बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

सुन्तलाजात फलफूलको सिट्रस सिल्ला कीरा

मंगलबार, साउन २२ २०८१
27 views
सुन्तलाजात फलफूलको सिट्रस सिल्ला कीरा

समाचार शेयर गर्नुहोस्

Share this news

पृष्ठभूमी : 

सुन्तलाजात फलफूल नेपालमा किसानको जीविकोपार्जन सहयोग साथै आम्दानीको एक प्रमुख स्रोतको रुपमा रहेको छ । नेपालमा सुन्तलाजात फलफूलको ह्रास विविध कारणहरुले गर्दा भैरहेको अवस्था छ । बिभिन्न रोग कीराहरु बगैंचा स्थापना, व्यवस्थापन साथै माटो र खाद्यतत्व सम्बन्धी समस्याहरू सुन्तलाजात फलफूलको ह्रासका कारकहरु हुन् । सुन्तलाजात फलफूल बगैंचाहरुमा हाल सिट्रस ग्रिनिङ्ग रोग सुन्तलाजात फलफूलको हास समस्याको मुख्य कारणको रुपमा देखा पर्दै आएको पाइन्छ । यो रोग संवाहक कीरा सिट्रस सिल्लाले सार्न सक्ने भएको हुदाँ सो कीराको पहिचान, अनुगमन र व्यवस्थापनका कार्यहरु महत्वपुर्ण रहेका छन् ।

सिट्रस सिल्ला कीरा : 

एसियन सिट्रस सिलिड वा सिट्रस सिल्लाको बैज्ञानिक नाम डायफोरिना सिट्री (हेमिप्टेरा: सिलिडे) हो। एसियन सिट्रस सिलिड कीराको उत्पत्ति एसियामा भएको थियो तर अहिले यो मध्य पूर्व. दक्षिण र मध्य अमेरिका, मेक्सिको र क्यारिबियनका केही भागहरूमा पनि पाइन्छ । सुन्तलाजात फलफूलको बिभिन्न शत्रु कीराहरु मध्ये सिट्रस सिल्ला एक महत्वपुर्ण कीरा हो । सिट्रस सिल्ला कीराले बोटविरुवाको पात तथा कलिलो मुनाबाट रस चुसी क्षति गर्ने गर्दछ । कीराको शिशुकीट अवस्था र बयस्कले चुसेका पातहरु र मुनाहरुमा कर्कक/खुजुमुजु परेको बिकृत देखिन्छ । यो कीराले पात तथा कलिलो मुनामा चुस्दा रसको लतपत छोड्दछन् यसले कालो ध्वाँसे रोगलाई बढवा दिन्छ । यो कीराहरुले चुसेर बोटलाई क्षति गर्नुका साथै सिट्रस ग्रिनिङ्ग रोग कारक शुक्ष्मजीवाणु सार्दछन् । मुख्य रुपमा यो कीराले सिट्रस ग्रिनिङ्ग रोग कारक व्याक्टेरिया (ग्राम निगेटिभ फ्लोयम रेष्ट्रिक्टेड व्याक्टेरिया Candidatus liberibacter asitaticus ले गर्दा हुने यो सिट्रस ग्रिनिङ्ग (हृवाङ्गलाङ्गबिन) रोग) को संवाहकको कार्य गर्दछ। 

सिट्रस सिल्ला रुटेसी परिवार (सुन्तलाजात फलफूल) को वनस्पतीहरुमा बस्ने र प्रजनन् गर्ने गर्दछन् । कामिनी, कडिपत्ती, बोके जामुन, असारे, बन बकाईनो मुख्य आश्रयदाता वनस्पतिहरु हुन्। यो कीराले चैत्र, बैशाख देखि भदौ, असोज सम्म उच्च दरमा सन्तान वृद्धि गर्दछन् । यो कीरा प्रायः जसो गर्मी क्षेत्रमा बढी पाईन्छ। पहिले यो कीरा समून्द्री सतह देखि १०००-११०० मिटरको उचाई भन्दा कम भएको स्थान-तराई क्षेत्र पाइने गरेकोमा, हाल जलवायू परिवर्तनको प्रभावले सो क्षेत्र भन्दा उच्चा स्थानमा समेत देखा पर्न थालेको छ । यसर्थ यो कीराको उपस्थिती रहेको स्थानको खुल्ला अवस्थामा सुन्तलाजात फलफूलको नर्सरी संचालन गर्न सान्दर्भिक हुदैन । नेपालको बिभिन्न स्थानमा सर्भे, सर्भिलेन्स गर्दा सिट्रस सिल्ला कीरा पाइएको बिवरण तलका तस्विरहरुमा प्रस्तुत गरिएको छ।

