बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

मेथी खेतीबारे सम्पूर्ण जानकारी

शनिबार, असार २३ २०८१
17 views
मेथी खेतीबारे सम्पूर्ण जानकारी

समाचार शेयर गर्नुहोस्

Share this news

पृष्ठभूमि
मेथी बहुउपयोगी एक वर्षीय साग तथा मसला बाली हो । यसलाई अङ्ग्रेजी नाम Fenugreek भनिन्छ । यसको कलिला डाँठ, पात ताजा तरकारीको रूपमा प्रयोग गरिन्छ ।

सुकाएको पात कुलिनरी हर्बको रूपमा प्रयोग गरिन्छ र दाना अर्थात बीउ मसलाको रूपमा प्रयोग गरिन्छ। मेथी Febaceae परिवार अन्तर्गत पर्ने मसला बाली हो । यसको दुई प्रजातिहरू (Species) हुन्छन ।

कमन मेथी Trigonella foenum-graecum र कसुरी मेथी त्चTrigonella comiculata हो । दक्षिण पूर्वी एशियामा यो भान्सामा नियमित प्रयोग हुने मसलारूपी खाद्य पदार्थ हो । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधिको रूपमा प्रयोग गरिन्छ ।

मेथीको साग महत्वपूर्ण हरियो तरकारीको रूपमा प्रयोग गरिन्छ। मेथीको विभिन्न खानाको परिकारमा प्रयोग गरिन्छ । हजारौं वर्ष अघिदेखि छाला राम्रो बनाउन चाईनिजहरूले औषधिको रूपमा प्रयोग गर्दै आएको पाईन्छ।

यसमा प्रसस्त मात्रामा फाइवर, प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइडेट, खनिज पदार्थ र भिटामिन ए, वि, सि पाइन्छ । हाल संसारभर यसको खेती गरिँदै आएको पाईन्छ ।

विश्वका प्रमुख उत्पादक देशहरूमा भारत, चिन, नेपाल, पाकिस्तान, बंगलादेश, स्पेन, टर्की, अर्जेन्टिना, इजिप्ट, फ्रान्स, मोरक्को आदि पर्दछन। भारत संसारमा सबै भन्दा बढी उत्पादन तथा निर्यात गर्ने देश हो ।

बानस्पतिक विवरण
मेथी एक वर्षे कोसे बाली हो । यो स्वसेचित बाली हो । बिरुवाको उचाइ १३० से.मी. सम्म हुने र हाँगाहरू नरम धेरै निस्कने हुन्छ । यसको मूल जरा सहित

सहायक जराहरू फैलिएका हुन्छन । बिरुवा मुख्य डाँठ सिधा, प्रसस्त हाँगाहरू भएको नरम हरियो हुन्छ । पातहरू साना तिनपाते हरियो पर्पल रंगका हुन्छन ।

फूलहरू पेल ह्वाइट देखि बैजनी रंगका, कोशा पहेंला १०-२० दाना प्रति कोसा हुन्छन । कोसा भित्रका दाना साना चिल्ला खैरो रंगका हुन्छन ।

मेथीको प्रयोग

- हरियो साग ताजा तरकारीको रूपमा प्रयोग गरिन्छ ।

- दानालाई प्रत्येक घरमा मसलाको रूपमा प्रयोग गरिन्छ ।

- यस लाई culinary spice को रूपमा प्रयोग गरिन्छ ।

- आयुर्वेदिक औषधिमा प्रयोग गरिन्छ ।

- खानाका विभिन्न परिकारमा यसको प्रयोग गरिन्छ ।

- बेकरी उचयमगअत, दुग्धजन्य उत्पादन, अचार, पेय पदार्थमा बास्नाको लागी प्रयोग गरिन्छ ।

- खाद्य उद्योगहरूले यसलाई सम्भाव्य Nutraceutical को रूपमा लिन्छन् ।

- यसको प्रयोग साबुन र सेम्फु बनाउनमा समेत गरिन्छ ।

मेथीका फाइदाहरू
यसले Diabetes र Blood Sugar को मात्रा घटाउन सहयोग गर्दछ । दुध खुवाउने आमाहरूको लागि दुध उत्पादन बढाउनुका साथै शिशुको तौल बढाउछ ।

