बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

धान बालीमा छनौट प्रजनन तरिका र यसको प्रयोग तथा लाभहरु

सोमबार, साउन १४ २०८१
9 views
धान बालीमा छनौट प्रजनन तरिका र  यसको प्रयोग तथा लाभहरु

समाचार शेयर गर्नुहोस्

Share this news

१. पृष्ठभूमि : 

नेपाल कृषि प्रधान देश हो । देशका अधिकांश जनता कृषि पेशामा संलग्न छन् । देशको जनसंख्या प्रति वर्ष २.२४ प्रतिशतको दरले वृद्धि भइरहेको छ भने कूल ग्राहस्थ उत्पादनको वृद्धि करीब २.१ प्रतिशतले भइरहेको छ । कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रले करीब ३७ प्रतिशत सहयोग गरेको छ । धान बाली नेपालको करीब १५४२ हजार हेक्टरमी लगाइएको पाइएको छ ।

यसको उत्पादन ४२९० हजार मे.टन छ यसरी उत्पादकत्वको हिसावले धानको उत्पादकत्व २.७८ मे.टन प्रति हेक्टर छ । अन्न बालीहरुको वार्षिक उत्पादन ७७६७ हजार मे.टन पाइएको छ । उत्पादकत्वको हिसावले हेर्ने हो भने अन्नबालीको उत्पादन २.३२ मे.टन प्रति हेक्टर देखिन्छ। यसरी अन्नबाली र त्यससंग धानको तुलना गर्दा अन्नबालीको कूल उत्पादनमा धानले ५५.२३ प्रतिशत उत्पादनको अंश लिएको छ । यस्तै उत्पादकत्वको हिसावले पनि अन्नबालीको उत्पादकत्व भन्दा धानको उत्पादकत्व बढी देखिछ । यसैलै गर्दा धानबालीको सुधारमा प्राथमिकता दिनु पर्ने आवश्यकता देखिन्छ ।
 

२. समस्या : 

हुनत धानका उन्नत जातहरु देशमा विकसित भइरहेका छन् । २-४ वर्षको फरकमा नयाँ नयाँ जातहरु बजारमा आएका छन् । तर अधिकांश किसानहरु यी नयाँ नयाँ बढी उत्पादन दिने जातहरुको बीउ खरिद गर्न सक्ष्म देखैिनन् किन की उनीहरुलाई एकातर्फ आर्थिक समस्या छ भने अर्कोतर्फ यी जातहरुले धेरै उत्पादन दिन्छन् भनेर विश्वास पनि छैन । यसमा अर्को समस्या यी उन्नत जातहरुको बीउ ठीक समयमा किसान समक्ष उपलब्ध भैरहेका पनि छैनन्। खेती गर्ने समयमा उपलब्ध नहुँदा किसानहरु आफैले संचित गरेर राखेको बीउ प्रयोग गर्न वाध्य देखिन्छन् ।

फेरी उन्नत बीउबाट अत्याधिक उत्पादनको लागि त्यति नै मात्रामा मलखादको आवश्यकता पर्छ जसको व्यवस्था गर्न नेपाली किसानहरु असमर्थ छन् । रासायनिक मल किन्नु भनेको कतिपय किसानहरुको लागि पहुँच वाहिरको कुरा पनि हो । अधिकांश किसानहरु आफैसंग भएको प्राङ्गारिक मल जति छ त्यसैको उपयोग गर्छन् । फेरी अर्को तर्फ प्राङ्गारिक मलले माटो पनि विगार्दैन र सो मल प्रयोग भएको अनाज वा सागसब्जी मिठो हुनुको साथै स्वास्थकर पनि हुन्छ । यसर्थ धानमा समूह छनौट प्रजनन् तरिकाको आवश्यकता किसानहरुलाई बढी छ ।

 ३. समूह छनौटको परिचय : 

