परिचय अदुवा (Ginger) को वैज्ञानिक नाम Zingiber officinale (Roscoe) हो । यो Zingibraceae परिवारको सदस्य हो । अदुवामा हुने विशेष किसिमको वासना यसमा पाइने एक प्रकारको वाष्पशील तेल (Volatile Oil) बाट आउने हो जसलाई जिनजेरल (Gingerol) भनिन्छ ।
परापूर्वकाल देखि नै अधिकांश आयुर्वेदिक औषधीहरुमा अदुवाको प्रयोग भैरहेको पाइन्छ । अदुवा औषधीका साथसाथै खाद्य परिकारमा प्रयोग हुने उच्चस्तरीय र स्वास्थ्यवर्धक मसलाको रुपमा पनि त्यत्तिकै प्रख्यात छ । सर्वप्रथम अदुवाको खेती दक्षिण एशियाली मुलुकहरुबाटै भएको मान्यता छ ।
भारत, चीन, नेपाल, पाकिस्तान, जापान, ताइवान, मलेसिया, इण्डोनेशिया, अष्ट्रेलिया, मौरिसस, सिरिया, जमाईका, नाइजेरिया आदि देशलाई प्रमुख अदुवा उत्पादक राष्ट्रका रुपमा लिन सकिन्छ । अदुवा नेपालको मध्य–पहाडी क्षेत्रका कृषकहरुका लागि एउटा महत्वपूर्ण नगदेबालीको रुपमा स्थापित भैसकेको छ ।
सल्यान, पाल्पा, इलाम, नवलपरासी, तनहुँ, कास्की, स्याङ्गजा, भोजपुर आदि नेपालका प्रमुख अदुवा उत्पादक जिल्लाहरु हुन्।
महत्व
अदुवा बाली मसलाबाली समूहमा पर्ने बालीहरु मध्ये एक महत्वपूर्ण नगदे हो । यसलाई नगदे बालीको रुपमा एकल शुद्ध बाली अथवा घुसुवा बाली एवं अन्तरबालीको रुपमा समेत लगाउन सकिन्छ । यसरी घुसुवा बालीको रुपमा फलफूलको बँगैचा भित्र खाली रहेको जग्गामा पनि अदुवा खेती गर्न सकिने भएकोले कृषकहरुलाई अदुवा खेतीबाट दोहोरो फाइदा हुन सक्ने देखिन्छ ।
औद्योगिक बालीको रुपमा अदुवाको ठूलो महत्व छ । अदुवामा बहुमूल्य वास्नादार तेल ओलियोरेजिन पाईन्छ जुन खाद्य वस्तुहरु तयार गर्दा स्वादिलो र वास्नादार बनाउनका साथै अन्य प्रशोधित खाद्य वस्तुहरु संरक्षणको लागि पनि यस तेलको त्यत्तिकै महत्व छ ।
श्रृङ्गार, प्रशोधन वस्तु तयार गर्न, आयुर्वेदिक औषधि र रसायन तथा पशुहरुको औषधिमा पनि अदुवाको आफ्नै महत्व छ । अदुवा (सुठो) निर्यातयोग्य भएको हुँदा यसबाट देशले वर्षेनी ठूलो धनराशी विदेशी मुद्राको रुपमा आर्जन गरिरहेको छ ।
यस खेतीबाट कृषकहरुलाई प्रत्यक्ष लाभ भई आर्थिक उपार्जन गर्न सक्ने दरिलो स्रोतको रुपमा समेत लिन सकिन्छ । छिमेकी राष्ट्र भारत, समुन्द्रपार तथा अन्य अरब देशहरुमापनि अदुवा, सुठो निकासी गर्न सकिने सम्भावना रही आएको छ ।
