बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

सौंफ खेती कसरी गर्ने?

सोमबार, असार २५ २०८१
16 views
सौंफ खेती कसरी गर्ने?

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय

सौंफ एक सुगन्धित बाली हो जुन व्यावसायिक जडिबुटीको रूपमा विश्वका विभिन्न देशमा खेती गरिन्छ । सौंफ (वैज्ञानिक नाम: Foeniculum vulgare 1..), उच्च सुगन्धित र स्वादिष्ट जडीबुटी, प्रचुर पौष्टिक र औषधीय गुणहरूको लागि मूल्यवान मानिन्छ।

सौंफ एक लामो अवधिको बाली हो जसको प्रारम्भिक वानस्पतिक वृद्धि सुस्त हुन्छ। यसलाई मिश्रित वा घुसुवा बालीको रूपमा खेती गर्न पनि सकिन्छ। परम्परागत रूपमा यसको दाना औषधीको रूपमा र हरियो पात तरकारी तथा सलादको रूपमा प्रयोग गरिन्छ।

औषधीय उद्योगमा सम्पूर्ण बोट मूल्यवान छ; यसको विस्तारित फेदको भाग तरकारीको रूपमा प्रयोग गरिन्छः दानालाई मसलाको रूपमा र आवश्यक तेल (essential oil) निकाल्न प्रयोग गरिन्छ।

फूल र पातहरू पहेंलो र खैरो रङ्ग बनाउन पनि प्रयोग गरिन्छ। सौंफ Foeniculum जीनसको Apiaceae परिवारसँग सम्बन्धित छ। सौंफ पहेंलो फूल र हलुका पातहरू सहितको कडा बाहमासी जडिबुटी हो, जसको उचाई २.५ मिटर उचाइसम्म हुन्छ ।

यो बोट मेडिटेरेनियनको किनारमा उत्पति भएको मानिन्छ तर हाल विश्वका धेरै भागहरूमा यो व्यापक रूपमा प्राकृतिक अवस्थामा पाइन्छ। भारत विश्वमा सौंफ दानाको शीर्ष उत्पादक हो।

सौंफको उपयोग

सौंफ पौष्टिक र कार्यात्मक गुणहरूले भरिपूर्ण हुने भएकाले औषधीको रूपमा प्रयोग गरिन्छ। यसका फाइदाहरू निम्नानुसार छन् :

- सौंफ फाइबर, पोटेसीयम, फोलेट, भिटामिन-सी र भिटामिन बी-६ को राम्रो स्रोत भएको हुनाले पाचनका लागि राम्रो हुन्छ ।

- सौंफ एनीमिया को उपचार को लागि उपयोगी छ।

- कब्ज, पखाला, रेनल कोलिक, श्वास प्रश्वास, विकार र मासिक विकारको उपचार लागि सौंफ उपयोगी छ ।

- सौंफले महिला प्रजनन प्रणालीमा एस्ट्रोजेन बढाउँछ।

- सौंफले फलामको अवशोषण बढाउँछ ।

- सौंफले रक्तचाप कम गर्न सहयोग गर्दछ ।

- सौफले जीर्ण सूजन कम गर्दछ।

- सौंफले तौल प्रबन्धन र छाला स्वास्थ्यमा सहयोग गर्दछ ।

- सौंफले प्रतिरक्षा शक्ति बढाउनुका साथै क्यान्सर र हृदयघातको सम्भावना पनि कम गर्दछ।

आयात तथा निर्यातको अवस्था

नेपालमा पछिल्लो ३ वर्षको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष ७ देखि १० करोड बराबरको ५०० मे.टन भन्दा बढी सौंफ आयात भएको देखिन्छ । नेपालमा आयात गरिने सौंफ भारत, चीन र भेतनामबाट आयात हुने गरेको छ।

तर नेपालबाट भने कुनै पनि परिमाणमा सौंफको निर्यात भएको देखिंदैन। यसले पनि नेपालमा सौंफ खेतीको सम्भावना र अवसरलाई पुस्ट्याउँछ ।

