बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

कसरी गर्ने रातो लट्टे खेती ? यस्ता छन् सजिला तरिका

बिहीबार , असार १४ २०८१
9 views
कसरी गर्ने रातो लट्टे खेती ? यस्ता छन् सजिला तरिका

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय

लट्टेबाली संसारमा पाइने विभिन्न पुराना बालीमध्ये एक हो । महाभारत हिम श्रृङ्खला र मध्य तथा दक्षिण अमेरिकी देशहरुमा परापूर्वकालदेखि नै लट्टेको खेती एवम् प्रयोग हुने गरेको पाइएकाले यो बाली अमेरिका र महाभारत क्षेत्रमा उत्पत्ति भएको मानिएको छ ।

रैथाने बाली भएकै कारणले नेपालका विभिन्न ठाउँमा यसलाई विभिन्न नामबाट चिन्ने गरिएको पाइन्छ । तराई तथा भित्री मधेसमा यसलाई ‘रामदाना भनिन्छ भने पहाडी क्षेत्रमा ‘लट्टेु वा ‘लुँडेु उच्च पहाड र विशेष गरी कर्णाली क्षेत्रमा यसलाई ‘मार्सेु तथा सुदूर पश्चिमको बैतडी, दार्चुलातिर यसलाई ‘बेतु, ‘बेथेु वा चौ’ लाई भन्ने गरिन्छ ।

व्यावसायिक खेती नभएको हुनाले यस बालीको औपचारिक अनुसन्धान पनि भएको पाईदैन । तसर्थ यस्तो पौष्टिकतायुक्त बाली लोप हुने खतरालाई मध्यनजर गर्दै GEF/UNEP को आर्थिक सहयोगमा जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड), नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), कृषि विभाग र बायोभर्सिटि ईन्टरनेशनल मार्फत सञ्चालित स्थानीय बाली परियोजना मार्फत नेपालमा पाईने विविध स्थानीय जातहरुको परीक्षण गरेर स्थानीय स्तरमा राम्रो भएको जातलाई छनौट गरी दर्ताको प्रकृया अगाडि बढाइएको छ ।

उच्च हिमाली जिल्लाहरुको लागि जुम्लामा गरिएको परीक्षण अनुसार रातो मार्से (NGRC 06843) उत्कृष्ट देखिएको हुनाले यसको जातिय दर्ता प्रकृया अगाडि बढाईएको छ ।

महत्व
मार्से एक बहुपयोगी बाली हो । यसको प्रयोग पनि स्थान अनुसार फरक–फरक तरिकाबाट हुने गरेको पाइन्छ । यसका हरिया पात सागको रुपमा प्रयोग गरिन्छ भने दाना भुटेर वा लड्डु बनाएर खाने गरिन्छ ।

उच्च पहाडका जिल्लाहरुमा लट्टेलाई खाद्यान्नका रुपमा प्रयोग गरिने भए पनि तराई तथा मध्य पहाडका जिल्लाहरुमा यसलाई सागको रुपमा खाने चलन बढी छ । अन्य
सागहरु जस्तो प्रचलन तथा प्राथमिकतामा नपरे पनि मार्सेको सागमा विभिन्न पौष्टिक तत्वहरु विशेष गरी खनिज पदार्थहरु (क्याल्सियम र म्याग्नेसियम) प्रचुर मात्रा पाइने भएकाले यो बाली पोषिलो हुन्छ भन्ने कुरा विभिन्न अध्ययनहरुले देखाएका छन् ।

मार्सेका दाना ग्लुटिनरहित भएकाले ग्लुटिन पचाउन नसक्नेहरुका लागि यसको परिकार एकदमै प्रभावकारी मानिन्छ । वानस्पतिक विवरण पराूपर्वकाल देखि नै खेती हुँदै आइरहेको लट्टे/;मार्से Amaranthaceae परिवार अन्तर्गत पर्दछ ।

यस रातो लट्टेको वैज्ञानिक नाम  Amaranthus cruentus L. हो । माटोको उर्वरापन अनुसार मार्सेको बोट २ देखि ३ मि. सम्म अग्लो हुने गर्दछ । जुम्लामा मार्सेको विभिन्न प्रकारका प्रजातिहरुको खेती गरिने भए पनि धेरैजसो रातो मार्से, सेतो मार्से, रातो लडी मार्से र सेतो लडी मार्सेको खेती गर्ने गरिन्छ ।

यी मध्ये पनि उत्पादन तथा उपयोगिताको अधारमा रातो मार्से कृषकहरुले मन पराउने तथा लगाउने गरेको कृषकहरुको सामुहिक छलफलबाट जानकारीमा आएको छ । रातो फूल फुल्ने यस प्रजातिको मार्से कलिलो अवस्थामा हरियो हुने र परिपक्क हुँदै  गएपछि पात तथा डाँठ रातो हुँदै जान्छ ।

हावापानी
- मार्से बालीलाई तराई, मध्य–पहाड र उच्च–पहाडमा फरक– फरक समयमा लगाउने गरिन्छ । जुम्ला जिल्लामा यो बालीलाई बैशाख महिनामा लगाउने गरिन्छ ।

- उत्पादन प्रविधिमा गरिएको एक अध्ययन अनुसार २५ डिग्री सेल्सीयसभन्दा बढीको वायुमण्डलीय तापक्रममा यस बालीले राम्रो उत्पादन दिन्छ भने तापक्रम १८ डिग्री सेल्सीयसभन्दा भन्दा कम भएको अवस्थामा यसको वृद्धि कम हुन्छ । 

