बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

खुर्पानीको व्यवसायिक खेती प्रविधि

बुधबार, माघ १० २०८०
29 views
खुर्पानीको व्यवसायिक खेती प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

खुर्पानी (Apricot) रोजेसी (Rosaceae) परिवारमा पर्ने एक महत्वपूर्ण फलफूल हो । यस फलको वैज्ञानिक नाम प्रुनस अर्मेनिएका (Prunus armeniaca) हो । उत्तर–पूर्वी चीनमा यसको उत्पत्ति भएको मानिन्छ ।

विश्वभर यसको उत्पादन ३७५६ हजार टन हुन्छ । यसको व्यवसायिक हिसाबले उत्पादन गर्ने देशहरू चीन (१,७२५ हजार टन), टर्की (७१६ हजार टन), इरान (४७८ हजार टन), पाकिस्तान (३२५ हजार टन) हुन् (FAO 2011) । नेपालमा यसले २०२ हेक्टर क्षेत्रफल ओगटेको छ भने उत्पादनशील क्षेत्रफल १३३ हेक्टर मात्र छ ।

नेपालमा यसको उत्पादन ५.९९ मे.टन प्रतिहेक्टरका दरले ७९७ टन हुन्छ (फ.बि.नि. २०६६.६७) । नेपालका उच्च पहाडी ठाउँमा यसका जँगली जातहरू पाइन्छ त्यसैले यसको उत्पत्ति नेपालमै भएको पनि मान्न सकिन्छ । नेपालको मध्यपहाडदेखि उच्च पहाडसम्म यसलाई सुहाउँदो हावापानी भएका कारण यसको व्यवसायिक तवरले खेती गर्नका लागि यस सम्बन्धी अध्ययन, अनुसन्धान र यसको व्यवसायिक खेती गर्न आवश्यक देखिन्छ ।

– खुर्पानीको बियाँमा साइनोजेनिक गुल्कोसाइड (Cynogenic gulcoside) फल र पातमा भन्दा धेरै हुन्छ जुन क्यान्सर रोगको उपचारमा प्रयोग हुन्छ ।

– खुर्पानीको प्रयोग टुयूमर रोग र अल्सर रोगविरूद्ध गरिन्छ । यो फल खानाले पखाला बन्द हुन्छ ।

– प्रोस्टेट क्यान्सरको निदानको लागि पनि यो प्रयोग हुन्छ ।

– खुर्पानीको बियाँको प्रयोग खाने तेल उत्पादनको लागि पनि गरिन्छ । यसको प्रयोग वाइन र ब्रान्डि उत्पादन गर्ने उद्योगहरूमा पनि गरिन्छ । यसले रक्तअल्पता पनि घटाउँछ ।

– वातावरणीय सन्तुलन र भू–क्षय नियन्त्रणको लागि पनि यसको खेती उत्तिकै महत्वपूर्ण हुन्छ ।

– यसमा क्यारोटिनोइड धेरै प्रकार र मात्रामा हुन्छ र एन्टीअक्सीडेन्ट पनि धेरै हुन्छ । त्यसैले यसको प्रयोग आँखा र मुटुसम्बन्धी बिरामीलाई औषधीको रूपमा गर्न् सकिन्छ । यसको प्रयोगले लिभर (Liver)लाई स्वस्थ राख्छ । 

महत्वः

पाकेको फललाई त्यसै वा सुकाएर खान सकिन्छ । खुर्पानीमा पाइने पोषक तत्वको विवरण (१०० ग्राम गुदीमा)

खाद्य पोषण              ताजा फलको गुदीमा                     सुकाएको गुदीमा

कार्बोहाइड्रेट                  ११ ग्राम                               ११४ मि.ग्रा

डाइटरि रेसा                   २ ग्राम                                ७ मि.ग्रा.

सुगर                              ९ ग्राम                               ५३ मि.ग्रा.

तेल                               ०.४ ग्राम                             ०.५ मि.ग्रा.

प्रोटिन                            ०.४ ग्राम                            ३.४ मि.ग्रा.

