बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

जडिबुटि खेती : खडकिएको समस्या

सोमबार, साउन १४ २०८१
10 views
जडिबुटि खेती  : खडकिएको समस्या

समाचार शेयर गर्नुहोस्

Share this news

जडीबुटी भन्नाले साधारणतया औषधिका लागि प्रयोग गरिने वनस्पतिका जरा, फलफूल, बोक्रा, काण्ड वा पात आवि बुझिन्छ । हाम्रो गाउँघरतिर प्राकृतिक रुपमा पाइने जडीबुटीहरु रोग निदानका लागि अचुक वाणका रुपमा सिद्ध भएका छन् । मानिसहरुले परापूर्व कालदेखि नै विभिन्न रोग व्याधी तथा लडे मर्केको भाँचिएकोमा उपचारका लागि जडीबुटी को प्रयोग गर्दै आएको पाइन्छ । जडीबुटीको इतिहासलाई कोट्‌याउनु पर्दा यो धार्मिक पक्षसंग जोडिएर आएको छ ।

हाम्रा विभिन्न धर्म ग्रन्थहरु ऋगवेद, अर्थववेद, आर्युवेद, चरक संहिता, पुराण, महापुराण, आदिमा जडीबुटी वारे व्याख्या गरेको पाइन्छ । हाम्रा गाउँघरमा मानिसहरु विमारी पर्दा सर्वप्रथम यस्तै जडीबुटी प्रयोग गर्ने गरिन्छ, । यस्ता जडीबुटीको औषधि बनाई दिने व्यक्तिलाई निकै आदर सत्कार पनि गरिन्छ । विश्वको ३ प्रतिशत जैविक विविधता भएको हाम्रो देशमा १०९१ प्रजातिका औषधिजन्य जडीबुटी वनस्पतिहरु पत्ता लागि सकेको छ तापनि केही वर्ष यतादेखि हाम्रो जडीबुटी सम्पदामा हास आउन थालेको छ । केही प्रजाति लोप भई सकेका छन् ।

नेपालमा पाईने १०९१ प्रजातिका वनस्पतिहरु मध्ये ७०० प्रकारका प्रजाति जडीबुटीमा समावेश भएका छन् । जसमध्ये ८ प्रकारका बहुमूल्य जडीबुटीहरु लोप हुने अवस्थामा छन् । मानिसहरुमा एलोपेथिक औषधीको प्रयोग गर्ने बानीका कारण हाम्रा बहुमूल्य जडीवुटीहरु गाई बस्तुको सोतरका लागि प्रयोग भैरहेका पनि छन् र कतिपय चाँही सस्तो भुसको मूल्यमा विदेश निकासी भई रहेका पनि छन् । एलोपेथिक औषधीमा अत्याधिक मुनाफा र त्यसको प्रचारका लागि गरिएको बढी लगानीले गर्दा यी अमृत जन्य संञ्जिवनी जडीबुटीहरु प्रतिस्पर्धामा आउन सकेका छैनन् । अर्को तर्फ हाम्रो जस्तो गरिव देशमा उत्पादन हुने भएकाले यसबाट बन्ने औषाधी उचित गुणस्तरयुक्त बनाउन पनि सकिएको छैन।