बाली प्रणाली
मार्सेखेती अन्य बालीजस्तो छुट्टै बारीमा लगाउने गरिंदैन तर चाहेमा एकल बालीको रुपमा पनि खेती गर्न सकिन्छ ।

सामान्यतया यसलाई अन्य बालीहरुसँग मिश्रित खेतीको रुपमा लगाउने प्रचलन छ । कोदो, कागुनो तथा चिनो लगाएको बारीको डिल वा मिश्रित बालीको रुपमा मार्से
लगाउने गरिन्छ । मुख्य गरेर यस बालीलाई खेतबारीको सिमाना÷आलिमा लगाउने गरिन्छ ।

मार्सेलाई जुम्लामा चोखो बालीको रुपमा लिईन्छ तसर्थ यसको छुट्टै धार्मिक महत्व पनि छ । साथसाथै यो बाली लगाउनाले खेतबारीमा कसैको खराब नजर लाग्दैन भन्ने जनविश्वास पनि रहेको छ ।

जमिन तयारी तथा मलखाद
- मार्सेखेती प्रायः गरेर सीमान्तकृत तथा असिंचित बारीमा लगाउने गरिन्छ । यो बाली लगभग सबै प्रकारको माटोमा गर्न सकिने भए पनि पानी नजम्ने बलौटे दोमट माटोमा राम्रोसँग फस्टाउँछ ।

- यस बालीको खेती गर्दा २–३ पटक जोतेर डल्ला फुटाई माटो बुर्बुराउँदो बनाउनुपर्दछ ।

- मार्सेखेती गर्दा मल हाल्ने प्रवृति खासै नभए पनि प्रति रोपनी ३० देखि ४० डोका वा १–१.५ टन राम्रोसँग पाकेको गोठेमल प्रयोग गर्दा राम्रो उत्पादन लिन सकिन्छ ।

बीउदर तथा लगाउने तरिका
- मार्सेका दाना मसिनो हुने भएकाले यसको बीउलाई खरानीमा मिसाएर १०० ग्राम प्रतिरोपनीका दरले छर्नुपर्दछ ।

- यसलाई लाइनमा छर्ने हो भने एक लाइनदेखि अर्को लाइनको दूरी ५० से.मी. राख्दा उपयुक्त हुन्छ । बीउ छरेको ३–४ हप्ताभित्र बाक्ला भएका बिरुवा उखेलेर १५–२० से.मी. दूरी कायम गर्न सकिन्छ ।

- यदि लाइन नमिलाई छर्ने हो भने पनि यसै गरी बाक्लो भएको विरुवा उखेलेर बोटदेखि बोटको दूरी कायम गर्दा राम्रो हुन्छ । उक्त उखेलेको विरुवालाई पातलो भएको स्थानमा रोप्न पनि सकिन्छ वा उक्त कलिलो बोटलाई सागको रुपमा प्रयोग गर्न पनि सकिन्छ ।

गोडमेल
पाखोबारीमा खेती गरिने भएको हुनाले यस बालीमा विभिन्न प्रकारका झारपात आउनु
स्वाभाविकै हो । तसर्थ बारीमा झारपात देखिने बित्तिकै कुटो वा हातले समयमा नै उखेलेर फालिहाल्नु पर्दछ, अन्यथा बालीले झारपातसँग पौष्टिकता तथा चिस्यानको लागि संघर्ष गर्नुपर्ने हुन्छ जसले गर्दा उत्पादनमा कमी आउन सक्दछ ।

बिरुवा लगभग ३०–४० से.मी. अग्लो हुनासाथ वरिपरि माटोले उकेरा दिनु पर्दछ यसबाट विरुवा धेरै अग्लो भए पनि ढल्ने समस्यामा कमी आउँछ ।

बेजात हटाउने (बीउ प्रयोजनको लागि)
- बीउ–उत्पादनको लागि खेती गरिएका स्थानमा फूल फुल्ने र पाक्ने समयमा कम्तीमा २ पटक निरीक्षण गर्नुपर्दछ ।

- आफ्नो लागि वा थोरै मात्रामा बीउ–उत्पादन गर्ने हो भने ठूला, आकर्षक, स्वस्थ र एकैनासे बोटहरु आवश्यक मात्रामा छनौट गर्न सकिन्छ तर धेरै बीउ–उत्पादनको लागि भने झारपातहरु, अन्य बालीका बोटहरु, रोगी बोट, छिटो– छिटो फुल्ने तथा फरक रङका बोटहरु र बेजातका बोटहरु सबै हटाएर बाँकी बोटहरुबाट मात्रै बीउ लिनुपर्दछ ।

उत्पादन तथा भण्डारण
- फूल फुलेको करिब एकदेखि डेढ महिनामा मार्सेबाली काट्नको लागि तयार हुन्छ ।

- उक्त कुरा फूल तथा बोटमा आएको रङ परिवर्तनबाट पनि थाहा पाउन सकिन्छ ।

- बाहिरबाट हेरेर बाली तयार भएको थाहा पाउन निकै कठिन हुने यस बालीको एकदुई बोटलाई हल्का हल्लाउँदा हातमा दाना आए भने बाली तयार भएको भन्ने बुझ्नुपर्दछ ।

- यो बाली पाकिसकेपछि काटेर जतिसक्दो छिटो चुटेर दानाहरु झारिसक्नुपर्दछ ।

- यदि झार्न ढिला भएमा राखेको ठाउँमा नै झरेर क्षति पुग्न जान्छ र फूल सुकिसकेपछि यसको फुलले घोच्ने हँुदा बाली चुट्नमा असहजता हुन्छ ।

स्रोतः कृषि ज्ञान केन्द्र, म्याग्दी

थप समाचार