बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

चुत्रो

शुक्रबार, असार १ २०८१
9 views
चुत्रो

समाचार शेयर गर्नुहोस्

Share this news

बैज्ञानिक नाम (ल्याटिन नाम) : बर्बेरिस एरिष्टाटा  (Berberis aristata DC.) 
संस्कृत नाम : दारुहल्दी
नेवारीमा : मरप्यासी
वनस्पति परिवार : बरबेरिडेसी  (Berberidaceae)

१. परिचय
चुत्रोको बोट नेपालको महाभारत पर्वत श्रृङ्खलामा समुद्री सतहभन्दा १,९०० मि.देखि ३,००० मि. उचाईका खुल्ला पाखोमा पाइन्छ । यो १.८२ देखि ५.४ मि. अग्लो हुने सदावहार काँडेदार झाङ्ग हो । यसको हरेक आँख्लाबाट फराकिलो भालाकृत, अण्डाकृत र माथितिर फराकिलो तल साँगुरिंदै जाने पातहरू निस्केका हुन्छन् । कुनै कुनै पातहरू काँडामा परिणत भएको हुन्छ । पात साधारण ३ देखि ४ मि.मि. लामा डाँठ भएको वा डाँठ नभएको, पातको किनारा करौंती जस्तै चिरिएको र किनारामा ससाना तीखो झुस लागेको हुन्छ । पातको नाप १.५ से.मि. देखि २.३से.मि. चौडा र २ देखि ५.५ से.मि. लामो हुन्छ । फूलहरू पहंलोे र झुप्पा झुप्पामा फुलेको पाइन्छ । एउटै फूलमा भाले तथा पोथी दुवै योनी पाइन्छन् ।

२. खेती
चुत्रोको खेतीको लागि कुहिएको उद्भिज पदार्थ र वालुवा मिसिएको मलिलो माटोको आवश्यकता पर्दछ । यो विरुवालाई बीउबाट अंकुरण गराइन्छ । सबभन्दा पहिले बीउ फलबाट अलग्याइन्छ र मलजल गरी तयार गरिएको ड्याङमा वा नर्सरी बेडमा लगाइन्छ । एक वर्षमा विरुवा तयार हुन्छ । बीस वर्षमा विरुवा ४ मि.को झाङ्ग बन्दछ । आषाढ, श्रावणतिर विरुवाको हाँगा काटी गाड्नाले पनि नयाँ विरुवा तयार हुन्छ । नागबेली र चिराइतो खेती गर्न सकिने जिल्लाका स्थानहरूमा चुत्रोको पनि खेती गर्न सकिन्छ ।

३. संकलन
बोक्रा वर्षात ऋतुमा संकलन गरिन्छ र जरा शरद् ऋतुमा जमिनमुनिबाट खनेर झिकिन्छ । 

४. सुकाउने तथा संरक्षण
संकलन गरिएका बोक्रा र जरालाई ससाना गरी टुक्राइन्छ । ती टुक्राहरूलाई घाममा राम्ररी सुकाउनु पर्दछ । सुकेको बोक्रालाई बोरामा बन्द गरी ओभानो गोदाममा थन्काइन्छ ।

५. उपयोगिता
आयुर्वदिय पद्धति अनुसार यसको जरा र बोक्रा पाकेको घाउ, खटिरा, श्वेत प्रदर, आँखाको रोग, कमलपित्त र ज्वरो शान्त गर्नमा प्रयोग गरिन्छ । पानीमा बाक्लो गरी पकाएको झोल रसोत वा रसान्जनको नामले प्रख्यात छ ।

स्रोतः वनस्पती विभाग 

थप समाचार