कुनै सानो जलाशयमा तथा तुलनात्मक रुपले थोरै पानीमा धेरै माछा उत्पादन गर्ने प्रविधिलाई सघन मत्स्य पालन भनिन्छ । यसमा खास गरेर कम जग्गा, कम पानीमा प्राङ्गारिक मल, रासायनिक मल र पालिएका माछालाई इच्छानुसार रुचाउने आहारा एवं दाना खुवाई धेरै उत्पादन लिइन्छ । माछाका भुरा पनि यस तरिकामा धेरै स्टक गरिन्छ । यस प्रकारको मत्स्य पालन विभिन्न जिल्लाका पकेट क्षेत्रहरू जस्तै बाराको बनौली, बोधवन, सर्लाहीको भक्तीपुर, रुपन्देहीको छपियामा हाल व्यवसायिक रुपमा संचालन भइरहेको छ । यस पालन प्रणालीमा ठुलो साइजको माछाका भुरा (२० ग्राम ) १०,००० प्रति हेक्टरको दरले स्टक गर्नुपर्छ । सबै किसिमको चाहिने आहारा समय अनुसार दिइ राख्नुपर्छ् |
-फाइदाहरु
१. बजारको माग अनुसार पर्याप्त माछा उत्पादन गर्न सकिन्छ । २. सानो जलाशयबाट अधिक उत्पादन लिन सकिन्छ । ३. उत्पादन लागत बढी भए पनि आर्थिक आयमा छिटो प्रगति गर्न सकिन्छ ।
वेफाइदाहरू
१. माछालाई धेरै आहारा खुवाउनु पर्दछ । २. खर्च धेरै पर्दछ ।
लेवर तथा उत्पादन सामाग्रीहरू बढी खपत हुने भएकोले प्रति इकाइ उत्पादन लागत बढी हुन्छ । पोखरीमा अक्सिजनको खपत बढी हुने भएकोले बैकल्पिक उपाय नगरिए एकै पटक धेरै माछा मर्न सक्ने अबस्था रही रहुनछ । पानीको गुणस्तर बिग्रने तथा माछा बढी घनत्वमा पाल्नु पर्दा बढी तनावको कारणले माछालाई रोग लाग्ने सम्भावना बढी हुन्छ ।
सघन माछा पालन
ख) एक जातीय मत्स्य पालन
एउटै जातको माछो निश्चित जलाशयमा पालन गरिन्छ भने त्यस्तो माछा पालन प्रविधिलाई एक जातीय मत्स्य पालन भनिन्छ । यस्तो किसिमको मत्स्य पालन हाम्रो देशमा रहेका जलाशयहरू मध्ये चिसो पानीमा रेन्बो टाउट तथा न्यानो पानीमा पंगास माछा पालन भईरहेको छ । यो प्रणाली केही खर्चिलो भएता पनि उत्पादन अत्यधिक हुने गर्दछ ।
ग) बहुजातीय मत्स्य पालन
दुई वा दुईभन्दा बढी जातका माछा कुनै पनि निश्चित पानी भएको स्रोतमा (पोखरी, पिंजडा, रिर्जभ्वायर वा धानखेत आदि) नियन्त्रित अवस्थामा पालन गर्ने प्रविधिलाई बहुजातीय मत्स्य पालन वा मिश्रित मत्स्य पालन भनिन्छ । यस प्रणालीमा पोखरीमा भएका विभिन्न किसिमका प्राकृतिक आहारहरूको माछाले उपभोग गर्ने भएकोले सबै माछा मिलाएर निश्चित अनुपातमा राखिन्छ । सुक्ष्म प्राणी तथा वनस्पतिजन्य आहारहरू पोखरीमा निरन्तर उत्पादन हुने भएकोले सो को पर्याप्त उपयोग हुने भएकोले यस मिश्रित माछा पालन प्रणालीलाई कृषकमैत्री प्रविधि भन्न सकिन्छ । यसमा न्युन उत्पादन लागतमा अधिकतम फाइदा लिन सहयोग पुग्दछ । नेपालमा ९० प्रतिशत माछा पालन यसै प्रणाली अन्तर्गत हुने गर्दछ|
बहुजातीय माछा पालन
घ) एकीकृत मत्स्य पालन
एकीकृत मत्स्य पालन संसारका विभिन्न देशहरूमा प्रभावकारी रुपमा संचालन भइरहेको छ । यस प्रणालीको प्रयोगबाट मत्स्य पालनको क्षेत्रमा चीनले एतिहासिक सफलता प्राप्त गरेको छ । संसारमा चीन माछा पालन एवं उत्पादनमा अग्रणी हुनुमा एकीकृत मत्स्य पालन प्रणालीको विशेष योगदान रहेको छ । नेपालमा बहुजातीय मत्स्य पालनको प्रचार प्रसार भएपछि कार्प माछा पालनलाई किसानले एउटा नगदे बालीको रुपमा अपनाउँदै आएका छन् । बहुजातीय मत्स्य पालनमा मलखाद तथा दानाको नियमित प्रयोग गर्नु पर्ने हुन्छ र यसबाट उत्पादन लागत बढन गई प्रति इकाइ नाफा कम हुने गर्दछ । तर बहुजातीय मत्स्य पालनका साथ हाँस, बंगुर, कुखुरा, फलफुल, तरकारी र गाई भैँसीलाई एकीकृत रुपमा संचालन गर्दा पोखरीको उत्पादकत्व अभिवृद्धि हुनुका साथै यो तरिका दीगो हुने गर्दछ ।