प्रयोग अदुवा ताजा वा सुकेको अर्थात सुठोको रुपमा प्रयोग हुने गर्दछ । विभिन्न खाद्य परिकारहरु जस्तै माछा, मासु, तरकारी, ताजा अचार आदि तयार गर्नमाताजा अदुवा प्रयोग गरिन्छ भने प्रशोधित रुपमा यसबाट सुठो, धुलो बनाएर वा अदुवाको रसबाट पेय पदार्थहरु सर्बत, बट्टाको अचार, क्याण्डी, मुरब्बा आदि बनाई प्रयोगमा ल्याउन सकिन्छ ।
हावापानी समुन्द्र सतहदेखि १५०० मिटर उचाईसम्मको हावापानीमा अदुवा खेती सफलताकासाथ गर्न सकिन्छ । यसका लागि २०–३० डिग्री सेन्टिग्रेडसम्मको तापक्रम उपयुक्त मानिए तापनि अधिकतम ३५ डि.से. सम्म यो बालीले सहन सक्दछ । बाली अवधिमा ५००–६०० मि.मि. वर्षा भएमा उत्पादन राम्रो हुन्छ ।
माटो चिम्ट्याइलो वा खस्रो बालुवायुक्त माटो बाहेक अधिकांश माटोमा अदुवा खेती गर्न सकिन्छ । तर प्राङ्गारिक पदार्थ प्रशस्त भएको दोमट किसिमको माटो सबैभन्दा उपयुक्त मानिन्छ । पि.एच. ५.५ देखि ६.५ सम्म भएको माटोमा अदुवा खेती राम्रो हुन्छ । खेती गरिने जग्गामा वर्षाको पानी बिल्कुलै नजम्ने गरी निकासको उचित प्रबन्ध भएको हुनुपर्छ ।
लगाउने समय अदुवा लगाउने समय त्यस ठाउँको हावापानीमा भर पर्दछ । सल्यान कपुरकोट (१४३० मि. उचाईमा गरिएको अनुसन्धान नतिजा अनुसार) मध्य–पहाडी क्षेत्रका लागि फाल्गुणको अन्तिम सातादेखि चैत्र महिना भित्र अदुवा लगाउन उपयुक्त समय मानिएको छ । ढिलोगरी लगाएमा गानाहरु ठूला हुँदैनन्र उत्पादन र गुणस्तर क्रमशः घट्दै जान्छ ।
बीउ–दर प्राकृतिक रुपमा अदुवा फूल्छ तर बीउ लाग्दैन । त्यसैले अदुवाको प्रसारण गानोबाट मात्र सम्भव छ । प्रसारणका लागि गानो प्रयोग हुने भएकोले प्रति इकाई क्षेत्रमा ज्यादा बीउ (गानो) लाग्दछ । बीउको मात्रा अदुवाको जात, हावापानी, लगाउनेसमय आदिमा भर पर्छ ।
\सामान्यतया सानो गाना हुने जात छ भने ४ मे.टन प्रति हेक्टरअर्थात् २०० कि.ग्रा. प्रति रोपनी र ठूलो गाना हुने जस्तै सल्यान, भोजपुर र इलाम जातको लागि ६ मे.टन प्रति हेक्टरअर्थात्३०० कि.ग्रा. प्रति रोपनी बीउ (गानो) चाहिन्छ ।
उन्नत जातहरु अदुवाका जातहरुको नामाकरण जर्मप्लाज्म संकलन गरिएको मूलस्थानको आधारमा गर्ने प्रचलन छ । जस्तैः कालकिट, कोचिन, रियो डि जेनेरियो, जमैका, सल्यान, इलाम, भोजपुर आदि । स्थानीय जातबाटै म्यूटेशन वा क्लोनल सेलेक्सन प्रक्रियाद्वारा भारतमा केही नयाँ जातहरुको विकास गरिएको छ ।
जस्तैः शुभप्रभा, सुरुची, सुरमी र हिमगिरी । अदुवामा परागसेचनद्वारा बीउ नलाग्ने भएकाले विश्वमै अदुवाको वर्णसंकर जातको विकास हालसम्म हुन सकेको छैन । नेपालमा अदुवालाई रेसाको मात्रा हेरी धेरैरेसा भएकोलाई नसे र कम रेसा भएकालाई बोसे भन्ने प्रचलन छ ।