भटामिन ए                      ६ माइक्रो ग्रा.                     ८० माइक्रो ग्रा.

वटा क्यारोटिन                  १०९४ माइक्रो ग्रा.              २१६३ माइक्रो ग्रा.

भटामिन 'सी'                    १० मि.ग्रा.                          मि.ग्रा.

आइरन                           ०.४ मि.ग्रा.                        २.७ ग्राम

– यसको प्रयोगले दाँत स्वस्थ र बलियो बनाउँछ ।

– यसको प्रयोगले यौन शक्ति बढाउछ र किड्नीको पथ्थरी घटाँउछ ।

वानस्पतिक परिचय

खुर्पानी ८–१२ मि. अग्लो र ०.४ मि. सम्मको डाँठको गोलाई भएको पतझर रुख हो । यसका पातहरू ५–९ से.मि. लामो, ४–८ से.मि. फराकिलो, छेउ–छेउमा काटिए को अण्डाकार भएपनि टुप्पो चुच्चो हुन्छ । यसले ४–५ वर्षबाट उत्पादन दिन सुरू गरी २०–३० वर्षसम्म उत्पादन दिन्छ । यसको पोथी फूल र भाले फूल एउटै बोटका एक वर्ष पुराना हाँगा र साना ठुटा हाँगा ९क्उगचक०मा फुल्दछन् । पात पलाउनु अगावै माघ फाल्गुणमा फूल फुल्दछ जसको रङ्ग सेतोदेखि कलेजीसम्म हुन्छ । फल १.५–२.५ से.मि. गोलाइको, घाम परेको भागतिर रातो धब्वा भएको पहेंलो देखी सुन्तला रङको
हुन्छ । फलको बियाँलाई साह्रो खोस्टाले ढाकेको हुन्छ । फल जेठदेखि असारसम्ममा परिपक्व हुन्छ ।

जातहरू

(क) साकरपाराः

फल मध्यम आकारको, काँधमा हल्का पहेँलो र गुलाबी रङ्ग भएका बास्नादार फिक्का पहेलो गुदी हुने यो जातको खुर्पानीको बियाँ पनि गुलियो हुन्छ । यो जात अगौटे जात हो र यसलाई बढी चिसो मौसम चाहिन्छ ।

(ख) कैसाः

फल मध्यम आकारको, पहेँलो बोक्रा र गाला रातो भएको र सुन्तला रङ्गको बास्नादार गुदी हुने यो जातको खुपार्नीको बियाँ तितो हुन्छ । यो जात मध्यम जातको खुपार्नी हो ।

अन्य जातहरूः

(ग) किलिन्टन

(घ) हार्कोट

(ङ) भिभागोन्ड

(च) न्युक्यासल

(छ) सनगोन्ड आदि ।

हार्कोट र भिभागोन्डको बियाँ कागजी बदामजस्तै हुन्छ र यसलाई कागजी बदाम स्वरूप प्रयोग गर्न सकिन्छ ।

हावापानी

शीतोष्ण जलवायु यसको खेतीको लागि उपयुक्त मानिन्छ । नेपालको उच्च पहाडी ठाउँको हावापानी यसको लागि उपयुक्त छ । वानस्पतिक कोपिला र फूलका कोपिलाका सुषूप्त अवस्था हटाउन ४००–६०० घन्टाका लागि तापक्रम ७ डिग्री सेल्सियस भन्दा तल हुनु पर्दछ । फल पाक्ने बेलाको तापक्रम १५–१९ डिग्री सेल्सियस हुनु उपयुक्त मानिन्छ । यसको खेती १२००–१५०० मिटर उचाईका
भ–ूभागमा गर्न सकिन्छ । खुर्पानीको लागि १०० से.मी. वार्षिक वर्षा उपयुक्त हुन्छ ।\

माटो

खुर्पानी खेतीका लागि १.५ मिटरसम्म गहिराई भएको दोमट र पानी तर्कने माटो उपयुक्त हुन्छ । यसको खेती ६–७ पि. एच. भएको माटोमा गर्न सकिन्छ । यसको खेतीको लागि गोलभेँडा, खुसार्नी, आलु लगाएका बारी उपयुक्त मानिदैँन ।

