बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

नेपालमा पालन गरिने कार्प माछाहरु

सोमबार, असार १८ २०८१
9 views
नेपालमा पालन गरिने कार्प माछाहरु

समाचार शेयर गर्नुहोस्

Share this news

साईजका अधारमा कार्प माछाको बर्गीकरण

नेपालमा साईजका अधारमा कार्प माछालाई निम्न बमोजिमले बर्गीकरण गर्न सकिन्छ ः

ह्याच्लिङ्ग: कार्प माछाका फुलबाट निस्केकाकरिब ५ दिनसम्मका बच्चाहरुलाई ‘ह्याच्लिङ्ग’ भन्ने चलन छ । ह्याच्लिङ्गलाई नर्सरी पोखरीमा हुर्काएर फ्राई भुरा उत्पादन गरिन्छ ।

फ्राई: ह्याच्लिङ्गलाई हुर्काएर१–२ इन्च लम्बाई भएका माछाका बच्चा वा भुरालाई ‘फ्राई’ भन्ने चलन छ ।

फिंगरलिङ्ग: २ इन्च भन्दा ठुलो र करिब ४ ईन्चसम्म लम्बाई भएका माछा भुरालाई फिंगरलिङ्ग भन्ने चलन छ ।

छर्री माछा: करिब २५–७५ ग्राम साईजका (विशेषतः नैनी र रोहु जात) माछा खाने उद्देश्यको लागि प्रयोग हुन थालेको छ । यो साईजका माछालाई ‘छर्री वा छडी’ माछा भन्ने चलन छ ।

पोस्ट फिंगरलिङ्ग: हाल १ के.जी. भन्दा ठुला साईजका खाने माछाका माग राम्रो छ र यस्तो साइजका माछाको बजार भाउ पनि राम्रो छ । यस्ता साईजका खाने माछा उत्पादन गर्नको लागि एक वर्ष पुराना ५०–२०० ग्राम साईजका माछा स्टक गर्न आवश्यक हुन्छ । व्यवसायिक रुपमा ठुला साईजका खाने माछा उत्पादन गर्ने मत्स्य कृषकहरुले यस्ता ठुला साईजका माछा आफ्नै पोखरीमा उत्पादन गरी उत्पादन पोखरीमा स्टक गरी ठुला साईजका खाने माछा उत्पादन गर्ने प्रचलन बढ्न थालेको छ । तर हाल यस्ता एक वर्ष पुराना ५०–२०० ग्राम साईजका माछालाई कुनै खास नाम दिइएको छैन। त्यसकारण यो उमेर साईजका माछालाई यो लेखमा ‘पोस्ट फिंगरलिङ्ग’ भनी परिभाषित गरिएको छ ।

खाने माछा: खानको लागि उपयोग गरिने विभिन्न जातका र विभिन्न साईजका माछाहरुलाई ‘खाने माछा’ भन्ने चलन छ ।

माउ माछा: मत्स्य बिज उत्पादन गर्ने उद्देश्यले पालन गरिएका र आवश्यक उमेर पुगेकोमाछालाई ‘माउ माछा’ भनिन्छ ।

माछा पालनको लागि पोखरीका किसिम

कार्प माछा पालनको लागि पोखरीको आवश्यकता पर्दछ । उपयोगका आधारमा पोखरीहरुलाई नेपालको सन्दर्भमा पाँच प्रकारमा बाँडन सकिन्छ:

माउ माछा पोखरी: माउ माछा पालन गरिने पोखरीलाई ‘माउ माछा पोखरी’भनिन्छ । यस्ता पोखरीहरुका जलाशय क्षेत्रफल आवश्यकता र जग्गाको उपलब्धताको अधारमा ३–१० कठ्ठा (२–६.५ रोपनी) राख्न उपयुक्त देखिन्छ । माउ पोखरीहरुमा पानीको गहिराई ४–६ फिट राख्न उपयुक्त हुन्छ ।

