बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

जिरीको सागको खेती प्रविधि

बिहीबार , साउन १० २०८१
17 views
जिरीको सागको खेती प्रविधि

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय : संसारभर सलाद बालीमा जिरीको सागको महत्वपूर्ण स्थान रहेको छ । यसलाई बैज्ञानिकहरु Lactuca sativa (Asteraceae) नामले चिन्दछन् । यो संसारभर (नेपालमा खासगरी तारे होटलहरुमा) सलादको रुपमा प्रचलनमा ल्याएको पाईन्छ। रगतमा सेता रक्तकोषको वृद्धिका लागि यो सागको विशेष महत्व रहेको पाइन्छ ।

नेपालमा यसको खेती शुरुवाति चरणमा मात्र रहेको र हाइड्रोपोनिक्स र एक्वापोनिक्स जस्ता प्रविधिबाट र केहि अगूवा कृषकहरुले सीमित मात्रामा उत्पादन गर्ने गरेको पाइन्छ । यो बालीका लागि जाडो याममा राम्रो उत्पादन लिन सकिने र १६-१३ डिग्रि सेन्टिग्रेड तापक्रममा यसको उत्पादन राम्रो हुने तथा तापक्रम बढी हुँदा (३० डिग्रिभन्दा माथि) यसमा छिटो बोल्टिंग वा फूल फुल्ने समस्या हुने गर्दछ ।

पोषक महत्व : 

यसको कोमल र रसिलो पात सलादको रुपमा हरियो अवस्था वा जात अनुसार रातो अवस्थामा उपयोग गर्ने गरिन्छ । यसको पातलाई प्याज नुन र कागतीको रसमा मिलाएर अचार बनाएर समेत सलाद वा ताजा अचारको रुपमा सेवन गर्ने गरेको पाईन्छ । यसको पातमा प्रशस्त मात्रामा खनिज तथा भिटामिन ए पाइन्छ ।

हावापानी : 

जिरीको सागका लागि चिसो हावापानी आवश्यक पर्दछ । नेपाल जस्तो पहाडी भूभागमा यसको खेती सफलतापूर्वक  गर्न सकिन्छ । तापक्रम १३-१६ डि. से. मा सबैभन्दा राम्रो पात उत्पादन गर्न सकिन्छ भने १८-२२ डि. से. मा पनि राम्रै उत्पादन हुन्छ । तापक्रम बढी भएको खण्डमा यसको फूल निस्कने काण्ड छिट्टै निस्कन्छ र पातको स्वाद तितो हुन थाल्दछ ।

माटो : 

जिरीको सागको सफल उत्पादनका लागि राम्रो निकास भएको दोमट माटो जसको पि. एच. मान ६.५-६ सबैभन्दा उपयुक्त मानिन्छ। यसको खेती अम्लीय माटोमा त्यति फस्टाउदैन। पि एच मान ५ भन्दा कम र ७ भन्दा बढी भएको खण्डमा यसको उत्पादन कम हुने गर्दछ । हाइड्रोपोनिकबाट जिरीकोसागको खेती गर्नका लागि बाली अवधिभर इलेक्ट्रिकल कन्डक्टिभीटि (EC) १.२ - १.३ र पि.एच. ६.५ कायम गर्नुपर्दछ ।

जातहरु :

विश्वमा जिरीका सागका जातहरुलाई रुप रंग र बनावटको आधारमा निम्नानुसार चार भागमा बिभाजित गरिएको पाइन्छ।

१. रोमेनर वर्ग (Romaine Type) : 

यो प्रजातिका जिरीको सागको पात चम्किलो तथा पातको टुप्पातिरको भाग लाम्चो आकारको हुने गर्दछ । यसको पातको किनारा हलुका बटारिएको र लाम्चो आकार भएकाले गर्दा बजारमा यसको माग बढी भएको पाइन्छ। यसमा DARK GREEN किसिमका जातहरु पर्दछन् ।

२. पात घुम्रने वर्ग (Curly Leaf Type) : 

यस वर्गमा पर्ने सागको पातमा बन्दा गोभीको जस्तो शीर्ष भाग बन्दछ अर्थात पातहरु एक आपसमा लपेटिएर रहेका हुन्छन् ।

३. ढिलो पात आउने प्रजाति : 

