बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

पशु आहारमा डाले घाँसको उपयोग

सोमबार, असार ११ २०८१
42 views
पशु आहारमा डाले घाँसको उपयोग

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय :
डालेघाँस मध्यपहाडी भेगमा मंसिर देखि जेष्ठसम्म खुवाईने पशुआहारको मुख्य श्रोत हो । उच्चपहाडी भेगमा चरन क्षेत्र प्रशस्त हुने र प्रायः गाईवस्तुहरु चराएर पालिने हुनाले बढीमात्रामा डालेघाँसको प्रयोग गरेको पाईंदैन । त्यस्तै तराईमा पनि फाल्गुन  चैत्रसम्म जमिन ओसिलो रहिरहने, गहँ तथा दालबाली हरु खेतमा नै हुने हुनाले हरियोघाँस अलिअलि पाईने हुनाले बढीमात्रामा डालेघाँसको प्रयोग गरेको पाईंदैन । मध्यपहाडी क्षेत्र जहाँ मानिस र पशुको घनत्व बढी छ, कम सिँचाइ भिरालो जग्गा, कम पानीको श्रोत आदिले गर्दा हिउँदको समयमा जमिन खाली रहने हुनाले हरियोघाँस कमै पाईन्छ र हरियोघाँसको रुपमा डालेघाँसमा नै भर परेको पाईन्छ । यस लेखमा मुख्य ४ वटा पोषणतत्वहरु (सुख्खा पदार्थ, कच्चा प्रोटिन, क्याल्सियम र फस्फोरस) र एक नकारात्मक तत्व (ट्यानिन) लाई आधार मानी छुट्टा छुट्टै डालेघाँसहरुको पशु आहारमा प्रयोगको लागि विश्लेषण गरिएको छ । सुख्खा पदार्थ भन्नाले हरियोघाँसमा भएको पानी कटाएर बाँकी भागलाई मानिन्छ, सुख्खा पदार्थ बढी भएको डालेघाँसले थोरैले पनि बढी पशुलाई पुग्छ, तर पोषण तत्व भने सुख्खा पदार्थ बढ्दै जाँदा घटदै जाने हुन्छ । सुख्खा पदार्थ कम भएको डालेघाँस खानाले कहिले काहीं पशुवस्तुमा छेर्ने समस्या पनि देखिन्छ । डालेघाँसमा भएको नाईट्रोजनको प्रतिशतलाई ६.२५ ले गुणा गर्दा कच्चा प्रोटिनको प्रतिशत आउँछ । सबै नाईट्रोजन प्रोटिन होईनन् । यसलेखमा प्रोटिनको प्रतिशतलाई आधार मानी बढी प्रोटिन, क्यालिसयम र फस्फोरस भएको डालेघाँसलाई राम्रो भनिएको छ । कुनै कुनै अवस्था मा भने प्रोटिन, क्याल्सियम, फस्फोरस नकारात्मक तत्वहरु जस्तै टयानिन, लिग्निन आदिसँग पशु आहारमा डाले घाँसको उपयोग बाईन्ड (जोडिएर) बसेको हुन्छ जसले गर्दा पशुले लिन पाउंदैनन । यी तीन तत्वहरु दूध दिने जनावर, हुर्क गरेका पाडा पाडी, पाठा पाठीको लागि अति आवश्यक हुन्छ किनकी दूधमा यी तीनै तत्व बढी हुन्छ र हुर्कंदै गरेका पाडा पाडी, पाठा पाठीको हडडी मजवुद बनाउन क्याल्सियम र फस्फोरस अति आवश्यक हुन्छ । यस लेखमा थोरै मात्रामा लेखकको अनुभव, डाले घाँसवारे देखे सुनेका कुराहरु र पशुवस्तुका खुवाएर हेरेको आधारमा विश्लेषण गरिएको छ ।
काभ्रो :
काभ्रो हिंउदमा पात झर्ने र चैत्र वैशाखमा नयाँ पालुवा आउने डाले घाँस हो । काभ्रो तीन किसिमका हुन्छन्ः लहरे काभ्रो, रातो काभ्रो र सेतो काभ्रो । लहरे काभ्रो र सेतो काभ्रोको रुख ठूलो हुन्छ तर लहरे काभ्रोको भने त्यति ठूलो हँुदैन । पहाड, वेंसी र टारहरुमा बारीको छेउछाउ, गल्लीको वरिपरि, खरबारी आदिमा काभ्रोको रुख लगाउने चलन हुन्छ जस्ले गर्दा खेतीमा सेप लाग्न  कम हुन्छ । काभ्रोको रुखमुनि खेती राम्रो हँुदैन । यसको प्रसारण बीउ  र टिङ्ग  दुवैबाट हुन्छ । साधारणतयाः असार श्रावणमा यसको हाँगा काटेर सार्ने चलन हुन्छ । जस्ले गर्दा ४–५ वर्षपछि नै घाँस काट्न सकिन्छ । काभ्रो दाउरा, घाँस र पाट (रेसा) मा प्रयोग हुन्छ । हाँगा ठूलो ठूलो हुने हुनाले घाँस काटेपछि पशु वस्तुले नखाएको हाँगा दाउरामा प्रयोग हुन्छ । यसको ठूलो हाँगाबाट पाट काढेर पशु वस्तु बाँध्ने दाम्लो, नाम्लो र डोरी बनाउने चलन छ । हिउँद सकिएपछि सुख्खा खडेरीमा पालुवा  आउने हुनाले हरियो घाँस नभएको समयमा धेरै राम्रो डाले घाँस दूध दिने पशुको लागि प्रयोग गरिन्छ । धेरै कलिलोमा घाँस काट्दा सुख्खा पदार्थ कम देखिने र सुख्खा पदार्थको आधारमा २०–२१ प्रतिशत क्रुड प्रोटिन देखिएको पनि छ । कलिलोमा घाँसको प्रयोग हुने हुनाले ट्यानिनको (टर्रो पदार्थ)
मात्रा कम हुन्छ र पशुले खुब मन पराउँछ तर पात छिप्पिदैं गएपछि पशुले त्यति राम्रोसँग मन पराउँदैनन् । काभ्रोको डाले घाँस चैत्रदेखि जेष्ठसम्म उपलब्ध हुन्छ । कलिलोमा पशुले बढी मन पराउने हुनाले कहिले काँही बढी खाएमा अपच  हुने हुन्छ । त्यस कारण पराल र काभ्रोको डाले घाँस (२ः१) का दरले खुवाउँदा दूध पनि राम्रोसँग आउने पाडा, बाच्छा, पाठा, पाठी राम्रोसँग हुर्कने हुन्छ । पहाडको तल्लो भाग, बेंसी र टारहरुमा सुख्खा मौसममा हरियो घाँस कम भएको समयमा काभ्रो घाँस धेरै राम्रो हुन्छ । एउटा दुहुना भैंसी, हल गोरु र २–४ वटा बाख्रा पालन गर्ने किसानले ४–५ वटा काभ्रोको रुख हुर्काउन सकेमा पशु आहारामा निकै सजिलो हुन्छ । प्रयोगशाला परीक्षणबाट ३२–३३ प्रतिशत सुख्खा पदार्थ , १०–१२ प्रतिशत कच्चा प्रोटिन , २–२.७ प्रतिशत क्याल्सियम, ०.२०–०.२६ प्रतिशत फस्फोरस र १.०४ प्रतिशत ट्यानिन काभ्रोको पातमा पाईएको छ । 