हाम्रो जस्तो गरिब राष्ट्रका लागि जडीबुटी विदेशी मुद्रा आर्जन गर्ने भरपर्दा श्रोत हुनसक्ने र यसले नेपालको अर्थतन्त्रमा उल्लेखनीय टेवा पुग्न सक्ने कुरा सम्बन्धित विशेषज्ञहरु बताउँछन् । हालका दिनहरुमा गाउँघरमा धान, कोदो, मकै जस्ता अन्नबालीहरु मात्र खाद्यान्नको रुपमा खेती भएको छ । यस्ता अन्नबाली बजारमा विक्री वितरण गरेर आय आर्जनमा बढाउन सकिने अबस्था छैन । यसले गर्दा हिमाली र पहाडी क्षेत्रमा अन्नबालीको खेतीमा सिमितता आएको छ । यसको विकल्पमा आयश्रोत बढाउने विकल्पको रुपमा जडीबुटी खेती एक उपाय हुन सक्छ । व्यापारिक दृष्टिले व्यावसायिक रुपमा खेती गर्न सकिने लेमन ग्राम, सिट्टनेला, मेन्था, चिराईतो, लौठसल्ला, पदमचाल कुट्की, कुरिलो, रिठ्ठा, टिमुर, सुगन्धवाल, निरमसी, जटामसी, सर्पगन्धा, अश्वगन्धा, मालागेडी, सुगन्धकोकिला, दालचिनी ईत्यादि जडीबुटी रहेका छन्। यिनको खेती गर्न सकेमा यसले स्वरोजगारी बढाउनुको साथै दिगो आयआर्जन हुने, राजश्वमा वृद्धि र खेर गईरहेको भू-श्रोतको समुचित व्यवस्थापन समेत हुने हुन्छ ।

जडीबुटी सरंक्षण र खेती प्रवर्द्धनका लागि विगतमा केही वर्षदेखि विभिन्न गोष्ठि, तालिम, सेमिनार, सभा, सम्मेलन सम्पन्न हुँदै आएको पनि देखिन्छ। यो सकारात्क पक्ष हो तापनि एकातिर यसको व्यावसायिक खेती भएको पाईएको देखिदैन भने अर्कोतिर प्राकृतिक जडीबुटीहरुको आन्तरिक नियन्त्रण प्रणाली विकास गरी संकलन कार्य हुन सकिरहेको छैन । कागजी रुपमा मात्र दिगो संकलन प्रविधिको विकास भएको देखिन्छ। हालका दिनहरुमा देशका एक दुई ठाउँहरुमा अध्ययन अनुसन्धानका नाममा संरक्षण खेती शुरुआत भएका छन् । तापनि यसको खेती प्रविधि कसरी गर्ने, नर्सरी गर्ने प्रविधि बीउ विजन श्रोत कहाँ र कसरी पाइन्छ भन्ने कुरामा सर्व साधारणलाई जानकारी दिने खालका समाग्रीहरुको अभाव रहेको छ । व्यापारिक दृष्टिले बहुमुल्य जडीबुटीहरु दुर्गम हिमाली क्षेत्रमा रहेका छन् । त्यहाँ बसोबास गर्ने अधिकाश बासिन्दा जडीबुटी खेती प्रविधि वारे पूर्णरुपमा अनविज्ञ रहेका छन् ।

सिमित व्यक्तिहरु जो जडीबुटीका विषयमा केही जानाकार छन् उनीहरुमा जडीबुटी खेती गर्न विशेष चाहना र उत्सुकता छ तर यातायातको कठिनाई र विकट ठाउँमा खेती गर्नु पर्ने भएकाले व्यावसायिक खेती गर्न भने उनीहरु पनि लागेका छैनन् । उनीहरु अरुलाई तालिम दिनु परेमा प्रशिक्षकको रुपमा मात्र प्रस्तुत हुन चाहान्छन् । जडीबुटीको संरक्षण र व्यवस्थापनका लागि जिम्मेवार रहेका सरकारी कार्यालयहरु वनस्पति विभाग अनुसन्धान कार्यमा मात्र सिमित रहेको देखिन्छ। यसै गरी जिल्ला स्थित वन कार्यालयहरु जडीबुटीको दिगो व्यवस्थापन र खेती गर्ने तर्फ भन्दा पनि सर कारी वन क्षेत्रमा रहेका जडीबुटीहरुको संकलन इजाजत दिने र त्यसको छोडपुर्जी बिनेमा नै अलमल्लिएका देखिन्छन् । वन ऐन २०४९ र वन नियमावली २०५१ मा समेत जडीबुटी व्यवस्थापनमा खेती प्रविधिको वारेमा महत्व दिएको पाइदैन । जडीबुटीको विकासका लागि नेपाल सरकारले जडीबुटी विकास नीति २०६१ आदि व्यवस्थापन सार्वजनिक गरेको छ। यसमा जडीबुटी नमूना क्षेत्र घोषण तथा जडीबुटी खेती दर्ता, खेतीका प्रोत्साहन आदि व्यवस्था गरिएको छ। वन ऐन र नियमावलीमा सरकारी वन क्षेत्रमा रहेका जडीबुटीको व्यवस्थापन कार्ययोजना बनाई जिल्ला वन कार्यालबाट राजश्व उठाई गैह काष्ठ वन पैदावारको बिक्री वितरण गर्न सक्ने प्रावधान रहेता पनि विस्तृत कार्ययोजना बन्न नसकि राजश्व उठाउने जिम्मेवारी बाहेक अन्य सिर्जनशील काम हुन सकेको देखिदैन ।