जीवन चक्र : 

यो कीराको जीवन चक्रमा वयस्क, अण्डा र शिशुकीट अवस्थाहरू हुन्छन् । वयस्क कीराहरु 3 देखि 4 मिमी लामो र खैरो शरीर भएको हुन्छन् । जीवित कीरा सेतो, मैनजस्तो पदार्थले ढाकिएको हुन्छ, यसले कीरालाई धूलो जस्तो देखाउँछ। वयस्कहरू सक्रिय हुन्छन्, उफ्रन, र छोटो दूरीमा उड्न सक्दछन् ।

अण्डा (फुल) लगभग ०.३ मिमी लामो, बदामको आकारको, आधारमा बाक्लो र टुप्पोमा पातलो हुन्छ । भखरै पारेको अण्डा (फुल) फिक्का हुन्छ, तर त्यसपछि पहेंलो र अन्तमा सुन्तला रंगको हुन्छ । फुलहरू सीधा स्थितिमा बोटको कलिलो भाग/तन्तुमा एकै ठाउँमा धेरै संख्यामा हुन सक्दछन् ।

निम्फ् (शिशुकीट) हरु पहिलो अवस्था (इन्स्टार) मा ०.२५ मिमी लामो हुन्छन्, र अन्तिम (५ औं) अवस्था (इन्स्टार) मा १.५ देखि १.७ मिमी लामो हुन्छन् । यिनीहरूको रङ सामान्यतया पहेंलो- सुन्तले हुन्छ ।


अण्डा (फुल) देखि वयस्कसम्मको विकास २८ डिग्री सेल्सियस तापक्रममा १४ दिन र १५ डिग्री सेल्सियस तापक्रममा ४९ दिनसम्म लाग्ने हुन्छ । नयाँ वयस्कहरू २ वा ३ दिन भित्र प्रजनन परिपक्वतामा पुग्छन् र संभोगको लगभग १ वा २ दिन पश्चात् फुल पार्न सुरु हुन्छ र वयस्कहरू धेरै महिनासम्म बाँच्न सक्दछन् । पोथी कीराले आफ्नो जीवनकालमा ८०० भन्दा बढी फुल पार्दछन् ।

सिट्रस सिल्ला कीराको वयस्क र शिशुकीट अवस्थाको अनुगमनका लागि भर्खरै निस्किएका नयाँ पालुवा/मुनाहरु वा कलिला पातहरुमा ध्यान पूर्वक हेर्नुपर्दछ । यो कीराको वयस्क अवस्था खासगरी ४५ डिग्रीको कोण बनाएर समूहमा बसेका हुन्छन् ।

सिट्रस सिल्ला र सिट्रस ग्रिनिङ्ग रोगः

नेपालमा सुन्तलाजात फलफूल बगैंचा हास समस्याको कारणहरु मध्ये मुख्य एक कारण सिट्रस ग्रिनिङ्ग रोग सुन्तलाजात फलफूल खेतीको प्रमुख चुनौतीको रुपमा रहेको छ। यस रोगको कारक सुक्ष्म जिवाणु कलमीबाट र संवाहक कीरा (सिट्रस सिल्ला) ले सार्दछ । सिट्रस ग्रिनिङ्ग रोगको सुरुवातमा एउटा वा थोरै हागाहरु पहेलिन्छन् जुन पछि सबै बोटहरुमा फैलिन्छन् ।

