बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

कुरिलो खेती कसरी गर्ने ?

बिहीबार , जेठ ३१ २०८१
9 views
कुरिलो खेती कसरी गर्ने ?

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः
कुरिलो कलिलो टुसा (Spear)  को लागि खेती गरिने एक बहुवर्षे तरकारी बाली हो । नेपालमा समुद्री सतह देखि २२०० मि.सम्म कुरिलो पाइन्छ । कुरिलो पौष्टिक तथा पच्न सजिलो तरकारी भएकोले बिरामी तथा कमजोर व्यक्तिहरूलाई खान दिने प्रचलन धेरै पुरानो भए पनि हाल शहरी क्षेत्रमा विभिन्न परिकारमा मिसाई  पकाउने चलन पनि बढ्दै गएको छ ।

नेपालमा यो बालीको खेती व्यावसायिक रूपमा भर्खरै शुरु भएको र विशेष गरी शहरी क्षेत्रमा यसको माग बढ्दै गएको देखिन्छ । काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, मोरङ, सुनसरी आदि जिल्लाहरूमा व्यावसायिक रूपमा ताजा कुरिलो उत्पादन गर्न थालिएको छ ।

वानस्पतिक विवरणः
 कुरिलोको वानस्पतिक नाम Asparagus officinalis हो । यो Liliaceae परिवारमा पर्दछ । कुरिलोको जातीय विविधता १५० भन्दा बढी प्रजातिका (species) रहेको मानिन्छ । साधारणतया उपयोगको रूपमा कुरिलोलाई ३ किसिममा विभाजन गर्न सकिन्छ । 

१) टुसा तरकारी खाने कुरिलो

२) जरा आयुर्वेदिक औषधिमा प्रयोग हुने करिलो

३) मसिना पात भएका आलंकारिक  बिरुवाका रूपमा रोपिने कुरिलो । 

कुरिलोको वृद्धि र विकासः
- क्राउन (Crown) को विकासः
कुरिलोको जमिनमुनिको भागमा नरम चिल्लो जरा (Fleshy roots) र रेसादार
जराहरूको (Fibrous roots) समष्टि भागलाई क्राउन भनिन्छ । जमिनमुनीका
जराहरूमा एक प्रकारका डाँठहरूको विकास भएर क्राउन तयार हुन्छ । क्राउन
कुरिलोको बहुवर्षीय अङ्ग हो । रेसादार जराहरूले माटोबाट लवण र पानी सोस्दछन् भने चिल्ला (कमला) जराहरूले खाद्यपदार्थ सञ्चित गर्दछन् । क्राउनबाट टुसा (Spears) को विकास हुन्छ । 

- टुसा (spear) को विकासः
कुरिलोको टुसा  खानयोग्य भाग हो । कसिलो, मोटो तथा कम रेसादार टुसा बजारको लागि राम्रो मानिन्छ । 

- बोटको विकास  (Fern development):

टुसा यदि टिपिएन/भाँचिएन भने ४–५ फिट अग्लोसम्म बढ्दछ र धेरै हाँगाहरू विकसित हुन्छन् । यी हाँगाहरूमा पनि अन्तर आँख्लामा वृद्धि आई दोस्रो चरणका (secondary) हाँगाहरू विकसित हुन्छन् । स–साना पङ्खाजस्ता पातहरू फैलिएर झ्याम्म भएको संरचनालाई फर्न भनिन्छ ।

- फूल र फलः
फूल साना घन्टी आकारका सेता रंगका हुन्छन् । फल तथा बीउ पोथी बोटमा मात्र लाग्छन् र फल पाकेपछि राता हुन्छन् । सामान्यतया भदौपछि लागेका फलमा मात्र बीउ लाग्छ ।

कुरिलोको महत्वः

आर्थिक महत्वः
एकपटक लगाइसकेपछि १०—१५ वर्षसम्म उत्पादनशील रहने र लगाइरह 
नपर्ने हुँदा काम गर्न सजिलो हुन्छ । वर्षमा ६÷७ महिनासम्म पनि उत्पादन लिन सकिने भएकोले यस खेतीबाट राम्रो आयआर्जन गर्न सकिन्छ । त्यसैले खेर गइरहेको जमिनमा कम जनशक्ति तथा आर्थिक लगानीबाट बढी फाइदा लिन
कुरिलो एक महत्वपूर्ण तरकारी हो ।