नर्सरी पोखरी: ह्याच्लिङ्ग पालन गरी फ्राई भुरा उत्पादन गर्नको लागि प्रयोग गरिने पोखरीलाई ‘नर्सरी पोखरी’ भनिन्छ । यस्ता पोखरीहरुका जलाशय क्षेत्रफल आवश्यकता र जग्गाको उपलब्धताको अधारमा १–६ कठ्ठा (०.७–४.० रोपनी) राख्न उपयुक्त देखिन्छ । नर्सरी पोखरीहरुमा पानीको गहिराई ३–४ फिट राख्न उपयुक्त हुन्छ ।

रियरिङ्ग पोखरी: फ्राई साईजका माछा भुराहरुलाई पालन गरी फिंगरलिङ्ग साईजका माछा भुरा उत्पादन गर्ने पोखरीलाई ‘रियरिङ्ग पोखरी’ भनिन्छ ।यस्ता पोखरीहरुका जलाशय क्षेत्रफल आवश्यकता र जग्गाको उपलब्धताको अधारमा ३–१० कठ्ठा (२–६.५ रोपनी) राख्न उपयुक्त देखिन्छ । रियरिङ्ग पोखरीहरुमा पानीको गहिराई ४–५ फिट राख्न उपयुक्त हुन्छ ।

पोस्ट–फिंगरलिङ्ग पोखरी: फ्राई वा फिंगरलिङ्ग साईजका माछा भुराहरुलाई पालन गरी पोस्ट फिंगरलिङ्ग साईजका माछा भुरा उत्पादन गर्ने पोखरीलाई ‘पोस्ट फिंगरलिङ्ग पोखरी’ भन्न सकिन्छ । यस्ता पोखरीहरुका जलाशय क्षेत्रफल क्षेत्रफल आवश्यकता र जग्गाको उपलब्धताको अधारमा ३–१० कठ्ठा (२–६.५ रोपनी) राख्न उपयुक्त देखिन्छ । यी पोखरीहरुमा पानीको गहिराई ४–६ फिट राख्न उपयुक्त हुन्छ ।

खाने माछा उत्पादन पोखरी: फ्राई वा फिंगरलिङ्ग साईजका माछा भुराहरुलाई पालन गरी पोस्ट फिंगरलिङ्ग साईजका माछा भुरा उत्पादन गर्ने पोखरीलाई ‘पोस्ट फिंगरलिङ्ग पोखरी’ भन्न सकिन्छ । यस्ता पोखरीहरुका जलाशय क्षेत्रफल क्षेत्रफल आवश्यकता र जग्गाको उपलब्धताको अधारमा ३–१० कठ्ठा (२–६.५ रोपनी) राख्न उपयुक्त देखिन्छ । यी पोखरीहरुमा पानीको गहिराई ४–६ फिट राख्न उपयुक्त हुन्छ ।

नेपालमा पालन गरिने कार्प माछाहरु

नेपालमा सात जातका कार्प परिवारका माछाहरु पालन गर्नको लागि सिफारिस गरिएका छन्। यी सात जातका माछाहरुका विवरण निम्न बमोजिम दिइएको छ:

