बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

भण्टा खेती कसरी गर्ने ? सम्पूर्ण जानकारी सहित

बुधबार, जेठ ३० २०८१
8 views
भण्टा खेती कसरी गर्ने ? सम्पूर्ण जानकारी सहित

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय 
भण्टाको उत्पत्ति चीन, नेपाल तथा भारतको गर्मी क्षेत्रबाट भएको मानिन्छ । गोलभेंडा र भण्टा एउटै परिवारमा पर्दछन् र नेपालमा प्रयोग गरिने फल तरकारीमा गोलभेंडापछि भण्टाकै स्थान आउँछ । पोषणको दृष्टिकोणबाट भण्टामा पनि गोलभेंडामा जस्तै भिटामिन ए.बि.सि.तथा खनिज पदार्थमा क्याल्सियम, फोस्फोरस, फलाम र प्रोटिन प्राप्त हुन्छ । भण्टालाई तराकारीको रुपमा उपयोग गरिन्छ । 

हावापानी
भण्टा तराईको लागि हिउँदे बाली, नदी किनारका होचा बेंसी र खोंच क्षेत्रको लागि बसन्त बाली र मध्य पहाडको
लागि गर्मी तथा वर्षे बाली हो । भन्टा न्यानो तथा गर्मी मौसम मन पराउने बाली हो । बीउ उम्रनको लागि २३–२८
डि.से. तापक्रमको आवश्यकता पर्दछ भने फल लाग्नको लागि अधिकतम तापक्रम २३–३२ डि.से. हो ।

वानस्पतिकविवरण तथा जातहरू
भण्टा कडा डाँठ हुने झाडी वर्गको मौसमी (१वर्षे) बिरुवा हो । कुनै कुनै जातका भण्टाको पातको उल्टोपट्टि
भागमा र डाँठमा समेत काँडा पाइन्छ । सेतो, पहेंलो, खैरो र बैजनी, प्याजी, गुलाबी र हरियो आदि रङ्गका भण्टा
पाइन्छन् । नेपालमा प्रचलित जातहरूमा हरियो, प्याजी र बैजनी रङ्गका छन् । फलको रङ्ग अनुसार पातको पनि केही हदसम्म रङ्ग मिल्दछ । त्यसैले नयाँ पातको रङ्ग हेरेर फलको रङ्ग अनुमान गर्न सकिन्छ ।

नेपालमा प्रचलित जातहरू
१. पुसा परपल लङ

२. पुसा क्रान्ती

३. पुसा क्लस्टर

४. नुर्की

५. सर्लाही ग्रिन

६. पोखरा लुर्की

बाली लगाउने समय
- तराईमा भाद्र असोजमा बिरुवा सारेर मंसिरदेखि माघसम्म फल लिइन्छ ।

- बेसी तथा गर्मी खोंच क्षेत्रमा माघ–फागुनमा बेर्नासारेर वैशाखदेखि असारसम्म र मध्य पहाडमा चैत्र–वैशाखमा बिरुवा सारेर असारदेखि भाद्रसम्म फल लिन सकिन्छ ।

बेर्नाको तयारी तथा बीउ दर
एक रोपनी जमिनको लागि २५–३० ग्राम बीउ आवश्यकता पर्दछ । चार वर्गमिटरको ब्याडमा ८ के.जी. राम्ररी कुहिएको गोबर मल, ८० ग्राम डि.ए.पी.२५ ग्राम म्युरिएट अफ पोटास बीउ रोप्नुअघि ब्याडको माटोमा मिलाउनुपर्छ । बेर्ना उम्रेर ४–५ पाते भएपछि सार्न योग्य हुन्छ ।

जग्गा तयारी तथा मलखाद
भण्टा पानी जम्ने जमिनमा खेती गर्न सकिँदैन । चिम्ट्याइलो माटोमा भण्टा खेती गर्दा आवश्यकता भन्दा बढि
सिंचाई दिइयो भने ओइलिने र जरा कुहिने रोग बढि लाग्दछ । हल्का दोमट वा बलौटे दोमट माटो भण्टाको लागि
उपयोगी हुन्छ । जमिनको तयारी गर्दा ३०–३५ से.मि.गहिरो जोताइपछि २–३ पटक जोताइ र डल्ला फोर्ने कार्य
गर्नुपर्छ । दोश्रो जोताइमा गोबरमल राम्ररी मिलाई दिनुपर्छ ।

एक रोपनी जमिनको लागि १००० के.जी. राम्ररी कुहिएको या पाकेको गोबरमल वा कम्पोष्टमल, फास्फोरसको
आवश्यकता पर्दछ । गोबरमल जमिन तयार गर्दा फोस्फोरस र पोटास तथा आधा भाग नाइट्रोजन ड्याङ बनाउँदा माटोमा राम्ररी मिलाईदिनुपर्छ । बाँकी २ के.जि.फूल फुल्न शुरु गरेपछि बोटको वरिपरि औंठी आकारमा प्रयोग गर्नुपर्छ । 

बेर्ना सार्ने 
चार/पाँच पाते राम्रा स्वस्थ बिरुवालाई पंक्तिबाट पंक्तिको फरक हिउँदमा ६० से.मि. र वर्षामा ७५ से.मि. तथा
बोटबाट बोटको दुरी ४५ से.मि. हुने गरी हिउँदमा १ ड्याङमा २ हार र वर्षामा १ ड्याङमा १ हार बेर्ना सार्नुपर्छ ।

यसरी बिरुवा सार्न हिउँदमा ९० से.मि. चौडा र वर्षामा ४५ से.मि. चौडा ड्याङ बनाउनुपर्छ । ड्याङको बीचमा ३० से.मि.को कुलेसो राख्नुपर्छ ।

