बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

धान खेतमा माछा पालन प्रविधिः एक नौलो आयाम

बुधबार, जेठ ३० २०८१
6 views
धान खेतमा माछा पालन प्रविधिः एक नौलो आयाम

समाचार शेयर गर्नुहोस्

Share this news


परिचय : 
धान खेतमा माछा पालन एक अतिरिक्त बालीको रुपमा आउँछ । यो एक एकीकृत खेती बालीको उदाउँदो प्रयास हो, जहाँ धान खेतभित्र माछा पालिन्छ । यस प्रविधिमा धान प्रमुख बाली हो भने माछा सहायक, जसबाट किसानले सोहि क्षेत्रफलबाट बढी आम्दानी लिई आर्थिक लाभमा बृद्धि ल्याउन सक्छन । चिनबाट सुरु भएको मानिने यो प्रविधि नेपालमा सन् १९६४ मा मत्स्य बिभागले भित्राएको हो । नेपाल अधिराज्यको तराईदेखि मध्य पहाडी भु–भाग जहाँ धान खेतीको लागि चाहिने सिंचाइ सुबिधा राम्रो छ, त्यस्ता स्थानहरूमा केही व्यवस्थापन प्रविधिहरु अपनाई सहजै धान खेतमा माछा पालन गर्न सकिन्छ । धान खेतमा माछा पालन गर्दा धानको अतिरिक्त माछाको उत्पादन सहजै प्राप्त गर्नुका साथै धानको समेत उत्पादन बढने, झारपात नियन्त्रण हुने, धानबालीलाई नोक्सान पुर्याउने  शत्रु कीरा जस्तै फटयाङग्रा, शंखेकीरा आदि माछाले खाइदिएर दोहोरो फाईदा  पुर्याउने  भएकाले यो प्र णाली भक्तपुर, काठमाडौं, ललितपुर, कास्की, तनहुँ, धादिङ ,गोरखा ,चितवन लगाएत तराई र मध्य पहाडमा सफलता पूर्वक संचालन भैरहेको छ । जमिनको उर्बरा शक्ति कम हुदैँ गएको आजको अवस्थामा धान खेतमा माछा पालन गर्दा उर्बरा शक्ति कम भएर हुने उत्पादकत्व ह्रास, अतिबृष्टि, असिनाबाट वा अन्य प्राकृतिक प्रकोपबाट हुने आर्थिक क्षतिलाई २० प्रतिशतसम्म पुर्ति गर्न सक्छ ।
माछा र धान खेतीसँगसँगै गर्दा माछालाई आवश्यक पर्ने पानी र गरम हावाको सहजै पूर्ति हुने हँुदा दुवै बाली एकै पटक लिन सकिन्छ, जसबाट जमिनको उचित सदुपयोग हुन्छ । यसो गर्दा यदि एक बालीको उत्पादन ह्रास हुन गएमा अर्को बालीबाट सो ह्रासलाई पुर्ति गर्दा टेवा मिल्छ । धानखेतमा मत्स्यपालन फाइदाजनक, प्रभावकारी र उत्साहवर्धक भएता पनि कृषकहरूमा प्राविधिक ज्ञानको अभाव तथा बाह्य सेवाको कमिले प्रभावकारी हुन सकेको छैन । अहिले धान खेतमा माछा पालन गर्दै आएका किसानहरू कम भएता पनि भविष्यमा निश्चित कार्यक्रम बनाइ लागु गर्दै जानु पर्ने कुरा आजको माग रहेको छ । साथै यस सम्बन्धमा कृषकहरूलाई केही सामान्य प्रविधि र खेतको तयारीबारे जानकारी हुन जरुरी हन्छ । धान खेतीसँगै माछाखेती गर्दा निम्न कुराहरू ध्यानमा राखी पालन गर्दा राम्रो हुन्छ । 
व्यवस्थापन 
सहि ठाउँको छनौट र पानीको स्रोत सही ठाउँको छनौटले लगानीमा प्रत्यक्ष असर गर्ने भएकाले यसमा विशेष ध्यान पुर्याउन पर्दछ । धान बालीको लागि पानी लगातार आवश्यक पर्ने भएकाले जमिनको धरातल केही होचो र माटो केही चिम्टाईलो–पाङ्गो र करिब ६ महिनासम्म पानी अड्ने खालको हुनुपर्छ । यथासम्भव सिंचाईको राम्रो व्यवस्था भएको तर वर्षातको समयमा खोला– नालाबाट बाढी नपस्ने खालको जमिन उपयुत्त मानिन्छ । स्थल छनौट गर्दा आफुले निगरानी गर्न सकिने खालको ठाँउ हुनुपर्दछ जसले गर्दा माछा चोरी हुनबाट बचाउन सकिन्छ ।

