बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

खैरो घिउ सिमी खेती कसरी गर्ने ? यस्तो छ सिमी लगाउने समय र तरिका

शुक्रबार, असार १५ २०८१
11 views
खैरो घिउ सिमी खेती कसरी गर्ने ? यस्तो छ सिमी लगाउने समय र तरिका

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय
नेपालको तराई, भित्री मधेश लगायत मध्यदेखि उच्च पहाडी भेगहरुमा परापूर्व कालदेखि नै सिमीको खेती हुँदै आएको पाइन्छ । यसलाई सबै स्थानमा सिमी नै भनेर चिन्ने गरिन्छ ।

नेपालको पश्चिमी भेगका हिमाली जिल्लाहरुमा मुख्य बालीका रुपमा विशेष गरी दाना उत्पादनका लागि खेती गरिन्छ भने मध्य एवम पूर्वी क्षेत्रमा हरियो तरकारीका रुपमा बढी प्रयोग हुने गरेको पाइन्छ ।

यस बालीमा अन्तर्जातीय विविधता प्रशस्त रहेको पाइन्छ । व्यवसायिक खेतीमा केही उन्मोचित जातहरुको प्रयोगबाहेक अधिकांश क्षेत्रहरुमा रैथाने जातहरुकै बाहुल्य छ । हरियो तरकारीका लागि होस् या दानाका लागि, नेपालमा सिमीको खेती यसको जात र स्थान अनुसार दुई बालीसम्म पनि गर्न सकिन्छ ।

सीमित अध्ययन अनुसन्धान र प्रोत्साहनका कारण, सिमी बाली एक कम प्रयोगमा आएको बाली मध्ये पर्नाका साथै कतिपय स्थानीय जातहरु लोपोन्मुख अवस्थामा समेत पुगिसकेका छन् ।

सिमीको वानस्पतिक नाम Phaseolus vulgaris L. हो र यो Leguminosae परिवार अन्तर्गत पर्दछ । यसका जरामा भएका स–साना गिर्खाहरुमा हुने राइजोबियम ब्याक्टेरियाहरुले बायुमण्डलमा भएको नाइट्रोजन सङ्कलन गरी माटामा मिसाउने काम (Nitrogen Fixation) गर्ने भएकाले यसले माटोको उर्वरा शक्तिमा वृद्धि गर्दछ।

समुद्री सतहबाट (५) मिटरदेखि २२०० मिटरको उचाइसम्म खेती गर्न सकिने यसको खेती हरियो तरकारी र दाना उत्पादनका लागि गरिन्छ । यसलाई बर्षे र हिउँद गरी दुई सिजन खेती गर्न सकिन्छ ।

हरियोमा कोसे तरकारी र पाकेपछि दानाको दाल, गेडागुडी, बिरम्ला, क्वाँटी र अचारका रुपमा प्रयोग गर्न सकिने यो एक बहुपयोगी बालीमध्ये पर्दछ । हरिया कोसाबाहेक, यसका पाकेका कोसालाई राम्रोसँग घाममा सुकाएर राखी आवश्यक परेको समयमा तातोपानीमा भिजाएर पुनः तरकारी पकाएर खान पनि सकिन्छ,
जुन विशेषता अन्य जातका सिमीहरुमा पाइँदैन ।

यति धेरै उपयोगिताका बाबजुद लोपोन्मुख अवस्थामा रहेको खैरो घिउ सिमीलाई जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) ले नेपाल कृषि अनुसन्धान परिषद र बायोभर्सिटी इन्टरनेशनलको सहयोग र सहकार्यमा स्थानीय बाली परियोजनामार्फत अनुसन्धान, संरक्षण एवम प्रवर्धनको कामहरु अगाडि बढाएको छ ।

दोलखा जिल्लाको गौरीशङकर गाउँपालिका १ मा एक मात्र स्रोत कृषकको घरमा फेला परेको यस सिमीका जातमा, सन् २०१५ देखि २०१८ सम्ममा विभिन्न वैज्ञानिक परिक्षणहरु (विविधता प्रदर्शनी, चारित्रिक अभिलेखीकरण, उत्पादन परीक्षण)
र बीउ– उत्पादनका गतिविधिहरु सञ्चालन भइसकेका छन् ।