अधिराज्यका विभिन्न स्थानबाट संकलित अदुवाका जर्मप्लाज्म मध्ये सल्यान, भोजपुर र इलाम उत्पादनका दृष्टिले उत्कृष्ट मानिएका छन् । यी सबै जातहरु बोसेवर्गमा पर्दछन् । अदुवाबाली अनुसन्धान कार्यक्रम, कपुरकोट सल्यानबाट कपुरकोट–१ र कपुरकोट–२ अदुवाको जातलाई उन्मोचन गरी खेतीको लागि सिफारिस गरिएको छ ।
बीउ (गानो) छनौट अदुवाको सफल खेतीका लागि बीउको उचित छनौट नै एउटा महत्वपूर्ण कार्य हो । बीउ (गानो) छनौट गर्दा निम्न कुरामा विशेष ध्यान दिनुपर्दछ ।
- बीउको स्रोत गानो कुहिने रोग नलागेको खेतको हुनुपर्छ । - रोग तथा कीरा नलागेको स्वास्थ्य गानो हुनुपर्छ । - कम्तिमा एउटा टुसा निश्चित रुपमा निस्कने पोटिलो गानो हुनुपर्छ । - गानोको आकार हेरी बीउ गानो को तौल ४० ग्रामदेखि ६० ग्रामसम्मको हुनुपर्छ ।
बीउ उपचार र लगाउने तरिका - अदुवामा गानोकुहिने रोगको संक्रमण कम वा बढी नेपालका सबै क्षेत्रमा हुने गरेको पाइन्छ ।
- यो रोगको रोकथामका लागि बीउ उपचार नै प्रभावकारी एवं व्यवहारिक उपाय सिद्ध भएको छ ।
- यसका लागि १० लिटर पानीमा २५ ग्राम इन्डोफिल एम–४५ (म्याकोजेब) र १० ग्राम वेभिष्टिन ( कार्वेन्डाजिम) मिसाई बनाइएको झोलमा बीउ गानोहरुलाई एक घण्टासम्म डुबाउनेत्यसपछि छाँयामा सुकाउने र ओभाएपछि मात्र गाना रोप्नु पर्दछ।
- तयारी जमिनमा ३० से.मि. को फरकमा कुटो वा कोदालोद्वारा १० से.मि. गहिरो लाईन बनाउने ।
- लाईनमा बोट देखि बोट ३० से.मि. को दुरीमा बीउ गानोहरु रोपेर गानाहरुमाथि ६–७ से.मि. माटो पर्ने गरी पूर्ने ।
- भिरालो जग्गामा पानी जम्ने समस्या नभएकाले ड्याङ्ग बनाउनु पर्दैन तर ज्यादा वर्षा हुने तथा समथर जमिन जहाँ पानी जम्नेसमस्या छ यस्तो ठाउँमा १५ से.मि. अग्लो र १–२ मिटर चौडाइ र जमिन अनुसार लम्बाइको ड्याङ्गमा रोप्ने व्यवस्था मिलाउनुपर्छ ।
- यसरी बनाइएको ड्याङ्गमा प्रत्येक ४ लाइनमा पानी निकासको लागि कुलेसो बनाउन सकिन्छ ।
- जसबाट पानीको निकास हुनुको साथै बाली अवधिमा अन्य कृषि कर्महरु गर्न सुविधा पनि हुन्छ ।
- बीउको रुपमा प्रयोग भएको गानो (ब्रुनी) बाली तयार हुन अगावै बेमौसमी अर्थात्श्रावण–भाद्र महिनामा निकाल्नु छ भने उपरोक्त दुरी तथा गहिराई मै गानोको टुसा तल पर्ने गरी सबै बीउ गानोलाई एकै दिशातर्फ फर्काइ रोप्नुपर्छ ।
- यसरी रोप्दा ब्रुनी भएको स्थान पत्ता लगाउन र ब्रुनी भाँचेर निकाल्न सजिलो हुन जान्छ ।
