परिचय तरकारीहरूमा मुला एक निकै प्रचलित जरे तरकारीबाली हो । मुलालाई खेतबारीमा रोपेर एकल खेती वा अरु बालीसँगैमिसाएर वा अरुबालीको छेउछाउमा लगाउने चलन नेपालमा छ । मुला मध्य वा पश्चिम चीन या भारतबाट उत्पत्ति भएको मानिन्छ । यो क्षेत्रमा यसको प्रयोग प्राचीनकालदेखि भएको पाइन्छ ।
जङ्गली मुलाहरू भूमध्यसागरीय क्षेत्रमा पनि पाइन्छ । मुलाको प्रयोग काँचै वा अन्य तरकारीसित मिसाई पकाएर वा अचार बनाई वा सिन्की बनाएर गरिन्छ । पछि सुकाएको मुलाको चाना प्रयोग गरिने चलन पनि छ । पोषण तत्वको दृष्टिकोणले मुलामा अन्य पौष्टिक पदार्थका साथै बढि भिटामिन, जैविक रस र क्याल्सियम र फोस्फोरस जस्ता खनिज पनि पाइन्छ । यसको रसले पाचन प्रक्रियामा मद्दत पु¥याउँछ ।
हावापानी - मुलाको सफल खेतीको लागि १८–२४ डि.से.सम्मको तापक्रम र उचित प्रकाशको आवश्यकता पर्छ ।
- माटोको चिस्यान ६०–७० प्रतिशत र माटोमा प्रशस्त पौष्टिक तत्वको उपस्थिति पनि यसको खेतीको लागि नभई नहुने कुरा हो ।
- उचित वातावरणीय अवस्था नभएमा मुलाको डुकु निस्कने, मुला सानो डल्लो फल्ने,पिरोपनाको मात्रा वढ्ने, जरा फाट्ने आदि जस्ता समस्या देखा पर्दछन् ।
वानस्पतिक विवरण तरकारीको रुपमा प्रयोग गरिने मुला बिरुवाको मोटो जरा हो । सर्वप्रथम बीउबाट मसिनो लामो जरा आउँछ । त्यसपछि त्यस जरामा बिरुवाले खाद्यवस्तु जम्मा गर्दै जान्छ र खान लायकको जरा तयार हुन्छ ।
मुला बिरुवालाई यसो नियालेर हेरेमा ३ भाग स्पष्ट छुट्याउन सकिन्छ । पहिलो टाउको–जसमा छोटो डाँठ र पातहरू पर्दछन् । दोश्रो भाग घाँटी–जसमा हाइपोकोटाइलबाट विकसित भाग, जसबाट जरा पलाउँदैन, तेश्रो जरा भाग–जुन खास जरा हो, जसबाट साना मसिना जरा पलाउँछ ।
मुलाका विभिन्न जातहरूलाई जातीय स्वभाव र गुण अनुसार दुई भागमा विभाजन गरिएको छ ।
(१)एशियाली वा उष्ण प्रदेशीय मुला
(२) युरोपेली वा समशीतोष्ण प्रदेशीय मुला, युरोपेली थरिका मुला सानो र कम पीरो हुन्छ ।
बाली चक्र र बाली लगाउने समय - हिउँदे बालीको रुपमा मुलालाई मकैपछि लगाइन्छ । मुलालाई ग्रीष्मबालीको रुपमा रायो, काउली पछि पनि लगाइन्छ ।
- नेपालको लेक, पहाड र तराईका विभिन्न स्थानमा बेग्लाबेग्लै समयमा यसको खेती गरिन्छ ।
- लेकमा यो वैशाख– साउनमा रोपी भाद्र–असोजमा तयार हुन्छ ।
- पहाडी प्रदेशमा यसलाई भाद्र–असोजमा रोपी असोज–पुसमा तयार गर्दछन् ।
- तराईमा भाद्र–कार्तिकमा बीउ खसाली मंसिर–माघमा बाली तयार हुन्छ ।
जग्गा तयारी र मलखाद - मुला खेतीको लागि हलुका दोमट माटो उपयुक्त हुन्छ । यसको लागि २०–३० से.मि.को गहिराइमा राम्ररी २–३ पटक जोतेको जमिन उपयुक्त मानिन्छ ।