यो प्रजातिको पात फैलने र बोटका पातहरु गुच्छमा बन्ने तर एक अर्कोमा माथि नचढ्ने अर्थात नयू प्टिने खालका हुन्छन् । यो जात खानमा अति नै स्वादिष्ट हुन्छन् ।

४. बटर हेड प्रजाति : 

यो प्रजातिका सागको पात घुम्रिएका र खुम्चिएका र केहि फिका हरियो मख्खन रंगका हुन्छन् । यसको प्रमुख जातमा ह्वाइट बोष्टन हो। इम्पेरियल ८९५- यसको हेड मध्यम आकारको र ठोस हुन्छ । यसका पातहरु कस्सिएर रहेका हुन्छन् र यसलाई गर्मी मौसममा पनि सफलतापूर्वक खेती गर्न सकिन्छ ।  इम्पेरियल ८९५- यसको हेड मध्यम आकारको र ठोस हुन्छ । यसका पातहरु कस्सिएर रहेका हुन्छन् र यसलाई गर्मी मौसममा पनि सफलतापूर्वक खेती गर्न सकिन्छ ।

माटो तथा जमिनको तयारी : 

यो बाली कम गहिराइमा फल्ने तरकारी हो। तसर्थ यसका लागि बढी गहिराइमा जोत्नु आवश्यक पर्दैन । २ जोताइ पहिलो सामान्य कल्टिमेटरले र दोश्रो जोताइ पछी माटो सम्याए गरे पुग्छ ।

मलखाद : 

नेपालमा यो बालीको खेती भर्खरै मात्र केहि सिमित किसानले त्यो पनि सहरी समुदायलाई लक्षित गरि खेती गरेको पाइन्छ । नेपालको पहाडि क्षेत्रमा यस खेतीको राम्रो सम्भाव्यता रहेको छ । यदि व्यवसायिक तर्वरबाट यसको खेती गर्ने भए प्रति रोपनीका लागि १-१.५ टन राम्ररी कुहिएको गोवरमल वा कम्पोष्ट मलका अलावा ६.५ के.जी. डि.ए.पि. ८.३ के.जि. युरिया र ५ के.जि. म्युरेट अफ पोटास प्रति रोपनी का दरले माटोमा मिलाउनुपर्दछ । पोटास र फस्फोरसको पुरा भाग र नाइट्रोजनको आधा भाग जमिनको अन्तिम तयारी गर्दाका बखत माटोमा मिलाई सक्नुपर्दछ भने बांकी रहेको नाइट्रोजनलाई टपड्रेसीगका रुपमा बीउ छरेको ३०-४५ दिनका बिचमा टपड्रेस गर्दा राम्रो नतिजा प्राप्त गर्न सकिन्छ ।

बीउदर : 

यसको खेतीका लागि एक रोपनी जग्गाका लागि २५ ग्राम बीउ भए पर्याप्त हुन्छ ।

बीउ उपचार : 

जिरीको सागको बीउ रोप्नु पूर्व बीउलाई थिराम वा एग्रोसिन जी वा क्याप्टन विषादी ३ ग्राम प्रति के. जि. बीउका दरले बीउ उपचार गरी रोपेमा रोग कम लाग्दछन् ।

बीउ रोप्ने तरीका : 

जिरीको सागका लागि २ तरिकाले यसको खेती गर्ने प्रचलन रहेको छ।

१. सोझै बीउ जमिनमा रोपेर खेती गर्ने

२. बीउबाट बेर्ना तयार गरी बेर्ना सारेर खेती गर्ने

बीउलाई सोझै जमिनमा रोपेर खेती गर्ने हो भने हामीले यसको बीउलाई भदौ-असोज तथा माघ-फागुनमा मध्य पहाडमा र असोज-कार्तिकमा तराइमा तथा फागुन/चैत्र - बैशाखमा उच्च पहाडमा बीउ रोप्न सकिन्छ। जिरीको सागको नर्सरीमा बेर्ना तयार गरी रोप्नका लागि बीउलाई नर्सरीमा जमाइन्छ । बेडको साइज १ मि चौडाइ र आवश्यकतानुसार लम्बाईको बनाउन सकिन्छ। यदि सेल ट्रैमा बेर्ना उत्पादन गर्ने हो भने कोकोपिटलाई ३-४ पटक सफा पानीले राम्रोसंग धोइ पखाली गरी त्यसमा भएको नुनको मात्रा सबे निस्कन दिइसकेपछि आयतनमा बराबर भाग हुने गरी गड्‌यौली मल वा राम्ररी कुहिएको गोठे वा कम्पोष्ट मल मिलाईकन सेलट्रेलाई हलुका संग भर्ने र बीउ रोपी जुटको बोराले छोपिकन हजारीले पानी दिने गर्नुपर्दछ । करिब ५-६ हप्ता पछि यी बिरुवाहरु ४-५ पाते भइ रोप्न लायक हुन्छन् तब ती बिरुवालाई मुख्य खेतबारीमा रोप्न सकिन्छ ।