जमिनको तयारी, रेखाङ्कन र खाडल खन्ने विधि जमिनको छनौट गरिसकेपछि यसलाई राम्रोसँग खनजोत गरी सम्याउनु पर्दछ । सिँचाइको पनि राम्रो प्रबन्ध मिलाउनु जरुरी हुन्छ । पानी जम्नाले जराको बृद्धि रोकिने हुँदा जमीन तयार गर्दा पानी नजम्ने किसिमले तयार गर्नुपर्दछ । सम्म जग्गामा चतुर्भुज प्रणाली र भिरालो जग्गामा कन्टुर प्रणाली उपयुक्त हुन्छ । सामान्यतयाः जमीनको बनौटलाई मध्यनजर गरी बिरुवा लगाउँदा १०–२० फिटसम्मको दूरी उपयुक्त हुन्छ ।

रेखाङ्कन गरिएको जमीनमा १५ गुणा १५ फिटको दूरीमा ३ फिट गहिरो ३ फिट चौडाइ ३ फिट मोटाई भएको खाडल खन्नु पर्दछ । खाडल खन्दा माथिको १ फिटसम्मको माटो छुट्टै ठाउँमा र बाँकी २ फिटको माटो छुट्टै ठाउँमा राख्नु पर्दछ । खाडल खनिसकेपछि १ महिना जति सूर्यको प्रकाशद्वारा माटो उपचार हुन दिनुपर्दछ, त्यस लगत्तै अलग राखेको माटोमध्ये १ फिटसम्मको माटो खाडलको सबैभन्दा मुनि राख्नु पर्दछ बाँकी २ फिटको माटोसँग ३०–४० कि.ग्रा कम्पोष्ट मल वा पाकेको गोबरमल मिसाइ खाडललाई जमीनको सतहभन्दा २–३ इञ्च माथिसम्म पुर्नु पर्दछ रोप्न तयार भएका खुर्पानीका बिरुवाहरू खाडलकोबिच भागमा पर्ने गरी खाडल पुरिसकेको १ महिनापछि लगाउन उपयुक्त हुन्छ ।

बिरुवा प्रसारण विधि

(क) बिउबाटः यस विधिबाट उत्पादित बिरुवाहरूमा पैतृक गुण शत प्रतिशत हुँदैन। यस विधिअनुसार फलबाट बियाँ छुट्याइन्छ र बियाँलाई १०–१५ दिनभित्रै चिसो उपचार (Stratification) गरेर रोपिन्छ । यसको लागि पानीमा भिजाएको बिउलाई उपयुक्त माध्यम (Vermiculite, Peat, Moss वा बालुवा)मा तह गरी २-३ हप्तासम्म ३-५ डि.से. तापक्रम कायम राख्नुपर्छ ।

साथै, उक्त अवधिमा चिस्यान र हावा सञ्चारको उचित व्यवस्था हुनु पर्छ । यसरी उपचारत बिउलाई उम्रन थालेपछि नर्सरी ब्याडमा १५-२० से.मी. बिउको दूरी, २५-३० से.मी. लाइनको दूरी र ६–१० गहिराइ मिलाई रोप्नु पर्दछ । खुर्पानीको बिउको उमारशक्ति बढाउनका लागि बिउलाई जिभर्लिक एसिड (GA3) ५०० पि.पि.एम. अर्थात काइनेटीन (Kinetin) ५ पि.पि.एम. घोलमा २४ घण्टासम्म भिजाइ उपचार गर्नु उपयुक्त हुन्छ (Bal, 2008_) । बिउ लगाइ सकेपछि त्यसलाई ६–१० से.मी.को छापो दिनु राम्रो मानिन्छ ।

