बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

हरियो धनियाँको राम्रो खेती कसरी गर्ने ?

शनिबार, असार २३ २०८१
16 views
हरियो धनियाँको राम्रो खेती कसरी गर्ने ?

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय
धनिया मसला तथा जडीबुटीका लागि उत्पादन गरिने एक वर्षीय झार समूहको बाली हो। यसलाई अङ्ग्रेजीमा कोरिएन्डर भनिन्छ। यो  Apiaceae अथवा Umbelliferae परिवार अन्तर्गत पर्दछ ।

यसका दुई प्रजातिहरू पाइन्छन् । व्यवसायिक रूपमा खेती गरिने प्रजाति कोरीयन्ड्रम सेटीभम् ( Coriandrum sativum L.) हो भने अर्को प्रजाति कोरीयन्ड्रमटोडर्डीलीयम  (Coriandrum tordylium) हो, जसलाई जंगली धनिया वा वन धनिया पनि भन्ने गरिन्छ।

धनिया विशेषतः हरिया पात तथा दाना (बीड) को मसलाजन्य प्रयोजनका लागि उत्पादन गरिन्छ। यसको पात, डाँठ, जरा तथा फलमा सुगन्धित बासना हुन्छ।

कोरीयन्ड्रम सेटीभम् ( Coriandrum sativum L.)  को बोट नरम प्रकृतिको करिब ५० से.मी. सम्म अग्लो हुन्छ । यसमा खानालाई संरक्षण गर्ने विभिन्न किसिमका रसायानिक तत्वहरू (Preservatives) पाइन्छन् ।

धनियाको उत्पति भूमध्यसागरीय (Mediterranean)  क्षेत्रमा भएको मानिन्छ। विश्वमा सबैभन्दा बढी धनिया उत्पादन गर्ने देश भारत हो भने मोरोक्को, रोमानिया, बल्गेरिया, फ्रान्स, स्पेन, इटाली, क्यानडा आदि देशहरूमा यसको व्यवसायिक खेती गरिन्छ ।

नेपालमा आ.व. २०७५/७६ मा ९६ हेक्टर जमिनमा धनिया खेती गरि करिब ७५७ मे.टन, धनियाको पात उत्पादन भएको तथ्यांक छ भने व्यवसायिक रूपमा धनियाको दाना उत्पादनको आधीकारीक तथ्यांक छैन। नेपालमा आ.व. २०७५/७६ मा करिब ९ करोड बराबरको ४०७.७ मे.टन. धनियाको दाना (सङ्घलै धुलो) आयात भएको तथ्यांकले देखाउँछ ।

प्रयोग र महत्व
धनिया मुख्यतया हरिया पात तथा बीउ (दाना) को मसलाजन्य प्रयोगका लागि उत्पादन गरिन्छ । धनियाको पातमा भिटामिन ए, भिटामिन सि, भिटामिन के का साथै खनिज समेत पाइन्छ ।

धनियाको दानामा पातको तुलनामा भिटामिनको मात्रा कम भएतापनि दानामा प्रशस्त मात्रामा फाइबर, क्याल्सीयम, फलाम, म्यागनेसियम तथा म्यान्नगेनिज पाइन्छ ।

यसको दाना विभिन्न आर्युवेदिक औषधि बनाउन प्रयोग हुन्छ भने हाल केही अनुसन्धानले यसको दाना शरीरमा रक्तचाप तथा कोलेस्ट्रोल नियन्त्रण गर्न समेत उपयोगी हुने तथ्य देखाएको छ ।

धनियामा ०.१% देखि १% सम्म वाष्पशील आवश्यक तेल (Volatile Essential Oils) हुने गर्दछन् जसमाढुसीरजीवाणु अवरोध कर एन्टी अक्सीडेन्ट गुण हुने भएकाले विभिन्न खाद्य पदार्थ संरक्षण गर्न र पेय पदार्थमा समेत यसको प्रयोग गर्ने गरिन्छ । संयुक्त राष्ट्रसंघको कृषि विभाग (USDA) का अनुसार धनियामा पाइने विभिन्न तत्वहरूको विवरण निम्नानुसार छ।