उन्नत जातको धान निकाल्नको लागि धानका विभिन्न प्रजनन्  गर्न तारकाहरु छन् । ती तारकाहरु मध्ये सबभन्दा छिटो हुन र सजिलो तरिका समूह छनोट (Mass Selection) हो । यो तरिका किसान स्वयंले अपनाउन सक्छन् । यो समूह छनोट प्रजनन् तरिका अपनाउँदा केही धेरै वोटहरु एकै किसिमको वाह्य आकृति ( Phenotype) को आधारमा छनोट गरिन्छ । त्यसपछि ती छनोट गरिएका वोटहरुको बीउहरु एकै ठाउँमा मिसाइन्छ र अर्को साल परीक्षण गरिन्छ । यदि परीक्षण गर्दा राम्रो देखिएमा किसान स्वंयले तेश्रो वर्षमा नयाँ जातको रुपमा प्रयोग गर्न सक्छन् र त्यो बालीबाट उत्पादित अन्न बीउको रुपमा क्रमिक रुपले ४-५ वर्षसम्म प्रयोग गर्न सक्छन् । यदि गुणस्तरमा कमी हुन थालेमा फेरी प्रक्रिया दोहोऱ्याउन सकिन्छ । ४-५ वर्षको अन्तरालमा सजिलैसंग अवलोकन गर्न सकिने गुणहरु जस्तै वोटको उचाई, वालाको लम्बाई, दानाको रंग, दानाको आकार प्रकार, रोग निरोधक शक्ति, धेरै गाँज हाल्ने क्षमता, ढल्ने वा नढल्ने, दाना झर्ने वा नझर्ने आदिका आधार मा यो समूह छनौट प्रजनन् तरिका अपनाइन्छ ।

४. समूह छनौटको कार्य विधि : 

यस तरिकाबाट उन्नत बीउ निकाल्नको लागि करीव ३ वर्ष लाग्छ । जसको कार्यविधि यस प्रकारको छ । पहिलो वर्षः- धेरै वोटहरु आवश्यकता अनुरुप एकै किसिमको वाह्य आकृतिको आधारमा जस्तै लामो वाला भएको, नढल्ने, रोग निरोधक, दाना नझार्ने, ठूला ठूला दाना भएको, एकै उचाईका वोटहरु छनौट गर्ने र ती सबै वोटहरुको वाला एकै ठाउँमा मिसाउने र माडेर एकै ठाउँमा मिसाएर बीउ राख्ने ।

दोश्रो वर्षः पहिलो वर्ष छनोट गरेर निकालेको बीउ एक ठाउँमा र छनोट नगरी राखेको वोटहरुको बीउ छुट्टाछु‌ट्टै ठाउँमा उमार्ने र छुट्टाछु‌ट्टै प्लटहरुमा रोप्ने । धान पाकेपछि छुट्टाछु‌ट्टै कटाई गरेर तुलना गर्नुपर्छ । यसरी तुलना गर्दा समूह छनौट तरिकाबाट तयार पारेको बीउले राम्रो नतिजा दिएमा त्यो बीउ अर्को सालबाट बीउको रुपमा प्रयोग गर्न सकिन्छ ।

तेश्रो वर्षः यदि बीउ पुग्ने भएमा सिधै बीउको रुपमा प्रयोग गरिन्छ । तर यदि बीउ नपुग्ने भएमा यस वर्ष बीउको विस्तार गरिन्छ र अर्को सालबाट बीउको रुपमा प्रयोग गरिन्छ । यसरी किसान आफैले पनि २-३ वर्ष भित्रै धानबालीमा सुधार ल्याउन सक्छन् ।

 ५. समूह छनोट प्रजनन् तरिकाको प्रयोग

धान एउटा स्वयं सेचन हुने बाली हो । त्यसैले यस समूह छनौटका दुईवटा मुख्य प्रयोगहरु हुन्छन् ।

(क) स्थानीय जातहरुको सुधार 

ख) प्रयोगमा आइरहेका शुद्ध लाइन जातहरुको शुद्धीकरण

क. स्थानीय जातहरुको सुधार : 

यो समूह छनौट प्रजनन तरिका स्थानीय जातहरुको सुधार गर्नको लागि अति उपयोगी देखिन्छ। किन की स्थानीय जात हरु विभिन्न किसिमको जीनको रुप (Genotypes) भएकाहरुको मिश्रित जात हुन् । यी जातका वोटहरु एक अर्कोमा फरक फरक पाइन्छ । तिनीहरुको फूल फुल्ने समय, पाक्ने समय, वोटको उचाई, रोग वा कीरा निरोधक शक्ति, वाला को लम्वाई आदि गुणहरु एक वोटको अर्को वोटसंग मिल्दैन । त्यसैले स्थानीय जातमा फरक फरक किसिमका गुणहरु भएका वोटहरु एउटै जात अन्तरगत पाइन्छ । जसले गर्दा गोडमेलको कार्यदेखि बाली भित्राउने समयसम्म केही न केही रुपमा भए पनि वाधा अड्चनहरु आउँछन् र फलस्वरुप उत्पादनमा यसको प्रत्यक्ष असर पर्दछ । साथै उत्पादन भएको वस्तु वा अनाज पनि कमसल खालको हुन सक्छ ।

