बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

ढोडी साग : चिनारी तथा खेती प्रविधि

आइतबार, साउन ६ २०८१
10 views
ढोडी साग : चिनारी तथा खेती प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

ढोडी सागको वैज्ञानिक नाम Ipomea aquatica हो भने अङ्ग्रेजीमा यसलाई वाटर स्पिनाच (Water Spinach) भनिन्छ । यो साग Convolvulaceae परिवारमा पर्दछ (S. Lohani*, S. L. Shrestha, R. Rawal, Y. K.C., and L. N. Aryal, 2022) । ढोडी साग नेपालमा कम उपभोग गरिने बालीमा पर्दछ । तथापि नेपालका विभिन्न स्थानका समुदायहरूले परापूर्वकालदेखि ढोडी सागको तरकारी खाँदै आएको पाइन्छ । यसको उत्पति दक्षिणपूर्वी एसिया, दक्षिण चीन र भारत लगायतका दक्षिण एसियाली देशहरूमा भएको मानिन्छ । ढोडी सागको उन्नत जातलाई क्याङकुङको साग भनेर पनि चिनिन्छ । नेपालका विभिन्न स्थानमा यसलाई फरक फरक नामले चिनिन्छ । चौधरी समुदायमा कर्मी साग, कर्मुवा साग, केरूङ्गे साग, रमुवा साग, ढोडी साग र पहाडी समुदायमा नारी सागको नामले चिनिन्छ । यसको पात तथा कलिलो डाँठ सहितको भाग सागका रूपमा खाने गरिन्छ ।

यो सागको रैथाने जात खोलानालाको किनारामा, पानी जम्ने स्थान तथा खाल्डा परेको ठाउँमा आफैं उम्रने, हुर्कने तथा फैलने गरेको पाइन्छ । यस सागलाई स्थानीय समुदायले टिपेर खाने तथा नजिकको स्थानीय बजारमा बिक्री गर्ने गरेको पाइन्छ । यो साग समुद्री सतहदेखि १,००० मिटर उचाईसम्ममा राम्रो उत्पादन हुन्छ । नेपालमा प्रायः अन्य हरिया साग नभएका समयमा र स्वाद फेर्नका लागि तरकारीका रूपमा ढोडी साग खाने चलन छ ।

पछिल्लो समय मानिसमा प्रा‌ङ्गारिक तथा स्वस्थ्यकर खाना खाने प्रचलन बढेसँगै ढोडी सागको माग तथा उपयोग बढदै गएको देखिन्छ । यो प्राङ्गारिक उत्पादन हुने, फरक किसिमको स्वाद हुनुका साथै पोसिलो भएकाले हालका दिनमा सहरी क्षेत्रमा समेत यसको माग बढ्दै गएको छ । विभिन्न अध्ययनको नतिजा अनुसार ढोडी सागमा प्रशस्त मात्रामा पोषक तत्त्व पाइने भएकाले पोषणको दृष्टिकोणले पनि यो साग स्वस्थ्यवर्धक रहेको दखिन्छ । 

वानस्पतिक परिचय : 

ढोडी साग सदाबहार र छोटो समयमा उत्पादन हुने साग बाली भएतापनि वर्षा याममा यसको बढी उत्पादन हुने गर्दछ । पानी जमेको जमिनमा पनि हुने भएकाले यसलाई अर्धजलीय साग भनेर पनि चिनिन्छ । यसको बोट झट्ट हेर्दा सखरखण्डको जस्तो देखिने भएता पनि पात तथा बोट फरक हुन्छ । यसको डाँठको लम्बाई ७-१० फिटभन्दा लामो हुन्छ र पात पनि चाक्लो हुन्छ । यो एकदमै छिटो हुर्कने र पछि लहरा भएर पानीको सतह  वा जमिनमा फैलने गर्दछ । यसको डाँठ खोक्रो हुने भएकाले पानी जमेको ठाउँमा यो सागको डाँठ पानीको सतहमा तैरिने गर्दछ । यसको डाँठ सेतो वा हल्का रातो रङ्गको हुन्छ । यसको बेर्ना सारेको लगभग एक महिनापछि फूल फुल्दछ र फूलको रङ्ग सेतो वा गुलाबी हुन्छ । यसलाई बीउ तथा लहराबाट पनि सार्न सकिन्छ । यसको मुन्टा टिपेर सागको रूपमा खाने गरिन्छ । यो सागको बोट तथा आकार प्रकारको आधारमा प्रमुख दुई प्रकारका छन् :