1.jpg
448693066_1994902717632798_2104463974290829777_n.jpg

हावापानी
धनिया उष्ण हावापानीमा हुने बाली हो। यसलाई चिसो तथा सुक्खा तर तुषारो नपर्ने मौसम आवश्यक पर्दछ । विशेष गरि फूल फुल्ने र दाना लाग्ने समयमा यसले तुषारो सहन सक्दैन ।

बीउ लाग्ने बेलामा तापक्रम उच्च भएमा वा तेज हावा लागेमा उत्पादन घट्नुका साथै बाँझोपनाको समस्या देखिन्छ ।

माटो
धनिया प्राङ्गारिक पदार्थ प्रशस्त मात्रामा भएको दोमट माटोमा राम्रो उत्पादन हुन्छ। यसका लागि माटोको पी.एच. मान ४-६ उपयुक्त हुन्छ। धनिया खेतीका लागि क्षारीय तथा लवण माटो उपयुक्त माँनिदैन ।

धनिया लगाउने समय
धनिया तराई र मध्य पहाडमा असोजदेखि मङ्सिरसम्म लगाइन्छ भने उच्च पहाडमा फाल्गुणदेखि वैसाखसम्म लगाइन्छ । यद्यपी चिसो रहने तर तुषारो हिउँ नपर्ने ठाउँमा बाहँ महिना यसको खेती गर्न सकिन्छ ।

जातहरू
नेपालमा हालसम्म धनियाको कुनै जात उन्मोचन भएको छैन। नेपालमा धनिया खेतीका लागि पंजीकृत गरिएका जातहरूको विवरण यसप्रकार रहेका छन् :

448796667_497373396080009_5792818936042046961_n.jpg

धनिया खेती गर्ने तरिका

जग्गाको तयारी तथा प्रसारण
धनिया खेतीका लागि जमिनलाई दुई देखि तीन पटकसम्म खनजोत गरी माटोलाई बुर्बुराउँदो बनाउनुपर्दछ । धनियालाई बीउबाट प्रसारण गरिन्छ । सिंचित क्षेत्रका लागि १२-१५ कि.ग्रा. प्रति हेक्टर र असिंचित क्षेत्रका लागि २५-३० कि.ग्रा. प्रति हेक्टर बीउको आवश्यकता पर्दछ।

बीउ छर्नु भन्दा एक दिन अगाढी बीउलाई दुई भागमा फोरेर पानीमा भिजाउनु पर्दछ। लुसीको प्रकोप हुने ठाउँमा प्रति कि.ग्रा. बीउलाई १ ग्राम कार्बेन्डाजिनले बीउ उपचार गर्नु पर्दछ। धनियाको बीउलाई प्राय जसो सिधै जमिनमा छरिन्छ।

यसलाई हलोको पछाडी रोप्न पनि सकिन्छ। यसो गर्दा बोटदेखि बोटको दूरी ३०-४० से.मी. र हार देखि हारसम्मको दूरी १० से.मी. कायम गर्नु पर्दछ। दुवै तरिकाबाट बीउ प्रसारण गर्दा बीउलाई ४ से। मी। भन्दा बढी गहिराइमा रोप्नु हुँदैन।

मलखाद र सुक्ष्म तत्व
- जमिन तयारी गर्ने बेलामा राम्रोसँग पाकेको १०-२० टन गोबर वा कम्पोस्ट मल प्रति हेक्टर माटोमा मिलाउनु पर्दछ ।

- धनियाका लागि १२० कि.ग्रा. यूरिया, १२० कि.ग्रा. डि.ए.पी. र ६० कि.ग्रा. पोटाष प्रति हेक्टर आवश्यक पर्दछ।

यसरी रसायानिक मल प्रयोग गर्दा यूरिया १/२ भाग, डी.ए.पी. र पोटाषको पूरा मात्रा जमिन तयारी गर्दा र यूरिया को १/२ भाग पहिलो पटक गोडमेल गरिसकेपछि राख्नुपर्दछ ।

गोडमेल, सिचाइ तथा पानीको निकास
झारपात नियन्त्रण झारको अवस्था अनुसार गर्नुपर्छ। साधारणतया पहिलो पटक बीउ छरेको ३० दिनमा र दोश्रो पटक बीउ छरेको ५०-६० दिनमा झारपात नियन्त्रणका लागि गोडमेल गर्नु पर्दछ ।