यस जातको दर्ता प्रक्रियासमेत अघि बढाइएको छ । हुम्ला, जुम्ला, लम्जुङ र दोलखा लगायत अन्य स्थानका रैथाने सिमीका जातहरुसँगको परीक्षणमा उत्कृष्ट साबित भएको यस सिमीको जात कृषकहरुको बीचमा पुनः लोकप्रिय बन्दै गएको छ ।

बढी उत्पादन दिने, रोग कीरा सहने, खडेरी सहने, वर्षमा दुई पटक (हिउँद र वर्षा) खेती गर्न सकिनेजस्ता गुण यसका जातीय विशेषता हुन्।

हावापानी
सिमी खेतीको लागि पहारिलो तथा चिसो हावापानीको आवश्यकता पर्दछ । यो बाली धेरै गर्मी र तुषारो पर्ने ठाउँमा राम्रो हुँदैन धेरै वर्षा र चिसोबाहेक अरु भोगोलिक स्थान र समयमा यसको खेती गर्न सकिन्छ ।

धेरै वर्षा र सुख्खा समयमा यसको फूल र स–साना कोसाहरु (चिचिला) झर्छन् । यसको राम्रो वृद्धि विकासका लागि २५–३० डि।से। तापक्रम उपयुक्त मानिन्छ । राम्रोसंग कोसा लाग्नलाई १५—२१ डि.से. तापक्रम भएमा यसको उत्पादन राम्रो हुन्छ।

माटो
यसको खेती सबै किसिमको माटामा गर्न सकिन्छ तर प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको र पी.एच. मान ५.५ देखि ६.५ सम्म भएको दोमट तथा बलौटे दोमट, माटामा यसको खेती उपयुक्त हुन्छ । तर पानी जम्ने ठाउँमा भने यस सिमीको खेती गर्न सकिदैन ।

जग्गाको तयारी
- बाली लगाउनुभन्दा पहिले जमिनलाई २,३ पटक (जमिनको अवस्था हेरी आवश्यकता अनुसार) खनजोत गरी डल्ला फुटाएर माटो डल्ला रहित बनाउनुपर्छ, साथै माथिको माटो तल र तलको माटो माथि हुने गरी बाली लगाउँनुभन्दा ७ देखि १५ दिन पहिले जमिन खनजोत गर्ने गर्दा जमिनमा भएको झारपात पुरिने हुनाले प्राङ्गारिक मल बन्छ र रोग कीराहरुको प्रकोप केही हदसम्म कम गर्न सकिन्छ ।

मलखाद
- सिमी खेतीको लागि प्रतिरोपनी राम्रोसँग पाकेको गोठे तथा कम्पोष्ट मल २० देखि २५ डोको (१५०० के.जी.÷रो.) जमिन तयारीका समयमा नै जमिनमा मिलाउनु पर्छ ।

- यसको हालसम्म व्यावसायिक खेती नभएको हुनाले रासायनिक मलको प्रयोग गरिएको छैन (गर्न परेमा २ के.जी. नाइट्रोजन, २ के.जी. फस्फोरस, र ३ के.जी. पोटास / रो. जमिन तयारीको समयमा नै मिलाउनु पर्दछ ।

रोप्ने तरिका, रोप्ने समय तथा बीउदर

- सिमीलाई २ तरिकाबाट लगाइन्छ, वर्षाको समयमा १५ देखि २० से.मी. जमिन उठाएर र हिउँदको समयमा जमिन नउठाई लगाइन्छ जसले गर्दा सिँचाई र निकासको व्यवस्थापन गर्न सजिलो हुन्छ ।