खन्यू :
मध्य पहाडी क्षेत्रमा बारीको कान्लामा खन्यू धेरै राम्रो पाईएको छ । खन्यूलाई कुनै ठाउँमा खनायो, राई खन्यू आदि भन्ने गरिन्छ । यसको प्रसारण बीउबाट नै हुन्छ । पहिरो गएको ठाँउमा चराको विष्टाबाट उम्रने हुनाले वेर्नाको त्यति अभाव हुँदैन । तर ३–४ वर्ष जति राम्रोसंग हिउँदमा जमिन खाली भएको समयमा सानो बोटलाई टेवा सहित बार बन्देज गरेर हुर्काउने चलन हुन्छ । सबैजसो डाले घाँस जमिन खाली भएको समयमा यसै किसिमले संरक्षण गरेर हुर्काउन राम्रो हुन्छ । खन्यू सदाबहार हरियो भइरहने डाले घाँस भएको हुनाले कार्तिकदेखि जेष्ठ, असारसम्म पशुलाई खुवाउने चलन छ । बाख्रा पालनको लागि यो डाले घाँस अति नै उपयोगी हुन्छ । त्यस्तै जोत्ने गोरु, थारा गाई, भैंसी, पाडा पाडी आदिको लागि धेरै राम्रो डाले घाँस हो । दुहुना गाई भैंसीमा त्यति दूध उत्पादन नबढ्ने हुनाले दुहूना बाहेकलाई खुवाउने चलन पनि छ । खन्यूको पातमा ३२–३४ प्रतिशत सुख्खा पदार्थ, ११–१२ प्रतिशत कच्चा प्रोटिन, २.५५ प्रतशत क्याल्सियम, ०.१९ प्रतिशत फस्फोरस र २.४८ प्रतिशत ट्यानिन सुख्खा पदार्थको आधारमा पाईएको छ । खन्यूको पनि डाले घाँस, दाउरा र पाट (रेसा) मा प्रयोग हुन्छ । वर्षको दुई चोटी (कार्तिक र असार) मा पोथी खन्यूको फल लाग्ने गर्छ । पाकेको फल मानिसले खाने चलन पनि छ र अति मिठो हुन्छ । खन्यूको दाउरा धेरै राम्रो हुन्छ । सुख्खा पदार्थ बढी हुने हुनाले थोरै घाँसले पनि धेरै पशुहरुलाई परालसँग मिसाएर खुवाउन सकिन्छ । खन्यू मध्य पहाडी भेगमा राम्रो हुन्छ तर हिमाली भाग र सुख्खा टारहरुमा खन्यू राम्रोसँग फस्टाउदैन । 

