बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

मत्स्य विमा र यसको आवश्यकता

बिहीबार , जेठ ३१ २०८१
6 views
मत्स्य विमा र यसको आवश्यकता

समाचार शेयर गर्नुहोस्

Share this news

बीमाको पृष्ठभूमी : 
अनेक कारणले हुन सक्ने जोखिमको क्षतिपूर्तीको लागि बीमाको अवधारणा सुरू भएको हो। कुनै पनि व्यापार, व्यवसाय र लगानीमा हुन सक्ने आर्थिक जोखिमहरूलाई क्षतिपूर्ती गर्ने माध्यमको रुपमा बीमाको अवधारणा आए‌को हो। आर्थिक योगदान वा राहत दिने उद्देश्यले सम्भावित जोखिमको व्यवस्थापन गर्नको लागि बीमाको अवधारण चलि आएको छ। बीमा एउटा कानुनी अवधारण पनि हो जसमा सम्भावित जोखिमको क्षतिपूर्ती दुई पक्षको करारमा आधारित हुन्छ। प्राकृतिक वा मानवीय घटना, दुर्घटना र लगानीमा प्रतिकुल असर पार्ने जोखिमको क्षतिपूर्ती गर्न पहिले नै पहिचान गरी त्यसको हस्तान्तरणको उपाय नै बीमाको मुख्य अवधारणा हो। वीमाले जोखिममा नपर्न, रोकचाम गर्न, व्यहोर्न र त्यसलाई कम गर्न मद्दत गर्दछ। सम्भावित जोखिमको हस्तान्तरण गर्नको लागि जीवनको खतरा, स्वास्थ्यको समस्या, व्यवसायको नोक्सानी तथा अन्य कुनै पनि प्रकारका समस्याहरुको आर्थिक क्षतिपूर्ती गर्ने गराउने बीमाको मुख्य लक्ष्य रहेको हुन्छ। 
जबदेखि मानिसले व्यापारिक कार्यहरु गर्न शुरु थाल्यो तब लगानीको सुरक्षाका उपायहरुको खोजि शुरु गर्ने क्रममा बीमाको प्रारम्भ भएको मानिन्छ। तात्कालिन बेबिलोनीया राज्यमा इशापूर्व तीन हजार वर्ष पहिले व्यापारीहरुको जहाजमा हुने चोरी, डकैती र अरु क्षतिको परिपूर्ती गर्न कोष खडा गरिएको पाइन्छ। त्यसै गरी इशापूर्व अठार सय वर्ष अधि बेबीलोनीयाका राजाले कानुन बनाएर सामुद्रिक व्यापारमा हुने चोरी लगायत अन्य नोक्सानीको क्षतिपूर्ती गर्न लगाएका थिए। इशापूर्व छ सय वर्ष अघि भारतमा र ग्रिसमा यत्तो नीति शुरु गरिएको पाइन्छ। लेबनानमा पनि इशापूर्व बाह सय वर्ष पहिले बीमाको काम शुरु भएको विश्वास गरिन्छ। इटालीका यहुदीहरुले नाफा कमाउने उद्देश्यले सन् १२०० तिर सामुद्रिक व्यापारको लागि आधुनिक बीमाको प्रचलन शुरु गरेका थिए। बेलायतमा सन् १५०० मा यसको काम शुरु भइ सन् १७०० सम्ममा आइपुग्दा युरोप, अमेरिका, एशिया, अफ्रिका र अन्य मुलुकहरुमा पनि बीमाको काम विस्तार भएको मानिन्छ। हालको युगमा आएर बीमा एउटा वित्तीय कारोबार गर्ने मुख्य संस्थाको रुपमा विश्व भरि विस्तार भइरहेको छ।

बीमाको सिद्धान्त : 
एक आपसमा पूर्ण विश्वासको सिद्धान्तमा बीमाको विषयवस्तु निर्धारित हुन्छ। यसले लगानी, जोखिम र क्षतिपूर्तीका सबै आधारभूत जानकारीहरु तथ्यमा आधारित भएर बीमा गराउने पक्षको आर्थिक हित र क्षति भएमा क्षतिको निश्चित मावासम्म क्षतिपूर्ती दिने गर्दछ। बीमाबाट क्षतिलाई कानुनी सम्झौताका आधारमा रक्षा गर्ने तर दोहोरो क्षतिपूर्ती नपाउने गरी बीमा गरिन्छ। बीमा गर्ने र गराउने पक्षका बीचमा समान दायित्व रहने सिद्धान्त अपनाइएको हुन्छ। 