मेथीको दानामा पोटासियम प्रसस्त मात्रामा पाइने हुँदा शरीरमा सोडियमको मात्रा नियन्त्रण गर्छ र रक्त सञ्चार राम्रो भइ मूटु स्वस्थ राख्न सहयोग गर्दछ ।

मेथीमा प्रसस्त मात्रामा फाइबरको साथै एन्टिअक्सिडेन्ट पाईन्छ जसले विकारयुक्त पदार्थ बाहिर निकाल्न र पाचन प्रणाली राम्रो बनाउछ ।

मेथीमा पाईने एमिनो एसिडले शरिरमा इन्सुलिनको नियन्त्रण गर्न सहयोग गरी डाइबिटिज हुने सम्भावना कम गराउँछ ।

मेथीको दाना सेवन गर्नाले एसिडिटीको समस्या हुनबाट कम गराउँछ । मेथीमा प्रसस्त मात्रामा फाइबर पाइने हुनाले नियमित सेवन गर्नाले शरीरको तौल घटाउन सहयोग गर्दछ ।

यसमा पाइने एन्टिअक्सिडेन्टले छाला चम्किलो र स्वस्थ राख्न मद्दत गर्दछ ।
नियमित बिहान खाली पेटमा एक चम्चा (१० ग्राम) सेवन गर्नाले कब्जियतको समस्या कम गराउँछ ।

मेथीमा पाइने पोटासियमले रक्त सञ्चार राम्रो भई उच्च रक्तचाप समस्या नियन्त्रण गर्दछ ।

मेथीको दानामा पाइने पौष्टिक तत्वहरू
मेथीको दानामा विभिन्न किसिमका पौष्टिक तत्वहरू पाईन्छ । यसको प्रयोग संसारका प्राय सबै ठाउँमा गरेको पाईन्छ ।

1.jpg
2.jpg

नेपालमा उत्पादन स्थिति
नेपालमा मेथीको सबै प्रदेशमा ताजा हरियो तरकारीको लागि खेती गरिन्छ तर व्यवसायिक रूपमा दाना उत्पादनको लागि खासै उत्पादन गरिएको पाइदैन ।

नेपालमा सबै भन्दा बढि उत्पादन हुने जिल्ला कैलाली हो । नेपालमा मेथीको साग उत्पादन निम्नानुसार रहेको पाईन्छ ।

3.jpg

प्रमुख जातहरू
कसुरी
यो भारतबाट नेपाल भित्रिएको सिफारिस जात हो। यो जातको विकास भारतमा (ICAR, Pusa, New Delhi)  मा भएको हो । बीउ रोपेको ६० दिन पछि पात टिप्न शुरु गर्न सकिन्छ । यो ढिलो टिपिने तर बढी उत्पादन लिन सकिने जात हो ।

यसलाई ५-७ पटक टिप्न सकिन्छ। पातहरू ठाडो, झुष्प हुने, रंग हलुका देखि गाढा हरियो वासनादार हुन्छ । फूलको रंग पहेंलो हुन्छ । शुरुमा यसको वृद्धि ढिलो हुन्छ। यो जातको ताजा पातको उत्पादन १५-२० टन प्रति हेक्टर सम्म हुन्छ ।

पुसा अर्ली बन्चिङ
यो भारतबाट नेपाल भित्रिएको जात हो । यो जातको विकास भारतमा (ICAR, Pusa, New Delhi)  मा भएको हो। बीउ रोपेको ४० दिनपछि पात टिप्न शुरु गर्न सकिन्छ । यो छिटो टिप्न सकिने जात हो । यसको पातलाई ३-५ पटक टिप्न सकिन्छ ।

पातहरू ठाडो, झुप्प हुने, रंग हलुका देखि गाढा हरियो वासनादार हुन्छ। फूलको रंग सेतो हुन्छ । यो जातको ताजा पातको उत्पादन ६-८ टन प्रति हेक्टर सम्म हुन्छ ।