१. कमन कार्प: यो माछा पिंध बस्छ । पोखरीको पिंधमा भएका किराहरु, घोङ्घी–सिपीका बच्चाहरु, सडेगलेका प्राङ्गारिक पदार्थहरु, जू–प्लाङ्कटन, आदि यो माछाको प्राकृतिक अहाराहरु हुन्। यो माछाले दाना पनि अत्यधिक रुपमा मन पराउने गर्दछ । यो माछाले खाने प्राकृतिक अहारा पोखरी कम मात्रामा उत्पादन हुने गरेकोले यो माछाको ब्यवसायिक उत्पादन गर्नको लागि मुख्य रुपमा दाना र प्राङ्गारिक मलको उपयोग गर्नु पर्दछ । यो छिटो बढ्ने जातको माछा हो र एक वर्षमा समान्यतया ०.५–१.० के.जी. तौलको हुन सक्छ । नेपालको तराई क्षेत्रमा यो माछा एक वर्ष भित्रै प्रजनन्को लागि
परिपक्व हुन सक्ने भएकोले दाना मलको राम्रो ब्यवस्थापन गरेर १वर्ष भित्रै उत्पादन लिन उपयुक्त हुन्छ । अरु कार्प माछा जस्तो यो जातको एक वर्ष पुरानो पोस्ट–फिंगरलिङ्ग माछा स्टक गरी पालियो भने त्यस्ता माछाहरुमा अण्डाशय (पोथीमा) र अण्डकोष (भालेमा) को विकास हुने भएकोले कम बृद्धि हुन्छ ।

२.सिल्भर कार्प: यो माछा पोखरीको पानीको सबभन्दा माथिल्लो तहमा बस्दछ र पानीको सोही तहमा पाइने फाइटोप्लाङ्कटन  यो माछाको प्राकृतिक अहारा हो। पोखरीमा प्राङ्गारिक र रसायनिक मलको प्रयोग गरी पोखरीको पानीलाई हरियो बनाई यो माछाको उत्पादन गर्न सकिन्छ । दाना वा घाँस बढी मात्रामा प्रयोग गरी माछा उत्पादन गरिने पद्धतिमा पोखरीको पानी अत्यधिक मलिलो भई पानीको गुणस्तर बिग्रीन गई पालिएका माछाहरुलाई नराम्रो पर्दछ । यस्तो अवस्थामा आवश्यक संख्यामा सिल्भर कार्प माछा पनि राखेर पालियो भने यो माछाले पानीको गुणस्तर राम्रो राख्न मद्दत गर्नुका साथै थप माछा पनि उत्पादन हुन्छ ।

३.बिगहेड कार्प: यो माछा पोखरीको पानीको बिचको तहमा बस्दछ र पानीको सोही तहमा पाइने जू–प्लाङ्कटन यो माछाको प्राकृतिक अहारा हो । पोखरीमा प्राङ्गारिक र रसायनिक मलको प्रयोग गरी पोखरीको पानीलाई हरियो बनाई यो माछाको उत्पादन गर्न सकिन्छ । दाना वा घाँस बढी मात्रामा प्रयोग गरी माछा उत्पादन गरिने पद्धतिमा यो माछा आवश्यक संख्यामा राखेर पालिएन भने पोखरीको पानीमा जू–प्लाङ्कटनको संख्या अत्यधिक भई पानीमा आवश्यक हरियोपनाको विकास हुन सक्दैन जसले गर्दा एक त पोखरीको पानीमा आवश्यक मात्रामा अक्सीजनको आपुर्ति हुँदैन भने धेरै संख्यामा रहेका जू–प्लाङ्कटनले उल्टै अत्यधिक मात्रामा पोखरीको पानीमा भएको अक्सीजन खपत गरी पालिएका माछालाई अक्सीजनको कमी गराई दिन्छ र पालिएका माछा मर्न पनि सक्छन्।

४.ग्रास कार्प: यो माछाको प्राकृतिक अहारा पानी उम्रिने झारपात भएपनि यसले बाहिरबाट दिइएको घाँस पनि राम्ररी खाने गर्दछ । प्राकृतिक रुपमा पर्याप्त मात्रामा भुई घाँस पाइने ठाउँमा वा पोखरीको डील र अन्य जग्गामा घाँसको उत्पादन गरेर यो माछा ब्यवसायिक रुपमा पालन गर्न सकिन्छ । यो माछाले दाना पनि रुचाउने गरेकोले घाँसको साथै दाना पनि ख्वाएर यो माछाको ब्यवसायिक उत्पादन गर्न सकिन्छ । यो माछाले करिब १० ग्राम तौलको भएपछि विस्तारै घाँस खान शुरु गर्दछ तर करिब ५० ग्राम तौल नाघेपछि राम्रोसंग घाँस खान थाल्दछ । त्यसकारण उत्पादन पोखरीमा ५०–२०० ग्रामको
माछा स्टक गर्न उपयुक्त हुन्छ र यो तौलका माछा ६ महिनामा समान्यतया ०.५–१.५ के.जी. सम्म पुग्न सक्छ ।