धानखेतको तयारी 
आली र डिलको निर्माण माछा पाल्ने धानखेत सामान्य धानखेत भन्दा बनावटमा केही फरक हुन्छ । माछा पाल्ने धानखेतको आली १.५–२ फिट उचाइको बलियो र पानी नचुहुने हुनुपर्दछ जसमा १–१.५ फिट पानी सहजै अड्न सकोस । डिल बलियो नभइ पानी चुहुने खालको भएमा आवश्यकता अनुसार पानीको गहिराई कायम राख्न सकिदैँन , फलस्वरुप पानीको अभावले धानखेतमा मत्स्य पालन गर्न सम्भव हुँदैन । 

ट्रेन्च  वा शरणस्थलको निर्माण
धानखेतमा माछालाई पाल्दा आपत–विपत परेको बेला जस्तै बढी गर्मि सुख्खा, चोरी, शत्रुजीवको आक्रमण आदि भएको बेलामा जोगाउन केही गहिरो पानी जम्ने ठाँउ, ट्रेन्च वा खाल्डो बनाउन पर्दछ । ट्रेन्च  खन्दा डिलबाट २ फिट भित्र, १ फिट गहिरो र २ पिट चौडा आकारको खाल्डो खन्नु पर्दछ अथवा खेतको कुनै एक ठाउँमा खाडल खन्दा पनि हुन्छ जसमा खेतमा पानी सुकाउने वा भित्रायाउने बेलामा माछा सुरक्षित किसिमले रहन्छ र यसरी जम्मा भएको माछालाई सहजै संकलन गर्न पनि सकिन्छ ।

पानीको प्रवेश तथा निकाश 
माछा पाल्ने धानखेतमा पानीको व्यवस्थाको लागि प्रवेश ढोका र निकाश हुनुपर्दछ तर यी दुवै सिधा हुनुहुँदैन, जसले गर्दा खेतमा लगाएको पानी सिधै बाहिर नगइ खेतको पानीसँग मिसिएर चारैतिर घुम्न सक्छ साथै माछाको लागि खेतमा उत्पन्न भएको प्राकृतिक आहारा सिधै बगेर जान पाउँदैन र धान खेतको दुवै ढोकामा जालि राख्नु पर्दछ जसले गर्दा जंगलीमाछा भित्र पस्न तथा पालेको माछा बाहिर जान पाउँदैन । जालीहरू समय समयमा सफा गर्नु पर्दछ । 

धानखेतको तयारी तथा रोपाई 
ट्रेन्च खन्दा आएको माटो आलीमा लगाउँदा राम्रो हुन्छ । धानलाई नै मुख्य बाली मानी, अरुबेलामा धान खेती गर्दा भन्दा अलिकति बढी दरमा गोबर मल एवं रासायनिक मल हाली दिने, यसरी प्रयोग गरेको करिब १० दिन पछि पानी र माटोमा माछालाई आवश्यक पर्ने प्राकृतिक आहरा उत्पादन हुँदै जान्छ । माछा पाल्ने खेतमा होचो, नढल्ने, ढिलो पाक्ने र एक पिट पानीमा गाँज हाली अड्न सक्ने उच्च जातको धान लगाउनुपर्छ । यसको लागि तराई र भित्री मधेशको लागि वर्षे–२, वर्ष–४, जानकी, साबित्री, मकवानपर–१, बिन्देश्वरी, चन्दिना, आदि र पहाडी भेगको लागि कंचन, हिमाली आदि जातहरु उपयुक्त मानिन्छ । धान रोप्दा प्रत्येक गाबोमा ३–४ बिरुवा पर्ने गरी एउटै लाइनमा करिब २०–२५ से.मी. को फरकमा रोप्नुपर्छ । जसले गर्दा माछालाई पैडिन सजिलो भई राम्रोसँग फस्टाउन सक्छ । 