हावापानी
मेथीले विविध हावापानी सहन सक्ने भएकोले विश्वका धेरै भागमा उत्पादन हुन्छ । यो पारिलो घाम मन पराउने प्रायः जाडो मौसममा हुने बाली हो ।

यसले तुषारो सहन सक्दैन तर केही हद सम्म सुख्खा सहने हुनाले कम पानी पर्ने ठाउँमा पनि खेती गर्न सकिन्छ। यो बाली धेरै कम र धेरै बढि तापक्रममा राम्रोसँग उत्पादन गर्न सकिंदैन ।

शुरुमा बोटको वृद्धि विकास अवस्थामा कम तापक्रम र बाली पाक्ने समयमा वढि तापक्रम चाहिन्छ। बालीको वृद्धि विकासको समयमा तापक्रम बढी भएमा स्वाद तितो हुने हुन्छ ।

तापक्रम १०-१५ डिग्री से.ग्रे. सम्ममा यसको उत्पादन र गुणस्तर राम्रो हुन्छ। तापक्रम कम हुने क्षेत्रमा समर सिजनपछि लागउन सकिन्छ । कसुरी मेथीलाई अरु मेथीका जात भन्दा चिसो हावापानी आवश्यक पर्दछ ।

माटो
यसको खेती प्रायः सबै किसिमको माटोमा गर्न सकिन्छ । माटोको किसिम (बनोट, बुनोट) अनुसार खनजोत, मलखाद स्रोत र प्रयोग, गोडमेल, सिचाई व्यवस्थापन गर्नु पर्दछ ।

राम्रो उत्पादनका लागि पानी नजम्ने, निकास राम्रो भएको, प्रांगारिक पदार्थ प्रसस्त भएको दुमट माटो उपयुक्त हुन्छ । माटोको पि. एच ५.३-७ भएमा बाली राम्रोसँग फस्टाउछ । चिम्ट्याइलो माटोमा यसको खेती राम्रो हुदैन ।

4.jpg

बीउ उपचार र बीउ दर
बीउको मात्रा बीउको गुणस्तर, माटोको उर्वराशक्ति, उमारशक्ति, लगाउने सिजन आदि अनुसार फरक पर्न सक्छ । हरियो सागको लागि लगाउने हो भने बाक्लो रोप्न सकिन्छ बीउ दर बढी हुन्छ भने दाना उत्पादनको लागि लगाउने हो भने पातलो रोप्नु सकिन्छ बीउ दर कम हुन्छ।

मेथी खेतीको लागि १-१.५ कि.ग्रा. बीउ प्रति रोपनी आवश्यक पर्दछ । बीउलाई रोप्नु भन्दा अगाडि २ दिन पानीमा भिजाएर लगाउनु राम्रो हुन्छ । बीउ उपचार ट्राईकोडरमा भिरिडी ४ ग्राम प्रति कि.ग्रा. बीउका दरले उपचार गर्नु पर्दछ। ताजा तरकारीको लागि बिरुवा थिनिङ गर्नु आवश्यक पर्दैन भने दाना वा बीउको लागि थिनिङ गर्नु जरुरी हुन्छ ।

जमिन तयारी
तरकारी खेतीमा जमिन तयारीले विशेष महत्व राख्दछ । बाली लगाउनु पहिले माटोको किसिम अनुसार २९३ पटक राम्रोसँग १५-२० से.मी. गहिरो हुने गरी खनजोत गर्नु पर्दछ । ब्याड बनाउने वा नबनाउने यति बेला नै सोच्नु पर्दछ ।

कम्पोष्ट मल जमिन तयारी गर्दा राम्रोसँग माटोमा मिलाउनु पर्दछ । ब्याड बनाएर लगाउने हो भने ३ मिटर लम्बाई र २ मिटर चौडाई साइज भएका व्याड बनाउनु पर्दछ । बीउ छर्नु, रोप्नु वा बेर्ना सार्नु भन्दा ४-५ दिन अधि नै मल माटोमा राम्ररी मिलाउनु पर्दछ ।