ख) वानस्पतिक प्रसारण (अलैङ्गिक प्रजनन्): यस तरिकाद्वारा तयार पारिएका बिरुवाहरूमा शतप्रतिशत माउ बोटको गुण आउँछ । वानस्पतिक प्रसारणमा जिब्रे कलमी (Tongue Grafting), टि–बडिङ्ग (Budding) र चिप–बडिङ्ग (Chip Budding) प्रमुख हुन् । खुर्पानीमा कलमी र बडिङ्ग दुबैको सफल हुन्छ । जिब्रे कलमी विधिबाट कलमी गर्न पालुवा आउनु अघिको फागुनको दोस्रो हप्तादेखि चैतको पहिलो हप्तासम्मको समय उपयुक्त मानिएको छ ।

यस तरिका अनुसार सर्वप्रथम रुटस्टक बिरुवाहरू (Root stocks) तयार गर्न नर्सरीमा खुर्पानी, आरु वा आरुबखडाका बिउहरू रोपिन्छ । जङ्गली खुर्पानीमा गरिएको कलमीको सफलताको मात्रा बढी हुन्छ र यी बोटहरू धेरै चाडो बढ्दछन् । आरूका रुटस्टक सुख्खा र हलुका माटो भएको ठाउँहरू र आरुबखडाका रुटस्टकहरू खँदिलो र पानीको मात्रा बढी भएका ठाउँहरूमा उपयुक्त मानिन्छ (Bal, 2008) ।

नर्सरीमा तयार पारिएका बिरुवाहरूमध्ये स्वस्थ र उपयुक्त आकारका बिरुवाहरू छनौट गरी त्यसलाई भूइँबाट १५–२० से.मी. माथि काटेर त्यसमा जिब्रो जस्तो कटिङ्ग बनाइन्छ । यसैगरी स्वस्थ एवम् राम्रो जातको खुर्पानीको अधबैँसे बोट (माउ बोट) बाट काटेर ल्याइएका उपयुक्त आकारका सायन (कलमी गरिने हाँगा) को तलपट्टी पनि सोही अनुसारको जिब्रे कटिङ्ग बनाई रुटस्टकसँग जोडी प्लाष्टिकको टेप वा फिताले बाँधिन्छ ।

यसरी ग्राफ्टिङ्ग (कलमी) गर्दा उपयुक्त वातावरण (२१–२४ डि.से. तापक्रम) भएमा १५–२५ दिनभित्रै बिरुवा पलाउन थाल्छ । रुटस्टकबाट पलाएका मुनाहरूलाई भने नियमित रूपमा हटाउनुु पर्दछ । सिसाकलम जत्रो (लगभग ०.६ से.मी) मोटाइ भएका रुटस्टक बिरुवाहरूको जमीन भन्दा १० से.मी. माथिको मूल डाँठको बोक्रा, २–४ गुणा १–२ से.मी. को ढाल आकारमा हटाइ वा १–२ गुणा ३–५ से.मी.को अग्रेजी अक्षर 'T' आकारमा काटी त्यहि आकारको सानो मुना (Bud) सहितको भाग त्यसमा जोडेर चिप–बडिङ्ग वा टि–बडिङ्ग गर्न सकिन्छ ।

जग्गाको तयारी तथा बिरुवा रोप्ने विधि

जग्गाको तयारी बिरूवा रोप्नु भन्दा कम्तिमा १ महिना अगाडि गर्नुपर्छ । सामान्यतयाः खुर्पानी बिरुवा लगाउन ६/६ मिटर (लाइन र बिरुवा बिचको दूरी)को दूरी कायम हुने गरी गह्रा कान्ला (कन्टुर) वा वर्गाकार विधिबाट जग्गाको रेखाङ्कन गरिन्छ (कृृ.सु.स.के, २०६७) । त्यसपछि १ मिटर गहिराई र १ मिटर गोलाइको खाडल खन्नुपर्छ । खाडल खन्दा तलको माटो एकातिर र माथिको माटो अर्कोतिर राखी तलको माटोसँग प्रतिखाडल ३०–४० किलो पाकेको गोठे वा कम्पोष्ट मल मिसाउनु पर्छ ।