बीमाको परिभाषा  : 
मानव जीवनका अनेक कामहरूमा प्रकोप, जोखिम र समस्याहरु आइ रहन्छन्। व्यवसायी, लगानीकर्ता, उद्योगी, व्यापारी र कृषकले गर्ने काममा नियन्त्रण बाहिरका जोखिमहरुबाट बालीनाली र सम्पत्तिहरुको क्षतिलाई आर्थिक सुरक्षा प्रदान गर्ने पद्धतिलाई नै बीमा भनिन्छ। बीमा भनेको व्यवसायी र जोखिमको सुरक्षा दिने निकाय वीचमा भएको एउटा दुई पक्षीय सम्झौता हो जसमा एक पक्ष बीमकले (बीमा कम्पनी) अर्को पक्ष बीमितले (बीमा गर्ने व्यक्ति वा संस्था) तिरेको बीमाशुल्कको आधारमा बीमालेखमा निश्चित गरिएका जोखिमहरुको कारणबाट हुने क्षतिवाट बीमितलाई पर्न आउने आर्थिक भारको जिम्मेवारी दिएको हुन्छ। अर्थात् बीमा गर्ने व्यक्ति वा संस्थालाई नियन्वण वाहिरका कुनै पनि जोखिमबाट बालीनाली र सम्पत्तिहरुको क्षति भएमा बीमाशुल्क तिरेको हदसम्मको क्षतिपूर्ती दिने प्रतिवद्धता जनाइए‌को हुन्छ। 

मत्स्य र कृषि बीमा  : 
कृषि उत्पादन जस्तैः माछा, पशुपन्छी, अन्नवाली, तरकारी, फलफूल, मौरी, च्याउ, रेशम, नगदेवाली र औद्योगिक बालीहरुको हानी नोक्सानी भएमा त्यसको आर्थिक क्षतिपूर्तीका लागि गरिने बीमालाई कृषि बीमा भनिन्छ। सरकारले कसैको पनि काबूभन्दा बाहिरको परिस्थितिबाट हुन सक्ने जोखिम न्यूनिकरण गरी कृषकलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले बाली तथा पशुधन बीमाको कानुनी व्यवस्था गरेको छ। कृषिको व्यवसायीकरणका लागि अनेक जोखिमबाट बच्न कृषकहरुले माछा, कृषि उपज र बाली उत्पादनमा गरेको लगानीलाई सुरक्षित गर्न बाली तथा पशुपक्षी बीमा निर्देशन २०६९ जारी गरिएको छ। यसै निर्देशनको आधारमा बनाइएका विभिन्न बालीहरुको अलग अलग बीमालेख नेपाल सरकारको मातहतमा रहेको बीमा समितिले जारी गरेको छ।
कृषि पेशा आम्दानीको मुख्य आधार भएको र कृषकहरुले लगाउने विभिन्न प्रकारका बालीनाली, पशुपंक्षी र माछापालनको विफलताबाट उनीहरुको आर्थिक स्थिति बिग्रिने वा प्रतिकुल प्रभाव पर्ने भएकोले बालीनाली, मत्स्यपालन र पशुपंक्षी बीमा गरेको खण्डमा सो को क्षतिपूर्तीमा निधितता हुने भएकोले माछा लगायत अन्य बालीनालीमा बीमाकोआवश्यकता रहेको छ। यही आवश्यकतालाई मध्यनजर गरी नेपाल सरकार मातहतको बीमा समितिले कृषि बीमाको नीति, निर्देशिका र मत्स्यपालन लगायत विभिन्न बालीनालीहरुको बीमालेखहरु जारी गरेको पाइन्छ।

