बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

चम्सुर खेती प्रविधि

बिहीबार , माघ ४ २०८०
21 views
चम्सुर खेती प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news


चम्सुर सागबालीहरू मध्येको महत्वपूर्ण तथा छिटो तयार हुने बाली हो । यसको खेती काठमाडौँ उपत्यका र पहाडी इलाकामा बढी गरिए पनि नेपालको सबै ठाउँमा यसको उत्पादन गर्न सकिन्छ । यसका कलिला डाँठ र पात सागका रूपमा पकाएर खाइन्छ । चम्सुर स्वादिलो साग भएकोले यसलाई अरुसँग मसलाको रूपमा मिसाएर पनि पकाउन सकिन्छ ।

क्षेत्र               लगाउने समय              बाली लिने समय

तराई            भदौ–पुस                     असोज – माघ

मध्य पहाड     भदौ–माघ                    असोज–चैत

उच्च पहाड     बर्षभरी नै                    बर्षभरी नै

पौष्टिक महत्त्व

यो साग एकदमै पोषिलो हुन्छ । यसमा प्रशस्त मात्रामा फलाम, क्याल्सियम, प्रोटिन र भिटामिन ए र सी पाइन्छ । यसको आयुर्वेदिक महत्व पनि छ ।

हावापानी र माटो

चम्सुरलाई चिसो हावापानी आवश्यक पर्दछ, त्यसैले यसको खेती हिउँदमा गरिन्छ । तर काठमाडौँ उपत्यका सरह हावापानी भएको पहाडी क्षेत्र अथवा यो भन्दा  चिसो ठाउँमा यसको खेती बाह्रै महिना गर्न सकिन्छ । यसको खेती सबै किसिमको माटोमा हुने भए पनि प्राङ्गारिक पदार्थ प्रशस्त भएको दोमट माटोमा उत्पादन राम्रो हुन्छ । नेपालको तराई, मध्य पहाड र उच्च पहाडमा काठमाडौँ स्थानीय जातको चम्सुर लगाइन्छ । यसको हाँगा कम हाल्छ, पात साना तथा तिखा हुन्छ । बीउ छरेको ४५ दिनमा बाली दिन तयार हुन्छ ।

बाली लगाउने तरीका

जमीनको तयारी

जमीनलाई २-३ पटक जोती, डल्ला फोरेर झार हटाई माटो बुर्बुराउँदो पारी राम्रोसँग सम्याउनु पर्दछ । जमीनमा अघिल्लो बालीका अवशेष रहन दिनुहुँदैन । राम्रोसँग पाकेको गोबर मल अथवा कम्पोष्ट पनि माटोमा मिलाउनुपर्दछ । १-१ मिटर चौडाइ तथा आवश्यकता अनुसार लम्बाइ भएका स-साना ड्याङ बनाउनु राम्रो हुन्छ ।

मलखाद व्यवस्थापन
प्रतिरोपनी राम्रोसँग पाकेको ६०० के.जी. गोबर मल अथवा कम्पोष्ट आवश्यक पर्दछ । बीउ एक रोपनीको लागि ५००–७०० ग्राम बीउ पर्याप्त हुन्छ ।

बिउ छर्ने विधि
चम्सुरको बीउ ब्याडमा नराखी सोझै खेतबारीमा छरिन्छ । बीउ छर्ने बेलामा कहीँ बाक्लो कहीँ पातलो हुनुहुँदैन, एकनाशले फिँजाएर छर्नुपर्दछ । बीउ छरेलगत्तै छापो राखी सिँचाइ गर्नुपर्दछ ।

चम्सुरसँग घुसाउन सकिने अन्य बाली
पालुङ्गो, रायो, भान्टा, काउली

सिँचाइ तथा निकास

चम्सुरको बाली अवधि निकै छोटो हुन्छ त्यसकारण माटोको चिस्यान हेरीे आवश्यकता अनुसार सिंचाइ गर्नु पर्दछ ।

गोडमेल

झारपात हटाई एक वा दुई पटक गोडमेल गर्नुपर्दछ । पहिलो गोडमेल सँगै हल्का थप मल पनि दिनुपर्दछ ।

चम्सुरमा लाग्ने मुख्य कीरा तथा रोग

कीरा : लाई र झुसीलकीरा

रोग : जरामा गाँठो पर्ने, सेतो ढुसी

बाली लिने समय

बीउ छरेको करीब २५ देखि ३० दिनमा बाली लिन सकिन्छ । ठूल्ठूला बोट उखेल्नुपर्दछ । ४०-४५ दिनमा पूरै बाली लिन सकिन्छ ।

उत्पादन

जात अनुसार प्रति रोपनी ५००-७०० केजीसम्म उत्पादन गर्न सकिन्छ । उत्पादन धेरै भएमा बजारमा बेचबिखन पनि गर्न सकिन्छ । पहेंला र बूढा पातहरू हटाउने, जरा काट्ने, आवश्यक परे पानीले सफा गर्ने र उपभोक्ताको चाहना अनुसारका मुठा बनाई स्थानीय बजारमा लैजान सकिन्छ । सागजन्य तरकारीहरू जुन दिन टिप्यो त्यही दिन खाने वा बेच्ने गर्नु पर्दछ । तथापि यसलाई रेफ्रिजेरेटरमा राखी (३५ डिग्री फरेनहाइट तापक्रममा) तीन–चार दिनसम्म भण्डारण गर्न सकिन्छ ।

थप समाचार