हावापानी, माटोको अवस्था तथा जातका आधारमा सिचाइको मात्रा तय गरिन्छ । साधारणतया धनियामा ४-५ पटक सिचाइ गर्नु पर्दछ। सिचाइ क्रमशः बीउ रोपेको ३०-३५ दिनमा, ६०-७० दिनमा, ९०-१०० दिनमा, १०५-११० दिनमा र ११०-१५० दिनमा गर्नु पर्दछ ।

यसका अतिरिक्त बीउ रोपेको ५-१० दिनमा उमारशक्तिलाई बढवा दिन हल्का सिचाइ गर्न सकिन्छ।

448796667_497373396080009_5792818936042046961_n.jpg

 बाली कटाई तथा चुटाई
धनियाको बाली तयार भएको अवस्था यसको प्रयोजनमा निर्भर गर्दछ। यदि पात प्रयोजनका लागि उत्पादन गरेको धनिया हो भने जात अनुसार ३५-७० दिनभित्र करिब २० से.मी. अग्लो भएपछि जरा सँगै उखेल्नु पर्दछ।

यदी धनियाको प्रयोजन दानाको लागि हो भने बाली तयार हुने अवस्थामा दानामा भएको आवस्यक तेलको गुणस्तर फेरबदल हुने हुँदा दाना पाकेको अवस्था पहिचान गरि बाली कटान गर्नु पर्दछ ।

दाना परिपक्क भएर बोटमा सुक्न लागेको अवस्थामा यसमा भएको आवश्यक तेलका साथसाथै सुगन्धपूर्ण रूपमा विकसित भैसकेको हुन्छ । तर यदि सहायक हाँगामा लागेका दाना समेत सुक्न दिइयो भने मुख्या हाँगामा लागेका दाना झर्न सक्छन् ।

सबै फलहरू एकैपटक परिपक्क नहुने हुँदा बाली भित्र्याउने उपयुक्त समयलाई विशेष ध्यान दिन जरुरी हुन्छ । सामान्यतया राम्रो उत्पादन लिनका लागि ५०% दाना हरियो बाट पहेलो वा हरियोबाट खैरो रङ्गमा परिवर्तन भएपछि बाली कटानी गर्नु पर्दछ।

कटानी गर्दा सुकेका दाना झरेर नष्ट हुने हुँदा बाली कटानी कार्य बिहान वा बेलुकीमा गर्नु पर्दछ। कटानी गरिएको बालीमा करिब २०% चिस्यान हुन्छ।

चिस्यानलाई उपयुक्त मात्रामा ल्याउन बाली कटानी गरिसकेपछि छायाँमा सुकाउनु पर्दछ। सिधै घाममा सुकाउदा दानाको रङ्गमा असर पर्दछ। कटानी गरिएका डाँठलाई मुड्डा पारेर जमिन तर्फ दाना फर्काएर घामको किरण सिधै दानामा नपर्ने गरि सुकाउनु पर्दछ ।

यसरी सुकाई सकेपछी लाठीले हल्का चुटेर, बत्त्याएर दानालाई छुट्ट्याउनु पर्दछ। यसरी दाना उत्पादन गर्दा समेत जात अनुसार बीउ रोपेको ३५-७० दिनभित्र करिब ५० % पात टिपी अतिरिक्त आम्दानी लिन सकिन्छ।

भण्डारण
धनियाका दानालाई ९५ भन्दा कम चिस्यानमा ल्याई जुटको बोरामा हावा संचार हुने चिसो तर सुक्खा ठाउँमा वा प्लास्टिकको भाँडामा हावा नछिर्ने गरि भाँडाको मुख बन्द गरेर भण्डारण गर्नु पर्दछ ।

उत्पादन
उपयुक्त उत्पादन प्रविधि तथा व्यवस्थापन भएमा सिंचित क्षेत्रमा १२००-१५०० कि.ग्रा. प्रति हेक्टर र असिंचित क्षेत्रमा ७००-८०० कि.ग्रा. प्रति हेक्टर दाना र ६-७ मे.टन प्रति हेक्टर हरियो पात उत्पादन गर्न सकिन्छ ।

