खुर्सानीको उत्पत्ति मध्य अमेरिकाबाट भएको भन्ने अनुमान छ । नेपाल अधिराज्यभर खुर्सानीको खेती गरिन्छ । खुर्सानीमा भिटामिन ए.र सी. प्रशस्त मात्रामा पाइन्छ ।
हावापानी - खुर्सानी गर्मी र न्यानो मौसममा हुने बाली हो । तुषारो नपर्ने र न्यूनतम तापक्रम ५ डि.से. भन्दा तल नजाने ठाउँमा हिउँदे बालीको रुपमा खेती गरिन्छ ।
- तापक्रम १८ डि.से. र ३२ डि.से. को बीचमा खुर्सानीको बृद्धि र विकास राम्रो हुन्छ । लामो समयसम्म ३५ डि.से. भन्दा माथि तापक्रम गएमा खुर्सानीमा फल लाग्दैन ।
माटो प्रायः सबै किसिमको माटोमा खुर्सानीको खेती गर्न सकिन्छ । तापनि पानीको निकास राम्रो भएको चिम्टिलो दुमट माटोमा खुर्सानीको खेती राम्रो हुन्छ । पी.एच. ५.५ देखि ६.५ को बीचमा खुर्सानी खेती राम्रो हुन्छ ।
वानस्पतिक विवरण खुर्सानीको बोट बढिमा १ मिटरसम्म अग्लो हुन्छ । सानो बोट भएपनि यसको डाँठ बलियो हुनछ । सेतो रङ्गको फूल फुल्दछ । फल हरियो हुन्छ । पाकेपछि फल रातो हुन्छ ।
बाली लगाउने समय हिउँदे बालीको लागि भाद्रमा बीउ रोपेर असोज–कार्तिकमा बेर्ना सारिन्छ भने वर्षे बालीको लागि माघ–फागुनमा बीउ रोपेर चैत्र–वैशाखमा बेर्ना सारिन्छ ।
बेर्ना उत्पादन विधि खुर्सानीको बेर्ना उत्पादन विधि गोलभेंडा तथा भण्टा जस्तै हो ।
मलखादको प्रयोग खुर्सानीको लागि १ रोपनी जमिनमा १००० के.जि.गोबर वा राम्ररी पाकेको कम्पोष्ट मल, ४ के.जि.नाईट्रोजन २ के.जि. पोटास र २ के.जि. फोस्फोरसको आवश्यकता पर्दछ । मलखादको प्रयोग विधि भेंडेखुर्सानीमा जस्तै हो ।
बीउ बेर्ना लगाउने विधि - एक ड्याङमा २ पंक्ति– पंक्तिबाट पंक्तिको फरक –४५ से.मि.बोटबाट बोटको फरक ३०–से.मि.
सिंचाई र गोडमेल - हिउँदे खुर्सानीलाई १०–१५ दिनको फरकमा सिंचाई गर्नुपर्छ ।
- वर्षे खुर्सानीलाई सार्ने बेलामा बाहेक सिंचाई दिनु पर्दैन ।
- बेर्ना राम्ररी सरेपछि १ रोपनीमा २ के.जी.को दरले युरिया टपड्रेस गरिदिनुपर्छ ।
- दोश्रो पटकको गोडमेल फूल फूल्न थालेपछि गर्नुपर्छ र बाँकी युरिया टपड्रेस गर्नुपर्छ ।
बाली संरक्षण (१) एन्थ्रक्नोज लक्षण : पहिलो मुन्टामा काला दागहरू लाग्दछन् र बिस्तारै तलतिर असर गर्दै जान्छ र फल कम लाग्दछ । साथै फलमा बाटुला काला दागहरू लागि फल सड्दछ ।