मलखाद र प्रयोग विधि
बाली लगाउने स्थानको माटोको भौतिक, रासायनिक अवस्था, पूर्वरअगाडि लगाएको बाली, माटोमा निहित खाद्य तत्वको अवस्था र लगाउने बालीको लागि मलको उपलब्ध स्रोत को वारेमा जानकारी लिनु पर्दछ ।

त्यस पछि लगाउने बालीको लागी आवश्यक खाद्यतत्वहरू कति कसरी र कहिले राख्ने भन्ने कुरा व्यवस्थापन गर्नु पर्दछ । मलखादको मात्रा लगाउने बाली, माटोको प्रकृति, माटोको परिक्षण नतिजा आदिमा भर पर्दछ।

साग जन्य बाली लामो समयसम्म पटकपटक टिप्ने र बालीको गुणस्तर पातको हरियो, चिल्लो र नरमपना र स्वादसँग जोडिएको हुन्छ । गोठेमल वा प्रांगारिक मल जग्गा तयारी गर्दा राख्नु पर्दछ ।

रसायनिक मलको हकमा सिफारिस मात्राको नाईट्रोजनको आधा मात्रा, फोसफरस र पोटासको पूरा मात्रा जमिन तयारी गर्दा माटोमा मिलाउनु पर्दछ ।

शुक्ष्म तत्वहरू माटो परिक्षणको नतिजा अनुसार बाली लगाउनु अगाडि वा सामान्य लक्षण देखिए पछि फोलियर स्प्रे वा बिरुवाको वरिपरी माटोमा मिलाएर राख्नु पर्दछ ।

मलखादको किसिम
कम्पोष्ट-१००० कि.ग्रा. प्रति रोपनी
यूरिया- ६ कि.ग्रा. प्रति रोपनी
डि.ए.पि. - ४ कि.ग्रा. प्रति रोपनी
पोटास- २ कि.ग्रा. प्रति रोपनी

बाली लगाउने तरिका
मेथी खेती गर्दा साना साना व्याड बनाएर वा ब्याड नबनाइकन लगाउन सकिन्छ । मेथीलाई नर्सरी नगरिकन सिधै बीउ रोपेर वा छरुवा गरी पछि बाक्लो बिरुवा पातलो बनाएर खेती गर्न सकिन्छ ।

त्यस्तै गरी व्याड बनाएर लाइनमा बीउ रोपेर लगाउन सकिन्छ । तर लाइनमा लगाउनु राम्रो हुन्छ । यसको लागि नर्सरीमा विरुवा हुर्काएर खेती गरिदैन । लाइनमा देखि लाइन २५-३० से.मी. र लाइनमा विरुवाको फरक ३-४ से.मी. हुनु पर्दछ ।

टप ड्रेसिङ
बाली लगाइ सकेपछि खडा बालीमा समय र आवश्यकता अनुसार मलखाद प्रयोग गर्नुलाई टप ड्रेसिङ भनिन्छ। साधारणतया गोडमेल गरेपछि यूरिया मलले टप ड्रेस गर्नु पर्दछ । कम्पोष्ट मल पनि टप ड्रेस गर्दा प्रयोग गर्न सकिन्छ ।

यूरियाको सिफारिस मात्राको आधा भाग लाई दुई भाग गरी २ पटक टप ड्रेस गर्नु राम्रो हन्छ। मलखाद राख्दा माटोमा आवश्यक चिस्यान कायम भएको हुनु पर्दछ ।

गोडमेल
झारपात हटाइ, माटो खुकुलो बनाइ सफा राख्नु पर्दछ। पहिलो पटक बीउ रोपेको वा बेर्ना सारेको २०-२५ दिन पछि गोडमेल गर्नु पर्दछ। बाली अवधिमा २-३ पटक गोडमेल आवश्यक हुन्छ।