मलखादको मात्रा र प्रयोग विधि - अदुवा माटोमा फल्ने स्वरुपान्तरित काण्ड भएकाले माटोमा चिस्यान बनाई राख्न प्राङ्गारिकमलको निकै आवश्यकता पर्छ ।
- राम्ररीकुहिएको कम्पोष्ट वा गोठेमल ५० देखि ६० डोका प्रति रोपनी हाल्नु पर्छ भने रसायनिक मलको हकमा माटो जाँचपछि मात्र निर्धारण गर्न सकिन्छ तापनि कपुरकोटमा गरिएको परीक्षणको आधारमा डि.ए.पि. ५ के.जी., यूरिया ६ के.जी. र पोटास ४ के.जी. प्रति रोपनीका दरले प्रयोग गरेमा अधिकतम उत्पादन हुन सक्ने देखिएको छ ।
- मलखाद प्रयोग गर्दा अदुवा रोप्नुभन्दा २ हप्ताअगाडी कम्पोष्ट वा गोठेमललाई कडा घाममा सुक्न नदिई जोतेर माटोमा मिलाउने।
- जमिनकोअन्तिम तयारी गरी रोप्ने समयमा डि.ए.पि. र पोटास मलको पूरै सिफारिश मात्रा मिसाउने ।
- यूरिया मलको सिफारिश गरिएको मात्रा दुई पटक गरी उम्रेको १ महिनापछि र बाँकी मात्रा उम्रेको २ महिना पछि प्रयोग गर्ने ।
छापो हाल्ने - अदुवा रोपेपछि टुसाएर जमिनको सतहमा आउनु १ देखि ३ महिनासम्म लाग्न सक्छ । तसर्थ लामो अवधिसम्म माटोमा चिस्यान बनाई राख्न छापो (Mulching) को नितान्त आवश्यकता पर्छ ।
- छापोले माटोमा भएको चिसोपन तथा परेको पानीलाई जोगाई बालीको उमार प्रतिशत बढाउँछ ।
- जग्गामा झारपात आउन नदिई जग्गालाई सफा राख्नुका साथै बालीको लागि दिइएको मलको बचाउ गर्दछ ।
- विभिन्न ठाउँमा विभिन्न किसिमको छापो हाल्ने गरेको पाइन्छ । छापोका लागि खर, स्याउला, बनमारा, तितेपाती, सुकेका पातहरुआदि बढी उपयुक्त हुन्छ ।
- अदुवाको रोपाई पछि पूर्णरुपले माटो ढाकिने गरी ४–५ से.मि. बाक्लो छापो हाल्नुपर्छ ।
- सुकेका पातहरु भए हावाले नउडाउने गरी च्याप्ने व्यवस्था मिलाउनुपर्छ । ४० देखि ५० ठूलो डोकोपात भए एक रोपनीका लागि पुग्छ ।
गोडमेल उम्रेको एक महिना पछि गानोलाई असर नपर्ने गरी पहिलो पटक गोडमेल गर्ने । यूरियाको आधा भाग अर्थात्३ किलोग्राम प्रति रोपनीका दरले बोटको चारैतिर माटोमा मिसाउने । पहिलेको छापोबाट मात्र जमीन नढाकिने भए पुनः थप छापो हाल्ने ।
उम्रेको दुई महिना पछि गानोलाई असर नपर्ने गरी सम्भव भए हातैले झारहरु उखेली दोस्रो पटक गोडमेल गर्ने । बाँकी बचेको आधा भाग यूरिया ३ किलोग्राम र म्यूरेट अफ पोटास २ किलोग्राम प्रति रोपनीका दरले बोटको वरिपरि माटोमा मिसाउने । पूर्णरुपले जमिन ढाक्न छापो नपुग्ने भए पुनः छापो थप्ने ।
