बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

कसरी गर्ने अलैँची खेती ?

शनिबार, असार २ २०८१
7 views
कसरी गर्ने अलैँची खेती ?

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय
अलैंची (Large Cardamom) को वैज्ञानिक नाम  (Amomum subulatum) हो र यो (Zingibraceae) परिवार अन्तर्गत पर्ने एक महत्वपूर्ण मसला बाली हो । यसको उत्पत्ति पूर्वी हिमालको दक्षिणी भाग खास गरी भारतको सिक्किम राज्यमा
भएको मानिन्छ । अलैचीलाई ठूलो अलैची, कालो अलैची वा नेपाली अलैची पनि भनिन्छ ।

यसको खेती भारत, भुटान, चीन र नेपालमा गरिन्छ । संसारमा अलैची उत्पादनमा नेपाल अग्रणी स्थानमा पर्दछ । अलैची मसलाको रुपमा प्रयोग गरिन्छ । यसमा २–३ प्रतिशत सुगन्धित तेल पाईन्छ, जुन विभिन्न किसिमका अत्तरहरु तथा पेय पदार्थ बनाउनमा प्रयोग गरिन्छ ।

यसको औषधिको रुपमा पनि प्रयोग हुन्छ । जस्तै, पिसाब सम्बन्धी समस्या, मुटुका समस्या, फोक्सो सम्बन्धी रोग, पत्थरी, दांत र गिजामा देखिने समस्याहरुको निराकरणको लागी ।

अलैचीको वानस्पतिक विवरण
अलैची एक सदाबहार बहुबर्षिय बाली हो । यसको बोट मध्यम खालको झ्याङ्गको रुपमा हुन्छ । अलैचीका वानस्पतिक भागलाई ६ भागमा विभाजन गर्न सकिन्छ ।

ति हुन्– पाना (Rhizome), सरा (Pseudo stem), पात (Leaf), थुङ्गा  (Inflorescence), फल (Capsule), बीउ  (Seed) ।

जातहरु
नेपालमा खेती गरिँदै आएका अलैंचीका प्रचलित जातहरुमा रामशाई, गोलशाई, डम्बरशाई, साउने, चिबेशाई, कांँटीदार, जिर्मले प्रमुख हुन्। अन्य जातहरुमा भर्लाङ्गे, रमला, जंगु गोलशाई, आदि जातहरु पनि चलन चल्तीमा रहेको पाईन्छ ।

हावापानी
समुद्री सतह बाट ७०० देखि २१०० मी. सम्म यसको खेती गर्न सकिएतापनि ६०० देखि २३०० मी. सम्म पनि यसको खेती गरिएको पाइन्छ । अलैंची खेतीको लागि उपयुक्त तापक्रम ८ देखि २० डिग्री सेन्टिग्रेड सम्म हो ।

४ डिग्री सेन्टिग्रेड भन्दा कम भएमा बिरुवाको बढ्ने गति कम हुन्छ । हुरी–बतास, तुषारो, हिमपातले पनि अलैचीको बिरुवालाई नराम्रो असर पार्दछ । तुषारो त्यसमा पनि कालो तुषारो अलैचीको ठूलो शत्रु मानिन्छ । अलैंचीले बढी आद्र्रता भएको स्थान मन पराउँछ । ९० प्रतिशत वा सो भन्दा वढी आद्र्रता भएमा राम्रो मानिन्छ ।

वर्षा
अलैंची बालीलाई सिँचाई भन्दा वर्षाको पानी बढी राम्रो मानिन्छ । वार्षिक औसत वर्षा १६०० देखि ५००० मिलिमिटर उपयुक्त हुन्छ । तर पनि फेदमा पानी जम्न दिनु भने हुँदैन । बगानमा उचित निकासको व्यवस्था हुनु नितान्त जरुरी छ ।

माटो
- अलैंची खेती ४.५–६.५ सम्म पि.एच. मान भएको जुनसुकै माटोमा पनि गर्न सकिने देखिएको छ ।

- तर पनि पानी नजम्ने, दोमट माटो, प्रशस्त प्राङ्गारिक पदार्थ भएको स्थानमा धेरै वर्षसम्म बगान टिकिरहन सक्छ ।

