बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

नीम : तितो अमृृत

मंगलबार, असार १९ २०८१
10 views
नीम : तितो अमृृत

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः
हाम्रो समाजमा नीम एउटा औषधीय गुण भएको र स्वास्थ्य रक्षाको लागि उपयोगी विरुवाको रुपमा धेरै पहिलेदेखि नै पहिचान भएको हो । यो विरुवा ३०—३५ फिटसम्म अग्लो हुन्छ । यसको बोक्राको वाहिरी भाग गाढा खैरो र भित्री भाग रातो रंगको हुन्छ । पातको किनारामा दाँती हुन्छ । यसको फूूलको रंग सेतो हुन्छ ।

neem.jpg
Neem

फूूल  फुल्ने समयः फागुन—वैशाख

प्राकृतिक बासस्थानः
यो ९०० मिटरको उचाईसम्म प्रशस्त घाम लाग्ने ठाउँमा पाइने मझौला खालको सदाबहार वृक्ष हो । यो धेरैजसो उष्ण वातावरण भएको देशहरुमा पाइन्छ । हाम्रो देशको प्रायशः तराई तथा मध्य पहाडी क्षेत्रको हावापानीमा यो रुख विशेष फस्टाएको पाइन्छ । रुख कमसल माटोमा पनि उम्रन सक्छ र यसले त्यस्तो माटोलाई उर्वरा र मलिलो बनाई दिन्छ । यो सरदर वार्षिक ५०० मि.मि. भन्दा कम पानी पर्ने ठाउँमा पनि राम्ररी उम्रेको र बढेको पाइएको छ ।

उपयोगिताः
यो अत्यन्त गुणकारी रुख हो । नीमको विभिन्न भागको उपयोग मानिसहरुले विभिन्न समस्या समाधानका लागि गर्ने गर्छन् । नीमको फूूलबाट बनेको मह बच्चाहरुको स्वास्थ्यको लागि धेरै नै उपयोगी मानिन्छ । यसको सेवनले बच्चा बच्चीहरुलाई रोगबाट संक्रमण हुनबाट बचाउँछ । नीमको सुकेको फूूललाई तागतको औषधिको रुपमा प्रयोग गरिन्छ । यसलाई पाँच अमृत भन्दछन् । विशेष गरेर ज्वरोबाट निको भएपछि यो औषधि दिने गरिन्छ । नीमको फललाई जुकाको औषधिको रुपमा प्रयोग गरिन्छ । यो वालीनालीमा लाग्ने किराहरुलाई मार्नको लागि पनि उपयोग गरिन्छ । नीमको फललाई पिसेर टाउकोमा लगाई नुहायो भने जुम्रा हट्छ । नीमको पात र बोक्राबाट निकालिएको झोल ज्वरो आउँदा, वान्ता आउँदा र छालाका रोगहरुमा प्रयोग गरिन्छ । यो कीटनाशक विषादिको रुपमा पनि प्रयोग गरिन्छ । नीमको पात बालेर निस्केको धुँवाले लामखुट्टे धपाउन मद्दत गर्छ । नीमको वीउबाट निकालिने तेल कुष्टरोग, वाथरोग र लुतोमा प्रयोग गरिन्छ । नीमको कलिलो डाँठलाई दतिवन को रुपमा प्रयोग गरिन्छ । नीमको डाँठको चन्दनको लेपले गर्मीमा निस्कने घाउ खटिरालाई निको पार्छ । नीमको काठ घर बनाउनमा र अरु काठको सामान बनाउने काममा प्रयोग गरिन्छ । यो काठलाई किराले खाँदैन र यो बलियो एवं टिकाउ हुन्छ ।
कीटनाशक औषधिका रुपमा नीमलाई अत्यन्त प्रभावकारी मानिन्छ । यो विरुवामा ८—१० थरीका किरा मार्ने तत्वहरु पाइन्छन् । वातावरण, पानी, माटोलाई नराम्रो असर नगर्ने भएको हुँदा यो वोट विरुवा घर आँगन र बारीको छेउछाउमा लगाउन सिफारिश गरिएको छ । खाद्यान्न संचय गर्दा नीमको गेडाको धुलोको प्रयोग गरेमा यसले किरा लाग्न दिदैन । वोट विरुवालाई हानिकारक किरा फट्याङ्ग्राहरुबाट बचाउन नीमको वीयाँको धुलो लमिसाएको पानीको झोल अथवा पात भिजाएर तयार पारिएको पानीको झोल प्रयोग गर्ने गरिन्छ । नीमको पातसँग अन्य कीटाणुनाशक गुण भएका वनस्पति जस्तै— सिट्रोनेला, वोझो आदिको संयुक्त मिश्रण बनाई त्यसको झोलबाट पनि किरा फट्याङ्ग्राहरुको रोकथाम गर्ने गरिन्छ ।

संकलन समय र विधिः
नीम रोपेको ४—५ वर्षमा फल लाग्न थाल्दछ । एउटा रुखले सालाखाला ३५ देखि ५० किलोसम्म फल दिन्छ जसभित्र एउटा वीउ हुन्छ । १०० किलोग्राम नीमको वीउबाट ३५ देखि ४५ किलोग्रामसम्म तेल निकाल्न सकिन्छ । नीमको वीयाँलाई पेलेर तेल निकालिन्छ । यो विशेष गरेर खाद्य सामग्रीहरु संचय गर्ने र संक्रामक हानिकारक किराहरुबाट बाली बचाउने काममा प्रयोग गरिन्छ । नीमको तेल साबुन बनाउनमा पनि प्रयोग गरिन्छ । नीमको तेलयुक्त साबुनले छालाको चिलाउने रोगलाई निको पार्दछ । नीमको तेल झ्याल, ढोकाहरुमा लगाउँदा झिंगा तथा अरु कीराहरु आउँदैनन् ।

प्रसारण विधिः
नीमले प्रशस्त गर्मी र मध्यम वर्षा सहन सक्छ तर तुषारोको प्रभाव धेरै सहन सक्दैन । हाँगाको कटिङ्गबाट नीमको प्रसारण गर्न सकिने भए तापनि वीउबाट बेर्ना तयार गरी वृक्षारोपण गर्न राम्रो हुन्छ । नर्सरीमा ५—५ से.मी.को लाईनमा वीउ रोप्नु पर्छ । टिपेको दुई हप्तापछि वीउको उम्रने शक्ति घट्छ, त्यसैले टिपेको २—४ दिनभित्रै रोप्न बेस हुन्छ । पोली व्यागमा माटो भरेर २—३ वटासम्म वीउ रोप्न सकिन्छ । गुदी निकालेका ३०००—६५०० वीउहरुको तौल १ कि.ग्रा. हुन्छ । बेर्नाहरुलाई अर्को वर्षाको मनसूनमा ५ देखि ५ मि. को दूरीमा सार्न उपयुक्त हुन्छ ।

प्रमुख रसायनिक तत्वः
यस विरुवाको सम्पूर्ण भागमा एजाडाइरेक्टीन, निम्बिन, निम्बीनीन  भन्ने वानस्पतिक रसायन पाइन्छ ।

Source : नेपालको आर्थिक विकासका लागि प्राथमिकता प्राप्त जडीबुटीहरु, वनस्पति विभाग, काठमाडौ 

थप समाचार