टाँकी :
टाँकी एक नरम पातभएको दुधालु पशुहरुको लागि राम्रो कोशे डालेघाँस हो । सबैजसो ठाउँमा टाँकी नै भनेर चिनिन्छ । यो डालेघाँस मध्य पहाडदेखि बेंसी, टारहरु र भित्री मधेस आदि सबै ठाउँमा पाईन्छ । यस्को प्रसारण बीउबाट नै राम्रो हुन्छ बीउ  चाहेको ठाउँमा रोपे पनि हुन्छ र पोलिथिनको थैलोमा उमारेर नर्सरीमा एक वर्ष हुर्किएपछि बारीको कान्ला, खेतको छेउछाउ आदिमा सार्दा राम्रो हुन्छ । यो डाले घाँस बीउ रोपेको २–३ वर्ष भित्रमा नै हाँगा काटेर पशुलाई खुवाउन सकिन्छ । मलिलो ठाँउमा छिट्टै हुकर्ने हुनाले धेरै वर्ष कुरिरहनु पर्दैन । यो डाले घाँस सबै मौसममा खुवाउन सकिन्छ तर आश्विनदेखि फागुनसम्म हाँगा काटेर खुवाउँदा घाँसको रुखलाई पनि असर नपर्ने र सुख्खा पदार्थ पनि बढी प्रतिशत हुने हुनाले अरु समयमा नकाट्नु नै राम्रो हुन्छ । भर्खर ब्याएका पाडा पाडी, पाठा, पाठी, बाच्छा, बाच्छीलाई घाँस खाने बानी बसाउन यो डाले घाँस खुवाउने गरिन्छ । दुधालु भैंसी, गाई र भर्खर ब्याएका माउ बाख्राका  लागि यो एक अति उत्तम डाले घाँस हो । यसको पातमा १४–१७ प्रतिशतसम्म वेला हेरी क्रुड प्रोटिन (कच्चा प्रोटिन), क्याल्सियम २.४ प्रतिशत र फस्फोरस ०.३० प्रतिशत, सुख्खा पदार्थ ३३–३४ प्रतिशत र ट्यानिन १.२ प्रतिशत सुख्खा पदार्थको आधारमा पाईन्छ । प्रोटिन र क्याल्सियम बढी भएको हुनाले हुर्कदै गरेका पाठा, पाठी, पाडा, पाडीको लागि र लैनो भैंसीको लागि यो डाले घाँस र पराल मिसाएर खुवाउँदा राम्रो दूध उत्पादन हुने र हुर्कदै गरेका पाडा, पाडी राम्रोसँग हुर्कने हुन्छ । यो डाले घाँसमा खासै त्यस्तो अपाच्य तत्व छैन र हिउँदको समयमा खुवाउँदा समस्याहरु केही आउदैन ।

