बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

मजिठो - चिन्नैपर्ने जडिबुटि

आइतबार, असार २४ २०८१
8 views
मजिठो - चिन्नैपर्ने जडिबुटि

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः
मजिठो सदाबहार वहुवर्षे लहरा जातको विरुवा हो । यसका काण्ड चार पाटे धारिलो करौंती जस्ता मसिना उल्टो काँडा भएका हुन्छन् । आँख्ला गाँठो भएको हुन्छ र प्रत्येक आँख्लाको गाँठोबाट चार वटा लामा पातहरु निस्केका हुन्छन् । यसका पूmल झुप्पामा सानो गाढा रातो रंगको हुन्छ । फल गोलो र पाकेपछि गाढा कालो रंगको हुन्छ ।

फुल फुल्ने समयः जेष्ठ–आषाढ

प्राकृतिक बासस्थानः
मजिठो हिमालय श्रृंखलाको १२०० मिटर देखि २१०० मिटर सम्म उचाई भएका स्थानहरुमा पाईन्छ । खुल्ला पारिलो स्थानमा प्रायः जसो चुत्रोको झाडी, मयलको रुखमा लहरिएर फैलिएको हुन्छ र सेपिला स्थानहरुमा हत्पति भेटिंदैन ।

उपयोगिताः
उपयोगी अंगमा विरुवाको सम्पूर्ण भागलाई मानिन्छ । यसको काण्ड र जरा गंलैचा बुन्ने उनी धागो रंगाउनमा प्रयोग गरिन्छ । आयूर्वेदिक प्रणाली अनुसार यसको काण्ड सर्प र विच्छीको टोकाईमा प्रयोग गरिन्छ । जरा र वीउ पक्षघात, अल्सर तथा चर्मरोगको लागि प्रयोग गरिन्छ ।

संकलन समय र विधिः
मजिठोको प्रयोग हुने भाग यसको जरा सहितको सम्पूर्ण लहरा हो । यसको संकलन आश्विन–कार्तिक महिनामा फल पाकेर वीउ झरी सकेपछि संकलन गर्दा प्रसारण हुने गै पुनः संकलनका लागि प्राप्त हुन्छ । जरा सहितको लहरा संकलन गरी सुकाउने र भण्डारण गरि राख्नु पर्दछ ।

प्रसारण विधिः
मजिठोको प्रसारण वीउबाट मात्र गर्न सकिन्छ । कार्तिक–मंसिरमा फल पाकेपछि विउ संकलन गर्न सकिन्छ । पाकेका फल कालो र रसिला देखिन्छन् । पाकेका फललाई टिपेर पहिले हातैले मिचेर पानीले पखाल्ने र सफा वीउलाइ हल्का घाममा सुकाउनु पर्दछ । सुकेका वीउलाई नर्सरी व्याडमा छर्नु पर्दछ । वीउ फल्गुन–चैत्रमा व्याडमा राख्नु पर्दछ र २०–२५ दिन भित्र अंकुरण शुरु हुन्छ । आषाढ–श्रावण महिनामा विरुवा चुत्रो, ऐंसेलु,
मयल आदि भएको पाखामा रोप्नु पर्दछ वा थांक्रा हाली खेती गर्न सकिन्छ ।

प्रमुख रसायनिक तत्वः
यसको जरामा मुख्य रुपले एलीजरिन  र पर्पुरिन  भन्ने वानस्पतिक रसायन पाइन्छ ।

Source : नेपालको आर्थिक विकासका लागि प्राथमिकता प्राप्त जडीबुटीहरु, वनस्पति विभाग थापाथली, काठमाडौं, 

सम्बन्धित विषय

थप समाचार