संक्रमित बोटहरुमा रोगको प्रकोप बढ्‌दै जाँदा बोटको वृद्धि रोकिने, मुना, हाँगाको टुप्पा सुक्ने, पातहरु पहेलिने र फल झर्ने हुन्छन् । दुई तीन बर्षमा सबै बगैंचा हास हुन्छ । पातहरु स-साना आकारका हुन्छन् । पातहरु छिरविरे हुन्छन् । छिपिएका पातहरुमा नसाको वरपर अनियमित धब्बाहरु देखिन्छन् । पातको नशाहरु पनि पहेलिन्छन् । अधिक पात झर्ने र बेमौसममा स-साना पातहरु आउने, ठाँडा ठाँडा पात निस्कने हुन्छन् । रोगी बोटको फलहरु राम्ररी विकसित नभएको सानो आकारको हुन्छ। फलहरु हरियो नै रहने वा राम्ररी रड्रेग नचढ्ने हुन्छन् । फलको रस अमिलो हुने, गुलियोपना कम हुने हुन्छ।

व्यवस्थापन : 

सुन्तलाजात फलफूल बगैंचा वरपर रहेका सिट्रस सिल्ला कीराको आश्रयदाता बनस्पतिहरु कामिनी, कडिपत्ती आदी उखेलेर नष्ट गर्नु पर्दछ । साथै, यो कीराको बिभिन्न अवस्थालाई प्राकृतिक रुपमा स्त्री स्वभावको खपटे र बिभिन्न जीवहरुले नियन्त्रण गर्दछन् । परजिवी कीरा जस्तैः टामारिक्जिया रेडिएटा; शिकारी कीराहरुः सिफिंड, क्राईसापिड र थोप्ले खपटे कीराहरु आदीलाई संरक्षण र उपयोग गर्नु पर्दछ । सिट्रस सिल्ला कीरा ब्यवस्थापन गर्न सुन्तलाजात फलफूल बगैंचामा बोटहरुबाट नयाँ पालुवा निस्कन अगाबै सुशुप्त अवस्थामा १ पटक र नयाँ पालुवा निस्कने समय माघ-फागुन, साथै जेठ- असार, असोज-कार्तिक महिनामा कीटनाशक विषादी छर्नुपर्दछ। यसको नियन्त्रणका लागि निमजन्य कीटनाशक विषादी ३-५ मिलि प्रति लिटर पानीमा मिसाई वा डाइमेथोएट १-१.५ मिलि प्रति लिटर पानीमा मिसाई वा बाइफेन्थ्रिन १-२ मिलि प्रति लिटर पानीमा मिसाई वा थायोमेथोक्जाम १ मिलि प्रति ३-५ लिटर पानीमा मिसाई छर्नुपर्दछ ।

कीटनाशक विषादी प्रयोगको समयमा विषादीहरुको कार्य प्रकृति अनुसार आलोपालो गरी छर्ने कार्यमा ध्यान दिनुपर्दछ। साथै सुषुप्त स्प्रे, सामुदायिक रुपमा समन्वयात्मक स्प्रे, बगैंचा वरपरको स्प्रे, पुरै बगैंचा ढाक्ने गरी स्प्रे, पासो बाली (जाल फसल) स्प्रे आदि गरेर सिट्रस सिल्ला कीरा ब्यवस्थापन गर्ने योजना तय गरी कार्य गर्नु पर्दछ । सुन्तलाजात फलफूलको यस सिट्रस सिल्ला कीरा व्यवस्थापनका लागि उपलब्ध भएका विधिहरु एकीकृत एवं सामूहिक रुपमा अपनाउनु पर्दछ। कीरा व्यवस्थापन गर्दा रसायनिक विषादीहरुको प्रयोग गर्नु परेमा सुरक्षित तवरले गर्नु पर्दछ ।

- डा. देवराज अधिकारी 

Source : कृषि सूचना तथा प्रशिक्षण  केन्द्र, हरिहरभवन, ललितपुर 

थप समाचार