सिँचाई नेपालमा वर्षे बालीको रुपमा अदुवा खेती गरिने भएकोले सामान्यतया सिँचाईको आवश्यकता नपर्न सक्दछ । माटोमा चिस्यान छैन भने रोप्नु अघि सिँचाई गरेर मात्र रोप्ने, मौसम सुख्खा रहिरहेमा अर्को एक महिना पछि दुई ब्याडको बीचमा पानी पठाई सिँचाई गर्ने व्यवस्था मिलाउने ।
अन्तरबाली प्रणाली अदुवा बाली तयार हुन लामो समय अर्थात झण्डै नौ महिना लाग्छ । अदुवा चैत्र–वैशाखमा रोपियो भने मंसिर–पौषमा मात्र खनिन्छ । प्रति इकाई क्षेत्रबाट अधिकतम फाइदा लिन अन्तरबाली प्रणाली अपनाई अदुवालाई आँप, सुन्तलाका बगैँचाहरुमा अन्तर बालीको रुपमा लगाउन पनि सकिन्छ । विभिन्न अन्तरबाली प्रणाली मध्ये अदुवा–मकै अन्तरबाली अधिकाशं ठाउँमा सफल भएको पाइएको छ ।
बाली–चक्र प्रत्येक वर्ष एउटै जमिनमा अदुवा खेती गरिनु हुँदैन । प्रमुख समस्याको रुपमा रहेको गानो कुहिने रोगको जीवाणु माटोमा रहन्छ । सो बाट बच्न कम्तिमा दुई वर्ष त्यो ठाउँमा पुनः अदुवा खेती गर्नु हुँदैन । नयाँ जातको बीउ वृद्धि गर्नु छ भने पनि दोश्रो वर्ष त्यही जमिनमा खेती गरिनु हुँदैन ।
पुरानो गानोसँग मिसिन्छ । खाद्यतत्वको कमी हुन गई उत्पादन कम हुन सक्छ त्यसैले तल दिइएअनुसार बाली–चक्र अपनाउनु पर्छ । एउटा तीन वर्षे बाली–चक्रमा कमसेकम एउटा कोसेबाली समावेश गराइनु पर्दछ ।
१.पहिलो वर्ष : अदुवा
२. दोश्रो वर्ष : मकै–गहुँ
३. तेश्रो वर्ष: मकै–भटमास–तोरी
१.पहिलो वर्ष : अदुवा
२. दोश्रो वर्ष : मकै–गहुँ
३. तेश्रो वर्ष: मकै–भटमास–तोरी
१.पहिलो वर्ष : अदुवा
२. दोश्रो वर्ष : मकै–भटमास
३. तेश्रो वर्ष: मकै– मकै–तोरी
१.पहिलो वर्ष : अदुवा
२. दोश्रो वर्ष : मकै–आलु
३. तेश्रो वर्ष: मकै– मकै–बोडी
ब्रुनी (माउ) निकाल्ने अदुवाको कुल उत्पादन खर्च मध्ये ४०–५० प्रतिशत जति बीउमा मात्र खर्च हुन्छ । ठूलो आकारको लगाउँदा ज्यादा उत्पादन हुने सानो लगाउदाँ थोरै उत्पादन हुने परीक्षणबाट थाहा भएको छ ।
ठूलो गानो लगाउँदा उत्पादन लागत बढ्न सक्छ । बु्रनीलाई पछिसम्म जमिनमा छाडी राख्दा खन्ने बेलासम्म ५० प्रतिशत ब्रुनी नोक्सान हुन सक्छ । अतः उत्पादन लागत अनुसार बढी फाइदा लिन बेमौसममा बु्रनी (माउ) अदुवा निकाली राम्रो मूल्यमा बेचेर बढी फाइदा लिन सकिन्छ ।
रोपेको ४ महिना पछि श्रावण– भाद्रतिर रोपेको बीउ गानो (ब्रुनी) निकाल्दा बिरुवालाई पनि असर पर्दैन र अन्तिम उत्पादन पनि घट्दैन । स्वस्थ बीउ गानो रोपिएको छ भने लगभग ९० प्रतिशत सम्म ब्रुनी फिर्ता लिन सकिन्छ ।