५.रोहु: रोहु माछा पानीको गहिराईको बिच भाग बस्दछ ।यो माछा मूलतः शाकाहारी माछा हो । यसको मुख्य प्राकृतिक अहारा सडेगलेका झारपात हो । यसको अलावा यो माछाले केही मात्रामा फाइटो–प्लाङ्कटन, जू–प्लाङ्कटन, आदि खाने गर्दछ । यो माछाले दाना पनि धेरै रुचाउने भएकोले दाना र प्राङ्गारिक मल प्रयोग गरेर व्यवसायिक रुपमा पालन गर्न सकिन्छ । २५ ग्राम देखि १ के.जी. भन्दा पनि ठुला साईजका यो माछा खानको लागि उपयोग गरिन्छ तर १ के.जी. भन्दा ठुलो साइजको माछा राम्रो मूल्यमा बिक्री हुन्छ। यो माछाको भुरा पाल्दा पहिलो वर्षमा समान्यतया५०–२०० ग्रामसम्म बृद्धी हुन सक्छ र दोस्रो वर्षमा १ के.जी. भन्दा ठुलो हुन्छ । त्यसकारण ०.५–१.० के.जी. सम्मको रोहु माछा उत्पादन गर्नको लागि एक वर्ष पुराना ५०–२०० ग्रा साइजका माछा पोखरीमा स्टक गरी पाल्न आवश्यक हुन्छ ।

६.नैनी: नैनी माछा पोखरीको पिंध भाग बस्दछ । यसको मुख्य प्राकृतिक अहारा पोखरीको हिलोमा रहेका सडेगले प्राङ्गारिक पदार्थ, मसिना जीवहरु, आदि हुन् । यो माछाले दाना पनि धेरै रुचाउने भएकोले दाना र प्राङ्गारिक मल प्रयोग गरेर व्यवसायिक रुपमा पालन गर्न सकिन्छ । २५ ग्राम देखि १ के.जी. भन्दा पनि ठुला साईजका यो माछा खानको लागि उपयोग गरिन्छ । छर्री माछा उत्पादन गर्नको लागि यो माछा मुख्य जातको रुपमा राखेर पालिन्छ । यो माछाको भुरा पाल्दा पहिलो वर्षमा समान्यतया ५०–२०० ग्रामसम्म बृद्धी हुन सक्छ र दोस्रो वर्षमा १ के.जी. भन्दा ठुलो हुन्छ । त्यसकारण ०.५–१.० के.जी. सम्मको रोहु माछा उत्पादन गर्नको लागि एक वर्ष पुराना ५०–२०० ग्रा साइजका माछा पोखरीमा स्टक गरी पाल्न आवश्यक हुन्छ ।

