नेपाल एक कृषि प्रधान देश हो । राष्ट्रिय आय तथा रोजगारीमा कृषि क्षेत्रले उल्लेखनिय स्थान ओगटेको छ । कृषिबाट करिब दुई तिहाई जनसंख्याको जीविकोपार्जन र आयआर्जन हुनुको साथै कुल गार्हस्थ उत्पादनमा एक तिहाई प्रतिशत योगदान पुर्याएकोले नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि नै भएको तथ्यलाई नकार्न सकिदैन ।
देशलाई भौगोलिक बनावट र विद्यमान जलवायुका आधारमा तीन भेगमा वर्गिकरण गरिएता पनि धेरैजसो भू–भाग पहाडी क्षेत्रमा पर्दछ । यस कुरालाई मनन गर्दै नेपाल सरकारले गरीब कृषकहरूको जीवनस्तर उठाउन पहाडी क्षेत्र (मध्य तथा उच्च) मा मूल्यवान कृषि उपजको उत्पादनलाई प्राथमिकता दिएको छ । तर एकातिर परम्परागत खेती प्रणालीबाट बढ्दो जनसंख्यालाई आवश्यक पौष्टिक खाद्यान्न सम्भव नहुने र अर्कोतिर वन जंगलको विनाश, भू–क्षयको प्रकोप, आवश्यक र गुणस्तरीय प्राङ्गारीक मलको अभाव, रासायनिक पदार्थको जथाभावी प्रयोग तथा माटोको अम्लीयपनामा वृद्धि आदि कारणले माटोको अवस्था दिनानुदिन विग्रिदै गएको छ ।
फलस्वरूप, माटोको स्वास्थ्यलाई कायम राख्दै कृषिजन्य उत्पादनमा वृद्धि गराउन कृषि विज्ञानका उन्नत प्रविधि, सीपलाई व्यवहारिक रूपमै खेतबारीमा प्रयोग गर्नु नितान्त जरुरी रहेको छ जुन कार्यमा मिश्रित खेतीले केहि हदसम्म टेवा पुर्याउछ ।
एकै मौसममा एकै जग्गामा दुई वा दुईभन्दा बढी बालीको एकै पटक खेती गरिने तरिकालाई मिश्रित
खेती भनिन्छ । स्थानीय भाषाअनुसार कतैकतै यसलाई तलेबाली पनि भन्ने गरेको पाईन्छ । यस्तो खेतीमा एउटा मुख्य बाली र अरू बालीहरूलाई सहायक बालीको रूपमा लगाइने हुनाले प्रायः कृषि सम्बन्धी कामहरू जस्तैः जग्गाको तयारी, मलखादको प्रयोग, गोडमेल, सिंचाइ आदि मुख्यबालीलाई चाहिने अनुसार नै गर्ने गरिन्छ । बाली लगाईने तरिकाको आधारमा मिश्रित खेतीलाई निम्न चार भागमा बाड्न सकिन्छ ।
क) अन्तरवर्ती खेतीः
यस्तो खेतीमा दुई वा दुईभन्दा बढी बालीहरू एकै पटक एकै जग्गामा सिफारिस गरिए अनुसारको लाईनदेखि लाईन र बोटदेखि बोटको दूरीमा मिलाएर लगाइन्छ । यस विधिमा मुख्य बालीलाई
एक लाईनमा लगाईसकेपछि अर्को लाईनमा सहायक बाली लगाउने गरिन्छ । जस्तैः टमाटर र बन्दा, मकै र भट्टमास आदि ।
ख) मिश्रित खेतीः
यो विधिमा दुई वा दुईभन्दा बढी बालीका बीउहरूलाई विभिन्न अनुपातमा मिसाएर एकै पटक एकै जग्गामा छर्ने वा रोप्ने गरिन्छ । जस्तै गहु“ र केराउ, तोरी र मूला, मकै र बोडी आदि ।
ग) पाटो खेतीः
यो प्रविधिमा विशेषगरी भू–क्षय रोकथाम गर्नका लागि भिराला पाटाहरूमा दुई वा दुईभन्दा बढी
बालीहरू एकै पटक लगाउने गरिन्छ । जस्तैः मकै र बोडी, मकै र भट्टमास आदि ।
घ) रिले खेतीः
एउटै जग्गामा एउटा बाली लगाई सो बाली नकाट्दै अर्को बाली लगाउने तरिकालाई रिले खेती भनिन्छ । जस्तै मकैमा कोदो, मकैमा भट्टमास आदि । कम लगानीबाट बढी फाइदा लिनका लागि निम्न
कुराहरूमा ध्यान दिई मिश्रित खेती गर्नु उपयुक्त हुन्छ ।
१) मिश्रित खेतीका लागि छनौट गरिने बालीहरू (मुख्य र सहायक दुवै) त्यस क्षेत्रको हावापानी र माटो
सुहाउँदो हुनुपर्दछ ।
२) बालीहरूको बीचमा उत्पादनका लागि अत्यावश्यक तत्वहरू जस्तैः सूर्यको प्रकाश, खाद्य तत्व, चिस्यान तथा स्थानको लागि प्रतिस्पर्धा नहुने खालका बालीहरू छान्नुपर्दछ ।
३) बेग्ला बेग्लै किसिमका बालीहरू हुनु पर्दछ, जस्तैः
- गहिरो जरा जाने र सतही जरा भएका बालीहरू ।
- अग्लो बोट हुने र होचो बोट हुने बालीहरू ।
- धेरै खाद्यतत्व लिने र कम खाद्यतत्व लिने बालीहरू ।
- घाम मन पराउने र छायाँ मन पराउने बालीहरू ।
- फरक–फरक परिवारका बालीहरू ।
खेतीबाट हुने फाइदाहरू :
- माटोमा रहेको खाद्यतत्व र चिस्यानको उचित प्रयोग हुन्छ ।
- सूर्यको प्रकाश तथा हावाको राम्रो सञ्चार हुने भएकाले गुणस्तरीय उत्पादनमा वृद्धि हुन्छ ।
- फरक परिवारका बाली लगाउँदा तिनीहरूको गन्धका कारण रोग कीराको प्रकोपलाई कम गर्न
सकिन्छ ।
- प्राकृतिक प्रकोप (जस्तैः असिना, हिमपात, खडेरी) तथा महामारी (रोग र कीरा) का कारणले एउटा
बाली नोक्सान भएपनि अर्को बालीबाट आम्दानी लिन सकिन्छ ।
- सहायक बालीमा कोशे बालीको प्रयोग गर्नाले माटोमा प्राङ्गारिक पदार्थ बढ्ने तथा नाइट्रोजन
स्थिरिकरण भई उर्वराशक्ति बढ्न जान्छ ।
- सहायक बालीले जीवित छापोको काम गर्ने भएकाले झारपात नियन्त्रण गर्न र सिंचाइको संख्यामा कमी ल्याउन सकिन्छ ।
- प्रति एकाई जग्गाबाट प्रति एकाई समयमा बढी उत्पादन लिन सकिन्छ ।
- अन्ततः कृषकहरूको आर्थिक अवस्थामा सुधार भई प्रतिव्यक्ति प्रतिवर्ष आय बढ्दछ ।
- सुजन अंगाइ