पात प्रयोजनका लागि उत्पादन गरिएको हो भने ६-७ मे. टन प्रति हेक्टर हरियो पात उत्पादन गर्न सकिन्छ ।

coriander-dania-farm.png

धनियामा लाग्ने रोगहरू र व्यवस्थापन
धनियाको रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले सामान्यतया रोगले आक्रमण गर्दैन। धनियामा देखा पर्न सक्ने रोगहरू र तिनको व्यवस्थापन निम्नानुसार रहेका छन्।
सेतो धुले दुसी (Powdery Mildew)
यो रोग Erysiphe polygoni DC नामक दुसीले लाग्दछ । यो रोग लाग्दा पातको माथिल्लो सतहमा साना सेता देखि खैरा थोप्ला देखिन्छन्। यी धव्बाहरू बढ्दै जान्छन र सम्पूर्ण खण्ड नै धुलो छरे जस्तो सेतो हुन्छ ।

धेरै आक्रमण भएमा पात, फूल मर्नेरझर्ने हुन्छ। दाना नलाग्ने, कम लाग्ने वा लागेका दानाहरू पनि विकृत हुने हुन्छ ।

व्यवस्थापन:
खेतको सरसफाई गर्ने।
स्प्रिङकल सिचाइ गर्ने।
क्याराथेन १ मी.ली. प्रति लीटर पानीमा मिसाई छर्ने।

ओइलाउने रोग (Wilt)
यो रोग Fusarium oxysporum f.sp. corianderii नामक ढुसीले लाग्दछ। यो दुसिले विरुवा उग्निने बेलामा जरा कुहिने रोग समेत लाग्दछ। ठुसिले आक्रमण गरेका विरुवाको वृद्धि कम हुन्छ। पातहरू पहेलो९रातो रङ्गमा परिणत हुन्छन। बिस्तारै जरा कुहिन्छन्, विरुवा सुक्छ र मर्दछ।

व्यवस्थापनः
- स्वस्थ बीउको प्रयोग गर्ने।
- बाली चक्र अपनाउने ।
- क्याप्टन, थिराम वा बेभीस्टीन ३ ग्राम प्रति कि.ग्रा.बीउका दरले बीउ उपचार गर्ने।
- स्युडोमोनास ५ ग्राम प्रति लिटर पानीका दरले बीउ रोपेको १० दिनको फरकमा दुई पटक छर्ने।

अल्टरनेरीया थोप्ले रोग (Alternaria Blight)
यो रोग Alternaria poonensis नामक ढुसीले लाम्छ। यसको लक्षण गाढा रङ्गको सानो (२-५ मी.मी.) थोप्लाबाट सुरु हुन्छ । पछि गोलो दागमा परिणत हुन्छ। दागको केन्द्र बिन्दुमा निलो ढुसी देखा पर्दछ। दागमा गोलो घेराहरू बन्छन। दागहरू पानीले भिजेका जस्ता देखिन्छन ।

व्यवस्थापनः
- थिराम वा बेन्लेटद्वारा बीउ उपचार गर्ने।
- रोगी बोट उखेलेर नष्ट गर्ने।
- ०.२% डाइथेन एम ४५,१५ दिनको अन्तरालमा २-३ पटक छर्ने।

धनियामा लाग्ने कीराहरू र रोकथामका उपाय
लाही (Aphids)
लाही वनस्पतिको जीवरस चुस्ने किरा हुन् । धनियामा आक्रमण गर्ने लाही हरियो वा पहेलो रङ्गका हुन्छन ।

यिनीहरू पातको तल्लो भागमा वा डाँठमा बसी विरुवाको रस चुसेर विरुवालाई नोक्सानी पुर्याउँछन । लाहीको संक्रमण धेरै भएमा बोटहरू होचा हुने, पात बटारिने (विकृत हुने) गर्दछन् ।

लाहिले आक्रमण गरेको ठाउँमा च्याप च्यापे पदार्थ जम्मा भइ कालो ध्वाँसे ढुसीको विकास हुन्छ ।

रोकथामः
- साबुन पानि वा सुर्ती पानीको वा निमको झोल बनाइ बोटको उपचार गर्ने।
- ०.०५% को मालाथीयन वा डाइक्लोरोभसले बोटको उपचार गर्ने।
- किरानाशक दुसी जस्तै मेटाराइजीयम एनीसोप्ली, ब्युभेरीया वेसियाना, भर्टीसीलीएमलेकानीको प्रयोग गर्ने।