७.भाकुर: यो माछा पनि बिगहेड कार्प माछा जस्तै पोखरीको पानीको बिचको तहमा बस्दछ र पानीको सोही तहमा पाइने जू–प्लाङ्कटन (zoo-plankton) यो माछाको प्राकृतिक अहारा हो । तर यो माछाले बिगहेड कार्प भन्दा बढी बजार भाउ पाउँदछ । यो माछाले दाना खान पनि राम्ररी रुचाउने भएकोले पोखरीमा प्राङ्गारिक मल, रसायनिक मल र दानाको प्रयोग गरी यसलाई उत्पादन गर्न सकिन्छ । यो माछाले पनि जू–प्लाङ्कटन
खाएर पानीमा अक्सीजनको कमी हुनबाट जोगाउँदछ । यो माछाको बृद्धिदर रोहु र नैनी माछा भन्दा बढी हुन्छ तर पोखरीमा यसको बाँच्ने दर कम पाइएको छ । यो माछाको नयाँ फ्राई भुरा असार–श्रावण महिनामा पाईन्छ र ब्यवस्थित रुपले पालन गरियो भने कात्तिक महिना सम्ममा २००–३०० ग्राम सम्मको बृद्धि हुन सक्छ । साथै राम्रो ब्यवस्थापन गरियो भने समान्यतया यी साईजका माछाहरु असार–श्रावण सम्ममा १.०– १.५ के.जी. सम्म र काक्तिक–मंसीर सम्ममा १.५–२.० के.जी. सम्म बृद्धि हुन सक्छ ।

पोखरीको तयारी

जुन विधिद्वारा माछा पालन गर्ने भएपनि माछा भुरा राख्नु भन्दा अगाडी पोखरीको आवश्यक तयारी गर्नु पर्दछ । पोखरी तयारी गर्नको लागि समान्यतया निम्न कुराहरु गर्नु पर्दछ:

१. पोखरीको पानी सुकाउने र सबै जंगली माछाहरु विशेष गरी भोटी, हिले, माँगुर, ब्वारी, सौरा आदि मांसाहारी माछाहरुलाई पोखरीबाट पुर्ण रुपले हटाउने । यी माछाहरुलाई हटाइएन भने पाल्नको लागि राखिने माछा भुराहरुलाई खाई दिन्छन् । सुकाउन र पानी भर्न कठिनाई हुने पोखरी पटक पटक जाल तानेर भएपनि यी मांसाहरी माछाहरुलाई हटाउनु पर्दछ ।

२. पोखरी सुकाई सकेपछि पोखरीको सरसफाई गर्नुको साथै आवश्यक मर्मत कार्यहरु पनि सम्पन्न गर्नु पर्दछ । कतिपय मर्मत र सरसफाई कार्यहरु पोखरी सुकेको बेलामा मात्र गर्न सकिन्छ ।

३. पुराना पोखरीहरुमा प्रत्येक वर्ष प्राङ्गारिक मल र दाना हाल्दै गर्दा पिंधमा आवश्यकता भन्दा बढी मात्रामा कालो हिलो जम्मा भएको हुन्छ जसले गर्दा माछा पालन गर्दा पानीको गुणस्तर बिग्रीन्छ र माछालाई नराम्रो असर पर्दछ । तसर्थ पोखरी सुकाएको बेलामा करिब ४ ईन्च जति बाक्लो कालो हिलो मात्र राखेर त्यो भन्दा बढी हिलो बाहिर झिक्नु पर्दछ । यसरी झिकिएको कालो हिलो अरु बालीहरुमा राम्रो प्राङ्गारिक मलको रुपमा प्रयोग गर्न सकिन्छ ।
४. माथीका तीनवटा कार्यहरु माछा पालन भई सकेका पोखरीमा गर्नु पर्दछ । भर्खर खनेको पोखरीमा गर्नु पर्दैन ।

५. माछा पोखरी नयाँ होस् वा पुरानो, पोखरी तयारी गर्दा घर पोत्ने चुन प्रति कठ्ठा जलाशय क्षेत्रफलमा १०–१५ के.जी. वर्षमा एक पटक छर्नु पर्दछ । पोखरी सुकाएपछि हिलो भएमा चुनलाई धुलोको रुपमै छर्नु पर्दछ । पोखरीको माटो सुकी सकेको छ भने धुलो चुनलाई पानीमा घोलेर छर्नु पर्दछ । यदि पोखरीमा पानी सुकाइएको छैन भने प्रति कठ्ठा जलाशयमा ५ के.जी. घर पोत्ने चुन पानीमा घोलेर बिहानको समयमा पोखरीको पानीमा चारै तिर छर्नु पर्दछ तथा अर्को ५ के.जी. चुन करिब १० दिन पछि यसै गरी छर्नु पर्दछ । माछा र पानी भएकै पोखरीमा चुन छर्नु पर्ने भए सम्भव भएसम्म पानीको गुणस्तर जाँच गराई मत्स्य प्राविधिकको सल्लाह अनुसार गर्न उपयुक्त हुन्छ ।