पौष्टिक महत्वः
कुरिलोबाट प्रशस्त मात्रामा पौष्टिक तत्व प्राप्त हुन्छ । कुरिलोलाई चिल्लोपदार्थ
बिहीन, कोलेस्ट्रोल र सोडियम तत्वरहित, शक्तिदायक, भिटामिन ए तथा सी
प्रशस्त मात्रामा भएको उपयोगी खाद्य पदार्थका रूपमा लिने गरिन्छ ।

- कुरिलोको उपयोगिताः
ताजा कुरिलो सुप तथा तरकारीका रूपमा उपयोग गरिन्छ भने सीधा घाम
नपर्ने खुल्ला ठाउँमा सुकाएर अथवा डिब्बा बन्द  (Canning) गरेर पछि पनि
उपयोग गर्न सकिन्छ । त्यस्तै हरियो वा बफाइएको (Steamed)  कुरिलो
सलादका रूपमा उपयोग गर्न सकिन्छ ।

हावपानीः
कुरिलो न्यानो र समशीतोष्ण हावापानी भएको स्थानमा राम्रो हुन्छ । काठमाडौं जस्तो समशीतोष्ण हावापानी भएको नेपालाको मध्य पहाडी भागमा यसको खेती राम्ररी गर्न सकिन्छ ।

यसको खेती १५- १८ डि.से. औसत तापक्रम भएको क्षेत्रमा राम्ररी गर्न सकिन्छ । बिरुवाको वृद्धि विकासका लागि ३—५ महिनासम्म सुषुप्त अवस्थामा रहनु अति आवश्यक हुन्छ । सुषुप्त अवस्थामा रहन माटोको तापक्रम १० डि.से. भन्दा कम हुनुपर्दछ ।

कुरिलोको क्राउन (Crown) लाई जाडो तथा चिसोबाट केही असर गर्दैन । जाडो महिनापछि पनि तुषारो अथवा जाडो रहिरहने ठाउँ छनोट गर्नु हुँदैन ।

माटोः
- कुरिलो एउटा बहुवर्षे बाली भएकोले प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको मलिलो गहिरो, खुकुलो माटो राम्रो हुन्छ ।

- झारपात कम उम्रने जमिन हुनु आवश्यक छ ।

- माटोको पी.एच. ६ देखि ७.५ सम्म राम्रो मानिन्छ ।

- पानीको निकास नभएको अथवा दिनभरि प्रकाश नपर्ने ठाउँलाई कुरिलो लगाउनका लागि राम्रो मानिदैन ।

- कुरिलो खेतीका लागि बाह्रै महिना पानीको सुविधा भएको बलौटे दोमट माटो, पारिलो घाम लाग्ने जमिन हुनु आवश्यक छ ।

- बहुवर्षीय झारको प्रकोप बढी भएको ठाउँलाई पनि छनोट गर्नु हुँदैन ।

kurilo1681537922.jpg

खेती प्रविधिः
जमिनको तयारीः
- राम्रोसँग मल हालेर कम्तीमा तीन/चार पटक खनजोत गरिएको जमिनमा
कुरिलो लगाउन सकिन्छ ।

- सामान्यतया कुरिलोको बेर्ना तयार गरेर बिरुवा लगाइन्छ तर कसैले ड्याङमा नै बीउ रोप्छन् ।

- विदेशमा जरा लगाउने चलन पनि छ । तर नेपालमा बीउ वा जराभन्दा बिरुवा नै सर्वसुलभ देखिन्छ ।

- १ रोपनी जमिनमा करिब १५०० बिरुवा लगाउन सकिन्छ ।

- उन्नत खालको बिरुवा उपलब्ध गराउनको लागि स्वदेश तथा विदेशमा थुप्रै संस्था खुलेका छन् ।


कुरिलो रोप्ने तरिकाः
कुरिलो तीन प्रकारले लगाई खेती गर्न सकिन्छ

- एक वर्षे क्राउन (Crown) रोप्ने ।
-  २–३ महिने बेर्ना सार्ने ।
- सीधै बीउ छर्ने ।

एक वर्षे क्राउन (जरा) रोप्नेः
 - यस तरिकामा प्रसारण  (Propagation) का लागि पुरानो कुरिलोको बोटबाट क्राउन निकाली सार्न सकिन्छ अथवा बीउबाट नर्सरीमा उमारिएको एक वर्षे
क्राउन पनि सार्न सकिन्छ ।