- चिम्टाइलो, रातो माटोमा पानी जम्ने, वर्षादमा पहिरो जान सक्ने तथा वर्षा नभई पानी कम भएमा माटो कक्रिने हुंदा यसलाई राम्रो मानिदैन ।

जग्गाको छनोट
- अलैची खेतीको लागि केही भिरालो परेको, सूर्यकोप्रकाश दिनमा १–२ पटक मात्र पर्ने छहारी वोट सहितको खोल्सो तथा फेदवाट सदा पानी बगीरहने स्थान सबैभन्दा राम्रो मानिन्छ ।

- उत्तर पूर्व फर्किएको जमिन राम्रो हुन्छ, तापनि जुनसुकै मोहोडामा पनि यसको खेती गर्न सकिन्छ ।

- सूर्यको प्रकाश सिधा अलैची बगानमा पर्नु हुंदैन । प्रङ्गारिक पदार्थ बढी भएको, पहिरो नजाने खालको तथा बाढीले नोक्सान नपु¥याउने र सकभर चिम्टाइलो माटो
नभएको स्थान राम्रो मानिन्छ ।

- तर पनि केही भिरालो जग्गा, फेदवाट पानी बगीरहने खोल्सो, छाहारी दिने वोटहरु भएको स्थानमा यो खेती अत्यन्त राम्रोसंग फस्टाउन सक्छ ।

अलैंची नर्सरी स्थापना तथा व्यवस्थापन
- अलैंची बीउ सानो हुने भएकोले यसलाई राम्रोसँग उम्रिन, हुर्काउन, बढाउन, सार्नयोग्य बनाउन प्रथम नर्सरी र दोश्रो नर्सरी गरी जम्मा २ नर्सरीमा हुर्काइन्छ ।

- यसलाई प्रथम नर्सरीमा १८ देखि २२ महिनासम्म राख्नु पर्ने हुन्छ भने दोश्रो नर्सरीमा १२–१४ महिनासम्म रहन्छ । यसरी ३२–३४  महिना सम्ममा बिरुवा सार्नयोग्य हुन्छ ।

(क) प्रथम नर्सरी: नर्सरीको लागि जग्गा छनोट गर्दा पारिलो पाखा, पानीको राम्रो श्रोत भएको स्थान, हिउँ तुषारो नपर्ने, ठूला रुखहरु आसपासमा नभएको, पानी नजम्ने, प्रशस्त प्रांगारिक पदार्थ भएको दुमट माटो भएको स्थान राम्रो मानिन्छ ।

नर्सरी जग्गाको तयारी गर्दा राम्रोसँग खनजोत गरी बुरबुराउँदो माटो बनाई कान्ला सफा गरी, झारपात हटाई प्रति २ वर्ग मिटरमा २०–२५ के.जी. राम्ररी कुहिएको प्रांगारिक मल, १ के.जी. खरानी तथा चिम्टाइलो माटो भएको खण्डमा १०–१५ के.जी. बालुवा समेत मिलाउनु पर्दछ ।

त्यस्तै माटो भित्र बसी नोक्सान पु¥याउने कीराहरु भएमा क्लोरोपाईरिफस विषादी २–३ ग्राम प्रति लिटर पानीका दरले समेत मिसाउनु आवश्यक हुन्छ । यसरी तयार गरिएको जग्गामा १ मीटर चौडाई र आवश्यकता अनुसारको लम्बाई र १५–२० से.मी. उचाई भएका ब्याडहरु बनाउनु पर्दछ ।

ब्याडमा १५ से.मी. को फरकमा २–३ से.मी. गहिरा धर्साहरु कोरी २ से.मी. को फरकमा पर्ने गरी अलैंचीको बीउ छर्नु पर्दछ । बीउ छरिसके पछि राम्रोसँग तयार गरिएको हल्का माटोले छोपी दिनु पर्दछ ।

यसरी बीउ छर्दा प्रति २ वर्ग मिटरको लागि २० ग्राम बीउ आवश्यक हुन्छ । १ ब्याड देखि अर्को ब्याडको बीचमा १.५ मिटर जग्गा खाली छाडी अर्को ब्याड बनाउनु पर्दछ जसले गर्दा नर्सरीमा कामकाज गर्न तथा निरीक्षण गर्न सजिलो पर्दछ ।