१) उच्चो स्थलीय (Upland) ढोडी :

यो कम पानी भएको ठाउँमा हुने साग हो । यसको एक वर्षमा पटक मात्र उत्पादन लिन सकिन्छ ।

२) होचो स्थलीय (Low land) ढोडी :

यो डुबान भएको ठाउँमा हुने रैथाने जात हो । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाको वडा नम्बर ५ मा अवस्थित मोहना शिविरको मुक्तकमैया बस्तीका कृषकहरूका अनुसार यो रैथाने जातको पातहरू उन्नत जातको तुलनामा फराकिला हुन्छन् र एकै बोटबाट धेरै पटक उत्पादन लिन सकिन्छ । 

पौष्टिक महत्त्व : 

ढोडी सागलाई हरियो सागपातको रूपमा कलिलो पात, मुन्टा र डाँठलाई उमालेर वा भुटेर तथा विभिन्न तरिकाले परिकार बनाएर खान सकिन्छ । विभिन्न अध्ययनका अनुसार ढोडी साग पोषणका हिसाबले मानव स्वास्थ्यका लागि अति उपयोगी मानिन्छ । गर्मी तथा पानी बढी पर्ने मौसममा स्थानीय स्तरमा अन्य प्रकारका सागको उत्पादन कम हुन्छ र बजारमा पाइए पनि एकदमै महङ्गो हुने गर्दछ । यस्तो अवस्थामा बहुवर्षीय ढोडी वर्षभरि हरियो सागपातको वकल्पिक स्रोत हो जसले खाद्य तथा पोषण सुरक्षामा महत्त्वपूर्ण योगदान गर्दछ । यसको खेती गरेर जुनसुकै मौसममा पनि सुलभ मूल्यमा सागको उपलब्धता कायम राख्न सकिन्छ । रोगकीरा कम लाग्ने तथा घरेलु मल प्रयोग गरी सजिलै छोटो समयमा उत्पादन लिन सकिने हुँदा यसको उत्पादन लागत कम लाग्दछ । यो विभिन्न रोग जस्तैः कलेजोसम्बन्धी रोग, कब्जियत, मधुमेह, मानसिक रोग, नाकबाट रगत बग्ने समस्या, उच्च रक्तचाप, आदिको घरेलु उपचारमा पनि प्रयोग गर्ने गरेको स्थानीयको भनाइ रहेको छ । यसमा
 तालिकामा देखाए जस्तै विभिन्न प्रकारका पोषण तत्त्वहरू पर्याप्त मात्रामा पाइने भएकाले पोषण सुरक्षाका दृष्टिकोणबाट समेत महत्त्वपूर्ण छ ।

खेती प्रविधि

१. हावापानीः

ढोडी सागलाई अधिक जाडोबाहेक लगभग वर्षभरि नै माटोमा पर्याप्त चिस्यान कायम राखेर लगाउन सकिन्छ । यो सागमा लामो समयसम्म गर्मी सहन सक्ने क्षमता हुन्छ भने यसलाई २०-३० डिग्री सेल्सियसको तापक्रम उपयुक्त मानिन्छ ।

२. जमिन तयार :

ढोडी साग जस्तोसुकै माटोमा पनि सजिलै उम्रिन र हुर्कन सक्छ । पानी जम्ने वा नजम्ने दुबै खालको माटोमा सजिलै हुन्छ । यसको खेतीको लागि माटोमा अन्य बालीको तुलनामा बढी चिस्यानको आवश्यकता पर्दछ । उपयुक्त प्राङ्गारिक मल र अलिक बढी चिस्यान भएको माटोमा यसले राम्रो प्रतिफल दिन्छ । जमिन तयार पार्दा २-३ पटक खनजोत गरी डल्ला मसिनोसँग फुटाउदै आवश्यक मलको मात्रा मिसाएर गर्नु पर्दछ । माटो बुर्कुराउदो बनाई जमिन एकनासले सम्म पारेर झारपात हटाएपछि बाली लगाउनु पर्दछ ।

 ३. लगाउने विधि :