- थोरै जग्गामा लगाउने हो भने बीउबाट नर्सरीमा उमारिएको १ वर्षे क्राउन किन्न ठीक होला तर धेरै जग्गामा लगाउनका लागि बीउबाट नर्सरीमा उत्पादन गरिएको २- महिने बिरुवा नै उचित हुन्छ । स्रोत जुन सुकै भए पनि क्राउन राम्रो, स्वस्थ, राम्रो वृद्धि भएको हुनुपर्छ । हरेक क्राउन करिब १०० देखि १२० ग्रामको भएको
खण्डमा राम्रो हुन्छ । 

बीउबाट क्राउन तयार गरी तपसिलबमोजिम लगाउनु पर्दछ ।

  •  बीउ ५–७ से.मि. को फरकमा २.५ से.मि. गहिरो र ६० से.मि.को हरफमा
    रोप्ने र १ वर्षपछि क्राउन निकाल्ने । बीउ रोप्ने उत्तम समय फागुन–चैत हो ।
  • ५० से.मि. चौडा ५० से.मि. गहिरा कुलेसाहरू बनाउने । उक्त कुलेसामा
    ३० से.मि. गोबर मल भर्ने र त्यसमाथि २० से.मि. गोबर मल र माटो बराबर भागमा मिसाएर भर्ने । उक्त कुलेसामा नाइट्रोजन, फस्फोरस र पोटास ४–३–२ के.जी. प्रति रोपनीको दरले हाली राम्ररी मिसाउनुपर्छ ।
  • कुरिलोको क्राउन १५—२० से.मि गहिरोमा रोपिन्छ । ५ से.मि. जति मुना, टुसा नछोप्ने गरी क्राउन रोप्ने, टुसा बढ्दै गएपछि माटोले बिस्तारै छोप्दै जाने।
  • साधारणतया कुलेसाको दूरी १२० से.मि. र एक क्राउन देखि अर्को क्राउनको दूरी २५–६० से.मि. राख्नुपर्दछ, तर करेसाबारीमा दूरी कम गर्न सकिन्छ ।

 - २–३ महिने बेर्ना सार्नेः
 माघ महिना लागेपछि नर्सरी राख्ने तयारी गर्नुपर्दछ । तुषारो नपर्ने ठाउँ र तराईजस्तो ठाउँमा माघको अन्त्यमा बीउ नर्सरी व्याड वा प्लास्टिक व्यागमा रोप्न सकिन्छ । चैतको अन्तिम वा वैशाख शुरुमा बेर्ना सार्न योग्य हुन्छन् । चैत पछाडि नर्सरी राखेमा बीउ रोपेको करिब २ महिनामा बेर्ना सार्न योग्य हुन्छन् । वैशाख जेठ बेर्ना रोप्नको लागि राम्रो मानिन्छ तर असोजसम्म पनि रोप्न सकिन्छ । एक रोपनीमा १५०० जति बिरुवाको आवश्यकता पर्दछ ।

- सीधै बीउ छर्नेः
 कुरिलोको बीउ सोझै रोपेर पनि खेती गर्न सकिन्छ । यसो गर्दा भने बेर्नालाई झारपातबाट जोगाउन भने विशेष ध्यान पु¥याउनुपर्छ ।

रोप्ने दूरीः
सामान्यतया बिरुवा देखि बिरुवा ५० से.मि. र लाइन देखि लाइन ७०—७५ से.मि. मा कुरिलो लगाइन्छ । 

जातहरूः
शुरुमा मेरी वासिङ्टने जात निकै प्रचलित थियो । यसको स्वाद मीठो भए पनि टुसा सानो हुने तथा टुसा पलाउने समयको अन्तराल अलि बढी हुने भएकोले यो जातको प्रचलन घट्दै गएको पाइन्छ ।

अमेरिकन जर्सी किङ जातको कुरिलो हाल नेपालमा प्रचलनमा पाइएको छ । यसको स्वाद प्रभावकारी हुनुका साथै १०० ग्रामसम्मको ठूलो टुसा उत्पादन हुन्छ । टुसा दिने समयको अन्तराल पनि छोटो–छोटो हुन्छ ।

हेरचाह(Management):
- कुरिलोको सबैभन्दा ठूलो समस्या भनेको झारपात हो । त्यसैले पटक–
पटकको खनजोत र गोडमेलले झारपात नियन्त्रण गर्न सकिन्छ ।

