लेप्टोस्पाइरोसिस् जनावर र मानिस दुवैमा लाग्न सक्ने रोग हो । Leptospira spp. जीवाणुले लगाउने यो रोग जंगली र घरपालुवा दुवै खाले जनावरमा लाग्दछ । मानिसमा चाहिँ फाट्टफुट्ट देखिन्छ । लेप्टोस्पाइरोसिस् प्राय सबै स्तनधारी जीवमा लाग्न सक्ने भएता पनि गाई, बाखा, घोडा, बंगुर र कुकुरमा ज्यादा लाग्ने गरेको पाइएको छ ।
प्रभावित जनावरमा ज्वरो आउने, कफि रङ्गको पिसाब गर्ने, रक्तअल्पता हुने साथसाथै गर्भ तुहिने समस्या गराउँछ । उष्णप्रदेसिय ठाँउ र विशेष गरि वर्षायाममा यो रोगको संक्रमण ज्यादा हुने गरेको पाइएको छ ।
रोग सर्ने तरिका र जोखिम :
लेप्टोस्पाइरोसिस् रोगबाट ग्रसित पशुको पिसाबको माध्यमबाट यस रोगका जीवाणु बाहिर वातावरणमा आउँछन् । उक्त पिसाबको सम्पर्कमा आउने अन्य जनावर र मानिसमा रोग सर्ने सम्भवाना अत्याधिक भएर जान्छ । संक्रमित पिसाबले प्रदुशित गरेको पानीको स्रोत जस्तै डुड, इनार, पोखरी आदिमा यस रोगको जीवाणु लामो समय सम्म बाँच्न सक्ने हुनाले यस्ता स्रोतको पानी सेवन गर्ने जनावरहरूमा रोग लाग्दछ ।
वर्षायाममा खेत-बारीमा पानी जम्ने र यी ठाँउमा संक्रमित जनावरले पानी पिउने वा पिसाब गर्ने गरेमा, उक्त ठाँउ पुरै संक्रमित हुने र त्यसबाट अन्य जनावार र मानिसमा रोग फैलने जोखिम बढेर जान्छ । जंगली वन्यजन्तु र स-साना स्तनधारी जीव जस्तै मुसा आदिको यो रोग फैलाउनमा ठुलो भुमिका रहेको हुन्छ । यस्ता जनावरमा लेप्टोस्पाइरोसिस्का जीवाणु आश्रय लिएर बस्ने र अन्य जंगली र घरपालुवा जनावरलाई रोग सार्ने गरेको पाइएको छ ।
गाई गोठमा मुसाको संख्या अत्याधिक छ भने यस्तो अवस्थामा उक्त गोठका जनावरमा लेप्टोस्पाइरोसिस् रोग लाग्न सक्ने जोखिम अत्यन्त ज्यादा हुन्छ । लेप्टोस्पाइरोसिस् रोगबाट संक्रमित पशुमा प्रायजसो गर्भ तुहिने समस्या देखिन्छ। यसरी तुहिएको शिशु, पाठेघरबाट निस्किएको तरल पदार्थ र सालमा यस रोगका जीवाणु प्रसस्त रहेको हुन्छ ।
त्यसैले यस्ता चीजहरूको प्रत्यक्ष सम्पर्कमा आउने वा यस्ता चीजले संक्रमित बनाएको खानेकुरा, पानी, माटो वा भाँडाकुँडा आदिको सेवन/सम्पर्कबाट अन्य जनावर र मानिसलाई पनि लेप्टोस्पाइरोसिस् लाग्ने खतरा बढेर जान्छ । संक्रमित साँढे गोरुको विर्यमा लेप्टोस्पाइरोसिस् रोगको जीवाणु रहेको हुन्छ । त्यसैले त्यस्ता साँढेको प्रयोग प्रजनन्को लागि गरिएमा स्वस्थ्य गाईलाई रोग लाग्ने हुन्छ ।
रोगको लक्षणः
• अत्यधिक ज्वरो आउने, खाना खान मन नगर्ने कफि रङ्गको पिसाब गर्ने (रगतका कोष टुक्रिने र हेमोग्लोबीन पिसाबमा आउने)
• शरीर पहेंलो (Jaundice) भएर जाने । आँखा, गिजा र मुखको भित्री सतह साबिक झै गुलावी नभई सेतो वा पँहेलो हुने ।
• रगतको कमि हुने ।
• सास फेर्न गाहो हुने, मुटुको धड्कन तेज हुने ।
• ब्याउने गाई-वस्तुमा छैटौं वा सातौ महिना नाघे पछि गर्भ तुहिने ।
• लैनो गाईको दूध सुकेर जाने र कहिलेकाँही दूधमा रगत मिसिएर आउने ।
• स्नायु प्रणाली प्रभावित भएको भए घाँटी वा टाउको असामान्य ढङ्गले चलाउने खुट्टा र मांसपेशी चलाउन नसक्ने हुने आदि लक्षण देखा पर्दछन् । बिरामी पशुको मृगौला, फोक्सो, कलेजोमा रक्तश्राप हुने र सुन्निने गर्छ, काम गर्न नसक्ने हुन्छ ।
रोग लाग्न नदिने उपायहरुः
१. घरमा पालिएका गाई, भैसी, बाख्रा, कुकुर आदिलाई जंगली साना स्तनधारी जीवको सम्पर्कमा आउन नदिने । यो विशेष गरि खुल्ला चरणमा पालिएका गाई-वस्तुमा अपनाउनु पर्ने सतर्कता हो ।
२. घर-पालुवा जनावरलाई मुसाको सम्र्पक भन्दा टाढा राख्ने । यसको लागि गोठ र घरमा मुसा नियन्त्रणका उपायहरू अपनाउनु पर्छ ।
३. गर्भ तुहिएको पशुको हकमा तुहिएको शिशु, गठेघरबाट निस्किएको फोहोर, तरल पदार्थ, काल आदिलाई तुरुन्तै अलग ठाँउमा लगेर गाड्ने र गोठ पनि सफा गर्ने ।
४. मानिसहरूलाई पनि यो रोग लाग्न सक्ने हुनाले यसबाट बच्न विषेश ध्यान दिनुपर्छ । आफुले पालेका जनावरमा माथि उल्लेखित लक्षणहरू देखिएमा त्यसको मलमुत्र खाली हात खुट्टा नछुने । खेत-बारीमा वा पानी जमेको ठाँउमा काम गर्दा पुरा खुट्टा छोप्ने किसिमको जुत्ता (गमबुट) लगाउने । संक्रमित गाई दूध दुहुने मानिसलाई समेत यसको जोखिम हुन्छ त्यसैले दूध दुहिसकेपछि साबुन पानीले राम्रो सँग हात धुने गनुपर्छ ।
५. मानिसलाई ज्वरो आउने, टाउको दुख्ने, रिगँटा लाग्ने, सासफेर्न गाह्रो हुने जस्ता समस्या आउने साथ स्वस्थ्य सस्थामा उपचार गर्न जानु पर्दछ ।
उपचारः
प्रारम्भीक चरणमा नै रोगको पहिचान गर्न सकिएमा एन्टीबायोटिक्सको प्रयोग गरी उपचार गर्न सकिन्छ । उपचारमा धेरै ढिलो हुन गएमा विभिन्न अंगहरूमा क्षति पुगी पशुको मृत्यु समेत हुन सक्छ ।
Source :