यस्तो माटो मललाई खाडलको माथि र माथिको माटोलाई तल पारी खाडलको करिब १५-२० से.मि. माथिसम्म आउने गरी पुर्नु पर्दछ । बिचमा काठको छेस्काले चिनो लगाउनु पर्दछ । पछि पुस-माघमा बिरुवा लगाउँदा त्यो छेस्का हटाइ खाडलको बीचमा पर्नेगरी तथा कलमी जोडेको भाग माटो मुनी नपुरिने गरी बिरुवा रोप्नु पदर्छ । यसरी रोपेको बिरुवालाई आवश्यक भए टेका दिइ सोझो पार्ने तथा सिँचाइ गरी छापो दिन सकेमा राम्रो हुन्छ । रोपिएका बिरुवाहरूले उत्पादन दिन सुरु नगरेसम्म बगैँचाको खाली जग्गामा ठाउँ सुहाउँदो तरकारी एवम् मसला वालीहरू लगाएर फाइदा लिन सकिन्छ ।

मलखाद र सिँचाइ

कुनै पनि बालीबाट अधिकतम् लाभ लिन सन्तुलित मलखाद प्रयोग गर्नु जरुरी हुन्छ । सन्तुलित मात्रामा धेरै फल उत्पादनको लागि नाइट्रोजन, फोस्फोरस, पोटासियमजस्ता मलहरूको सन्तुलित प्रयोग र जिंक, बोरोन, मोलिबडेनम, म्याग्नेसियम, सल्फर जस्ता तत्वहरूको आवश्यकतानुसारको प्रयोग गर्नुपर्दछ । खुर्पानीलाई प्रतिवर्ष प्रतिबोट २५ केजी गोबर मल, २०० ग्राम नाइट्रोन, १०० ग्राम फोस्फोरस र ५० ग्राम पोटास प्रदान गर्नुपर्दछ (कृ.सु.सं.के., २०६७) ।

मलखादमध्ये गोठे मल, फोस्फोरस र पोटासको पुरै मात्रा र नाईट्रोनको आधा मात्रा पौष–माघमा काँटछाँट गरेपछि र नाइट्रोजन मलको आधा मात्रालाई दुई भागमा विभाजन गरी आदि भागलाई फागुन–चैत्रमा नयाँ पालुवा आउन सुरु हुँदा र आदी भागलाई फल लागेको एक महिनापछि प्रयोग गर्नु पर्दछ । मलखाद प्रयोग गर्दा बिरुवाको फैलावट अनुसारको दूरीमा बिरुवाको वरिपरी कुलेसो बनाई प्रयोग गर्नुपर्छ । त्यसपछि माटोले छोपी सिँचाइ गर्नु राम्रो हुन्छ । बिरुवा रोपेदेखि राम्ररी नसरेसम्म र फल लाग्ने र बढ्ने बेलामा माटोमा चिस्यान कायम राख्न सके बोट र फलको बृद्धि र विकासमा मद्दत पुग्नुका साथै गुदी भरिन सहयोग पुग्दछ । सिँचाइको समस्या कम गर्न बगैंचा भित्र प्लाष्टिक वा सिमेन्टको पोखरी बनाउनुका साथै बिरुवामा छापो (Mulch) राख्न सकिन्छ । वर्षायाममा पानी निकासको व्यवस्था मिलाउन पनि बिर्सनु हुँदैन ।

तालिम तथा काँटछाँट

खुर्पानी बालीलार्ई खुल्ला भाँडो (Open Vase) पद्धती वा परिवर्तित मूल हाँगा पद्धती (Modified Central Leader System) द्वारा तालिम दिने अर्थात काँटछाँट गरी स्थायी एवम् बलियो आकार दिनुपर्दछ । बिरुवालाई जमीनभन्दा ६०–७० मिटर माथि काट्नु पर्दछ । त्यसपछि अर्को वर्ष चारैतिर पलाएका, करिब १० से.मी. को दूरीमा रहेका ३–५ वटा हाँगाहरू मात्र राखी अन्यलाई मूल हाँगाबाटै हटाउनु पदर्छ । प्रत्येक शाखा हाँगाहरूमा ५–७ वटा प्रशाखा हाँगाहरू राख्नुपर्दछ ।