बीउ छरी सकेपछि ३–४ से.मी. बाक्लो हुने गरीसुकेको पराल वा खरले छापो (Mulching) दिनु पर्दछ । माटोको अवस्था तथा वर्षात्लाई मध्यनजर गरी ३–४
दिनमा सिचाई गर्दै गर्नु पर्दछ । बिरुवा उम्रिनको लागि ६–८ महिना सम्म लाग्दछ।

बिरुवा उम्रिनु अगावै अलैंची बिरुवालाई छाप्रो  (Shed/Thatch)  हाल्नु आवश्यक हुन्छ । छाप्रोका लागि ४ फिट अग्ला बाँसलाई १ फिट जमिन मुनी गाड्ने र नर्सरीको दुबै तर्फ बलो र भाटा समेत राखी खरको छानो दिई छाप्रो तयार गर्नुपर्दछ ।

बिरुवा उम्रिसकेपछि २–२ महिनाको फरकमा राम्रोसँग पाकेको कम्पोष्ट मल तथा माटो मिसाई बिरुवाको दुवै तर्पmबाट उकेरा दिँदै आवश्यकता हेरी सिँचाई तथा रोग कीराको आक्रमण भएमा सोही अनुसार विषादी पनि छर्नु पर्दछ ।

बीउ राख्ने समय आश्विन–कार्तिक–मंसीर सम्म हुन सक्दछ । अर्लैची बीउ तयारी गरी सकेपछि ३५ दिन भन्दा बढी दिन यसै राख्यो भने उमारशक्ति क्षीण हुँदै जान्छ । अतः नर्सरी गर्ने कृषकले बीउ तयारीको साथै नर्सरी जग्गा पनि तयार गर्दै जानु पर्दछ । बीउ तयार भई सकेपछि जति सक्दोछिटो बीउ छर्दै जानु उपयुक्त हुन्छ ।

(ख) दोश्रो नर्सरी : अलैंचीलाई दोश्रो नर्सरी गर्नुको मतलब बिरुवा तथा पानाको राम्रो विकास गरी दह्रो तथा बलियो पार्नु हो जसले गर्दा टाढासम्म ढुवानी गर्दा पनि नमरोस् भन्ने उद्देश्य रहेको हुन्छ ।

दोश्रो भन्नुको अर्थ पहिलो ब्याडमा हुर्किसकेपछि पुनः अर्को ब्याडमै सार्नु पर्ने भएकाले दोश्रो नर्सरी भनिएको हो । प्रथम नर्सरीमा जस्तैगरी दोश्रो नर्सरी तयार गरिन्छ । पहिलो नर्सरी ब्याडवाट बिरुवा उखेली टुप्पा तथा जराको काटछाँट गरिन्छ ।

टुप्पा, सुईरो भन्दा माथिका अग्ला पातहरु छाँटिन्छ र छोटो पारिन्छ जसले गर्दा बिरुवा दोश्रो नर्सरीमा ढल्नवाट बच्दछ र चाँडो सर्दछ भने मसीना जराहरु धेरै लामा लामा हुन्छन्र दोश्रो नर्सरीमा सार्दा गाह्रो पर्दछ त्यसकारण ५–७ से.मी. लामा जरा राखी अरु जराहरु हटाइन्छ ।

जसबाट नयाँ जराहरु पलाउँछन्र बिरुवा सार्न पनि सजिलो हुन्छ । प्रथम नर्सरीबाट उखेली सकेर काटछाँट गरिसकेपछि बिरुवा केलाउनु पर्दछ जसमा पुराना, नराम्रा बिरुवा हटाई ३–३ वटा बिरुवा एक ठाउँमा पारिन्छ ।

नर्सरी ब्याड तयार भइसकेपछि अलैंचीका जात तथा माटो आदिलाई मध्यनजर राख्दै ३०–४० से.मी.को फरकमा लाईन देखि लाईन र बिरुवा देखि बिरुवाको दुरी कायम गरी एक ठाउँमा ३ वटा बिरुवा रोपिन्छ ।

बिरुवा रोपिसकेपछि फेदमा बेस्सरी दबाउनु पर्दछ जसले गर्दा बिरुवा ढल्दैन । त्यसपछि मल्चिङ्ग गरी छाप्रो तथा जाली मित्र बिरुवा हुर्काउनु पर्दछ । पानीको व्यवस्था तथा २–३ महिनामा कम्पोष्ट मल थप्दै जानु पर्दछ ।