पहिलो पटक र त्यसको २२-२५ दिनको अन्तरमा गरिने मुख्य गोडमेलमा नाईट्रोजन युक्त रसायनिक मल टप ड्रेस गर्नु पर्दछ । गोडमेल गर्नाले झारपात नियन्त्रण, जरामा हावा र पानीको उपलब्धता व्यवस्थापन र रोग कीराको व्यवस्थापन आदिमा सकारात्मक प्रभाव पार्दछ ।

सिचाई तथा पानीको निकास
बोट बिरुवा बढ्ने र हुर्कने प्रक्रियामा पानीको ठूलो भूमिका रहन्छ। पानी विना विरुवामा कुनै किसिमको रासायनिक, भौतिक तथा शारीरिक प्रक्रियाहरू संचालन हुन सक्दैन । साधारणतया तरकारी बिरुवामा ८०-९० प्रतिशत पानी हुन्छ ।

पानीले विरुवाको कोषिकाहरू पोटिलो बनाउछ । माटोमा भएका खाद्यतत्वहरू पानीमा घुलनशील भएर विरुवाले प्राप्त गर्दछ । पानीले बिरुवाको तापक्रम सन्तुलन राख्दछ ।

यसको लागि माटोमा चिस्यान पुर्याउन पानी पटाउने क्रियालाई सिचाइ भनिन्छ। बीउ छरेपछि तुरुन्त हल्का सिचाइ दिनु पर्दछ । वाली अवधिभर ४ पटक (बीउ छरेको ३०, ७०-७५, ९० र १०५-११० दिन पछि) सिचाइ अति आवश्यक पर्दछ बिरुवाको लागी विभिन्न तरिकाहरू सतह सिचाइ, फोहरा सिचाइ अपनाउन सकिन्छ ।

सतह सिचाइ
ड्याङमा लागाइएका वालीहरूमा दुई ड्याडको विचमा पानी छोडिन्छ र सिचाइ गरिन्छ । यसरी सिचाइ गर्दा पुरै ड्याङ नै छोपिने गरी पानी दिनु हुदैन ।

फोहरा सिचाइ
खेतवारीको विच विचबाट पाइपहरू लगेर फोहराहरू जडान गरी वर्षा भएको जस्तो गरी विरुवामा पानी दिइन्छ ।

बाली तयारी तथा टिपाइ

ताजा तरकारी हरियो साग 
हरियो सागको ताजा तरकारीको लागि बीउ रोपेको ३०-४० दिन देखि जात हेरी ५-७ पटक टिप्न सकिन्छ। यसको लागि कलिला होगा सहितका पातहरू टिपेर तरकारीको रूपमा प्रयोग गरिन्छ।

शुरुको अवस्थामा एक पटक टिपेर बोटलाई पुनः बहन दिएर दाना बीउ उत्पादन गर्न पनि सकिन्छ। यसरी गर्दा बीउ उत्पादन केही कम हुन्छ ।

मेथीको दाना बीउ
मेथीको जात अनुसार बाली तयार हुन ३-५ महिना लाग्दछ । विरुवाको तल्ला पातहरू झर्न थालेपछि, कोसाहरूको रंग पहेंलिन थाले पछि बाली तयार भयो भनी बुझ्नु पर्छ ।

बोटहरू उखेली साना साना मुठा बनाएर घाममा सुकाएर लौरीको सहायताले बाली चुट्ने काम गरी बीउ झार्नु पर्दछ। राम्रोसँग सफा गरी सुकाएर जुट बोरामा राख्नु पर्दछ ।

उत्पादन
ताजा तरकारी हरियो साग: कमन मेथी ७-८ मे.टन र कसुरी मेथी ९-१० मे.टन प्रति हेक्टर ।

मेथीको दाना बीउ: कमन मेथी १.२- १.५ मे.टन र कसुरी मेथी ०.९-१ मे.टन प्रति हेक्टर ।

प्याकेजिङ तथा भण्डारण
मेथीको दानारबीउ लाई राम्रोसँग सफा गरी सुकाएर ७-८ प्रतिशत चिस्यान कायम गरी जुट बोरामा प्याक गरेर भण्डारण गर्नु पर्दछ साथै बजारको माग अनुसारको साइजमा प्याकिङ, लेबलिङ्ग गरी भण्डारण तथा बजार व्यवस्थापन गर्नु पर्दछ।

