बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

बाख्रामा लाग्ने प्रमुख रोगहरु

मंगलबार, साउन ८ २०८१
7 views
बाख्रामा लाग्ने प्रमुख रोगहरु

समाचार शेयर गर्नुहोस्

Share this news

पि.पि.आर.

यो विषाणुको कारणबाट लाग्ने एकदमै खतरनाक रोग हो । यसलाई भेडा वाखाको हैजा पनि भनिन्छ । यो धेरै जसो कडा अवस्थामा देखा पर्छ। तर कहिलेकाँही हल्का प्रकारको पनि हुन सक्छ । यो रोग लागेमा निम्नअनुसारका लक्षणहरू देखा पर्छन् ।

* रोगको अवस्था कडा भएमा अकस्मात १०४० देखि १०६० फरेनहाईट-सम्म ज्वरो आउने ।

• जिप्रिंङ्ग पर्ने ।

• थुतुनो सुख्खा हुने ।

आँखा रातो हुने ।

• खाना नखाने जस्ता लक्षण शुरुमा देखिन्छ .

• नाकबाट पानी आउने ।

• पीप बगाउने ।

• नाकभित्र घाउ हुने ।

• मुखभित्र रातो भई ओठ, जिव्रो र मुखभित्र जताततै खटिरा निस्कने ।

• कालो छेर्ने ।

• जलवियोजन हुने ।

• शरीरको तापक्रम घट्‌दै गएर रोग लागेको ५ देखि १० दिनमा जनावर मर्ने गर्दछ ।

• रोगले भेटेको ३/४ दिन पछि निमोनिया हुने, खोकी लाग्ने लक्षण देखिन्छ 

•  व्याउने पशु तुहिन थाल्छन् ।

• रोगले भेटेपछि वयस्क भन्दा पाठापाठीको मृत्युदर वढी हुन्छ ।

रोकथाम र उपचार : 

रोगको लक्षण देखापरिसकेपछि खास उपचार गर्न सकिदैन, त्यसैले लक्षण अनुसार उपचार गर्नु पर्छ । रोकथामको निम्ति २/२ वर्षको अवधिमा खोप लगाउनु जरुरी हुन्छ .

छेरौटी : 

विषादि, विभिन्न रोगका किटाणु र आन्तरिक परजीवीको कारणबाट छेरौटी लागेको पाइनेछ । छेर्न थालेपछि पशु दुब्लाउँदै जाने, उत्पादन घट्ने, कमजोर हुने, जस्तोसुकै खाना पनि पचाउन नसक्ने समस्या देखा पर्छ ।

उपचार र रोकथाम  : 

छेरौटी लागेको बाख्राको लागि नेव्लोन, पर्गोकेयर जस्ता औषधि खुवाउने साथै सल्फा औषधिको चक्की खुवाउने । परजीविको कारणले रोग लागेको भए कुन किसिमको परजीवि हो सोहीअनुरुप उपचार गर्नु पर्छ। रोकथामको निम्ति सरसफाइ, विभिन्न रोग विरुद्धको खोप र समय समयमा परजीवी विरुद्ध औषधि खुवाउने व्यवस्था मिलाउनु पर्छ ।

पेट फुल्ने वा ढाडिने (Bloat) : 

यो रोग बाख्राहरूमा पेटमा हावा धेरै जम्मा हुने अवस्था हो । अक्सर बाखाले मकै वा अन्य अन्न, केही डालेघाँस, कोषे घाँस वा विषालु घाँसहरू खाँदा पेटमा भएका जिवाणु र शुक्ष्म परजिवीहरुद्वारा पाचन क्रियामा हावा वा फिँज उत्पन्न भई हुने गर्दछ । हावा वा फिँज तिक्ष्णरुपले जम्मा भई निकास गर्न नसकेमा पशुहरू मर्ने गर्दछन् ।

लक्षणहरू : 

- देब्रे पेट फुल्ने र भकुण्डो जस्तो हुने,

- तिक्ष्ण र गम्भिर प्रकारको रोगमा पुरै पेट फुल्ने,

- मुखबाट ऱ्याल निकाल्ने,

-सास फेर्न अप्ठेरो हुने र मुख खोलेर सास फेर्ने पेट दुखेको अनुभव गर्ने र कराउने,

- दिशा पिसाब बन्द हुने,

- पशु लडेर सास फेर्न नसकी मर्ने,

उपचार : 

दाना दिन बन्द गर्ने, अगाडीको भाग उच्च्चा पारेर राख्ने, एभिल सुई लगाउने, ट्रोकर क्यानुला वा मोटो सुईको माध्यमबाटबाट हावा निकाल्ने, एण्टिबायोटिकको प्रयोग गर्ने, अफानिल, ब्लोटोसिल वा टिम्पोलको प्रयोग गर्ने, भिटामिन बि को सुई लगाउने,