ढोडी साग बीउबाट बिरुवा बनाएर या लहरा काटेर सार्न सकिन्छ । तयार पारिएको जमिनमा सिधै बीउ एकनासले छरेर लगाउन पनि सकिन्छ । बीउबाट लगाउँदा पहिले नर्सरीमा बेर्ना उत्पादन गरी ४-५ पाते हुँदा मूल जमिनमा सार्न सकिन्छ । यसको बेर्ना ३०x३० सेन्टिमिटर वा ५०४३० सेन्टिमिटरको दुरीमा लगाउन सकिन्छ । त्यसैगरी हुर्केको बोटबाट लहरा काटेर या जमिनसँग सम्पर्कमा आएका हाँगाको आँखाबाट जरा पलाएका लहरा काटेर अर्को ठाउँमा सार्न सकिन्छ ।

४. मलखाद व्यवस्थापन : 

प्रा‌ङ्गारिक मल जस्तै गोठेमल, कम्पोस्ट, गड्‌यौला मल आदि २० टन प्रति हेक्टर जमिन तयारको बेला हाल्नु पर्दछ । यसको खेती गर्दा माटोमा प्रा‌ङ्गारिक मल पर्याप्त हुन आवश्यक हुन्छ । झोलमलको प्रयोग गर्न परेमा २००-३०० मिलिलिटर प्रति बोट जराको वरिपरि जराको भाग भिज्ने गरी हाल्नु पर्दछ । यसको प्रयोग गर्दा साना बिरूवाको लागि १ भाग झोलमलमा ४ भाग पानी मिसाएर प्रयोग गर्ने र ठुला बिरुवाको लागि १ भाग झोलमलमा ३ भाग पानी मिसाएर प्रयोग गर्ने । T ५ सिँचाइ ढोडी सीग पानीमा हुने बाली भएकाले यसलाई सिँचाई पर्याप्त मात्रामा हुनुपर्दछ । पानी वा चिस्यान कम भएमा उत्पादनमा कमी हुनुका साथै साग तितो हुने सम्भावना हुन्छ । माटोमा चिस्यान हेरेर जाडो मौसम र गर्मी मौसममा १० दिनको अन्तरालमा सिंचाइ गर्नु पर्ने हुन्छ । 

५. सिँचाइ :

ढोडी साग पानीमा हुने बाली भएकाले यसलाई सिँचाई पर्याप्त मात्रामा हुनुपर्दछ । पानी वा चिस्यान कम भएमा उत्पादनमा कमी हुनुका साथै साग तितो हुने सम्भावना हुन्छ । माटोमा चिस्यान हेरेर जाडो मौसम र गर्मी मौसममा १० दिनको अन्तरालमा सिँचाइ गर्नु पर्ने हुन्छ । चिस्यान पुगेको अवस्थामा साग राम्ररी फैलिने र बढी उत्पादन दिने गर्दछ ।

६. गोडमेल :

अनावश्यक झारपात सुरूको अवस्थामा नियन्त्रण गर्न जरूरी हुन्छ । झारपातले सागको लागि हालेको मल तथा पानी लिने र विभिन्न रोग तथा कीराको सङ्क्रमण बढाउने भएकाले त्यस्ता झारपात हटाउनु पर्दछ । झारपात नियन्त्रणको लागि छापो हाल्ने वा हातले आवश्यकताअनुसार गोडमेल गर्नु पर्दछ । प्रत्येक पटक उत्पादन लिएपछि प्रा‌ङ्गारिक मल हाल्नुका साथै गोडमेल गर्नु राम्रो हुन्छ ।

७. रोग तथा कीरा व्यवस्थापन : 

ढोडी सागमा खासै धेरै रोग तथा कीराको सङ्क्रमण गरेको पाइँदैन । कहिलेकाहीँ विशेष गरी पात खाने कीरा जस्तै झुसिल्कीरा, लाहीकीरा, फट्याङ्ग्रा, आदिले असर पुऱ्याउन सक्छ । कीरा लागेको अवस्थामा रासायनिक विषादीभन्दा घरेलु तथा जैविक विषादी प्रयोग गर्न उचित हुन्छ । झोलमल ३ को नियमित पातमा छर्नाले कीरा नियन्त्रण गर्न सकिन्छ । झोलमल ३ को बारेमा सङ्क्षिप्तमा तल जानकारी दिइएको छ । कीराको पहिचान वा असर हेरेर मात्र विषादी छर्किनु उपयुक्त हुन्छ । चाँडचाँडो मुन्टाको उत्पादन लिएर पनि कीराको असर कम गर्न सकिन्छ ।

