बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

पशुपन्छीपालनमा औषधिहरुको समुचित प्रयोग र प्रतिजैविक प्रतिरोधबारे जानकारी

मंगलबार, साउन २९ २०८१
17 views
पशुपन्छीपालनमा औषधिहरुको समुचित प्रयोग र प्रतिजैविक प्रतिरोधबारे जानकारी

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय
एण्टिमाईक्रोबिय / एण्टिबायोटिक औषधिहरुले पहिला  मारिरहेको जिवाणु किटाणुहरुलाई मार्न नसक्ने अवस्था आउनुलाई प्रतिजैविक प्रतिरोध (Antimicrobial
Resistance (AMR)  भनिन्छ । यो समस्या मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरण सँग सम्बन्धित छ । औषधि पचाउन सक्ने यस्ता किटाणुहरुलाई सुपर बग्स  (Superbugs)  पनि भनिन्छ । प्रतिजैविक प्रतिरोध विकास गरेको जीवाणुले सो गुण आफ्नो सन्ततिमा र नयाँ जीवाणुमा समेत प्रदान गर्ने क्षमता राख्दछ ।

प्रतिजैविक प्रतिरोधका असरहरु
प्रतिजैविक प्रतिरोध एक गम्भिर विश्वव्यापी जनस्वास्थ्य समस्याको रुपमा अगाडि आइरहेको छ । विश्व स्वास्थ्य संगठनले यही समस्याको कारण हाल वर्षेनी करिब ७
लाख मानिसहरुको मृत्यु भैरहेको अनुमान गरेको छ । सन् २०१९ मा प्रकाशित नयाँ वैज्ञानिक अध्ययनले सन् २०१९ मा औषधिहरुले काम नगरेर करीब १२ लाख
मानिस को मृत्यु भएको देखाएको छ । यदि यस समस्याको न्यूनीकरणको लागि ठोस कदमहरु नचाल्ने हो भने सन् २०५० सम्ममा यो संख्या बढेर बर्षेनी १ करोड पुग्ने र
सगसंगै १०० ट्रिलियन अमेरिकी डलर बराबरको आर्थिक क्षती हुने प्रक्षेपण गरेको छ । संयुक्त राष्ट्रसंघको सन् २०१६ मा बसेको महासभाले समेत विशेष प्रस्ताव पारित गर्दै यो समस्यालाई गम्भिर रुपमा लिन र नियन्त्रणको लागि ठोस कदमहरु चाल्न सबै सदस्य राष्ट्रहरुलाई आव्हान गरेको छ । साथै धनी राष्ट्रहरुलाई यस समस्यासंग जुध्न आर्थिक सहयोगको लागि समेत अपिल गरेको छ । विश्व स्वास्थ्य संगठनले यस समस्यासंग जुध्न सन् २०१५ मा विश्वव्यापी कार्य योजना सार्वजनीक गरेको छ । यस
कार्य योजनालाई विश्व खाद्य तथा कृषि संगठन तथा विश्व पशु स्वास्थ्य संगठनले समेत अनुमोदन गरी एकसाथ कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । यसका
अलावा विभिन्न दातृ निकायहरुले पनि यो समस्यासंग  लड्न आर्थिक सहयोगहरु प्रदान गरेका छन् । सदस्य राष्ट्रको हैसियतले नेपालले समेत यस समस्यासंग जुध्न
विभिन्न नीति, नियमहरु तर्जुमा गर्नुका साथै सर्भिलेन्सतथा अन्य जनचेतना मूलक कार्यक्रमहरु सञ्चालन गर्दै  आइरहेको छ ।

प्रतिजैविक प्रतिरोध उत्पन्न हुने कारणहरु
- मानिसमा एण्टिमाइक्रोबियल औषधिहरुको
- अत्यधिक प्रयोग र अनुचित प्रयोग
-  जनावरहरूमा एन्टिबायोटिकको अत्यधिक र अनुचित प्रयोग
-  एन्टिबायोटिकको मात्रा पुरा नगर्नु
-  दूषित वातावरण, पानी र खाद्यान्न
-  अस्पताल र फार्महरुमा संक्रमण नियन्त्रण नहुनु
-  नयाँ एण्टिमाइक्रोबियल विकासको कमी

एण्टिमाईक्रोबियल / एण्टिबायोटिकको समुचित प्रयोग  किन ?
-  जथाभावी प्रयोगले प्रतिजैविक प्रतिरोधको तीब्र  गतिमा विकास भईरहेको छ जसले गर्दा मानिस वा पशुमा जीवाणु मार्न प्रयोग गर्न सकिने औषधिको संख्या दिनानुदिन घट्दै गईरहेको छ ।
-  जति धेरै औषधिको प्रयोग, त्यतिनै चाँडो त्यस औषधि बिरूद्ध प्रतिजैविक प्रतिरोध विकास हुने भएकाले ।
- नयाँ एण्टिबायोटिकको खोज र विकास गर्ने वर्षौ समय लाग्ने, धेरै खर्च हुने र नयाँ एण्टिबायोटिक निकै महंगो समेत हुने भएकोले ।