5c564c76-2f6_big.jpg

बिरुवा लगाउने खाडल खन्ने
- बिरुवा लगाउनु भन्दा १.५ महिना अगावै खाडल खन्नु पर्दछ ।

- जमिनको भिरालो तथा मलीलोपना अनुसार बढी गँंजिने जातलाई २/२ मिटर तथा
कम गाँजिने जातलाई १.५÷१.५ मिटरको दुरी कायम गरी ३० से.मी. लम्बाई, ३० से.मी.चौडाई र ३० से.मी. गहिराईको खाडल खन्नु पर्दछ ।

- खाडल खन्दा १५ से.मी. माथी सतहकोमाटो अलग र त्यसभन्दा गहिराईको माटो अलग बनाई राख्नु पर्दछ ।

मलखाद
- अलैची खेतीको लागि प्रति रोपनी ५० देखि ६० डोको कम्पोष्ट मल, नाइट्रोजन ५ के.जी., फस्फोरस ३ के.जी. र पोटास ३ के.जी. परिमाणमा खाद्यतत्वहरुको सिफारिश गरिएको छ ।

- मलखाद दिँदा जमिनको अन्तिम तयारीमा कम्पोष्ट मलको पूरै मात्रा र फस्फोरस तथा पोटास तत्वको पूरै मात्रा र नाइट्रोजन तत्वको आधा मात्रा मिसाउनु पर्दछ ।

- नाइट्रोजन मलको बाँकी आधा भाग बाली अवधि भरी दुई पटक गरी दिनु पर्दछ।

- खाडल पुर्ने १५ दिन सम्म खाडल खुला राखी बिरुवा लगाउनु भन्दा १ महिना अगाडी खाडल पुरी बीच भागमा किला गाडी राखी छाड्नु पर्दछ ।

- सतहको माटोमा प्रति खाडल ५—१० के.जी. कुहीएको कम्पोष्ट मल तथा माटो भित्र बसी नोक्सान पु¥याउने किरा मार्न प्रति खाडल २—३ ग्राम ल्कोरोपाईरीफस समेत मिसाई खाडल पुरेर बीचमा किला गाडी छाड्नु पर्दछ ।

- खाडल पुर्ने समयमा सतह भन्दा १०—१२ से.मी. अग्लो बनाउनु पर्दछ ।

बिरुवा रोप्ने
- १ महिना अगाडी पुरेर राखेको खाडलमा प्रति खाडल ३ विरुवा त्रिकोण आकारमा बिरुवा रोप्नु पर्दछ । यो तरीका अपनाउँदा बिरुवा मरेर खाडल रित्तो हुँदैन ।

- बिरुवालाई ८–१० से.मी. सम्म गहिरो गरेर बिरुवा रोप्नु उपयुक्त हुन्छ ।

- धेरै गहिरोरोप्दा जरा पाना कुहिने, बोट पहेँलिने सम्भावना रहन्छ ।

- बिरुवा रोपिसकेपछि बीचमा किला गाडेर हल्का सित बांध्नु पर्दछ, जसले गर्दा बिरुवा वर्षाद वा हावाले ढल्दैन ।

- विरुवा रोप्नु भन्दा अगाडी विरुवा तयारी गर्नु पर्दछ ।

- बिरुवा तयारी गर्दा टुप्पाको पात केही भाग छांटी छोटो पार्नु राम्रो हुन्छ ।

रोप्ने बिरुवामा निम्न गुणहरु हुनु अनिबार्य हुन्छः–

  • प्रत्येक बिरुवामा पाना र एक दुई वटा जरा हुनु पर्छ ।
  • बिरुवाको उचाई २०–२५ से.मी. भएको, टुप्पो काटेको हुनु पर्छ ।
  • सकेसम्म बीउबाट तयार पारेको, रोगरहित क्षेत्रकोलगाउनुपर्छ ।

बिरुवा रोप्ने समय
- मनसुनी वर्षा शुरु हुने समय नै अलैंची लगाउने उतम समय हो ।

- हरेक वर्ष मनसुन शुरु हुने समय फरक हुन सक्दछ तापनि सामान्य रुपमा जेठको अन्तिम हप्ता देखि श्रावण महिनाको दोश्रो हप्तासम्म अलैची बिरुवा रोप्ने उत्तम समय मानिएको छ ।