भर्खरै फल्न सुरु गरेका बिरुवाहरूमा फललाई भन्दा हाँगाहरूको विकास बढी ध्यान दिनु पर्दछ । यसका लागि पुस-माघमा धेरैजसो हाँगाका टुप्पाहरू छोट्याउने (Heading-back) र अनावश्यक हाँगाबिँगा हटाई पतल्याउने (Thinning) । पर्याप्त फल दिन थालिसकेको बिरुवामाचाहीँ प्रत्येक वर्ष आवश्यक सङ्ख्यामा नयाँ फल्ने हाँगाहरूको विकास हुने गरी मात्र काँटछाँट गर्नु पर्दछ । यसैगरी सुकेका, मरेका, रोग कीराबाट ग्रस्त एवम् कमजोर र बल्झिएका हाँगाबिँगाहरूलाई नियमित रूपमा काँटी हटाउनु पर्दछ ।

काँटछाँट गरी सके पछि लागेका ठूला घाउहरूमा बोर्डो पेष्ट लगाउनु र पुरै बिरुवामा बोर्डो मिक्सचर छर्नु जरूरी हुन्छ । खुपार्नीको फल बाक्लो लाग्ने हुँदा यसको फललाई पतल्याउँनु जरुरी हुन्छ । जसले गर्दा फलको आकार र गुणस्तर राम्रो हुन्छ । हाँगा भाँच्चिने समस्या पनि कम हुन्छ र वर्ष बिराएर फल्ने समस्या पनि कम हुन्छ । फलदेखि फलको दुरी ४–५ से.मी हुने गरी वा एउटा सानो मुनामा (Spurs) २–३ फल हुने गरी फल पतल्याउँनु राम्रो हुन्छ । फूल लागेको ४० दिनभित्र नै फल पतल्याउँनु पर्दछ । फल पतल्याउन २५–५० पि.पि.एम. न्याप्थालो एसिटिक एसिड (NAA) फल लागेको २० दिनपछि प्रयोग गर्न सकिन्छ ।

फल टिपाई तथा उत्पादन

खुर्पानीले बिरुवा रोपेको ५ वर्षमा फल्न सुरु गर्दछ र ३०–४० वर्षसम्म फल दिन्छ । फल टिप्नुअघि फल पाकेको छ वा छैन भनि छुट्याउन सामान्यतयाः दुई वटा तरिकाहरू अपनाइन्छ । पहिलो तरिकाअनुसार जब फलको रङ्ग हरियोबाट पहेँलो वा रातोमा परिवर्तन भएपछि र दोस्रो जब फल कमलो वा गुलियो रसले भरीपूर्ण भएपछि पाक्छ ।

साधारणतयाः नेपालमा खेती गरिने खुर्पानी जेष्ठदेखि श्रावण महिनामा टिप्न तयार हुन्छ । फल टिप्दा बिरुवाको फेदमा कुनै कपडा वा पाल ओछ्याउनु राम्रो हुन्छ भने हाँगामा कमसे कम चोट पुगोस् भनि विचार पु¥याउनु पर्दछ । यसको फललाई ८५–९०∞ आद्रता र ५ डिग्री तापक्रममा एकदेखि दुई हप्तासम्म भण्डारण गर्न सकिन्छ । बिरुवाले रोपेको ८–१० वर्षपछि पूर्ण क्षमतामा फल दिन्छ । यस्तो एउटा परिपक्व एवम् स्वस्थ बोटबाट करिब ५०–८० किलो फल प्राप्त गर्न सकिन्छ भने प्रतिकिलोमा ५–१२ दाना हुन्छन् ।

सुकाएको खुर्पानी

धेरै समयसम्म भण्डारण गर्न नसकिने खुर्पानीलाई सुकाएर बेच्ने चलन बढी छ । विश्वको परिवेशमा सुकाएको खुर्पानी उत्पादन ८४.१४ टन हुन्छ । सबैभन्दा बढी उत्पादन टर्की (६८.१२ टन), अस्ट्रेलिया (४.५३टन), ईरान (३.५६टन), अमेरिका (१.९टन) मा हुन्छ भने यसको माग एसिया, अमेरिका र युरोपका देशमा बढी छ (Sorgun O. 2005) ।