६. चुन छर्नुका साथै पोखरी तयारी गर्नको लागि पोखरीको माटोको मलिलोपनको अवस्था हेरी प्रति कठ्ठा जलाशयमा १००–१५० के.जी. गोबर वा कम्पोस्ट मल प्रयोग गर्नु पर्दछ । पोखरी धेरै वर्ष पुरानो र पिंधको माटोमा धेरै मात्रामा प्राङ्गारिक पदार्थ भएमा प्राङ्गारिक मल हाल्नु हुँदैन वा अतिरिक्त प्राङ्गारिक हिलो हाल्नु पर्दछ । राम्ररी सुकेको पोखरी छ भने प्राङ्गारिक मल पिंधमा चारैतिर छरेर जोत्नु पर्दछ । यदि पोखरी हिलो वा पानी पानी छँदैछ भने प्राङ्गारिक वा गोबर मललाई पोखरी क्षेत्रफल हेरी १–२ ठाउँमा थुपारेर राख्नु पर्दछ अनि पानी भर्नु पर्दछ । प्राङ्गारिक मल थुपारेर राख्ने हो भने पानी भरेपछि पनि राख्न सकिन्छ । पोखरीको माटो चिम्टाइलो छ भने माटाका कणहरु पानीमा मिसिएर पानीलाई बाढीको पानी जस्तो धमिलो बनाई राखेको हुन्छ जुनकि माछा पालनको लागि उपयुक्त हुँदैन । यस्तो अवस्थामा प्राङ्गारिक वा गोबर मल बढी मात्रामा राख्नु पर्दछ । यति नै मल हाल्दा त्यो धमिलोपन नियन्त्रण हुन्छ भन्न कठीन भएकोले माटोको धमिलोपन र पानीको मलिलोपन हेरेर बिचार पु¥याउँदै गोबर मल थप्नु पर्दछ। यसको लागि दक्ष मत्स्य पालन बिशेषज्ञबाट सल्लाह लिन उपयुक्त हुन्छ ।

७. माथीका तयारीहरु गरी सकेपछि पोखरीमा आवश्यक गहिराईसम्मा पानी भर्नु पर्दछ । पानीको श्रोतमा जंगली माछा रहेका छन्भने पानी प्रवेश द्वारमा माछा नछिर्ने जाली राख्ने ब्यवस्था गर्नु पर्दछ । पोखरीको क्षमता अनुसार १.०–२.० मिटर गहिरो पानी राख्न सकिन्छ ।

८. पानी भरी सकेपछि पोखरीको पानीलाई हरियो बनाउनको लागि रसायनिक मल पनि प्रयोग गर्नु आवश्यक पर्दछ । तसर्थ पोखरीको माटोको मलिलोपनको अवस्था र विगतका अनुभवको अधारमा०.७–४.० के.जी. युरिया र ०.५–३.० के.जी. डि.ए.पी. मल पानीमा राम्रोसंग घोलेर पोखरीको पानीमा चारैतिर छर्नु पर्दछ ।

९. पोखरी तयारीका यति कामहरु गरी सकेपछि ३–४ दिनमा पानीको रंग हरियो हुन थाल्दछ । यसप्रकार पोखरी माछा भुरा राख्नको लागि तयार हुन्छ ।

स्रोत: पोखरीमा कार्प माछा पालन प्रविधि, मत्स्य विकास केन्द्र, भण्डारा, चितवन|

थप समाचार