हाल आएर जनसमुदायमा आधारित सफल कार्यक्रमको रुपमा रहेको सामुदायिक वन र कबुलियतीवन उपभोक्ता समूहहरुको कार्ययोजनामा जडीबुटी खेती संलग्न रहेको देखिन्छ तापनि प्रविधिको कमी, उचित बजार व्यवस्थापनको अभावले समूहहरु सशक्त रुपमा जडीवुटी खेतीमा अग्रसर हुन सकेको देखिदैन । जडीबुटी खेतीलाई राष्ट्रिय कार्यक्रमको रुपमा अगाडि बढाउन सकेको खण्डमा यसले गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने कुरा निर्विवाद रहेको छ । यसका लागि जडीबुटी समूह गठन गरी खेतीका लागि प्राविधिक सहयोग, अनुदान, बजार व्यवस्थापन र जडीबुटी खेतीका लागि कानूनी सरलताको व्यवस्था गर्नुपर्ने हुन्छ । आफूले खेती गरेका जडीबुटीहरु निर्धक्कसंग खुल्ला बजारमा बिक्री गर्न पाउनु पर्ने, खेती गरिएका जडीबुटीहरुको प्रमाणीकरणको व्यवस्था सरल हुनु पर्ने जस्ता कानूनी प्रावधानक्य व्यवस्थाले कृषकहरु यसतर्फ आकर्षक हुन सक्नेछन् ।

हाल आएर सामुदायिक वनबाट आय आर्जन र गरिवी न्युनीकरण गर्न दोश्रो उत्पादनको रुपमा जडीबुटीले चर्चा पाउन थालेको छ । तर विद्यमान ऐन नियम अनुसार वनबाट वन पैदावर लिनको लागि वनको उत्पादनमा वृद्धि हुनु अनिवार्य हुन्छ अन्यथा वन कटानी गर्न पाइदैन । यस्तो अवस्थामा वनको कहाँ कसरी कति परिमाणमा जडीबुटी खेती लगाउने भन्ने वारे स्पष्ट हुन सकिदैन । अर्कोतिर वनको उपभोक्ताहरु वनमा जडीबुटी खेती गरी आम्दानी बढाउन त चाहान्छन् तर उनीहरुलाई जडीबुटी खेती सम्बन्धी प्राविधिक ज्ञान भने दिन सकिएको छैन । कागजी रुपमा जति कुरा भएपनि खास कामको थालनी कहाँबाट कसले कसरी गर्ने भन्ने जिम्मा लिने कुरामा नै द्विविधा रहेको देखिन्छ । उपभोक्ता समूहहरुमा प्राविधिक ज्ञानको कमीले गर्दा यसको खेती गर्न शुरु गर्ने समूहहरु देखा पर्न सकेका छैनन् ।


