नेपालमा कुल जनसङ्ख्याको करिब आधा भन्दा बढी मानिस प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा कृषि मा जोडिएका नै छन् । समस्या व्याप्त भएता पनि कृषिप्रतिको लगाव भने राम्रै छ नेपालमा । गाई भैँसी पालन पनि पछिल्लो समयमा कृषकको नजरमा परेको कृषि कर्म हो तर, यस व्यवसायमा विभिन्न किसिमका रोग तथा समस्याहरूले समय समययमा किसानलाई चिन्तित बनाउने गर्दछ । गाई भैँसीमा लाग्ने रोगहरूले पशु स्वास्थ्यमा मात्रै नभई दूध उत्पादन र मासु उत्पादनमा पनि असर पु-याउँदछ । त्यसैले समयमा नै रोग पत्ता लगाई समाधान गर्न तथा रोग नै लाग्न नदिन सचेत हुन आवश्यक रहेको छ ।
खोरेत रोग
खोरेत रोग गाई, भैँसी, भेडा, बाख्रा र बङ्गुरलगायतका खुरफट्टा जनावरहरूमा लाग्ने सरुवा रोग हो । यो एप्थो भाइरस नामक विषाणुबाट लाग्ने गर्दछ । खोरेतलाई अङ्ग्रेजीमा Foot and Mouth Disease (FMD) भनेर पनि चिनिन्छ । नाम अनुरूप रोगका मुख्य लक्षणहरू पनि मुख र खुट्टामा देखिन्छन् ।
रोग लाग्ने कारण र सर्ने माध्यम
अन्य संक्रमित जनावरहरूसँगको संलग्नता, गोठमा बाह्य मानिसहरूको खुला आवागमन र रोगी जनावरहरूको -याल तथा घाऊसँग लसपस भएका भाँडाकुँडा, घाँस–पराल, पानी, गोठका कामदारको कपडा, जुत्ता, चप्पल र हावाको माध्यमबाट यो रोग फैलिने गर्छ । समयमै खोरेतबिरुद्ध भ्याक्सिन नलगाउनु र कमजोर जैविक सुरक्षा नै यस रोगको कारक मानिन्छ ।
रोगका क्रमिक लक्षणहरूः
– सर्वप्रथम बिषाणुको संक्रमण भैसकेपछि गाईभैँसीको दूध ५०– ६० प्रतिशतसम्म घट्न सक्छ र तापक्रम १०४–१०६ डि.से.सम्म बढ्छ ।
– गाईबस्तु घासपानी नखाने, झोक्राएर बस्ने त्यसका साथै बारम्बार खुट्टा उचालिरहने जस्ता प्राथमिक लक्ष्यणहरू देखाउन थाल्छन् ।
– यसलगत्तै खुरका बिचमा फोकाहरू देखिने, खुर वरिपरि सुन्निएर पशुले बारम्बार खुट्टा उचालिरहने र मुखभित्र जताततै र जिब्रो वरिपरि फोका उठ्ने अनि जिब्रोको छाला निस्कने समस्या देखिन्छ ।
– यसैकारण पशुले जिब्रो बाहिर निकालिरहने, दाँत किट्ने, खुट्टा झट्कार्ने र निरन्तर -याल तथा फिँज चुहाइरहन्छ ।
– दुई तीन दिनपछि मुखभित्रका र खुरबिचमा फोका फुटेर घाउमा परिणत हुन्छन् । निरन्तर सफा गर्न नसकेका घाउ पाक्ने, किरा बस्ने खुर फाट्ने तथा खुट्टा टेक्न नसकी बसिरहने जस्ता समस्या पनि मुख्यतः गर्मी याममा देखिन्छ ।
असरहरूः
– दुहुना पशुहरूमा तुरुन्तै थुनेलोको समस्या देखिनुको साथै आउने एक बेत सम्म पनि दूध उत्पादनमा ह्रास आउन सक्छ ।
– ब्याउने पशुहरूमा गर्भ तुहाउने र ससाना जनावरहरूको मुटुको मांशपेशीमा नकारात्मक असर पर्न गई मृत्युसमेत हुने सम्भावना हुन्छ ।
– समयमा नै उपचार नगरे पशुको मृत्यु हुने भएकोले किसानहरूमा आर्थिक समस्या आइपर्दछ ।
रोगबाट बच्ने उपायः
यसका लागि समयानुकुल खोरेतबिरुद्धको भ्याक्सिन लगाउनु पर्दछ । यो भ्याक्सिन वार्षिक दुईपटक हिउँद र बर्खा याम छुट्टिने समय अगावै पशुहरूमा लगाइहाल्नुपर्छ । गोठको सरसफाई र जैबिक सुरक्षाका विधिहरूमा सधैँ ध्यान दिनुपर्छ ।
रोगको उपचार र रोकथामः
– यस रोग लागेपछि प्रमुख समाधान भनेकै जैविक सुरक्षा अपनाउनु पर्दछ ।
– संक्रमित पशुहरूलाई अन्य स्वस्थ पशुहरुबाट छुट्याएर राख्ने र तिनलाई खुवाउने साथै अन्य हेरचाह पनि छुट्टै भाँडाकुँडा प्रयोग गर्ने ।
– कामदार पनि छुट्टै खटाउने ।
– गोठमा काम गर्ने बाहेक अरु कसैलाई पनि गोठभित्र छिर्न नदिने । गोठमा सबैतिर चुन छरेर गोठलाई ओभानो राख्नुपर्छ ।
– विषाणु सार्न र लागेको घाउमा किरा पार्नुमा माँखा र भुसुनाहरूको मुख्य भुमिका हुनाले यिनीहरूलाई आउन नदिन गोठमा फिनेल पानी छर्नुका साथै अन्य प्रतिरोधात्मक स्प्रेहरू पनि प्रयोग गर्नुपर्छ ।
– गोठ सफा गरिसकेपछि ०.२ प्रतिशत साइट्रिक एसिड (Citric Acid) सबैतिर छर्किनाले गोठमा विषाणुको मात्रा घटाउन र सर्न नदिन पनि मद्दत गर्छ । संक्रमित पशुहरूलाई फिटकिरी पानी अथवा १–२ ग्राम पोटासियम परम्यागेनेट १० लिटर पानीमा मिसाएर सफा टालो लिई मुख गर्नुपर्छ ।
– खुट्टाको घाउमा पनि दिनहुँ यसैगरी सफा गर्न सकिएमा घाउ चाडो निको हुन्छ । एकपटक घाउहरू बनिसकेपछि निको हुन ८ देखि १० दिनसम्म लाग्छ ।
– बिरामी पशु कमजोर भएको बेलामा खस्रो खानेकुरा केही खान नसक्ने हुँदा भेली र चोकर अनि साथसाथै खनिज र भिटामिनयुक्त तत्व पानीमा मिसाएर जतिसक्दो दिनाले शक्ति पनि आउने र रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ ।
– यो रोग लागिसकेपछि बारम्बार ज्वरो आउन सक्ने हुनाले ज्वरो आएको खण्डमा ज्वरो घटाउने औषधिहरू प्रयोग गरिराखिनुपर्छ । अत्याधिक शारीरिक तापक्रम बढेको बेला जुटको बोरा पानीले भिजाएर शरीरमाथि राख्न सकिन्छ ।