बाली तयारी अदुवा खन्ने समय, हावापानी, जात, उपयोग तथा बजारको मागमा भर पर्दछ । बजारमा ताजा अदुवाको माग बढ्ेको छ भने भाद्र महिना पछि नै खनेर बेच्न सकिन्छ । कलिलो अवस्थामा खनिएको अदुवा, हलुका पेयपदार्थ र क्यान्डी बनाउनको लागि प्रयोग गरिन्छ ।
तेल र ओलियोरेजिन प्रशोधनका लागि पठाउनु छ भने ७–८ महिनामा खन्न उपयुक्त हुन्छ । बोटहरु मरिसकेपछि पनि जमिनमा रहन गयो भने क्रमशः रेसाको मात्रा बढ्दै जान्छ तर बीउ प्रयोजनका लागि खेती गरिएको हो भने पूर्ण छिप्पिएपछि मात्र खन्नुपर्छ । सामान्यतया ७५ प्रतिशत जरा सुकेर ढल्न थाल्यो भने बाली तयारी भएको मान्न सकिन्छ ।
उत्पादन अदुवा खन्दा गानाहरुमा चोटपटक नलाग्ने गरी खन्नु पर्छ । गानोमा टाँसिएको माटो, जरा र सुकेका पातहरु हटाउनु पर्छ । नेपालमा अदुवाको अधिकतम उत्पादन क्षमता ४० मे.टन प्रति हेक्टरसम्म पाइएको छ ।
भण्डारण एक ठाउँबाट अर्को ठाउँमा काँचो अदुवा ढुवानी गर्दा गानोहरुमा चोटपटक नलाग्ने गरी प्याकिङ्ग व्यवस्था मिलाउनु पर्छ र अदुवा खनेपछि कुल उत्पादनबाट रोग कीरा नलागेको, आकारमा ठूलो, छिप्पिएको गानाहरु बीउ प्रयोजनका लागि छुट्टयाउने ।
बाँकीबाट राम्रो छानी सुठो बनाउनका लागि छुट्टयाउने त्यसपछि बाँकी सम्पूर्ण उत्पादन ताजा अदुवा खाने प्रयोजनका लागि स्थानीय बजारमा बेच्ने । यस प्रकार छुट्टयाईएको अदुवाहरु निम्नानुसार भण्डारण गर्ने ।
(क) बीउ अदुवा भण्डारण - अदुवालाई १२–१४ डि.से. तापक्रम र सापेक्षिक आद्र्रता ६५–७५ प्रतिशत मिलाउन सकिने कोठामा सजिलै सँग ५–६ महिनासम्म भण्डारण गर्न सकिन्छ ।
- कृषकस्तरमा यस्तो किसिमको तापक्रम नियन्त्रित कोठा बनाउन प्रायः नसकिने भएकाले परम्परागत खाल्टोमा गरिने भण्डारणलाई केही सुधार गरी स्वस्थ बीउ भण्डारणका लागि आर्थिक दृष्टिले उपयुक्त देखिन्छ ।
- खाडल बनाउनेः अदुवा भण्डारण गर्न विभिन्न क्षमताको खाडल बनाउन सकिन्छ । तर खाडलको गहिराई १ मिटर भन्दा ज्यादा हुनु हुँदैन ।
- एक घन मिटर खाड्लमा ३५० किलोग्राम बीउ गानो भण्डारण गर्न सकिन्छ । उत्पादन थोरै भए सानो आकारको खाडलमा राखे पनि हुन्छ । पानी नजम्ने तथा छायाँ पर्ने ठाउँमा खाडल बनाउनु उपयुक्त हुन्छ ।
- बीउ तथा खाड्लको उपचारः छानिएका बीउ गानोलाई विषादी मिसाइएको घोलमा १ घण्टा डुबाई छायाँमा सुकाउने । विषादी घोल बनाउँदा १० लि. पानीमा २५ ग्राम इण्डोफिल एम–४५ र मालाथियन २५ मि.लि. मिसाउने ।
- खाड्लमा पनि सोही विषादीको घोल छरेर उपचार गर्ने र खाड्ललाई सुक्न दिने । खाड्लमा आगो बालेर पनि उपचार गर्न सकिन्छ ।