वशौं पञ्च वर्षिय योजनामा समेत विशेष जोड दिइएको क्षेत्रहरु अन्तरगत दिगो कृषि विकास, प्राकृतिक श्रोतको दिगो व्यवस्थापन र जैविक विविधता रहेको छन् । प्राकृति विविधतामा पाइने विभिन्न जडीबुटीहरुको संकलन तथा बिक्री व्यवस्था के कसरी गर्ने भन्ने ज्ञानको कमीका कारण ग्रामिण क्षेत्रमा जडीबुटी खेतीले ग्राहयता पाउन सकेको छैन । राम्रो बजार व्यवस्थापन नभएकाले प्राकृतिक स्थलबाट संकलित जडीबुटीहरु ज्यादै न्यून मूल्यमा बिक्री गर्नु परिरहेको पनि छ । बजार व्यवस्थाको अभावले जडीबुटी संकलकहरु एकतान्त्रिक (मनोपोली) बजारमा ठगिदै आएका पनि छन् । जडीबुटी भन्नासाथ वन जंगलमा र भिरपहरामा हुने वनस्पतिहरु भन्ने संझने हाम्रो सोचाईका कारणले जडीबुटीलाई व्यावसायीक खेतीमा परिणत गर्न अप्ठ्यारो भएको छ । देशमा दिगो आय आर्जन र गरिबी निवारणका लागि उल्लेखनीय योगदान दिन सक्ने जडीबुटीको प्रवर्द्धनको लागि सरकारी र निजी क्षेत्रको सयुक्त पहल हुनुपर्ने देखिन्छ । विशेषत दुर्गम भेगमा रहेको जडीबुटी संकलनमा स्थानीय अनुभव, ज्ञान र सीपको कदर गर्दै खेती प्रविधिको कानूनी व्यवस्था र व्यवहारिक कार्यक्रम् आजको आवश्यकता भएको ती क्षेत्रमा जडीबुटी खेती गर्न र संकलन गर्न संलग्न हुनेहरुलाई जडीबुटी खेतीमा व्यावसायिकता दिन संलग्न गर्नुपर्ने जरुरी देखिन्छ ।

हाल अन्तर्राष्ट्रिय रुपमा नै हुँदै गरेको विश्वव्यापीकरण, विश्व व्यापार संघमा नेपालको प्रवेश भएपछि जडीबुटीहरुको पेटेन्ड (पेवा अधिकार) लिन तथा विगो उत्पादन व्यवस्थापनका लागि वन प्रमाणीकरण कार्यक्रम गर्नुपर्ने देखिन्छ । यदि यसो गर्न नसक्ने हो भने यसले नेपालको जडीबुटीको व्यापारमा प्रत्यक्ष असर पर्दछ । परापूर्वकालदेखिका हाम्रा उत्पादन आफ्‌नो नामका दर्ता हुन नसके ती जडीबुटी न्यून मूल्यमा खेरा फाल्नु पर्ने हुन्छ । यसको साथै अन्र्तराष्ट्रिय वजारमा खुल्ला बिक्रीका लागि मूल्य नपाउने बढ्दो सभावना समेत भएकाले समयमै जडीबुटीहरुको दर्ता गर्ने र आफ्‌नो अधिकार सुरक्षित गर्ने तर्फ पनि नेपालले पाइला चाल्नु पर्छ ।

यसको लागि उपर्युक्त ऐन कानूनको व्यवस्था, निजी क्षेत्रलाई जडीबुटी खेती प्रविधिका लागि लगानी प्रोत्साहन कार्यक्रम, जडीबुटी खेतीका लागि कवुलियती वन सहयोग कार्यक्रम, जडीबुटी प्रशोधन उद्योग स्थापना, प्राकृतिक वनमा रहेका जडीबुटीको व्यवस्थापन कार्य योजना तयारी, प्रवर्द्धन तथा विकासका कार्यक्रम कार्यान्वयन, दिगो बजार व्यवस्थापन संजालको विकास, आर्युवेदिक औषधालयको व्यवस्था तथा आर्युवेदिक उच्च शिक्षाको व्यवस्था आदि कार्य गर्न सकेमा नेपालमा जडीबुटी खेतीले व्यावसायिकता हासिल गरी यसले देशको आम्दानी बढाउन तथा गरिवी निवारणमा निकै टेवा पुऱ्याउन सक्दछ । T

Source : कृषि चौमासिक, हरिहरभवन , ललितपुर (- श्री भट्ट )

थप समाचार