बीमाको प्रक्रिया विधि :
कृषकहरुले आफ्नो कृषि उपज र मत्स्य बाली समेतको बीमा गर्नको लागि बीमा समितिबाट तोकिएको माछा बीमा प्रस्ताव फाराम र नेपाल सरकारको कृषि सेवा मत्स्य समूहका प्राविधिक वा मान्यता प्राप्त शिक्षण संस्थाबाट मत्स्य विज्ञान विषयमा आधारभूत ज्ञान हासिल गरी इजाजत प्राप्त मत्स्य प्राविधिकको प्रमाणपत्र लिई बीमा कम्पनीमा पेश गर्नु पर्दछ। यसरी पेश गरेको प्रस्ताव नियम अनुसार भएमा वीमा गर्ने प्रस्तावकले बीमा शुल्क भुक्तानी गरे पछि बीमा कम्पनीबाट तत्काल बीमित वस्तुको (जस्तैः माछापालन र बाली। पहिचान गरी बीमालेख जारी हुन्छ। यसरी कुनै पनि कृषि उपज र माछा बाली समेतको बीमा हुन्छ। बीमा गराउन चाहने कृषकले मत्स्य पालनको बीमा गर्ने बीमा अभिकर्ता तथा नियमले तोकिएको व्यक्ति, संस्था र समूह आदि मार्फत् पनि बीमा गराउन सक्छन्। 

मत्स्य तथा कृषि बीमाले जिम्मा लिने जोखिमहरू 
कृषक व्यवसायीले आफूले लगाएको माछा र बालीको बीमा गर्दा निम्न कारणहरुले कुनै नोक्सानी भएमा त्यस्ता कारणहरुको मात्र रक्षावरण गर्ने व्यवस्था बीमामा गरिएको हुन्छ। जस्तैः आगलागी, चटपाड, भूकम्प, बाढी, डुवान, खडेरी, पहिरो, भूस्खलन, ऑधिवेहरी, असिना, हिउँ, तुसारो, आकस्मिक दुर्घटना तथा रोगको संक्रमण, अक्सिजनको कमी, एमोनियाको कमी, विषालु पदार्थबाट हुने नोक्सानी (माछापालनमा मात्र) र अन्य बाली अनुसारको जोखिमहरुलाई वीमाले क्षतिपूर्तीको निश्चितता प्रदान गर्दछ। 

मत्स्य बीमाका सर्तहरू
 १)  माछा पालनको लागि न्यूनतम २०० वर्ग मिटरको पोखरी र कम्तिमा तीन फिट पानीको गहिराई भएको पोखरी हुनु पर्दछ तर ट्राउट माछाको हकमा प्राविधिकको सिफारिस अनुसारको संरचना हुनु पर्नेछ।
२) मत्स्य वीजको आपूर्ति नेपालकै मान्यता प्राप्त ह्याचरीरनर्सरीबाट हुनु पर्नेछ। तर प्रचलित नियम पालना गरी आयात गरिएका बीजको हकमा यो प्रावधान लागु हुने छैन् । 
३)  बीमित माछा पालन गर्ने पोखरीररेसवेहरु मत्स्य प्राविधिकले पालन गर्न योग्य भनी प्रमाणीत गरेको र पानीको गुणस्तरलाई उपयुक्त स्तरमा कायम राखेको हुनु पर्नेछ। साथै आहारको राम्रो व्यवस्था गरी प्रविधि अनुसारको दाना नियमित तरिकाले दिइएको हुनु पर्छ। 
४)  माछाको बीमा गर्नु अगाडिदेखि कृषकले प्राविधिकको सिफारिस अनुसारको विवरण पुस्तिकामा माछाको अध्यावधिक विवरण ९पोखरीररेसवेमा राखिएको भुराको संख्या, बीचमा बेचविखन गरिएको संख्या, आहारा, लागेको रोग, रोग निदानको लागि अपनाइएको विधि र खर्च आदिको अभिलेख राखु पर्छ । 

पर्वतराज भटराई   , मत्स्य विज्ञ 

स्रोत : मत्स्य पालन श्रृखला २७, 
केन्द्रीय मत्स्य प्रर्वद्धन तथा संरक्षण केन्द्र , बालाजु  

थप समाचार