रोप्ने दुरी : 

यसको लागि बिरुवाको रोप्ने दुरी एक ड्यांग देखि अर्को ड्यांगको बिचमा ४५ से.मि तथा एक बोट देखि अर्को  बोटको दुरी ३० से.मि कायम गर्दा राम्रो उत्पादन लिन सकिने र झारपात नियन्त्रण तथा विषादी एवं मल प्रयोग गर्न सजिलो हुने र उत्पादन राम्रो हुने पाइएको छ ।

बिरुवा रोपेपछि तत्काल र नसरुन्जेलसम्म सिचाइ गर्नु अति नै आवश्यक हुन्छ अन्यथा बिरुवा मर्न सक्ने संभावना बढ्दछ । माटोको चिस्यान र मौसम अनुसार ३-४ दिनको फरकमा सिंचाइ दिइरहनु राम्रो हुन्छ । यदि माटोमा पर्याप्त मात्रामा चिस्यान कायम भएन भने छिटो फूल फुल्ने वा वोल्टिंग हुने हुँदा माटोमा चिस्यान कायन गरिरहनु बाली अवधिका लागि लाभदायक हुने गर्दछ ।

हार्भेष्टिंग : 

यसको हार्भेष्टिंग बालीको जात र वर्ग अनुसार फरक पर्दछ तापनि औषतमा बेर्ना रोपेको ४०-४५ दिनमा यसको हार्भेष्टिंग गर्न सकिन्छ । हेडिंग टाइपवाला जातहरुको शिर्षभाग राम्रो बनिसकेपछि मात्र टिप्ने गरिन्छ । उपज- जिरीको सागको उत्पादन माटोको उर्वराशक्ति, बालीको प्रकार, उत्पादन विधि, बाली व्यवस्थापन आदिले फरक पार्दछ । तापनि यदि राम्रो मलजल दिएर खेती गरिएको खण्डमा प्रति रोपनी ४००-५०० के.जी. जिरीको साग उत्पादन गर्न सकिन्छ ।

रोग तथा किराहरु : 

जिरीको सागमा खासगरी लाही तथा सुलसुलेले बढी मात्रामा दुख दिने गर्दछन् । लाहीका लागि कुनै पनि दैहिक विषादी जस्तै गाइवस्तुको गहुतमा पानी मिलाई प्रयोग गर्ने वा इमिडाक्लोप्रिड १ एम.एल. प्रति ३ लिटर पानीमा मिलाई प्रयोग गर्न सकिन्छ ।

त्यस्तै सुलसुले का लागि प्रोप्लेक्स विषादी १ एम एल प्रति ३ लिटर पानीमा मिलाई प्रयोग गर्ने। ख्याल गर्नुपर्ने कुरा के छ भने यदि जिरीको साग टिप्न लायक अवस्थामा रहेको खण्डमा विषादी प्रयोग नगर्ने र विषादी प्रयोग गरिसकेपछि पर्खने अवधिलाई अनिवार्य रुपमा पालना गर्नुपर्दछ ।

यसमा लाग्ने रोगहरुमा downy mildew, grey mould र sclerotinia मुख्य रहेका छन् । यसका लागि एक्रोव्याट यस. सी. नामक विषादी १.५-२ एम. एल. विषादी प्रति लिटर पानीमा मिलाई वा अन्य ढुसीनाशक प्रयोग गर्न सकिन्छ ।

सन्दर्भ सामग्री: कृषि सूूचना तथा प्रशिक्षण केन्द्र्र, हरिहरभवन( कृषि पत्रिका ) 

सम्बन्धित विषय

थप समाचार