न्यूमोनिया (Pneumonia) : 

निमोनिया बाखाहरूमा लाग्ने प्रमुख रोगहरूको मध्येको रोग हो । प्रतिकुल चिसो मौसममा पाठापाठीमा यो रोग बढीदेखिन्छ । यो रोग विभिन्न कारणले गर्दा हुनसक्दछ । जसमध्ये

- विषाणु

-  जिवाणु

-  दुसी

-  फोक्सोको जुका

लक्षणहरू

शुरुमा चाँडो चाडो श्वास फेर्ने र पछि श्वास प्रश्वासमा अवरोध आउने खोकी लाग्ने, ज्वरो आउने र नाकबाट सिँगान बग्ने खाना मन नगर्ने घाँटी घ्यारघ्यार बज्ने

उपचार तथा रोकथामः

रोगी पशुलाई न्यानो र ओभानो ठाउँमा लगी राख्ने एभिल सुई लगाउने क्याफ्‌लोन पाउडर खुवाउने एण्टीबायोटिक सुई ३-५ दिनसम्म लगाउने

खोरेत

खोरेत विषाणुजन्य सरुवा रोग हो । गाईभैंसी बंगुरलाई जस्तो असर यसले बाख्रामा पुऱ्याउँदैन तर बाख्रामा रोगको असरले तुहिने, खान नसक्ने र हिड्डुलमा कठिनाई हुने हुँदा सतर्कता भने लिनुपर्छ ।

लक्षणहरू

ज्वोरो आउने १०४-१०५डि. फ. ।

यल काढ्ने ।

खान मन नगर्ने ।

मुख च्याप च्याप गर्ने ।

खुरको विच भागमा रातो भएर घाउ देखिने र खुट्टा खोच्याउने ।

जिब्रो सुन्निने र पानी फोका देखिने आदि ।

उपचार र रोकथाम : 

- लक्षण अनुसार उपचार गर्ने

- मुखको घाउ सफा गर्न फिटकिरी पानी या पोटास पानी प्रयोग गर्ने ।

- खुट्टामा फिनेल झोलले सफा गरी हिमेक्स मल्हम लगाउने ।

- पशुलाई बथानबाट अलग्गै राखी उपचार गर्ने।

- प्रत्येक वर्ष खोप लगाउने ।

 सि.सि.पि.पि.

शुक्ष्म किटाणुको कारणबाट बाखामा लाग्ने यस रोगलाई खतरनाक नै मानिन्छ र यसमा मृत्यु दर ६०-१०० प्रतिशतसम्म भएको पाईएकोछ । धेरै बाखा एकैठाउँमा जम्मा गर्ने र राख्ने वा सानो ठाउँमा क्षमता भन्दा धेरै जनावरहरू राख्नाले यो रोग देखापर्न सक्दछ ।

लक्षणहरू : 

बाखा कमजोर देखिने खाना मन नगर्ने जोरो आउने खोक्ने हिडाउंदा तुरुन्त थाक्ने र सास फेर्न समस्या हुने मुटु, जोनी र गीदीमा असर पर्ने

उपचार र रोकथाम

- टाईलोसिन नामक औषधि खुवाउने वा सुई लगाउने

- रोगी निरोगी छुट्‌याएर उपचार गर्ने

- रोकथामको लागि नियमित खोप लगाउने

- धेरै बाखा एकैठाउँमा भिड गरेर नराख्ने

बाखाको विफर : 

बाखा लगायत अन्य जनावरमा आउने विफर विषाणुको कारणबाट हुन्छ । विफर पशुको लागि घातक पनि हुनसक्छ । यो रोग सरुवा भएता पनि एक पशुबाट अर्को पशुमा सर्ने गति विस्तारै हुन्छ ।

लक्षणहरू : 

- शुरुमा ज्वोरो आउने

- आँखा सुन्निने

- चिप्रा लाग्ने

- नाकमा बाक्लो सिँगान जम्ने र नाक बन्द हुने

- श्वास नलीमा असर पर्ने र फोक्सोमा घाउ हुन सक्ने

- शरीरका अन्य भागमा समेत प्रभावदेखिने

उपचार र रोकथाम : 

- लक्षण अनुसार उपचार गर्ने

- घाउमा एण्टिबायोटिक मल्हम र आँखामा एण्टिबायोटिक झोल प्रयोग गर्ने

- रोकथामको लागि पक्स भ्याक्सिन लगाउने

Source : कृषक र प्रविधि 

 

सम्बन्धित विषय

थप समाचार