- यसको खेती माघदेखि फागुन (हिउँदे) र साउनदेखि भदौ (बर्खे) गरी दुई याममा
गर्न सकिन्छ । दुबै याममा खेती गर्दा हार (लाइन) बनाई खेती गर्नुपर्दछ जसमा एक बोटदेखि अर्को बोटबीचको दूरी ३) से.मी. हुनु पर्छ भने एक हारदेखि अर्को हारबीचको दूरी ७५ से.मी हुनु पर्दछ र यसरी खेती गर्दा यसको बीउदर २ देखि २.५ के.जी. प्रतिरोपनी हुन आउँछ ।

गोडमेल तथा थाँक्रा लगाउने समय
 - बीउ रोपेको २५ देखि ३० दिनमा पहिलो पटक झारपात निकाली कुटो वा कोदालाले खनी माटो खुकुलो बनाउनु पर्दछ ।

- आवश्यकता अनुसार २ देखि ४ पटकसम्म गोडमेल गर्नुपर्छ ।

- वसन्त याममा २ पटक गोडमेल गरे हुन्छ भने वर्षाको याममा ४ पटकसम्म गोडमेल गर्नुपर्ने हुन्छ ।

- वीउ रोपेको १५ देखि ३० दिनभित्रमा वा बिरुवा १५ देखि २० से.मी. लहरिन थालेपछि थाँक्रा दिनुपर्छ ।

- यसभन्दा बढी लहरा गएपछि थाँक्रा दिंदा लहराहरु चुँडिने र भाँचिने सम्भावना रैथानेबाली खेति प्रविधि पुस्तिका घट हुन्छ ।

- थाँक्रा लगाउने सामग्रीहरुमा बाँसका भाटा, निगालो, रुखका हाँगा आदिको प्रयोग गर्न सकिन्छ । (सकेसम्म बाँसका भाटाको क्रस गरेर थाँक्रा लगाउँदा काम गर्न सजिलो हुनाका साथै आकर्षक पनि देखिन्छ )

सिँचाइ तथा निकास
- यसको खेती व्यावसायिक रुपमा हालसम्म नभएकाले सिँचाइ गर्ने चलन कम रहेको छ ।

- यो बालीमा सुक्खा सहन सक्ने क्षमता अरु बालीको भन्दा बढी रहेकोछ ।

- सम्भव भएमा वसन्त याममा लगाएको सिमीलाई फूल फुल्ने समयमा सिँचाइ गर्दा राम्रो उत्पादन दिनाका साथै दाना पुष्ट हुन्छन् ।

- वर्षाको याममा निकासको व्यवस्था गर्नुपर्छ । यदि जमिनमा पानी जमेमा बिरुवाको जरा कुहिन्छन् ।

कटानी, चुटानी तथा भण्डारण
- हरियो तरकारीका लागि सिमी रोपेको ८५–९० दिनमा कोसा टिप्नका लागि तयार हुन्छ र ७–७ दिनको अन्तरमा टिप्न सकिन्छ ।

- दाना उत्पादनका लागि भने, सिमीको कोसा बोटमै पहेंलो भएर पाकेपछि दाना उत्पादनका लागि तयार भए भन्ने बुझ्नुपर्दछ ।

- पाकेका कोसाहरू मात्र टिप्ने गर्नुपर्दछ ।

- टिपिसकेका कोसाहरूलाई ४–५ घाम अथवा कोसा मज्जाले सुक्ने गरी घाममा
सुकाइसकेपछि मात्र चुट्ने काम गर्नुपर्दछ यसो गर्दा दानाहरु पुष्ट हुनाका साथै दनाको रङ्ग पनि चम्किलो हुन्छ ।

- चुटिसकेका दानाहरुको चिस्यानको मात्रा १०–१२% सम्म हुने गरी वा दाना टोक्दा कुटुक्क अवाज आउने गरी सुकाइसकेपछि दाना भण्डारण तथा प्रयोगका लागि तयार भएको मान्न सकिन्छ ।

- यसरी सुकिसकेका दानाहरु बोरा वा सुपर ग्रेन ब्याग वा बट्टाहरुमा भण्डारण गरी आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ ।

स्रोतः कृषि ज्ञान केन्द्र, म्याग्दी

थप समाचार