फेद कटुवा (Cutworms)
वयस्क पुतलीको अघिल्ला पखेटाहरू फिक्का गाढा खैरा र प्रत्येकमा मिर्गौला आकारको दाग हुन्छन भने पछिल्ला पखेटाहरू मैला सेता हुन्छन । लाभ्रे २.५-५ से.मी. लामो, मोटो, कालो रङ्गको हुन्छ ।

लाभ्रेको शरीरको दुवै छेउमा लम्बेतानका फिक्का अँध्यारो खालका धर्साहरू हुन्छन। लाभ्रेहरूले धनियाको फेद खान्छन र धनियाको फेद काटिएको जस्तो देखिन्छ।

फल लाग्ने अवस्थामा यसले आक्रमण गरेमा दानामा स-साना खाएका प्वालहरू देखा पर्दछन् । लाभ्रेलाई चलाउँदा वा छोईदिँदा आकारमा बस्दछन् ।

रोकथामः
- किराले आक्रमण गरेको थाहा पाउना साथ माटोमा किरा पहिल्याई निकालेर मार्ने।

- सिचाइ गर्ने।

- जैविक विषादी बी.टी. २ ग्राम प्रति कि.ग्रा. गहुँको चोकर बनाई आधा कि.ग्रा. प्रति

- रोपनीका दरले बिउ रोप्नुभन्दा अगाडि माटोमा चाराको रूपमा राख्ने ।

- क्लोरोपाईरीफस १०% गेडा वा मालाथीयन ५ % को धुलो प्रति रोपनी १ कि.ग्रा. का दरले छर्ने।

जरामा गाँठा बनाउने जुका (Nematode) यो एक किसिमको परजिवी जुका हो। यसले न्यानो वा गर्मी ठाउँ ९धेरै चिसो नहुने० मा बढी आक्रमण गरेको पाइन्छ। यसले धनियाको जराको टुप्पोबाट प्रवेश गरि कोषको संरचना बिगारी दिन्छ ।

जसले गर्दा जरा बढ्न रोकावट भइ जरामा गाँठा बनाइ पर्याप्त मात्रामा खाद्यतत्व माटोबाट सोस्न बाधा पुगी नोक्सान गर्दछ । यसले आक्रमण गरेका विरुवाहरूमा ओइलिने, वृद्धि ढिलो हुने जस्ता संकेत देखिन्छन । बलौटे माटोमा यसको प्रकोप बढी हुन्छ।

नियन्त्रण
- जमिनको तयारी गर्दा गहिरो खनजोत गरि माटोलाई सोलाराइजेसन गर्ने।

- घुम्ती बाली अपनाउने।

- रायो, तोरी आदिबाट बनेको पिना २५० देखि ३०० ग्राम प्रति वर्ग मीटरका दरले प्रयोग गर्ने।

- १ कि.ग्रा. कार्बोफुरान प्रति रोपनी जग्गाका दरले माटोमा मिसाउने ।

सेतो झिंगा (Cotton White Fly)
वयस्क झिंगाको पखेटाहरू सेता हुन्छ, शरीर भरि लतपतिएका मइनका सुक्ष्म धुलाहरू हुन्छन । शिशुकिट अण्डाकार कत्ले किरा जस्तै च्याप्टो हरियो सेतो रङ्गको हुन्छ ।

सेतो झिंगाले आक्रमण गरेमा पातहरू तलतिर बटारिने, पातमा असंख्य पहेला थोप्लाहरू देखा पर्ने, असमयमै पात झर्ने, पात ओइलिने तथा मुनाहरू विकृत हुने जस्ता लक्षण देखा पर्दछन ।

रोकथाम
- साबुन पानि वा सुर्ती पानीको वा निमको झोल बनाइ बोटको उपचार गर्ने।

- ०.०५% को मालाथीयन डाइक्लोरोभसले बोटको उपचार गर्ने वा डाइक्लोरोभसले बोटको उपचार गर्ने ।

स्रोतः राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र, कीर्तिपुर

सम्बन्धित विषय

थप समाचार