- २/३ इन्चभन्दा बढी गहिरो खन्नाले जरालाई नोक्सानी पु¥याउन सक्छ । ३/४ सेमि
गहिरो मल्च राख्नाले पनि झारपात नियन्त्रण गर्न राम्रो सहयोग पुग्दछ ।

- बाली लिईसकेपछि बिरुवाले सुख्खापन महसुस गर्ने भएकोले सिंचाइ गर्नुपर्दछ । जाडो सकिएपछि सुकेका बोटहरूको जमिनमाथिको भाग हटाईदिनुपर्दछ ।

- नोक्सान नपुग्ने गरी हल्का गोडाइ गरी गोबर मलका साथै युरिया र चून (२ के.जी.
प्रति रोपनीका दरले) माटोमा मिलाएर हल्का ड्याङ बनाउने गर्नुपर्दछ ।

गोडमेलः
- कात्तिक–मंसिर (NovͲDecember) मा पातहरू पहेंलिएपछि सतहबाट ५ से. मि. माथि काटिदिनुपर्दछ ।

- फागुन चैतमा (FebͲMarch) मा टुसा पलाउनुभुन्दा पहिले बोटलाई हारको दुवैतिरबाट कुलेसो बन्ने गरी माटो झिकेर पुर्नुपर्छ ।

मलखाद व्यवस्थापनः
 - १ देखि १.५ स्क्वायर फिटको परिधि र गहिराइमा करिब ३ के.जी. कम्पोस्ट मल हालेर कुरिलोको बिरुवा लगाउन सकिन्छ ।

- जमिन तयारी गर्दा शुरुमा तीन÷चार पटक जोतेर डल्ला फोरेर झारपात नभएको जग्गामा प्रति रोपनी कम्तीमा ८०—१०० भारी कम्पोस्ट मल राखेर बिरुवा लगाउनु पर्दछ ।

- तर शुरुमा हालिएको मलले मात्र कुरिलोलाई पुग्दैन । प्रत्येक हिउँदको अन्तिममा वा लाग्दो फागुनतिर कम्पोस्ट मल, कखुराको मल, गाईभैँसीको धूलो मल करिब २—३ के.जी. प्रतिबोट हाल्नुपर्दछ ।

- सिजनमा राम्रो उत्पादन दिन नसक्ने बिरुवालाई मल थपिरहनुपर्दछ ।

 सिंचाइः
- सिंचाइ मुख्य गरेर माटोको बनोट, किसिम, मौसम र बालीको अवस्थामा भर पर्दछ । चिम्ट्याइलो माटोमा कम पानी चाहिन्छ भने हलुका माटोमा पटक–पटक गरी सिंचाइ गर्नुपर्दछ ।

- नयाँ बेर्ना, बीउ, क्राउन आदि सारेको २ वर्षसम्म सिंचाइ आवश्यकताअनुसार गर्नुपर्दछ । प्रथम सिंचाइ बाली रोपेपछि लगत्तै दिनुपर्दछ ।

- बाली लिने बिरुवामा पनि आवश्यकताअनुसार सिंचाइ गरिरहनुपर्दछ । खास गरी फागुन, चैत, वैशाख देखि वर्षा नभएसम्म सिंचाइ गर्नु जरुरी पर्दछ ।

झारपात गोडमेलः
- कुरिलो बहुवर्षीय बाली भएकोले सबैभन्दा ठूलो समस्या भनेको झारपात हो । त्यसैले समय–समयमा झारपातहरू हटाई गोडमेल गर्नुपर्छ ।

अन्तरबालीः
 खेती लगाएको ६ देखि १२ महिनासम्म तथा हिउँदमा ६ महिनासम्म टुसा (spear) नआउने तथा आएको टुसा उत्पादन नलिइने हुँदा उक्त जग्गामा अन्तरबालीको रूपमा छोटो समयमा हुने साथै अग्लो नहुने तरकारी बालीहरू लगाउनुपदर्छ । अन्तरबालीमा मेथी, चम्सुर आदि अन्य तरकारीहरू पनि लगाउन सकिन्छ ।

kurilobidur_kirilo.jpg

बाली लिने अवस्थाः
- साधारणतया कुरिलोको उत्पादन दोस्रो÷तेस्रो वर्ष देखि हुन थाल्दछ ।