प्रतिजैविक प्रतिरोध र एक स्वास्थ्य :

प्रतिजैविक प्रतिरोध क्षमता भएको जीवाणुहरु पशुबाट मानिसमा, मानिसबाट पशुमा, मानिस र पशुबाट वातावरणमा र वातावरण बाट मानिस तथा पशुमा समेत सर्न सक्ने हुन्छ । 

एण्टिबायोटिकको आवश्यकतालाई कसरी घटाउन सकिन्छ?
पशुपन्छीपालनमा एण्टिबायोटिकको प्रयोग कम गर्दै लैजानु भनेको एक चरणवद्ध प्रकृया हो र यो प्रक्रियाको सावधानीपूर्वक अनुगमन गरिनु पर्दछ । यस अन्तरगत
असल पशुपालन अभ्यास, जैविक सुरक्षा र खोप लगाउने जस्ता रणनीतिहरु अपनाउनु पर्दछ ।

१. असल पशुपन्छी पालन अभ्यास  : 
असल पशुपन्छीपालन अभ्यास भित्र विभिन्न विधिहरुको प्रयोग गर्दा पशुजन्य पदार्थमा अवशेष (Residue) आउने हुँदा तोकिएको समय  (withdrawal period सम्म पशुजन्य उत्पादन खाने गर्नु हुँदैन । तलको चित्रमा देखाइए अनुसार मानिस, पशुपन्छी र वातावरणबीच सजिलैसंग किटाणुहरु सरिरहेका हुन्छन् । त्यसकारण एक स्वास्थ्यको अवधारणा अनुरुप मानिस, पशुपन्छी र वातावरण तीनै वटा प्रणाली स्वस्थ्य रहनु महत्वपूर्ण हुन्छ । पालना गरिन्छ । पशुपन्छीलाई दिईने दाना तथा पानी पर्याप्त मात्रामा हुनुका साथै गुणस्तरीय पनि हुनु पर्छ । दानामा सन्तुलित मात्रामा शक्ति तथा खनिज तत्व हुनु पर्दछ । दानामा कुनै पनि किटाणुको संक्रमण नहुने गरी भण्डारण गर्नुपर्दछ । खाद्य तथा अन्य उद्योगबाट निस्कने फोहोर संक्रामक किटाणुको प्रमुख श्रोत हुन् र यस्ता फोहोरलाई दानामा मिसाउनु हुँदैन । त्यसैगरी पशुपन्छीले
पिउने पानी पनि सफा, स्वच्छ र गुणस्तरीय हुनुपदर्छ । पानी वितरणको पाइपलाइन पशुपन्छीलाई औषधि दिन तथा सरसफाई गर्न सजिलो हुने गरी व्यवस्थापन गर्नुपर्दछ ।
पशुपन्छीको खोर तथा अन्य संरचनाहरु निर्माण गर्दा विशेष ध्यान दिनु पर्छ । फरक फरक समूहका पशुपन्छीलाई छुट्टाछुट्टै पाल्न तथा सफाई र निसंक्रमणको कार्य सजिलै गर्न सकिने गरी फार्मको संरचना निर्माण गर्नुपर्दछ । उचित भेन्टिलेसनले पशुपन्छीमा श्वासप्रश्वास प्रणाली सम्बन्धी रोग लाग्नबाट बचाउँने हुँदा पशुपन्छीपालनमा
स्वच्छ हावा संचारको लागि उचित भेन्टिलेसनको व्यवस्था गर्नुपर्दछ । सानो स्थानमा धेरै पशुपन्छीपालन गर्दा पशुपन्छीमा रोग लाग्न सक्ने सम्भावना बढ्न जाने हुँदा
पर्याप्त क्षेत्रफलको व्यवस्था गर्नुपर्दछ । दैनिक रुपमा पशुपन्छीको निरीक्षण गर्नाले पशुपन्छीमा आकस्मिक वा बिस्तारै आउन सक्ने स्वास्थ्य तथा व्यवहार परिवर्तन समयमै पत्ता लगाउन तथा सतर्क रहन सकिन्छ । नियमित रुपमा निरीक्षणको क्रममा लिइने पशुपन्छीको तौल, उत्पादन, दाना तथा पानीको खपत आदिको अभिलेखिकरण गर्नुपर्दछ । निरीक्षणका क्रममा खोरमा पशुपन्छी मरेको पाइएमा तुरुन्त खोरबाट हटाई सुरक्षित स्थानमा गहिरो खाल्डो खनि गाड्नुपर्छ ।