खुर्पानीलाई परम्परागत र आधुनिक दुवै तरिकाबाट १२ दिन घाममा सुकाउने गरिन्छ । यसमा ८ किलो ताजा फलबाट १ किलो सुकेको खुर्पानी निस्कन्छ । आधुनिक तरिकामा खुर्पानीलाई सल्फरमा उपचार गरेर सुकाइन्छ । यस तरिकामा ५–६ किलो ताजा फलबाट १ किलो सुकेको खुर्पानी निस्कन्छ । यस तरिकामा बन्द कोठामा बियाँ हटाइएको फललाई सल्फरले एक घण्टा जति फ्यूमीगेसन गरिन्छ र त्यसपछि सुकाइन्छ । यस तरिकाबाट प्राप्त फलको रङ्ग राम्रो हुने, कमलो हुने र ढुसीले कम आक्रमण गर्ने खालको हुन्छ ।

रोग कीरा

१. ब्याक्टेरियल क्याङ्कर वा गमोसीसः

यो रोग सुडोमोनास साइरिन्जी (Pseudomonas syringae) नामक ब्याक्टेरियाले लगाउँछ । यो रोग लागेको बोटको डाँठको बोक्रामा पानीले भिजेजस्तो गोलो धब्बा देखापर्दछ । रोगको आक्रमण बढ्दै जाँदा डाठ र हाँगाबाट बाक्लो गम निस्किन्छ । यसको आक्रमण भयो भने फलमा पनि कालो धब्बा देखा पर्दछ । यस रोगको नियन्त्रणका लागि रोगी हाँगा बिँगा हटाई बोर्डोमिक्सचर (२ः२ः२५०) प्रयोग गर्नु पर्दछ ।

२) पाउडरी ढुसीः

यो रोग स्पोरोथीका प्यानोसा (Sphaerotheca pannosa) नामक ढुसीले गराउँछ जसले कलिला पात र मुनामा आक्रमण गर्दछ । यसको रोगथामको लागि सल्फरजन्य बिषादी ०.२५ प्रतिशत फूलफुल्नु अघि, फूल फुलेको एक दुई दिनमा र त्यसको दुई हप्तापछि गरी जम्मा तीन पटक छर्नु पर्दछ ।

३) खैरो दागः मोनीलीनिया (Monilinia sps) नामक ढुसीले फूल र फललाई आक्रमण गरी कालो दाग बसाल्दछ । यसको रोग थामको लागि जाईनेब (०.३∞) र बेनोमाईल (०.१∞) प्रयोग गर्न सकिन्छ ।

४) ब्याटोसेरा डोर्सालिज (Bactocera Dorsalis) : झिगाँको लार्भाले फलको गुदी खान्छ र फल कुहाउदँछ । यसको नियन्त्रणको लागि बगैँचा सफा राख्नेका साथै आवश्यकाता परे बिषादी छर्नु पर्दछ ।

५) लाइमन्ट्रिया ओफुस्काटा (Lymantria obfuscata) : पुतलीको लार्भाले रूखको पातलाई सखाप पार्दछ । यसको नियन्त्रणको लागि इन्डोसल्फान (०.५∞) छर्न सकिन्छ ।

निष्कर्ष

खुर्पानी नेपालका १२०० देखि १५०० मिटर उचाई भएका भू-भागहरूमा लगाउन सकिन्छ । नेपालका मलिलोपना कम भए कम नाँगा डाडाँहरूलाई खुपार्नीको बगैँचाले ढाँक्न सकियो भने यसले पोषण सुरक्षा र गरिबी न्युनीकरणमा पनि सहयोग पु-याउँछ ।

पोषक तत्व र खनिज तत्वको खानी खुपार्नीको माग विभिन्न प्रयोजनका दृष्टिकोणले महत्वपूर्ण भएको हुनाले र यसको खेतीको लागि उपयुक्त हावापानी पाइने हुनाले नेपालमा यसको व्यवसायिक खेतीलाई बढावा दिनु जरुरी देखिन्छ ।

- अरूण खनाल

थप समाचार