८. उत्पादन :

ढोडी बहुवर्षे बाली हो जसको एक पटक मुन्टा टिपेपछि पटकपटक पलाउँछ र धेरै पटक उत्पादन लिन सकिन्छ । पहिलो पटक बेर्ना सारेको ३० दिन पछि मुन्टा टिपेर उत्पादन लिन सकिन्छ । यस पछि १५ दिनको अन्तरालमा मुन्टा टिप्न सकिन्छ । कम्तिमा पनि ४-५ महिनासम्म राम्रो उत्पादन लिन सकिन्छ । यसको औसत उत्पादन ३००० के.जी. देखि ४००० के.जी. प्रति रोपनी हुन्छ । यसको अन्य महिनाहरूमा राम्रो उत्पादन हुने भएकाले फागुनदेखि चैत्र महिनामा तुलनात्मक रूपमा कम उत्पादन हुन्छ । ९. बजार भाउ ढोडी सागको बजारमा सजिलै बिक्री बितरण हुन्छ । यो सागको माग होटेल तथा रेस्टुरेन्टमा धेरै हुने भएकाले त्यस्तो ठाउँमा मूल्य पनि सन्तोषजनक पाइन्छ । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ की लक्ष्मी चौधरीका अनुसार सामान्यतया प्रति मुठा १० देखि १५ रुपियाँको दरले बिक्री हुन्छ ।

निष्कर्ष : 

ढोडी साग प्रा‌ङ्गारिक तरिकाबाट उत्पादन गर्न सकिन्छ । यसबाट मानव स्वास्थ्यका लागि आवश्यक पर्ने धेरै प्रकारका पोषण तत्त्वहरू प्राप्त हुने भएकाले यसको उपभोग गर्नु राम्रो हुन्छ । यसमा पाइने भिटामिन र खनिज तत्त्वले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्नाका साथै यसले विभिन्न रोग जस्तै कलेजोसम्बन्धी रोग, कब्जियत, मधुमेह, मानसिक रोग, नाकबाट रगत बग्ने समस्या, उच्च रक्तचाप आदिको घरेलु उपचारमा पनि प्रयोग गर्ने गरेको स्थानीय समुदायले बताएका छन् । त्यसैले यसको घरबगैंचा तथा करेसाबारीमा उत्पादन गर्न र पोषण तत्त्वको बारेमा सचेतना फैलाएर परिवारिक पोषण सुधारमा टेवा पुऱ्याउन सकिन्छ । यो साग लामो समयसम्म पानि जम्ने स्थानका लागि एकदम उपयुक्त बाली हो । त्यसैले यसको उत्पादन तथा उपभोग बृद्धिका लागि सबै सरकारवालाले जनचेतना फैलाउने खालका कार्यक्रमहरू सञ्चालनमा जोड दिनुपर्ने देखिन्छ ।

 सन्दर्भ सामग्री

S. Lohani, S. L. Shrestha, R. Rawal, Y. K.C., & LN. Aryal (2022). Nepal Agricultural Research Council, Evaluation of Kingking (Ipomoea aquatica L) Genotype, A potential green leafy vegetable in summer seson at Khajura, Banke, Nepal. Shrestha, S.L. & Shrestha, Y.K. (2020). Kang kong (Ipomoea acquitica): high nutritious summer leafy vegetable crop for mid-hills of Nepal. The journal of Agriculture and Environment. 21, 90-100. Prasad, K. N., Shivamurthy, G.R. & Aradhya,S.M. (2008). Ipomoea aquatica,an underutilized green leafy vegetable:A review. International Journal of Botany, 4, 123-129. Rajani Srivastava (2016), Sustainable food production through climate resilient crop: A case study of water spinach (Ipomoea aquatica), Banaras Hindu University. गोविन्द श्रेष्ठ, रोशन पुडासैनी र रोजी सुवाल । (वि.सं. २०६६) । घरबगैचामा पाइने केही रैथाने बालीहरू (ली-बर्ड) । सागर जि.सी., लक्ष्मण खत्री, आस्था भुसाल र पीताम्बर श्रेष्ठ । (वि.सं. २०७७) । प्राङ्गारिक कृषिका लागि झोलमल बनाउने र प्रयोग गर्ने विधि । (ली-बर्ड) ।

सम्बन्धित विषय

थप समाचार