बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

जमिन तयारीमा प्रयोग हुने मेशिनरी औजार : लेजर ल्याण्ड लेभलर

मंगलबार, भदौ ४ २०८१
11 views
जमिन तयारीमा प्रयोग हुने मेशिनरी औजार :  लेजर ल्याण्ड लेभलर

समाचार शेयर गर्नुहोस्

Share this news

लेजर ल्यान्ड लेभलर लेजर प्रकाशद्वारा माटो तान्ने बकेटलाई अटोमेटिक तरिकाले निर्दे शन दिएर जमिनलाई एकनासले सम्याउने मेशिन हो । यसलाई चारचक्के ट्रयाक्टरमा जोडेर चलाइन्छ । यो  मेशिन चलाउन ५० वा सो भन्दा बढी हर्स पावरको ट्रयाक्टर आवश्यक पर्दछ ।

लेजर ल्याण्ड लेभलरका भागहरु : 
१. लेजर ट्रान्समिटर :  यो त्रिपदस्ट्याण्डको माथि जोडिएको हुन्छ, यसले लेजरका किरणहरु वृत्ताकार  शैलीमा चारैतिर ५०० मिटर टाढासम्म फ्याँक्छ ।
२. लेजर रिसिभर :  यसलाई बकेटको माथि जोडिएको हुन्छ, यसले चारै दिशाबाट आएका लेजरका किरणलाई प्राप्त गर्दछ र सिग्नललाई कन्ट्रोल बक्समा पठाउँछ ।
३. कन्ट्रोल प्यानल :  यसलाई ट्याक्टरमा ड्राइभरको दायाँतिर जोडिन्छ, यसले रिसिभरबाट आएको सिग्नललाई प्राप्त गरेर माटो तान्ने बकेटको उचाई घटाउन वा बढाउनका लागि सूचना दिन्छ ।
४. हाइड्रोलिक सिस्टम :  यसले तेलको मात्रा घटबढ गरेर बकेटलाई माथि उठाउने तथा तल झार्ने  काम गर्दछ ।


लेजर ल्यान्ड लेभलर प्रयोग गर्नुका फाइदाहरू : 
१. उत्पादनमा वृद्धि
यस मेशिनको प्रयोग गरेमा एक बिघा जमिनमा ३५० केजी सम्म (२४%) बढी धान उत्पादन गर्न सकिन्छ । अन्य बाली जस्तै ;  मकै, गहुँ बालीमा समेत उत्पादन बढाउँछ । साथै खेतीयोग्य जमिनको उत्पादकत्वमा १५% सम्म वृद्धि गर्दछ ।
२. बाली लगाउन सहजता र एकनाशको बाली हुने खासगरी छरुवा खेती गर्न सहज हुन्छ । बालीको अङ्कुरण एकनाशको हुने र बोटको वृद्धि विकास समान रुपले हुन्छ । मलको सदुपयोग हुन्छ र बाली एकैनाशले पाक्दछ ।
३. कम लागतमा खेती खेती गर्दा लागत कम लाग्छ । समय, श्रम, इन्धन र पैसा बचत हुन्छ । जस्तै छरुवा धान खेती (जमिनसम्म भएकाले) गर्दा एक बिघामा लगभग २० जनासम्म कम ज्यामी लाग्छ । सिंचाई गर्दा २५% सम्म पानीको बचत हुन्छ । ४०% सम्म झारपातहरू कम आउँछन् साथै ७५% सम्म झारपात गोड्न लाग्ने ज्यामी खर्च घटाउँछ ।
४. सिंचाइको कार्यक्षमतामा बृद्धि साथै झारपात व्यवस्थापन पानीको एकनाशले वितरण हुन्छ जसले गर्दा सिंचाइ गर्न लाग्ने समय र पानीको बचत हुन्छ । साथै यस मेशिनबाट आवश्यकता अनुसार जमिनको ढल्काई मिलाउन सकिन्छ । माटोको पानी बचाइराख्ने क्षमतामा सुधार आउँछ । झारपातको समस्या कम हुन्छ साथै झारपात व्यवस्थापन गर्न सजिलो हुन्छ ।
५. मेशिन प्रयोगमा सहजता
विभिन्न कृषि औजारहरु जस्तै :  सिडड्रिल मेशिन, रिपर, कम्वाइन हार्भे स्टर, ट्रान्सप्लान्टर, ट्रयाक्टर आदि प्रयोग गर्न सहज हुन्छ र उक्त मेशिनहरुको कार्यक्षमता बढाउँछ ।
६. खेतीयोग्य जमिनमा वृद्धि
लेजर लेभलर मेशिनले जमिन सम्याउँदा खेतमा भएका आलीको संख्या घट्न गई खेती गर्न मिल्ने जमिन बढ्छ । तीन कठ्ठा जमिनलाई बढाएर १५ कठ्ठासम्म पु¥याउँदा लगभग ५ देखि ७% ले खेती गर्ने  जमिन बढ्छ ।