बडहर :
बडहर नेपालको मध्य पहाडी भागदेखि भित्री मधेससम्म पाईने डाले घाँस हो । यसको पात बाक्लो र बढी सुख्खा पदार्थ हुने हुनाले बढी आडिलो डाले घाँसको रुपमा लिईन्छ । मौसम र हुर्कने समय अनुसार यस डाले घाँसको पातमा ३०–३३ प्रतिशतसम्म सुख्खा पदार्थ , १३–१४  प्रतिशतसम्म कच्चा प्रोटिन, २ प्रतिशतसम्म क्याल्सियम र ०.२७ प्रतिशत फस्फोरस र ०.५७ प्रतिशत ट्यानिन पाईन्छ । बडहरको बेर्ना हुर्काउन र बीउ उमार्न त्यति सजिलो छैन । त्यस कारणले गर्दा यो डाले घाँस राम्रो भएपनि त्यति धेरै ठाउँमा देखिदैंन । बडहरको बेर्ना हुर्काउनको लागि पाकेको फलबाट बीउ निकाली तुरुन्त नै मलिलो माटो भरेको प्लाष्टिक थैलोमा रोपी हाल्नुपर्छ । बियाँ सुकेपछि यस्को उर्म्रन सक्ने शक्ति घट्दै जान्छ । बेर्नालाई बेला बेलामा पानी दिएर शितल ठाँउमा राख्नुपर्छ । एक वर्ष नर्सरीमा बेर्ना हुर्काएपछि बारीको कान्ला तथा खाली ठाँउमा सार्नुपर्छ । सारेपछि पनि विशेष ध्यान नदिए यो डाले घाँसको बेर्ना हुर्कन सक्दैन । बेर्ना सारेको ४–५ वर्षपछि मात्र यस घाँसको हाँगा काट्न सकिन्छ । यो डाले घाँसको खेती बालीमा त्यति सेप  छैन । यो एक पतझड किसिमको डाले घाँस हो र यसको हाँगा कार्तिकदेखि फागुनसम्म काट्न सकिन्छ । लैना भैंसी र दूधालु गाईको लागि परालसँग मिसाएर खुवाउँदा दूध र घिउ उत्पादन राम्रो हुन्छ । सबै जसो डाले घाँसमा ट्यानिन भन्ने टर्रो पदार्थ हुन्छ र बडहरको पातमा पनि यो अपच्य पदार्थ हुन्छ तर त्यति बढीनहुने हुनाले दूध उत्पादनमा खासै असर गर्दैन । ट्यानिन (टर्रो पदार्थ) ५ प्रतिशतसम्म सुख्खा पदार्थको आधारामा हुँदा  केही असर हुँदैन तर ५ प्रतिशत भन्दा बढी भएमा पशुलाई खुवाउँदा (लामो समयसम्म) दूध उत्पादनमा कमी हुने र
दुब्लाउँदै जाने हुन सक्छ ।