1.PNG

हावापानी

सौंफको उत्तम वृद्धि र उत्पादन को लागि चिसो र सुख्खा मौसमको आवश्यकता पर्दछ । सौंफ खेतीका लागि २० देखि २५ डिग्री सेल्सियसको औसत तापमान र ५० देखि ७५ मिलिमिटर वर्षा उपयुक्त हुन्छ।

दाना लाग्ने समयमा सुख्खा र चिसो मौसमले गुणस्तरीय र धेरै बीउ उत्पादनमा  सहयोग पुयाउँछ। उच्च तापक्रमले उपयुक्त परिपक्कता आउनु अगावै फूल फुल्ने र धेरै कम बीउ उत्पादन हुने हुन्छ।

फूल फुल्ने अवस्थामा यो बाली तुषारोसँग संवेदनशील हुने हुनाले उत्पादनमा असर पार्न सक्छ। सौंफको खेती गरिने जातहरू प्रचलित माटो र मौसमको स्थितिमा अनुकूलित हुनुपर्दछ र कीट तथा रोग प्रतिरोधक वा सहिष्णु हुनुपर्दछ।

सौंफ खेतीका लागि माटोको आवश्यकता

सौंफ बाली धेरै किसिमको माटोमा उत्पादन गर्न सकिन्छ। यद्यपि मलिलो कालो माटो र चूनासहित को चिल्लो माटो खेतीका लागि उत्तम हुन्छ ।

उच्च प्राङ्गारिक पदार्थ भएको माटो उत्पादनको लागि उत्तम हो। यस बालीका लागि उचित निकासको सुनिश्चित गर्नुपर्दछ । सौंफ खेतीका लागि उत्तम माटो पी एच ५.५ देखि ७.० हो।

माटोको प्रकार र उर्वरताको कारण विरुवाको पोषण आवश्यकता क्षेत्र अनुसार फरक फरक हुन्छ। प्रा‌ङ्गारिक खेती प्रणाली अन्तर्गत बाली व्यवस्थापन अभ्यासमा रोग र किराको संक्रमणबाट बचाउन रोप्ने समय, सन्तुलित पोषण, बालीचक्र, हरियो मल, आदि जस्ता बाली संरक्षणका उपायहरूमा जोड दिनुपर्दछ ।

सौंफको जातहरू

नेपालमा सौंफको व्यावसायिक खेती रेकर्ड गरिएको छैन। सौंफको कुनै खास जातको उन्मोचन तथा पञ्जीकरण गरिएको छैन। यद्यपि किसानहरूले स्थानीय जातहरू प्रयोग गर्छन् जसले ४-५ क्विन्टल प्रति बिधा उत्पादन दिन्छ।

यी बाली रोपेको १९० दिनमा काट्न तयार हुन्छन् । व्यवसायिक खेतीका लागि भारतमा आर.एफ. १०१, गुजरात सौंफ १, आर.एफ. ३५, सी.ओ-१ जस्ता जातहरू सिफारिश गरिएकोछ।

जग्गा तयारी

सौंफ खेतीको लागि विरुवा लगाउने जग्गालाई २ देखि ३ पटकसम्म राम्रोसँग खनजोत गरि माटोलाई हलुका र खुकुलो बनाउनुपर्दछ। पाकेको गोबरमल १ देखि १.५ टन प्रति रोपनी खेत/बारीमा थपिनु पर्छ। अघिल्लो बालीबाट कुनै झार पातको अवशेष भए हटाउनुपर्छ।

सौंफको प्रसार र रोप्ने तरिका

सौंफ बीउमार्फत प्रसार गरिन्छ। बीउलाई सिधै खेतमा छर्न वा नर्सरी राखी रोप्न सकिन्छ । सौंफ रोप्ने उत्तम समय अशोज पहिलो हप्तादेखि कार्तिक पहिलो हप्ता हो। नर्सरी गर्नको लागि असारदेखि श्रावण उत्तम समय हो। रोप्न ढिलाई हुनाले बालीको उत्पादन घट्छ।