- यस भन्दा ढिला गरी रोपेको बिरुवाको मृत्यु दर बढदै जान्छ ।

- असार १५ सम्म रोपेको बिरुवाले सोही बर्षको भदौ महिना सम्ममा नयां टुसा दिन थाल्दछ भने यस भन्दा पछि सारेको बिरुवामा टुसा आउन अर्को बर्षको भदौ महिना सम्म पर्खनु पर्दछ फल स्वरुप उत्पादन लिन पनि एक बर्ष पछि ढिला हुन जान्छ ।

छाहारी व्यवस्थापन
अलैंची छायाँप्रिय (Shade-loving) तथा बढी पानी चाहिने बाली भएतापनि बढी उचाई, उत्तरी मोहडा र छाहारी भएको स्थानमा अलैंची खेती बिना सिँचाई पनि गर्न सकिन्छ ।

छहारीको लागि चाँडो बढ्ने, टुप्पा तिर झुप्पो र तलतिर खुल्ला रहने, पात बाह्रै महिना झरिरहने र चाँडो कुहिने, चिस्यान र सेपिलो ठाउमा चाँडो हुर्कन र बढ्न सक्ने, नाईट्रोजन स्थिरीकरण (Nitrogen Fixation) गर्ने बोटबिरुवाहरु चाहिन्छ ।

सिरीश, सउर, मलातो, धूपी, क्यामुना आदिका बोटहरु छहारीका लागि उपयुक्त पाइएको छ ।

alaichi.jpg

गोडमेल
- अलैंचीमा मनसुन वर्षा सुरु हुनासाथ झार, बुट्यानहरु प्रशस्त आउँछ ।

- झार बुट्यानले खाद्यपदार्थमा प्रतिस्पर्धामा गर्नुका साथै रोग कीराहरुलाई बासस्थान प्रदान गर्दछ ।

- तसर्थ बर्षा शुरु हुनासाथ झारपात हटाउने र पानी निकासको प्रबन्ध मिलाउनु पर्दछ ।

- अलैचीको झा·मा फल्ने र नफल्ने २ प्रकारको लाक्रा हुन्छन् ।

- नफल्ने लाक्राको पात, गुभो र सुइरो हुंदैन । यस्ता नफल्ने प्रकारका लाक्रा हटाउनु पर्दछ ।

- श्राबण–भाद्रमा देखा पर्ने टुंसाहरु समेत हटाउनु पर्दछ । एकपटक फलिसकेको डांठ÷लाक्रा पनि हटाउनु पर्ने हुन्छ ।

- अर्को बर्ष यसबाट फल लाग्दैन । अलैचीको झा·मा लत्रिएका, भाच्चिएका, रोग कीराले असर गरेका भागहरु समेत हटाई दिनु पर्दछ । फल लागेका लाक्राहरुलाई फल पाक्नु एक महिना अगावै सतहबाट एक फुट (२५ देखि ३० से.मी.) माथी काटी हटाउनु पर्दछ ।

यसरी लाक्रा हटाउने विधिलाई नस्ल वा नल हान्ने भनिन्छ । यसरी अगाडी बोट लाक्रा काटेमा फल काटन सजिलो हुन्छ । अलैची बगानको अबस्था हेरी वर्षको ५ पटक सम्म गोडमेल गनु पर्दछ ।

(क) पहिलो गोडाई (अलैची टिप्ने बितिक्कै) – फलिसकेका लाक्रा, सुकेका पात, झार बुट्यान हटाउने र माटोबाट उत्रेका पानालाई उकेरा दिने ।

(ख) दोश्रो गोडाई (फूल्ने समय माघ–फागुणमा) – पात पति·र हटाउने।

(ग) तेश्रो गोडाई (फूलेको अवस्था चैत्र–बैशाखमा) – फूलमा परेका पात
पति·र, भाचिएका हांगा बिंगा हटाउने।

(घ) चौथो गोडाई (फल लागे पछि जेष्ठ–आषाढमा) – झार, बोक्रा, लाक्रा
हटाउने, पानीको निकासको व्यवस्था गर्ने ।