यसको बीउ राम्रोसँग भण्डारण गरी राखेमा २-३ वर्षसम्म पनि उमार शक्ति रहन्छ अर्थात बीउको लागि, राख्न सकिन्छ ।

बजार व्यवस्थापन
मेथीको सागलाई मसिना टुक्रा बनाइ सुकाएर बिक्री गर्न सकिन्छ । बजारमा प्रतिस्पर्धा गर्न आकर्षक प्याकिङ गर्न जरुरी हुन्छ । उचित मूल्य प्राप्त गर्न राम्रोसँग सरसफाइ गरेका दानालाई प्याकेजिङ्ग गरी बिक्री वितरण गर्नु पर्दछ ।

हाल बजारमा विभिन्न साइजका (परिमाण) आकर्षक प्याकेजमा मेथी दाना, सुकाएका पात, उपलब्ध छन । बजारमा पाईने केही प्याकेजिङका नमूना तल चित्रमा देखाइएको छ ।

मेथीमा लाग्ने कीराहरू र तिनको व्यवस्थापन
लाही कीरा
मेथीमा लाही कीरा प्रसस्त मात्रा लाग्दछन । यिनिहरूले भाइरस जन्य रोगहरू सार्दछ । यिनीहरू झुण्डमा बसेर रस चुसेर खान्छन र गुलियो पदार्थ पातमा छोड्दछन ।

केराउ, बोडीमा लाग्ने खालका लाहीले यसमा आक्रमण गर्दछ । प्राय जसो हरियो र पहेंलो रंगका लाही कीरा बढी देखिन्छन ।

क्षतीको प्रकार
विशेष गरी कलिला पातको तल्लो भाग, डाँठ, नयाँ विरुवाको मुन्टाको कलिलो भागमा बसेर चुसेर खान्छन। लाहीले आक्रमण गरेका बिरुवाको डॉठ नबढने, पात पहेंलो हुने र ककरकिने अन्तमा प्रकोप बढि भएमा विरुवा नै मर्दछ ।

व्यवस्थापन
- गोडमेल राम्रोसँग गरी सफा सुग्घर राख्ने ।

- बानस्पतिक विषादी निम आदिको प्रयोग गर्ने ।

- प्रकोप बढी भएमा रोगर वा साइपरमेथ्रिन १-२ एम. एल एक लिटर पानीमा मिसाइ छर्ने ।

मेथीमा लाग्ने रोगहरू र तिनको व्यवस्थापन
विभिन्न किसिमका रोगहरूको आक्रमणले गर्दा तरकारी उत्पादन र गुणस्तरमा नकारात्मक प्रभाव पर्ने हुँदा समयमै रोगहरूको पहिचान गरी व्यवस्थापनका उपायहरू अपनाइएमा आर्थिक क्षति हुनबाट बचाउन सकिन्छ।

विषादीको प्रयोग कम गर्न रोगहरूको व्यवस्थापनमा एकीकृत तरिकाले सम्भव भएसम्म पाइएका सबै तरिकाहरूको प्रयोग गर्नु राम्रो हुन्छ ।

रोग लाग्न आवश्यक तत्वहरू
- जिवाणु
- बोट विरुवा
- अनुकूल वातावरण

कुनै पनि रोगको व्यवस्थापन गर्न सवभन्दा पहिले त्यसको पहिचान गर्न जरुरी हुन्छ । रोग पहिचान गरेपछि मात्र के उपाय अपनाउने भन्ने कुरा निर्णय लिनु उत्तम हुन्छ ।

अनुमानको भरमा विषादी प्रयोग गर्नाले रोग अनुसारको व्यवस्थापन नभई खर्च पनि बढ्ने र वातावरणमा असर बढ्छ ।