सामान्यतया सिधै छर्नको निम्ति (०.५ केजी / रोपनी वा ८-१० के. जी /हेक्टर) र नर्सरी गरि रोप्नको लागि (१२५ ग्राम/रोपनी वा २.५ के.जी/ हेक्टर) को दरले बीउको आवश्यकता पर्दछ।

नर्सरी गरिएको विरुवा मुख्य खेत / बारीमा रोप्नको निम्ति ६ देखि ८ हप्ताको विरुवा हार देखि हार ४५-६० से.मि.र बिरुवा देखि विरुवा १५-२० से.मि. को दूरी कायम गरि ३-४ से.मि माटोको गहिराईमा रोप्नुपर्छ।

विरुवा रोप्ने वा बीउ छर्ने बितिकै सिचाइ लगाउनुपर्छ। छरुवा बालीमा बीउ रोपेको ४-५ हप्ताको विरुवालाई २५-३० से.मि. दूरी कायम गरि पातलो गर्नुपर्छ।

सौंफ खेतीमा खाद्यतत्व व्यवस्थापन

माटोमा रहेको खाद्यतत्वको अवस्था, माटोको वनोट, भौतिक तथा रासायनिक अवस्था, सिचाइ सुविधा, बालीको जात, खेती गरिने मौसमले मलखाद प्रयोगको परिमाण निर्धारण गर्छ । समय समयमा माटो परिक्षण गरी प्राप्त हुने नतिजाका आधारमा मलखाद प्रयोग गर्नुपर्दछ ।

2.PNG

सौंफ खेतीमा सिचाइ

पहिलो सिचाइ बीउ रोप्ने बित्तिकै गरिनु पर्छ। त्यसपछि १ वा २ हल्का सिचाइ बीउ टुसाउन शुरू नभएसम्म गरिन्छ । सौंफ बालीमा १५ देखि २१ दिनको अन्तरालमा सिचाइ गर्नुपर्छ।

फूल फुल्ने र बीउ सेट लाग्ने अवस्था राम्रो उत्पादन र गुणस्तरका लागि महत्वपूर्ण हुनाले उचित ओसको स्तर कायम गर्नुपर्छ र पानीको तनावबाट बालीलाई जोगाउनु पर्छ।

सौंफ खेतीमा झार नियन्त्रण

पहिलो गोडमेल विरुवा रोपेको १ महिनामा गरिनु पर्छ। सौंफ बालीको खेतीमा झारपात नियन्त्रण महत्त्वपूर्ण गतिविधि हो । झारलाई दुवै रासायनिक माध्यम (पेन्डिमेथेलिन @ १ के. जी / हेक्टर पूर्वउन्द्रव Pre Emergence को रूपमा) र मेकानिकलले (यन्त्र वा मेसिनको प्रयोगबाट वा हातले) रोपेको ४५ दिनमा झारपात गोडी नियन्त्रण गर्न सकिन्छ ।

किरा तथा रोगहरू

लाही, थ्रिप्स, पात खाने झुसिल किरा, फेद कटुवा, पातको डडुवा, बेर्ना कुहिने रोग, फ्यूजारियम ओइलाउने रोग, पाउडेरी मिल्डिउ, कोलार रट र जरा कुहिने रोग आदि सौंफ खेतीमा पाइने साधारण कीट तथा रोगहरू हुन् ।

कीराहरू

लाही, थ्रिप्स र अन्य कीराहरू डायमेथोएट ३० ईसी २ मिलि / लिटर पानीमा वा मिथाइल डिमेटन २५ ई.सी २ मिलि / लिटर पानीमा घोली स्प्रे गरेर नियन्त्रण गर्न सकिन्छ।