(ङ) पाँचौ गोडाई (फल टिप्नु एक महिना अघि श्रावण–भाद्र) – फलेको
लाक्राको टुप्पो, थारा, लाक्रा हटाउने काटने ।

सिँचाई
सिँचाईको आवश्यकता जमिनको मोहडा, छापो, छहारीको व्यवस्था र प्राकृतिक वर्षाले निर्धारण गर्दछ । अलैंची बालीको लागी जेष्ठ–आषाढबाट भाद्र महिनासम्म सिँचाईको त्यति आवश्यकता पर्दैन । किनकी यस समयमा प्राकृतिक वर्षा भईरहन्छ । बाँकी अन्य समयमा तपसिल बमोजिम सिँचाई दिईरहनु पर्दछ :

  • जेष्ठ–अश्विन : प्राकृतिक वर्षा
  • कार्तिक–माघ : महिनाको ४–५ पटक (कम्तिमा १० दिनको १ पटक)
  • फाल्गुण–जेष्ठ : महिनाको ५–६ पटक भन्दा बढि (हप्ताको २ पटक)


कार्तिक देखि माघसम्म अगाडीको वर्षाले गर्दा केहि चिस्यान कायम भएको हुन्छ र बिरुवाको पाना र आंखाको विकासको लागी चिस्यान आबश्यक पर्दछ । फागुणबाट जेष्ठ सम्म फूल, फल विकसित हुने समयमा र बढि सुख्खा हुने समय भएकोलेबढि सिँचाई गर्नु आवश्यक हुन्छ ।

alaichi.jpg

अलैची टिपाई
- अलैचीको जात र जमिनको उचाईको आधारमा अलैची टिप्ने समय अघिपछि हुन सक्दछ ।

- बढि उचाईमा अलैची ढिला पाक्छ भने कम उचाई र बढि तापक्रममा छिटो पाक्दछ ।

- साउने, चिबेशाई श्राबण–भाद्रमा पाकी सक्छ । डम्बरशाई भाद्र–आश्विनमा पाकिसक्छ त्यस्तै गोलशाई आश्विनमा र रामशाई आश्विन–कार्तिकमा पाकिसक्दछ।

- अलैचीको फल रातो बीयाँ खैरोबाट कालोमा परिणत भएपछि अलैची टिप्न सकिन्छ । नपाक्दै टिपेको फलमा गेडा नरम सेतो खैरो हुन्छ भने बढि पाकेको फल झर्ने, सुकाउँदा फुटने हुन्छ ।

- यसले अलैचीको गुणस्तरमा कमी ल्याउँछ । त्यसैले अलैची उचित समयमा टिप्नु पर्दछ । अलैची टिप्दा अलैची छुरीले थुंगाको फेद जुन पानासंग जोडिएको हुन्छ, राम्ररी काटी थुंगा टिप्नु पर्दछ । थुंगा काट्दा अन्य टुसा पाना, लाक्रालाई चोट पु¥याउन हुँदैन ।

- एक बोटबाट अर्को बोटमा रोग (भाईरस, ढुसी) नसर्नका लागी अलैचीको छुरीलाई रोगी बोटबाट फल काटी सकेपछि निर्मलीकरण गरेर मात्र निरोगी बोटको थुंगा काटनु पर्दछ ।

- यस अघि छुरीलाई रोगमुक्त गर्न तातो पानीमा डुबाउने, पोल्ने आदि कार्य गरी निर्मलीकरण (Sterilization) गर्नुपर्छ ।

अलैची उत्पादन
अलैचीको उत्पादनमा उमेर बाहेक उचाई, जात, मौसमको स्थिति, माटोको उर्वरापन, रोगकीरा व्यवस्थापन, स्याहार सम्भार, छहारी बोटको किसिम आदिबाट प्रत्यक्ष असर पर्दछ । विभिन्न अध्ययन अनुसार अलैंचीको बोटको उमेर अनुसार उत्पादनमा घटबढ भएको पाईएको छ ।