माछाको जात तथा भुरा स्टकिङ
धान खेतमा माछापालन गर्दा सामान्यतया हिलो, बढ्दो तापक्रम, अक्सीजनको कमी तथा थोरै पानी सहन सक्ने क्षमताको हुनुका साथै छोटो अवधिमा बिक्री साईज हुने जातको हुनुपर्दछ जसको लागि टिलापिया र कमनकार्प जातका माछा उपयुक्त मानिन्छन् । ५ ग्राम भन्दा कम तौल भएका साना भुराहरूलाई धान रोपेको लगत्तै स्टकिङ गर्न सकिन्छ । यदि भुराहरू १० ग्राम भन्दा ठूलो भए धान रोपेको १०–१५ दिन पछि छोड्नु पर्छ । सामान्यतया कार्प ६,००० भुरा प्रति हेक्टर र टिलापिया ९,००० भुरा प्रति हेक्टरका दरले स्टकिङ गरिन्छ । माछाहरूले प्राकृतिक आहाराको खोजीमा धानखेत गोड्ने काम गर्ने हँुदा धान फस्टाउने गर्दछ । माछा स्टकिङ गर्नुभन्दा पहिले माछाको भुरा राखेका प्लाष्टिक प्याक र माछा छोड्ने खेतको पानीको तापक्रम बराबर बनाउनको लागि १० मिनेट जति भुराको प्याक खेतको पानीमा राख्नपर्छ ।

माछाको आहारा तथा स्याहार व्यवस्थापन
धान खेतमा पालिएका माछाहरू प्राकृतिक आहारामा मात्र पनि बाँच्न सक्ने भएता पनि यिनिहरूको उत्पादनमा बृदि ल्याउनका लागि कृतिम आहरा पनि प्रयोग गर्न सकिन्छ । जस्तै धानको ढुटो र तोरीको पिना १.१ को अनुपातमा मिसाएर प्रत्येक दिन माछाको शरिरको तौलको २–४ प्रतिशतका दरले खुवाउन सकिन्छ । माछालाई सर्प, चरा र चोरबाट बचाउनु पर्छ । सर्पको नियन्त्रण गर्न प्वाल टालिदिने, पासो, जाली, साईरन आदिको प्रयोग गर्न सकिन्छ भने चरालाई धपाउनु पर्छ साथै मान्छेले गर्ने चोरीलाई नियमित रेखदेख गरेर रोक्न सकिन्छ । धानखेतमा कीरा नियन्त्रण गर्दा इन्डोसल्पान, कार्बोफ्युरान, विर्षादी सहजै प्रयोग गर्न सकिन्छ । अक्सिजनको कमी भएमा धानखेतमा पानीको बाहब बढाएर वा पानी चलाएर बृद्धि गर्न सकिन्छ । माछा राखिसकेपछि धानखेतमा नियमित रेखदेख पु¥याउनु पर्छ । पानीको चुहावट, माछाको गति अथवा अवस्था, माछाले दाना खाए नखाएको, माछाको साईज अथवा बृद्धि जाँच र सर्प खोरमा परे नपरेको निरिक्षण गरिरहनुपर्छ । 