लेजर ल्याण्ड लेभलर सञ्चालनका चरणहरु : 
पहिलो चरण : जमिनलाई जोत्ने  : 

ठूलाठूला डल्ला तथा हिलो नहुने खालको माटोमा ठिक्कको  चिस्यान भएको बेला जग्गालाई केन्द्रबाट बाहिरपट्टि जोत्नुपर्दछ । माटोलाई बकेटमा बहन दिनका लागि जमिनको सतहमा भएका अवशेषहरु काट्ने तथा हटाउने गर्नुपर्दछ ।
दोस्रो चरण : अग्लो तथा होचो जमिनको भागलाई चिन्ह लगाउने : 

जमिनको सतह निरीक्षण गरेर जमिनको अग्लो होचो भागहरुको रेकर्ड राख्नुपर्दछ । सबै ठाउँको उचाइको नापलाई जोडेर जति वटा नाप मापन गरियो । त्यो संख्याले भाग गरेर औसत उचाइको नाप पत्ता लगाउने । त्यसपछि उक्त जमिनको औसत उचाइ पर्ने  ठाउँ पत्ता लगाउनुपर्छ र ट्रयाक्टरलाई सोही ठाउँमा लगेर अन्य सेटिङहरु मिलाउनुपर्छ ।

तेस्रो चरण : जग्गा समथर बनाउने : 
- समथर जग्गाको बिचतिर पर्ने  गरी जमिनको बाहिर राख्ने अनि पावर अन गर्ने  । यसको उचाइ ट्रयाक्टरको छतभन्दा माथि राख्ने, जसले गर्दा छत अगाडि भएको बेला ट्रान्समिटरबाट रिसिभर छेकिदैन ।
- लेजर लेभलरको बकेटलाई जमिनको औसत उचाइमा लगेर कटिङ ब्लेड जमिनको सतह भन्दा १–२ सेन्टिमिटर हल्का माथि हुने गरी सेट गर्ने  । यसो गर्दा रिसिभरमा हरियो बत्ती बल्ने उचाइमा मिलाउने ।

-  रिसिभरमा हरियो बत्ती बलेपछि कन्ट्रोल प्यानलमा अटो स्वीच अन गर्ने  र ट्रयाक्टरलाई जमिनको उच्च भागबाट होचो भागतर्फ बृत्ताकार हुने गरी चलाउने ।

- माटोले बकेट भरिन लाग्ने बित्तिकै ट्रयाक्टरलाई होचो भूभागतिर लैजाने र बकेट खाली गरेर पुनः उच्च भागतिर लैजाने । अन्तिममा जमिनको उच्च भागदेखि होचो भाग सम्म एउटा लामो सम्याउने पास लैजाने ।

- चाहिएको स्तरसम्म सही तरिकाले जग्गा समथर भयो भएन एकपटक पुन निरीक्षण गर्ने , नभएको भए फेरि उही तरिका अपनाई सम्याउने ।

चौथो चरण – मेशिनलाई सुरक्षित तरिकाले थन्काउने :

काम सकिएपछि लेजर ट्रान्समिटर, लेजर रिसिभर, कन्ट्रोल बाकसलाई सुरक्षित तरिकाले राख्ने । साथै बकेटको भागलाई समेत घामपानीबाट जोगिने गरि भण्डारण गर्ने  ।
कार्य क्षमताः
- यसबाट १ बिघा (२० कठ्ठा) जमिन सम्याउन लगभग ४ देखि ७ घन्टाको समय लाग्छ ।
- जग्गा सम्याउन लाग्ने समय जग्गाको आकार, क्षेत्रफल, माटोको चिस्यान, खेतमा रहेका बाली अवशेष तथा चालकको सीप अनुसार फरक पर्न सक्छ ।

Source : Pmamp

सम्बन्धित विषय

थप समाचार