पहिलो टिपाई: १०० कि.ग्रा. प्रति हेक्टर
दोश्रो टिपाई : २०० कि.ग्रा. प्रति हेक्टर
तेश्रो टिपाई : ३०० कि.ग्रा. प्रति हेक्टर
चौथा देखि सोह्रौ टिपाई: ४५० कि.ग्रा. प्रति हेक्टर
सत्रौ टिपाई: ४०० कि.ग्रा. प्रति हेक्टर
अठारौ टिपाई: ३०० कि.ग्रा. प्रति हेक्टर
उन्नाईसौ टिपाई: २०० कि.ग्रा. प्रति हेक्टर

टिपाई पछिका कार्यहरु
- अलैची थुंगाहरु टिपिसके पछि यसलाई सफा, स्वच्छ र परिष्कृत तुल्याउने कार्य गरिन्छ । यी कृयाकलापमा थुंगा गुम्साउने, थुंगाबाट फल निकाल्ने, सुकाउने, पुच्छर फाल्ने, ग्रेडि· गर्ने र प्याकि· गर्ने कार्य पर्दछन्।

(क) थुङ्गा गुम्साउने: थुङ्गा भित्राई सकेपछि थुङ्गाहरुलाई ३–४ दिनसम्म गुम्साउनु पर्दछ । गुम्साउँदा थुंगाको टुप्पाका फलहरु छिप्पिन पाउँछ, फल निकाल्न सजिलो हुन्छ ।

(ख) फल छुट्टाउने: तीन–चार दिनसम्म गुम्साएको थुङ्गाबाट एक एक गरी फल निकाल्नु पर्दछ । फल निकाले पछि माटो र अन्य वस्तु हटाउनु पर्दछ वा पखाल्नु पर्दछ र फल तुरुन्त सुकाउने व्यवस्था गर्नु पर्दछ नत्र फल कुहिने सम्भावना हुन्छ।

(ग) सुकाउने : फलबाट भर्खर निकालेको फल (Capsul) मा ८०–८५ प्रतिशत चिस्यान रहेको हुन्छ । यसलाई सुकाएर १०–१२ प्रतिशत चिस्यान कायम गर्नु पर्दछ । नेपालमा अलैची ३ प्रकारले सुकाईन्छ घाममा, भारमा र भट्टिमा ।

(घ) पुच्छर फाल्ने : अलैचीको फलको टुप्पामा हुने जिर्नालाई पुच्छर भनिन्छ । यसलाई फलबाट छुट्टाउन एक एक गरी कैचीको प्रयोगले काटिन्छ । यो विधि बढि झन्झटिलो हुनाले आजकल खस्रो चाल्नो ( फलामको जाली) वा मान्द्रोमा दली पुच्छर हटाईन्छ ।

(ङ) ग्रेडि· गर्ने : अलैचीलाई त्यसको आकार र गुणको आधारमा निश्चित मान र स्तर निर्धारण गर्न विभिन्न तहमा छुट्टाउने प्रकृयालाई ग्रेडि· भनिन्छ । ग्रेडि· गर्दा अलैंची बाहेकका अन्य प्रदार्थ, जंगली अलैची (चूरुम्फा) ढुसी लागेको, साना आकारका, टुटे फुटेका, बढि ध्वाँसो लागी कालो भएका, पुच्छर नफालेका अलैंची
छुट्टाउनु पर्ने हुन्छ । यसरी सफा एकनासका ठूला, रोगकीरा रहित, पुच्छर फालेका अलैंची पहिलो ग्रेडमा राखिन्छ ।

(च) प्याकिङ्ग गर्ने : अलैचीलाई ग्रेडिङ्ग गरिसकेपछि बोरा बन्दी गरिन्छ । बोरा बन्दि गर्नु अघि यसको चिस्यानको मात्रा हेर्नु पर्दछ । यदि चिस्यान १०–१२ प्रतिशत भन्दा बढि भयो भने अलैचीमा ढुसी आउने डर हुन्छ । अलैची प्याकिङ्ग गरिसकेपछि संकेत पत्र (Tag) अनिवार्य रुपले देखिने गरी टाँस्नु पर्छ । Tag मा अलैचीको परिमाण, उत्पादन थलो, पठाउनु पर्ने ठाउँ, ग्रेडस्तर, प्याकिङ्गकर्ता, प्याक उपचार विधि उल्लेख हुनु पर्दछ । 

स्रोतः मसला बाली विकास केन्द्र, पाँचखाल

थप समाचार