रोगहरू

पाउडरी मिल्डिउ, पातको डडूवा, फ्यूजारियम ओइलाउने रोग आदिलाई १.२५ के.जी. प्रति रोपनी धुलो सल्फरले नियन्त्रण गर्न सकिन्छ वा रोग देखापर्ने बेलामा सल्फर २ ग्राम प्रति लिटर पानीमा हाली पातलो स्प्रे प्रयोग गर्न सकिन्छ ।

बाली टिप्ने तथा उत्पादन

हरियो सौंफका पातहरू समय-समयमा कटनी गर्न सकिन्छ तर बल्बहरू केबल शरद ऋतुमा मात्र कटनी गरिन्छ तर डाँठहरू तरकारीको रूपमा उत्पादन लिइन्छ । बीउ रोपेपछि बाली १८० देखि १९० दिन (६ महिना) मा कटनीको लागि तयार हुन्छ ।

सामान्यतया, बीउहरू पूर्ण रूपमा विकास भै परिपक्व भएको तर अझै हरियो हुँदै काट्नुपर्ने हुन्छ। उत्पादन लिने समय एक महिनासम्म रहन्छ र १० वा १२ दिनको अन्तरालमा दुई वा तीन पटक बालीको दानाको झुप्पोहरू कटान गरिन्छ।

बालीको उत्पादन बीउको प्रजनन क्षमता, माटो प्रकार, सिचाइ र बाली व्यवस्थापन अभ्यासमा निर्भर गर्दछ। औसतमा १ देखि १.२५ क्विंटल दाना / रोपनी उत्पादन लिन सकिन्छ।

सौंफको उत्पादन उप्रान्त बाली व्यवस्थापन

बाली (दानाको झुप्पोहरू) काटिसकेपछि १ वा २ दिन घाममा सुकाउनु पर्दछ र छायाँमा ८ देखि १० दिनको लागि सुकाउनुपर्छ। त्यस पछि बीउको सफाई र ग्रेडिंग गरिनु पर्छ।

जुट ब्यागहरू सुक्खा बीउ भण्डार गर्न प्रयोग गर्न सकिन्छ। तुषारो पर्ने मौसममा सौंफको दाना भण्डारण गर्दा सावधानी अपनाउनु पर्छ। तुषारोबाट हुने क्षति रोक्न ०.१% को सल्फुरिक एसिडको झोल स्प्रे गर्नुपर्छ।

बजार व्यवस्थापन

वर्षेनी करोडौंको सौंफ आयात हुने हुनाले आन्तरिक बजारमा पनि यसको महत्व छ साथै अर्गानिक सौंफको माग संसारका धेरै मुलुकहरूमा माग छ र धेरै मसला कम्पनीहरूले इन्टरनेटमा प्रमाणित अर्गानिक सौंफको माग गर्छन्।

भारतमा उत्पादन गरिएको सौंफ बीउहरू प्रायः सुक्खा र अर्ध-सुक्खा क्षेत्रबाट हुन्छन् जुन पूर्वनिर्धारित अर्गानिक हुन्छन् किनभने उत्पादन न्यूनतम वा कुनै रासायनिक पदार्थको प्रयोग बिना गरिन्छ ।

त्यस्ता उत्पादनहरू बजारमा 'near organic' भनेर चिनिन्छ र बेचिन्छ । सौंफ लगायत मसलाको अर्गानिक बीउ उत्पादनको लागि सामान्य र निर्दिष्ट दिशानिर्देश महोत्रा र वशिष्ठ (२००८) द्वारा विस्तृत गरिएको छ। यूरोप, संयुक्त राज्य अमेरिका, क्यानडा र जापान सौंफ लगायत अर्गानिक मसलाको खपत हुने सबैभन्दा ठूला बजारहरू हुन ।

अस्ट्रेलिया र न्युजिल्यान्डले नयाँ उदयमान बजारहरूको प्रतिनिधित्व गर्दछ । अर्गानिक मसलाको भविष्यको माग उज्यालो देखिन्छ ।

स्रोतः राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्र, कीर्तिपुर

सम्बन्धित विषय

थप समाचार