ट मल तयार गर्न सकिन्छ ।
३. आफुलाई पायक पर्ने स्थानमा खाडल वा थुप्रो बनाई यो मल प्रयोग गर्न सकिन्छ ।
४. गाईवस्तु पाल्न नसकिने अवस्थामा वा गोठमेल पु-याउन नसकिने टाढाका स्थानमा त्यही कम्पोष्ट मल बनाउँदा कार्यबोझ घटाउन सकिने हुन्छ ।