कुट्मिरो :
कुट्मिरो एउटा नरम पात र डाँठ भएको डाले घाँस हो । यो घाँस नेपालको मध्य पहाडी भागदेखि भित्री मधेससम्म बारीको कान्ला, खेतबारीको छेउछाउ आदिमा लगाईन्छ । कुट्मिरोको पात मसिना हाँगा बिंगा सवै पशु वस्तुले खुब मन पराएर खान्छन् । यो डाले घाँसको पातमा १४–१६ प्रतिशतसम्म कच्चा प्रोटिन, समय र पालुवाको अवस्था अनुसार ३०–३४ प्रतिशतसम्म सुख्खा पदार्थ १.६६ प्रतिशत क्याल्सियम, ०.३४ प्रतिशत फस्फोरस र २ प्रतिशत ट्यानिन पाईएको छ । दूध दिने गाई भैंसी र गोरु आदिको लागि यो राम्रो डाले घाँसमा पर्छ । दुई तिहाई भाग पराल र एक तिहाई भाग कुट्मिरो मिसाएर खुवाउँदा दूध उत्पादन राम्रो हुन्छ । ट्यानिन भन्ने टर्रो पदार्थ यस डाले घाँसको नयाँ पालुवामा बढी हुने हुनाले लामो समयसम्म कुट्मिरो मात्र खुवाउँदा पिसावको रंग रातो हुने पनि देखिन्छ ।

हर्रो :
हर्रो एक कडा काठ , बाक्लो पात, सुख्खा पदार्थ ४३–४६ प्रतिशतसम्म भएको डाले घाँस हो । यो डाले घाँस मध्य पहाडी भागदेखि बेसीसम्म पाईन्छ । यसको पातमा ७–१५ प्रतिशतसम्म (पालुवाको अवस्था र समय अनुसार) कच्चा प्रोटिन पाईन्छ, त्यस्तै क्याल्सियम १.२४ प्रतिशत, फस्फोरस ०.२७ प्रतिशत र ट्यानिन भन्ने टर्रो पदार्थ १३ प्रतिशतसम्म पाईएको छ । हर्रो जोत्ने गोरु, थारा गाई, भैंसी, बाख्रा आदिलाई परालसँग मिसाएर खुवाउँदा राम्रो हुन्छ तर दूध दिने जनवारहरुको लागि ट्यानिन  बढी भएको हुनाले त्यति राम्रो हुँदैन । हर्रो मात्र लामो समयसम्म खुवाउँदा दूध उत्पादन घट्दै जाने, पशु दुब्लाउँदै जाने र पछि थला पर्ने पनि देखिन्छ । त्यसकारण दुई भाग पराल र एक भाग हर्रोको हरियो डाले घाँस खुवाउन राम्रो हुन्छ । पातमा ट्यानिन  बढी भएको हुनाले यो डालेघाँस चैत्रसम्म पनि हरियो रहन्छ र पातमा कीरा पनि लाग्दैन र देख्दा हरियो चिल्लो पात देखिन्छ । यस डालेघाँसको प्रसारण बीउबाट राम्रो हुन्छ । कडा काठ र बढी ट्यानिन भएको हुनाले किरा नलागी यसको बिरुवा राम्रोसँग हुर्किन्छ । ४–५ वर्षमा मात्र हाँगा काट्न सकिन्छ । 

वर्रो :
वर्रो पनि हर्रो जस्तै टर्रो पदार्थ पातमा बढी भएको ठूलो वृक्ष हुने डालेघाँसमा पर्छ । यो डालेघाँस मध्य पहाडी भेगदेखि तराईको जंगलमा पनि देख्न सकिन्छ । हर्रो जस्तै बढी बायोमास  उत्पादन हुने हुनाले २–४ वटा रुख कृषकहरुले लगाउने गरेको पाईन्छ । यसको पात हर्रोको भन्दा छिट्टै झर्ने र कीरा पनि अलि बढी लाग्ने हुनाले कात्र्तिकदेखि माघसम्म हाँगा काटेर पशु वस्तुलाई खुवाउन सकिन्छ । यो डालेघाँस पशु वस्तुले त्यति मन पराएर खादैनन् । दुहुना गाई भैंसी भन्दा अरु थारो, जोत्ने गोरु आदिलाई परालमा एक तिहाई मिसाएर हिउँदको समयमा हरियो घाँसको पूर्ति गर्न सकिन्छ । प्रयोगशाला परीक्षणबाट यसको पातमा ११–१२ प्रतिशतसम्म कच्चा प्रोटिन, ३४–३५ प्रतिशत सुख्खा पदार्थ , ३.३५ प्रतिशत क्याल्सियम, ०.३७ प्रतिशत फस्फोरस र ट्यानिन  १२.४६ प्रतिशत देखिएको छ । बर्रोको वृक्ष ठूलो हुने हुनाले बालीनालीमा सेप बढी हुन्छ । खरबारी, खेतको छेउछाउ र बनबुट्यान  बर्रो लगाउने चलन हुन्छ । अर्को पक्ष भनेको यसको हाँगाविंगा बढी हुने हुनाले दाउराको रुपमा बढी  प्रयोग हुन्छ र फर्निचर आदिमा पनि बर्रोको काठ प्रयोग हुन्छ । बर्रोको पनि बीउबाट नै प्रसारण हुन्छ र सजिलैसँग बिरुवा हुर्किन्छ । तर ६–७ वर्षमा मात्र हाँगा काटेर पशु वस्तुलाई खुवाउन
सकिन्छ । बढी ट्यानिन भएको हुनाले क्याल्सियम बढी भएपनि दूधालु पशुले बर्रो खाएको बेलामा दूध कम दिन्छ ।