माछा फसल अथवा उत्पादन लिने 
साधारणतया धान काट्नुभन्दा १०–१५ दिन अगाडि, माछा १००–२०० ग्रामको भएपछि पानी सुकाई माछा मार्ने गरिन्छ । यसरी ९० दिनमा १५–२० टन प्रति रोपनी माछाको उत्पादन लिन सकिन्छ तर पानीको राम्रो व्यवस्था पु¥याउन सकेमा धान काटिसकेपछि पनि माछा पाल्न सकिन्छ । धान काट्ने बेलामा खेतको पानी सुकाईन्छ माछा ट्रेन्चमा जम्मा हुन्छन् र धान काटिन्छ । धानसँगै माछाको फसल पनि उठाउन सकिन्छ तर धान काटिसकेपछि पनि माछा पाल्ने हो भने खेतमा पुनः ३०–४० से.मी पानी लगाएर पाल्न सकिन्छ । 

सारांश 
नेपालमा धानखेतमा माछा पालन प्रविधि करिब दुई दशक भन्दा अगाडि देखि सुरुभएता पनि प्राविधिक ज्ञान र जानकारीको साथै निश्चित कार्यक्रमको अभावमा यो प्रविधि फस्टाउन सकेको छैन । जमिनको उचित सदुपयोग र आर्थिक बृद्धिदरको सहज माध्यम मानिने यो प्रविधिको नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतका मत्स्य अनुसन्धान केन्द्रहरू पोखरा, त्रिशुली, तथा तरहरामा अध्ययन संचालन गरी तथ्यांक संकलन भइसकेका छन् जस अनुसार पोखरामा १०–२५ ग्रामको माछा, ५० देखि ९३ दिनसम्म पाल्दा, ११८–१६३ ग्राम भएको पाइयो र उत्पादन ३२९–७५६ किलो प्रति हेक्टर र धान ६ प्रतिशतले बृद्धि भई कुल २६ प्रतिशतले मुनाफा भएको पाईएको छ । यसरी एउटै ठाउँबाट थोरै लगानीमा दोहोरो फाईदा हुँदा  आम्दानीमा बृद्धि हुन जान्छ । धानखेतमा लाग्ने कीरा फट्याङ्गा्रहरू माछाको आहरा हुने हुदाँ माछाको बृद्धि हुनुका साथै कीरा फट्याङ्ग्राबाट धानमा हुने नोक्सान कम हुन्छ । धानमा सधै पानी रहिरहने हुनाले धानमा लाग्ने स्टिम बोरर कीरा तथा खेतमा लाग्ने मुसाको नियन्त्रण हुन्छ । यसका साथै माछाले माटो तथा धानको बोट चलाइरहने हुनाले धानको बोटमा गोड्ने काम गर्नुका साथै माछाको बिष्टा तथा माछालाई प्रदान गरिएको खेर गइरहेको दाना मलको रुपमा प्रयोग हुने हुँदा माटोको उर्बरा शक्ति बढ्न गई धानको बोट गाँजिने र धानको उत्पादनमा बृद्धि हुन जान्छ । धान खेतलाई खानेमाछा उत्पादन मात्रा नगरी नर्सरी पोखरीको रूपमा समेत प्रयोग गरी सानो माछा भुरालाई ठूलो बनाउन सकिन्छ तथा ह्याचलिङ पनि हुर्काउन सकिन्छ । यसरी धानखेतमा मत्स्यपालन प्रविधि विशेष गरी ओसिलो र खाल्टो परेको जमिन भएका सबै स्थानमा प्रयोग गर्न सके ठूलो आर्थिक आम्दानीको स्रोत बन्न पुग्छ ।
सन्दर्भ ग्रन्थ : 
लेखक :  बरिष्ठ आचार्य, प्रशिक्षक 
(कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरिहरभवन द्धारा प्रकाशित पत्रिकाबाट  ) 
पोखरीमा माछापालन प्रविधि एक परिचय,के.सी. राजेन्द्र–२०४६ । मत्स्यपालन श्रृंखला १५,राष्ट्रिय प्राकृतिक तथा कृतिम जलाशय मत्स्य विकाश कार्यक्रम बालाजु

 

थप समाचार