परिचयः
कुर्सिफेरी परिवार अन्तर्गत पर्ने बन्दा पनि नेपालको एक प्रमुख तरकारी बाली हो । यसको खेती नेपालको तराई देखि उच्च पहाडी क्षेत्रसम्म पनि गर्न सकिन्छ । तराईमा जाडो मौसममा खेती गरिन्छ भने मध्य तथा उच्च–पहाडमा यसको खेती वर्षै भरि गर्न सकिन्छ ।
हावापानीः
जाडो मौसममा खेती गरिने बन्दाको लागी चिसो हावा पानी उपर्युक्त मानिन्छ । यो बालीले काउली भन्दा केहि ज्यादा तपक्रम सहन सक्दछ । यसलाई १५ डिग्री देखि २८ डिग्री से तापक्रममा पनि उत्पादन गर्न सकिन्छ ।
जातहरुः
कोपनहेगन मार्केटः यो जातको बन्दाको डल्ला हरियो रंगको, कस्सिएको, अण्डा आकारको गोलोर थोरै चुच्चो परेको हुन्छ । यो बेर्ना सारेको ७०–९० दिनमा तयार हुन्छ । यसको उत्पादन क्षमता सरदर ३०–४० मे.टन रहेको छ ।
प्राईड अफ इन्डियाः यो जातको बन्दाको डल्ला हरियो रंगको, थोरै कडा तथा मध्यम खालको गोलो हुन्छ । यो बेर्ना सारेको ६५–८० दिनमा तयार हुन्छ । यसको उत्पादन क्षमता सरदर २०–३० मे.टन रहेको छ ।
ग्रिन कोरोनेटः यो जातको बन्दाको डल्ला गाढा हरियो रंगको, कस्सिएको, चेप्टोगोलाकारको हुन्छ । यो जातमा डल्ला फुट्ने समस्या कम हुन्छ । यो बेर्ना सारेको ७०–८० दिनमा तयार हुन्छ । यसको डल्लाको औसत तौल १.६–२.८ किलो सम्म हुन्छ ।
नेपाल ग्रिनः यो जातको बन्दाको डल्ला गाढा हरियो रंगको, कस्सिएको, चौडाकारको हुन्छ । यो बेर्ना सारेको ५५–६० दिनमा तयार हुन्छ । यसको डल्लाको औसत तौल १.५–१.८ किलो सम्म हुन्छ ।
ग्रिन स्टोनः यो जातको बन्दाको डल्ला हरियो रंगको गोलाकारको हुन्छ । यो बेर्ना सारेको ५५– ६५ दिनमा तयार हुन्छ । यसको डल्लाको औसत तौल १–१.५ किलो सम्म हुन्छ ।
नर्सरी व्यवस्थापन र लगाउने समय
- काउली बालीलाई जस्तै बन्दालाई पनि नर्सरीको लागी पानी नजम्ने, बलौटे दोमट माटो, पारिलो, सिँचाइ सुविधा भएको ठाउँ उपर्युक्त हुन्छ ।
- नर्सरीका लागी १ मि. चौडाइ र आवश्यकता अनुसार लम्बाइ भएको नर्सरी बनाउनु पर्दछ ।
- नर्सरी व्याडको माटोको उपचार मालाथियान र वेविस्टन प्रति वर्गमिटर २ ग्रामका दरले प्रयोग गरेर बीउ राख्नु पर्दछ । साथै ४/५ के.जी. राम्रोसँग पाकेको कम्पोष्ट मल अथवा गोबर मल प्रतिवर्ग मिटरका दरले राख्नु पर्दछ ।
- तयार भएको नर्सरी व्याडमा कुटो वा काठको छेस्काले लाइन कोरी ५ से.मी.को फरकमा बीउ खसाल्नु पर्दछ ।
- १ रोपनी जमिनका लागि वर्णशङ्कर जातको भए १० ग्राम अर्थात् उन्नत जातको लागि २५ देखि ३० ग्राम बीउ आवश्यक पर्दछ ।
- नर्सरीमा बीउ राखेको २० देखि २५ दिनमा बेर्ना सार्नका लागी तयार हुन्छ ।
- बेर्ना उखेल्नु अघि नर्सरी व्याडलाई पानीले सिँचाइ गरी राम्रोसँग भिजाउनु पर्दछ ।
- बेर्ना सार्दा सधै साँझको समयमा मात्र सार्नु पर्दछ ।
- बेर्ना सारिसके पछि बेर्नाको वरिपरिको माटो विस्तारै थिचि हजारीको सहयोगले हल्का रुपमा सिँचाइ गर्नु पर्दछ ।
जग्गाको तयारीः
बन्दा खेतीबाट राम्रो उत्पादन लिनका लागि मलिलो, बलौटे दोमट किसिमको माटो उपयुक्त हुन्छ । प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको र पानीको निकासको राम्रो व्यवस्था भएको माटो हुनुपर्दछ । बन्दा लगाउने जग्गाको पि.एच. ६ देखि ६.५ सम्म भएमा उपर्युक्त मानिन्छ ।
बिरुवा लगाउने दुरीः
खुल्ला सेचित जातहरुका का लागी ६० x ४५ से.मि. र हाइब्रिडहरुका लागी ४५ x ४५ वा ४५ x ३० से.मि. को दुरीमा रोप्नुपर्दछ ।
मलखादः
बन्दा खेतीलाई प्रशस्तमात्रामा मलखाद चाहिन्छ । कम्पोष्ट मल २५–३० मेट्रिक टन र रसायनिक मल १००ः८०ः५० किलो नाईट्रोजन, फस्फोरस र पोटास प्रति हेक्टरको दरले प्रयोग गर्नु पर्दछ । बेर्ना रोपेको एक महिनामा बिरुवामा बाँकी आधा भाग नाईट्रोजन मललाई टपड्रेसका रुपमा प्रयोग गर्नुपर्दछ ।
सिंचाईः
बेर्ना राम्ररी नसरुन्जेलसम्म प्रत्येक दिन हजारीको सहायताले हल्का सिँचाई गर्नु पर्दछ । बिरुवा सरिसकेपछि भने आवश्यकताका आधारमा माटोको चिस्यान हेरि १०–१५ दिनको फरकमा बिरुवालाई सिंचाई दिनुपर्दछ ।
बाली टिपाइ:
जात, सिजन तथा मौसम अनुसार बन्दा टिप्ने समय फरक पर्दछ । बन्दाको डल्लालाई हातले छामेर बन्दा टिप्न तयार भए नभएको थाहा पाउन सकिन्छ । बाली काटे पछि रोग लागेका पातहरुलाई हटाउनु पर्दछ । बन्दा टिप्दा सकभर साँंझपख घाम अस्ताउने बेलामामात्र टिप्नु पर्दछ । टिपेका बन्दाहरुलाई बाँसको टोकरी, डोको वा बोरामा प्याक गरी ढुवानी गर्नु पर्दछ ।
उत्पादन:
जात, ठाउँ तथा लगाउने समय अनुसार बन्दाको उत्पादनमा फरक पर्दछ । सरदर एक हेक्टरमा २० देखि ५० टन सम्म उत्पादन लिन सकिन्छ ।
सन्दर्भ सामग्रीहरु : PMAMP (धनकुटा)