दबदबे : 
दबदबे नरम काठ भएको, छिट्टै हुर्किने, मध्य पहाडदेखि तराईसम्म हुने डाले घाँसमा पर्छ । यसको प्रसारण हाँगा काटेर  गर्न सकिन्छ । एक डेढ मिटर लामो हाँगा काटेर सोभैm चाहिएको ठाउँमा गाड्दा दबदबेको रुख हुर्किन्छ । यसको बालीनालीमा सेप पनि हँुदैन र जुनसुकै पशुले पनि राम्रो मन पराएर खान्छ । प्रयोगशाला परीक्षणबाट दबदबेको पातमा ३०–३३ प्रतिशत सुख्खा पदार्थ, ११–१२ प्रतिशत कच्चा प्रोटिन, २.१५ प्रतिशत क्याल्सियम, ०.३५ प्रतिशत फस्फोरस र २.२६ प्रतिशत ट्यानिन देखिन्छ । प्रोटिन र क्याल्सिियम राम्रै हुने र ट्यानिन कम हुने हुनाले पशुले खुब मन पराएर दबदबे घाँस खान्छन् । तर यसको पातमा ट्यानिन कम भएको हुनाले छिट्टै पात कीराले खाने र झर्ने हुन्छ । दबदवे एक वर्षमा दुई पटकसम्म डाले घाँसको रुपमा काट्न सकिन्छ । आश्विनदेखि मंसिरसम्म एक पटक र अर्को पटक वैशाखदेखि असारसम्म हाँगा काट्दा राम्रो हुन्छ । वर्षमा एकचोटी मात्र हाँगा काट्दा हाँगा ठूलो हुने र पात अथवा हरियो घाँस कम हुने हुनाले वर्षमा दुई पटक डाले घाँस काट्दा राम्रो हुन्छ । दबदबेको अरु बालीमा त्यति सेप नलाग्ने हुनाले खेतबारीको कान्लामा राम्रोसँग लगाउन सकिन्छ ।

बेडुलो :
केही ठाउँमा बेडुलो र केही ठाउँमा ग्याडुलो भनेर चिनिने यो डाले घाँस खन्यू जस्तै पात भएको हुन्छ । खन्यूको रुख केही ठूलो हुन्छ भने बेडुलोको रुख अलि सानो वुसी  किसिमको हुन्छ । थारो गाई वस्तु र बाख्राको लागि यो डाले घाँस स्टल फिडिङ्ग (गोठमा बाँधेर पालन) को लागि राम्रो हुन्छ । बेडुलोको पातमा ३०–३१ प्रतिशत सुख्खा पदार्थ, १६.५ प्रतिशत कच्चा प्रोटिन, १.६६ प्रतिशत क्याल्सियम र ०.२७ प्रतिशत फस्फोरस पाईएको छ । यसको उपयोग, प्रसारण आदि खन्यु जस्तै हुन्छ र नकारात्मक पक्षमा यो डालेघाँस खाएको समयमा बाख्राको आँखा बाहिर निस्कन्छ भन्ने पनि छ ।

नेत्र प्रसाद वस्ती 
स्रोत : कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन 

थप समाचार