रोग र कीरामा फरक
कीरा आफै देखिने वा अण्डा देखिने, कीराले चपाएको लक्षणहरू देखिने ।

रोगको लक्षण जस्तै धब्बा, पहेंलिने, ओइलाउने, कुहिने साथै रोगको जीवाणुको संरचनाहरू देखिने ।

जरा कुहिने (Root rot)
यो Fusarium splani नामको दुसिबाट जरा कुहिने रोग लाग्दछ । यो ढुसी बीउबाट पनि सर्दछ। यो रोग धेरै नर्सरीमा बेर्ना अवस्थामा लाग्ने गर्दछ ।

लक्षण :
बोट नबढ्ने, पातहरू पहेंलो हुने, विरुवा ओइलिने र विरुवा उखेलेर हेर्दा जरा कुहिएको हुन्छ ।

व्यवस्थापन
- खनजोत गर्दा निम केक हाल्ने ।

- पानी जम्न नदिने र निकासको राम्रो व्यवस्थापन गर्ने

- बेभिष्टिन २ ग्राम प्रति कि.ग्रा. का दरले बीउ उपचार गर्ने वा ट्राइकोडर्मा ४ ग्राम प्रति कि.ग्रा. का दरले बीउ उपचार गर्ने ।

- यस बाहेक वेभिष्टिन नामक विषादी २ ग्राम एक लिटर पानीका दरले घोल बनाइ राम्ररी विरुवाको जरा भिज्ने गरी छरेर पनि व्यवस्थापन गर्न सकिन्छ ।

धुले ढुसी (Powdery Mildew)
यो रोग सुख्खा र न्यानो वातावरणमा फैलिन्छ । सेपिला र हावाको राम्रोसँग संचार नहुने ठाउँमा यसको प्रकोप बढी देखिन्छ । यो रोग Leveillula taurica नामको दुसिबाट लाग्दछ ।

लक्षण
- शुरुमा पातको माथिल्लो भागमा सेता गोलाकार थोप्ला देखिन्छ ।

- रोगको प्रकोप बढ्दै गएपछि पातको तल्लो भाग, डॉठ, फूल र फलमा समेत देखिन्छ र अन्तमा बोट मर्दछ ।

- पातको तल्लो पट्टि भागमा पहेंला पहेंला थोप्ला पनि देखिन सक्छ ।

व्यवस्थापन
- सिचाइ र मलजलको राम्रो व्यवस्थापन गर्ने।

- बाक्लो नलगाउने ।

- रोग व्यवस्थापनको लागी सल्फर युक्त विषादी जस्तै क्याराधिन २ एम.एल एक लिटर पानीमा मिसाएर बनाएको धौलले बोट भिज्ने गरी छर्ने ।

-निमको तेल प्रयोग गर्ने ।

चारकोल रट  (Charcoal Rot)
यो Micropomina phaseolina नामक बुसिबाट लाग्ने रोग हो । यो माटोबाट पनि सर्दछ । सुख्खा र न्यानो वातावरणमा यसको प्रकोप बढी हुन्छ ।

लक्षण
शुरुमा माटो निर डाँठको रंग फिक्का हुने र विरुवाको डाँठको बोक्रा कुहिन्छ र पछि माथितिर बढ्दै जान्छ। अन्तमा पातहरू ओइलाउँछन र झर्छन ।

व्यवस्थापन
- बिरुवा पातलो राख्ने, गोडमेल गरी खेतवारी सफा राख्ने।

- सिचाइ र मलजलको राम्रो व्यवस्थापन गर्ने।

- बाक्लो नरोप्ने ।

- छापोको व्यवस्थापन गर्ने, सुख्खा र गर्मी मौसममा नियमित सिचाइ दिने ।

- जमिन तयारी गर्दा निम केक माटोमा हाल्ने ।

- बेभिष्टिन २ ग्राम एक लिटर पानिका दरले घोल बनाइ राम्ररी विरुवा छर्ने ।

स्रोतः राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र, कीर्तिपुर

सम्बन्धित विषय

थप समाचार