- कुरिलो एकपटक लगाएपछि राम्रो रेखदेख भएमा यसबाट १० देखि १५ वर्षसम्म उत्पादन लिन सकिन्छ । बेर्ना सार्नासाथ टुसाहरू पलाउँछन् ।

- तर शुरुमा पलाएका केही टुसाहरू टिप्नु हुँदैन । त्यसरी छाडिएका टुसाहरूबाट
बोटको राम्रो झाङ फैलिन्छ र स्वस्थ रहन्छ ।

- टुसालाई हुर्कन दिएमा खाद्य पदार्थमा वृद्धि आई क्राउनमा सञ्चित भएर अर्को वर्ष देखि बढी टुसा आउने हुन्छ ।

- त्यसैले बेर्ना सारेको दोस्रो वर्ष देखि मात्र वास्तविक रूपमा टुसाहरू टिप्न शुरु गर्नुपर्छ ।

- टुसा ८—१२ से.मि. लामा भएपछि काटेर अथवा त्यसै भाँचेर निकाल्न सकिन्छ ।

उत्पादनः
 व्यावसायिक रूपले १ वर्षपछि उत्पादन दिन्छ । चैतको शुरुबाट असोजसम्म सामान्यतया कुरिलोको उत्पादन लिन सकिन्छ । कुरिलोको सरदर उत्पादन २००–५०० के.जी. प्रति रोपनी पाइएको छ । चैत देखि भदौसम्म राम्रो उत्पादन लिन सकिन्छ ।  सामान्यतया भौगोलिक अवस्थाअनुसार पहाडी भागमा ४—६ महिनाजति र तराईमा ६—७ महिनाजति उत्पादन लिन सकिन्छ ।

रोग तथा कीराः

कुरिलोको मुख्य रोग सिन्दुरे र ओइलाउने हो ।

कुरिलोको सिन्दुरे ढुसी (Puccnia asparagi)
बिरुवाहरू पूरै रातो, खैरो वा सुन्तला रंगको नभएसम्म जारी रहन्छ । यी पछि गएर काला हुन्छन् ।

नियन्त्रण 

  • साना पातहरू खस्नुअगाडि डाँठहरूलाई काट्ने । काट्ने काम माथि देखि तलसम्म नै गर्नुपर्छ, जसले गर्दा रोगी भागहरू रहन पाउँदैनन् । काटिएका रोगी बोटहरू तुरुन्तै जलाइदिनुपर्छ ।
  • मल बनाउँदा तीतेपाती, अँसुरो, निम–बकाइनो आदिको प्रयोग गर्न सके यो रोगको नियन्त्रण गर्न सकिन्छ । गाईको गहुँत प्रयोग गर्दा पनि यो रोगका सजिलै नियन्त्रण गर्न सकिन्छ ।


कुरिलो ओइलाउनेः
नियन्त्रणः

  • यो ढुसी रोग  (Fusarium)  लागेको ठाउँमा कुरिलो खेती गर्नु हुँदैन ।
  • बेर्ना सारेको १ महिनापछि र खाने कुरिलो उत्पादन नहुँदै पोलिराम भन्ने विषादी १ लि. पानीमा घोलि छर्नाले रोग लाग्नबाट बचावट हुन्छ । कुरिलो टुसा आएपछि विषादी छर्नु हुँदैन ।


कुरिलोको लाहीः
पानीको फोहोराले हानेर अथवा साबुन पानी छ्यापेर पनि नियन्त्रण गर्न सकिन्छ ।

खपटे कीराः
झार, फोहर, जाडोमा सुकेका बोटहरू हटाउने जसले गर्दा यसको नियन्त्रणमा सहयोग पुग्दछ ।

झुसुले कीराः
 रोगोरइन विषादी १ लिटर पानीमा २ मि.लि. राखी छर्नाले नियन्त्रण हुन्छ । तर कुरिलोको टुसा (मुना) नआएको बेलामा मात्र छर्नुपर्छ । विषादी छरेपछि १० दिनसम्म कुरिलोको टुसा झिकी खान, बजारमा लगी बिक्री गर्न नहुने, त्यसपछि मात्र टुसा बजारमा लगी बिक्री वितरण गर्न उपयुक्त हुन्छ ।

स्रोतः कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्यांक महाशाखा (कृषि तथा सहकारी मन्त्रालय)

थप समाचार