२. जैविक सुरक्षा
पशुपन्छीमा लाग्ने धेरै रोगहरु संक्रामक विषाणुका कारण हुने तथा पशुपन्छीहरु प्राय जसो एकै लटमा धेरै संख्यामा पालिने भएको हुँदा रोगहरु एक आपसमा सहजै सर्न सक्ने सम्भावना रहन्छ र यस कारण आधुनिक पशुपन्छीपालन फार्ममा उच्च स्तरको जैविक सुरक्षा आवश्यक पर्दछ । नयाँ पशुपन्छी खरिद गर्दा फार्ममा अपनाइएको जैविक सुरक्षाको अवस्था तथा पशुपन्छीको स्वास्थ्य र खोप लगाए नलगाएको समेत जानकारी लिनुपर्छ । पशुपन्छीपालन व्यवसायमा “एकैपटक भित्राउने र एकैपटक हटाउने“ व्यवस्थापन पद्धति रोगको जोखिम न्यूनीकरणका लागि निकै महत्वपूर्ण हुन्छ । फार्मभित्र प्रत्येक भवन, खोर वा बथानमा कार्य गर्दा छुट्टै जैविक सुरक्षाको इकाइका रूपमा छुट्टाछुट्टै लुगा तथा बुटको प्रयोग गर्नुपर्दछ । विभिन्न उमेर समूहका पशुपन्छी हरू एउटै फार्ममा राखिएको अवस्थामा यो अझै महत्वपूर्ण हुन्छ । यस्तो अवस्थामा फार्ममा काम गर्दा सबैभन्दा कम उमेर समूहका पशुपन्छीहरूबाट शुरू गर्दै सबैभन्दा बढी उमेर समूहका पशुपन्छीहरूमा अन्त्य गर्नुपर्दछ । यसरी कार्य गर्दा प्रत्येक जैविक सुरक्षाको इकाइ परिवर्तनसँगै अनिवार्य रूपमा हात धुने  उपकरणहरू निसंक्रमण गर्ने गर्नुपर्दछ  एउटा खोर वा क्षेत्रबाट अर्कोमा प्रवेश गर्दा अनिवार्य
रूपमा कपडा, बुट र सामग्री तथा उपकरण बदल्नुपर्दछ, हात राम्ररी धुनुपर्दछ ।

३. खोप (भ्याक्सिन)
पशुपन्छीपालन गर्दा निश्चित संक्रामक रोगहरूको रोकथाम गर्ने सबैभन्दा प्रभावकारी र उचित उपाय व्यवस्थित र सही रूपमा गुणस्तरीय खोप लगाउनु हो । खोपहरु प्रयोग गर्नु पूर्व उचित भण्डारण र व्यवस्थापन गरी खोपको गुणस्तर सुनिश्चित गर्नुपर्दछ । प्रत्येक खोपले एउटा निश्चित रोगका विरूद्ध मात्रै काम गर्ने हुँदा आफ्नो
फार्म वा क्षेत्रमा कुन खोप उपयुक्त हुन्छ भन्ने बारेमा पशु चिकित्सकसँग सल्लाह लिनु उपयुक्त हुन्छ । त्यसैले तपाइँले कुन अन्तरालमा र कुन उमेर समूहका पशुपन्छीलाई खोप लगाउने लगायतका विभिन्न पक्षहरूलाई समेट्ने एउटा निश्चित खोप योजना पालना गर्नु निकै नै महत्वपूर्ण हुन्छ । याद राख्नुहोस्, अव्यवस्थित तरिकाले खोप लगाउने कार्य गर्दा पशुपन्छीको प्रतिरक्षामा नकारात्मक असर पर्न सक्ने मात्र नभई खोपले सोचे अनुसार रोगबाट नबचाउन समेत सक्दछ ।

नेपाल लगायत विश्वभरि नै औषधिहरुले प्रभावकारी रुपमा काम नगर्ने समस्या बढिरहेको छ । औषधिहरुको अनावश्यक र अनुचित प्रयोग यसको लागि मुख्य रुपमा जिम्मेवार छ । यो समस्या न्यूनिकरणको लागि कृषक स्तरमा निम्न कुराहरुमा जोड दिउँ ।
-  रोग पत्ता लगाई उक्त रोग जीवाणुबाट भएको खण्डमा प्रयोगशालामा रोग निदान गरी सो जीवाणुलाई मार्न सक्ने औषधि पशु चिकित्सकबाट सिफारिस गराई प्रयोग गर्ने ।
 - पशु चिकित्सकबाट सिफारिस गरिएको औषधिलाई सिफारिस गरिएको मात्रा, विधि र समयसम्म अनिवार्य प्रयोग गर्ने ।

डा.सुरेन्द्र कार्की

Source : aitc, nepal 

सम्बन्धित विषय

थप समाचार