गोडमेल र सिंचाई 
- भण्टाको लागि लगाएको खेतको माटो सधै खुकुलो र झारपात रहित हुनुपर्छ ।

- यसको लागि बिरुवा सारेको २०–२५ दिनपछि हल्का गोडाइ गरी उकेरा दिनुपर्छ र ४०–५० दिनपछि फेरी गोडेर उकेरा दिनुपर्छ ।

- त्यसपछि समय–समयमा झार उखेल्ने काम गर्नुपर्छ । पहिलो र दोश्रो गोडाइको समयमा आवश्यकता हेरी युरिया मल पनि टपड्रेस गर्नु बेस हुन्छ ।

- भण्टाको खेतमा सिंचाई गर्दा हिउँदमा १०–१५ दिनको फरकमा र सुख्खा तथा गर्मी मौसममा ७–१० दिनको फरकमा गर्नुपर्छ ।

बाली संरक्षण 
रोगहरू 
(१) पातलो थोप्ले रोग
लक्षण – पातमा गोलाकार वा अन्य आकारमा खैरो रङ्गका थोप्लाहरू हुन्छन् ।

रोकथाम – डाइथेन–४५ बिषादी २ ग्राम प्रतिलिटर पानीमा मिसाई छर्कने ।

(२) फोमोप्सिस डढुवा र फल सड्ने रोग 
लक्षण – माटोलाई छोएका पातहरूमा पहिला दागहरू देखापर्दछन् । यो रोगले डाँठमा समेत आक्रमण गरी
बोक्रा खैरो रङ्गको भई सड्दछ । फलमा बाहिर गडेका पहेंला दागहरू र भित्र पुरै सुख्खा किसिमले सड्दछ ।
रोकथाम– डाइथेन एम–४५

कीराहरू 
(१) डाँठ र फलको गवारो
पहिचानः– वयस्क पुतलीको दुवै जोर पखेटा सेतो रङ्गका हुन्छन् । हानीकारक अवस्था लाभ्रे(झुसिलकीरा जस्तै) हो । जसको रङ्ग हलुका गुलाफी हुन्छ ।
रोकथाम– कीरा लागेको डाँठ र फल समयमै जम्मा गरी नष्ट गर्ने ।
  – ल्युसिन ल्युरको प्रयोग गर्ने, नेट हाउस भित्र भन्टाको खेतीगर्ने । 

(२) थोप्ले खपटे
 पहिचान– पखेटामा १२ वटा र २८ वटा काला थोप्ला भएका अर्धगोलाकार खैरो रङ्गका  खपटे हुन्छन् । लाभ्रे पहेंलो रङ्गका शरीरभरी काँडा भएका हुन्छन् । दुवैले क्षति गर्दछन् ।
रोकथाम– तालिम तथा काँटछाँटमा ध्यान दिने, ल्युरको प्रयोग गर्ने र नेट हाउस भित्र खेती गर्ने ।

(३) लाही कीरा
पहिचान– वयस्क लाही सानो, हरियो, पहेंलो, मिसिएको हरियो अथवा कालो रङ्गको हुन्छ ।
रोकथाम– थोप्ले खपटेलाई जस्तै ।

(४) फट्के कीरा
पहिचान– वयस्क कीरा हल्का हरियो रङ्गको हुन्छ । तर मौसम अनुसार रङ्ग बदलिन सक्छ । यी कीरा छड्के हिँड्दछन् र फट्टफट्ट उफ्रन्छन् ।

(५) पात बेरुवा
पहिचानः– पुतली हल्का सेतो रङ्गको हुन्छ र बाङ्गाटिङ्गा धर्सा हुन्छन् । लाभ्रेको रङ्ग रातो हुन्छ र पातला झुस हुन्छन् । लाभ्रेले मुण्टाका कलिला पातहरू बेरेरभित्र बसी खान्छ ।
रोकथाम– माथि बताइएका विषादिको यसमा पनि प्रयोग गर्न सकिन्छ ।

बालीको तयारी र उत्पादन 
बाली सारेको ६० देखि ७५ दिनमा पहिलो बाली तयार हुन्छ । तरकारीको लागि भण्टा कलिलो अवस्थामा नै टिप्नुपर्छ । पूmल झरेको ७–१० दिनमा भण्टा टिप्नुपर्छ । यस प्रकार प्रत्येक ७–१० दिनको फरकमा भण्टा टिप्नुपर्छ । यसरी टिप्दा प्रति बोट १ देखि १.५ के.जि. सम्म ताजा तरकारी उत्पादन हुन्छ । प्रति रोपनी १५०० के.जि. देखि २५०० के.जि. सम्म ताजा भण्टा उत्पादन हुन्छ ।

भण्डारण तथा बजार व्यवस्था 
- साधारण अवस्थामा गर्मीमा १–२ दिन र जाडोमा ३–४ दिनसम्म भण्टालाई भण्डारण गर्न सकिन्छ ।

- १० डि.से. भन्दा कम तापक्रम र ८५ प्रतिशतभन्दा माथि सापेक्षिक आर्द्रता भएको भण्डारमा ७ देखि १० दिनसम्म भण्डारण गर्न सकिन्छ ।

- भण्टा टिपेर बजारमा पठाउनुअघि राम्ररी पानीले पखाल्नुपर्छ ।

- यसो गर्नाले भण्टा चम्किलो देखिने र कुहिने कम हुन्छ ।

- टाढाको बजारमा पठाउँदा खुकुलोसँग तह लगाएर डोको वा टोकरीमा पठाउनुपर्छ । 

स्रोतः तरकारीबाली विकास केन्द्र, खुमलटार

थप समाचार