त्यसैले कमसल खालका वोटहरु यस समूह छनौट तरिकाबाट हटाउँदा र एकै किसिमको गुणहरु भएका वोटहरुको छनौट गर्दा ती स्थानीय जातको एकनासेपनमा सुधार हुन्छ । हामी यी स्थानीय जातहरुलाई महत्वका साथ हेष्ठौँ किनकी यी जातहरु लामो समयदेखि किसानहरुको प्रयोगमा छन् । फेरी यस्ता जातहरु स्थानीय वातावरणमा धेरै राम्रोसंग अभ्यस्त छन् र साथै स्थिर पनि छन् । यी जातहरुलाई रोगहरु र कीराहरुले पनि त्यति आक्रमण गरेको पाइएको छैन। नराम्रो किसिमको समयमा वा प्रतिकूल मौसममा पनि यिनीहरुलाई त्यति असर परेको देखिन्न । तसर्थ समूह छनोट प्रजनन तरिका अपनाउँदा यी स्थानीय जातहरुमा अत्याधिक सुधार आउने र त्यसको प्रभाव पनि राम्रो देखिन्छ ।

ख. प्रयोगमा आइरहेका शुद्धलाइन जातहरूको शुद्धीकरण : 

प्रयोगमा आइरहेका शुद्धलाइन जातहरुको शुद्धीकरण गर्नु समूह छनौट प्रजनन् तरिकाको अर्को महत्वपूर्ण प्रयोग हो । समयको प्रवाह संगसंगै शुद्ध जातमा पनि फरकपना आउन सक्छ । शुद्धलाइन जातमा यान्त्रिक मिसावट, प्राकृक्तिक हाब्रिडाइजेशन र म्यूटेसनको कारणबाट फरकपना आउँछ । त्यसैले नियमित समूह छनौट प्रजनन् तरिका अपनाई शुद्धलाइन जातको शुद्धता व्यवस्थित तवरले कायम गर्न सकिन्छ। यी जातहरु उन्नत खाले भएका हुनाले बढी उत्पादन दिन्छन् तर एउटै जातका बोटहरु २ बीच फरक-फरकपन आउन थाल्यो भने अन्न उत्पादनमा तिव्र हास हुन सक्छ । यसले गर्दा किसानहरुलाई नोक्सानी हुन्छ । तसर्थ यी शुद्धलाइन जातमा राम्रोसंग किसान आफैले समय अनुकूल हुने गरी शुद्धीकरण गर्न सक्छन् ।

६. समूह छनोट प्रननन् तरिकाबाट हुने फाइदाहरू : 

(क) यस तरिकाबाट निकालिएको जातमा मिश्रित वंशाणुपन भएका बोटहरु पर्छन् तर ती सबैमा एकनासेपन पाइन्छ । त्यसैले छनोट भएको जात फराकिलो क्षेत्रमा लगाउन सकिन्छ किनकी शुद्धलाइन जातमा एकै किसिमको बंशाणुपन भएको हुनाले उक्त जात सिमित क्षेत्रमा मात्र लगाइन्छ ।

(ख) थोरै समय र लागतमा पनि नयाँ जात आउन सक्छ । धेरै सीप नभएका किसानहरुले पनि यो तरिका अपनाउन सक्छन् । यो अन्य प्रजनन् तरिकाहरु भन्दा ज्यादै सजिलो र छिटो तरिका पनि हो ।

(ग) यस छनोट तरिकाबाट प्रजनन् गर्दा प्रचुर मात्रामा जेनेटिक फरकपना संचित भएको पाइन्छ । त्यसैले पनि पटक पटक समूह छनौट प्रजनन् तरिका अपनाउन सकिन्छ ।

(घ) स्थानीय जातहरु विशेष महत्वका हुन्छन् जस्तैः- मिठो स्वाद भएको प्रतिकूल मौसममा पनि हुने, रोग र कीरा नलाग्ने वा सहन सक्ने शक्ति भएका, फराकिलो दायरामा पनि लगाउन सकिने । तसर्थ किसान स्वयंले यि जातहरुलाई र म्रोसंग सुरक्षित तवरले राख्न सक्छन् र मूल्यवान जातहरुलाई लोप हुनबाट जोगाउन सक्छन् ।


सन्दर्भ सूची :

1. B.D. Singh, 2002, Plant Breeding. 2. J.M. Poehlman and D.A. Sleper, 1995, Breedign field crops. 3. R.W. Allard, 1999, Principles of plant breeding. 4. B.R.Ojha, 2005, Breeding Methods in Self- pollinated Crops-Lecture notes for B.Sc. Ag. Students.

सम्बन्धित विषय

थप समाचार