- यसरी खनेको जग्गामा एक टन प्रतिरोपनीका दरले गोबर मल चारैतिर पर्ने गरी हाल्नुपर्छ । डल्ला फोरेपछि रासायनिक मल प्रतिरोपनी ५ के.जि. नाइट्रोजन, ३ के.जि.फोस्फोरस र ४ के.जि.पोटास हाल्नुपर्छ ।
बीउ रोपण - मुला ड्याङ ड्याङमा रोपिने तरकारी हो ।
- कहिलेकाही सानो मुला वा साग खाने हेतुले छर्ने गरेको पनि देखिन्छ ।
- यसको दुरी जात जात अनुसार फरक छ ।
- सानो एक महिना जतिमा बाली तयार हुने जात जस्तै चालिस दिने मुला भएमा बाक्लो रोप्नु आवश्यक छ ।
- ठूलो उष्ण प्रदेशीय वा एशियाली जातका मूला ४५×२५ से.मि. को स्थानान्तरणमा लगाउँदछन् ।
- यस्तो स्थानान्तरणमा लगाउन तयार गरी राखेको खेतमा ७५ से.मि.को फरकमा लामालामा ड्याङ बनाइन्छ र हरेक ड्याङमा ४५ से.मि.को फरकमा २ लाईनमा बीउ खसालिन्छ ।
- यसमा प्रतिरोपनी २५०–३०० ग्राम बीउ लाग्दछ ।
गोडमेल र सिंचाई - झारपातको नियन्त्रण गर्न, माटो खुकुलो पार्न र टपड्रेस गर्नको लागि गोडमेलको आवश्यकता पर्छ ।
- गोडमेल गर्दा झारपात उखेली फाल्ने, माटो राम्ररी गोड्ने नाइट्रोजन टपड्रेस गरी माटोको उकेरा दिइन्छ ।
- मुलाको बिरुवालाई बृद्धि अवस्थामा बढ्ता फस्फोरस र पोटासको आवश्यकता पर्दछ ।
बाली संरक्षण - मुला बालीमा लाही, उफ्रने खपटे आदिले आक्रमण गर्छ । लाही कीरा खास गरी पात र गुवोमा लाग्दछ ।
- यसले रस चुसी हानी पु¥याउँछ । यसको नियन्त्रणको लागि घरेलु विधि तथा बिषादीको प्रयोग गर्न पर्दा मालाथियन जस्ता सुरक्षित बिष वा निमजन्य बिषादीको प्रयोग गर्न सकिन्छ ।
- मुला खेतीमा लाग्ने रोगहरूमा कालो कुहिने रोग उल्लेखनीय छन् । काले कुहिने रोग पहिले पातबाट शुरु भई जरासम्म पुग्छ ।
- रोग लागेको पातका नसाहरू खैरो भई पछि कालो हुन्छ । यो रोग कलिलो बोटामा लाग्दा ओइलिएर मर्छ र छिप्पिएको बोटमालाग्यो भने जरा गोलो भई कुहिएर मर्छ ।
- यसको नियन्त्रणको लागि बीउ रोपणपूर्व बीउलाई ५० सेन्टिग्रेड तातो पानीमा आधा घण्टासम्म डुबाई उपचार गर्नुपर्छ ।
बाली तयारी तथा तरकारी उत्पादन - विभिन्न जातका मुला एक महिनादेखि दुई वा अढाई महिनासम्ममा तयार हुन्छन्।
- ताजा तरकारी उपयोगको लागि कलिलो र रसिलो अवस्थामै मुला उखेल्नुपर्छ ।
- मुलालाई राम्ररी धोई पखाली सफा गरी मुठा पारी बिक्री गरिन्छ ।
- ढिलो गरी टिपेको, छिप्पिएको र काठ पसेको मुला बिक्न गाह्रो हुन्छ ।
- सानो युरोपेली जातका मुला प्रतिरोपनी ४०० किलोसम्म र ठूला–ठूला १५००–२५०० किलोसम्म फल्छ ।
प्रशोधन भण्डारण तथा बजार व्यवस्था - मुलाको जरा टुक्रा गरी मसिना चाना बनाई सुकाइन्छ ।
- यसरी राम्ररी सुकेको चाना पछि तरकारी अभाव भएको मौसममा प्रयोग गरिन्छ।
- मुला राम्ररी भण्डारणमा भण्डार गरिएमा ५–७ दिन सुरक्षित राख्न सकिन्छ ।
- मुला खेतीगर्ने कृषकहरूले मुठा पारी खेतैमा थोक बिक्रेतालाई वा आफैले बजार पु¥याई बिक्री गर्दछन् ।