बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

धानको खैरो फड्के कीरा

बिहीबार , असार ७ २०८१
13 views
धानको खैरो फड्के कीरा

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय :

धानको खैरो फड्‌के धानको प्रमुख शत्रु कीरा हो। यसले धानको पात र आधारमा रस चुसेर खाइ नोक्सानी गर्दछ । धानको फेदमा पानीको सतह माथि बसेको हुन्छ । यसको प्रकोप धेरै भएमा धान बालीलाई पुरे  सखाप पार्न सक्छ । वयस्क फड्‌के कीरा करीब ४ मि.मी. लामो हुन्छ र रंग खैरो हुन्छ। पोथी फड्‌केले पातको आधारमा केराको हाता जस्तो आकृतिका हल्का पहेंला रङ्गका अण्डाहरु झुण्डमा पार्दछ । बच्चाहरु कालो खैरो रङ्गका र खरानी नीलो आँखा भएका र पंखविहीन हुन्छन । यिनीहरु अत्यन्त खन्चुवा हुन्छन् र फेदतिर बसेर रस चुसेर खान्छन्। यिनीहरुको महजस्तो च्यापच्याप लाग्ने विष्टामा कालो ढुसी पनि लाग्ने गर्दछ। उपयुक्त तापक्रम (२५ डिग्री सेल्सियस ) भएको अवस्थामा यो कीराको अण्डाबाट बच्चा फड्‌के कीरा हुन ७ देखि ११ दिन लाग्छ भने बच्चा अवस्था १२ देखि २० दिनको हुन्छ। कीराको जीवनचक्र पुरा हुन १९ देखि ३१ दिन लाग्दछ। वयस्क फड्‌के १०देखि २५ दिन बाँच्छ । 

क्षतिको लक्षण  :
यस कीराको वयस्क तथा बच्चा दुबैले पातको फेदवाट रस चुसेर खान्छन्। जसका कारण शुरुमा तल्ला पातहरु र पछि माथिल्ला पातहरु पहेंला भएर जान्छन्। यसको आक्रमण पछि लागेका बालाहरुमा नभरिएका वा फोस्रा दानाहरु हुन्छन् र उत्पादनमा ह्रास आउँछ । अत्याधिक आक्रमण भएको अवस्थामा पुरे धानका बोटहरु मर्छन जसलाई होपर बर्न भनिन्छ। यस्तो लक्षण चक्ला चक्लामा देखिन्छ। बढ़ि आद्रता, खेतमा पानी, उष्ण वातावरण, पृथक रोपाइ समय भएको क्षेत्र, नाबो धानवाली, अत्याधिक युरिया मलको प्रयोग यस कीराको वृद्धिको लागि उपयुक्त वातावरण हुन् । कीटनाशक विषादीको अनावश्यक र पटक पटकको प्रयोगले मित्र जीवहरु मर्न गई यसको संख्यामा वृद्धि हुन्छ। छोटो समयमै ज्यादै वृद्धि हुने हुनाले यसको र मित्र जीवहरुको धानको फेदमा र पानीको सतहमा हप्तेपिच्छे अवलोकन गरिरहनु पर्छ । यसले घानमा लाग्ने विभिन्न किसिमका भाइरसजन्य रोगहरु सार्ने माध्यमको रुपमा पनि काम गर्दछ।

व्यवस्थापन : 
१) घान वालीमा धेरै मित्र जीवहरु (जस्तैः माकुरा, स्त्री स्वभावको खपटे, मिरिडवग आदि ) ले यसको संख्या कम गरी धानलाई क्षति हुनवाट बचाउँछन् । 
२)  पकेट क्षेत्रमा पृथक पृथक समयमा धानको रोपाइ नगर्ने। सकेसम्म एक दुई हप्ता भित्र सबै ठाउँमा रोपाइ सकाउने। 
३) पहिलेको धानको नाबो हटाउने।
४) रासायनिक मलको सन्तुलित मात्रामा प्रयोग गर्ने ।
५) नाइट्रोजनयुक्त मलको बढी प्रयोग नगर्ने । 
६)  बाक्लो रोपाइ नगर्ने। धानको बेर्ना कम्तिमा २०  २० से. मी. को फरकमा मात्र रोप्ने । धान गजाँउने बेलामा खेतभित्र हावाखेल्ने वातावरण वनाउने । 
७) अनावश्यक रूपमा विषादीको प्रयोग गर्नु हुँदैन। कीराको संख्या एक वटा प्रति सरा र मित्रजीवको संख्या यस भन्दा कम देखिएमा अन्य व्यवस्थापनका उपाय अपनाउनु पर्छ । 
८)  दुइ तिन पटक सम्म खेतमा पानी एक हप्ता राखी त्यस पछि पानी निकास गर्ने र चार पाँच दिन खेत सुख्खा राख्ने गरी सिंचाईको व्यवस्था गर्ने ।
९)  विषादीहरु एजाडीराक्टीन ०.०३ प्रतिशत  वा बुप्रोफेजिन २५ प्रतिशत  एस.सी १.५ इसी २ मिलि वा एसीफेट ७५ प्रतिशत  एसपी २ मिलि मिलि वा फिप्रोनिल ५ प्रतिशत  एस.सी २ देखि ३ मिलि वा इमीडाक्लोप्रीड १७.८ एसएल १ मिलि प्रति ४ लिटर पानीमा कीराको सख्या हेरी एक हप्ताको फरकमा छर्ने। विषादी छर्कदा धानको बिरुवा माथिवाट मात्र होइन, बिरुवाको फेदको भागमा पर्ने किसिमले छर्कनु पर्दछ।

स्रोत : महत्वपूर्ण बालीहरुमा लाग्ने प्रमुख कीरा, पहिचान तथा व्यवस्थापन
बाली संरक्षण प्रयोगशाला ,गण्डकी प्रदेश 

थप समाचार