बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

हाब्रे - रातो पाण्डा

मंगलबार, साउन २९ २०८१
8 views
हाब्रे - रातो पाण्डा

समाचार शेयर गर्नुहोस्

Share this news

हाब्रे अर्थात् रातो पाण्डाको वैज्ञानिक नाम ऐलुरस फुल्जेन्स(Ailurus fulgens ) हो ।खासगरी उच्च हिमाली तथा पहाडी भागमा पाइने यो प्राणी अति नै सुन्दर उभयभक्षी प्राणी हो । यो नेपाल, सिक्किम, म्यानमार, दक्षिण चीन आदि स्थानहरूमा पाइन्छ।

नेपालमा यो लाङटाङ राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजङ्घा संरक्षण क्षेत्र र मकालु बरुण राष्ट्रिय निकुञ्जमा पाइन्छ। विशेषगरी बाँसका पात र तामा खाने यो स्तनधारी जीवलाई चम्किलो बिरालो (साइनिङ क्याट)को नामले पनि चिनिन्छ किनकि शारीरिकरूपमा यो घरेलु बिरालो जस्तै हुन्छ र केही ठूलो आकारको हुन्छ । रातो पाण्डा नेपाल, चिन, वर्मा, भुटान लगायतका देशमा पाइने भए पनि यिनीहरूको सङ्ख्या दिनानुदिन घट्दै गएको छ। हाल विश्वभरिमा जम्माजम्मी केवल २५०० रातो पाण्डा रहेको अनुमान गरिन्छ ।

नेपालमा रातो पण्डाको कुल सङ्ख्या ३१७ देखि ५८२ को बीचमा अनुमान गरिएको छ (ज्वाली एट अल. २०११)। रातो पण्डाको औसत आयु १५ वर्ष हुन्छ। यसको शरीर गोलो टाउको, त्रिकोणात्मक कान, छोटो खुट्टा र लामो रौँ भएको पुच्छर भएको हुन्छ। यसको अनुहार र तल्लो शरीर सेतो हुन्छ भने बाँकी भाग रातो खैरो हुन्छ। यसको उचाइ ०.४ मिटर, लम्बाइ ०.७ मिटर, पुच्छर ०.४ मिटर र तौल करिब ३ देखि ४ किलोग्राम हुन्छ। रातो पण्डाको गर्भावधि ११२ देखि १५८ दिनसम्म हुन्छ।

रातो पाण्डा धेरै सिपालु जीव हो र यो प्रायः रूखमै चढेर बस्ने गर्छ । एक रूखबाट अर्कोमा उफ्रने र शत्रुबाट बच्नको लागि यो छिटो दौडन सक्छ । हाब्रेका मुख्य सत्रु भनेकै मानिस र हिउँ चितुवालाई लिने गरिन्छ । हाब्रेहरू खासगरी आफ्नो निश्चित आधार क्षेत्रमा समूहमा बस्ने गर्छन् तर कहिलेकाहीँ एक्लै, कहिलेकाहीँ जोडी बनाएर र कहिलेकाहीँ परिवारमा समेत बस्ने गर्छन् । खासगरी यो जीव राति खाना खोज्न निस्कने गर्छ । यसले प्रायः निगालो, बाँस खाने भएकाले हाब्रे सामान्यतया शाकाहारी हो कि भन्ने पर्न सक्छ तर होइन यसले कहिलेकाहीँ शिकार पनि गर्ने गर्छ । यसले चराचुरुङ्गीका बच्चा तथा फुल र कीरा फट्याङ्ग्रासमेत खाने गर्छ । महìवपूर्ण कुरा त के छ भने यसले एकपटकमा आफ्नो शरीरको तौलको ४० प्रतिशत तौलसम्मको बाँसको पात खान सक्छ । यसले एकदिनमा करिब दुई लाख बाँसका पात खान सक्छ । यसले विशेष गरी मुख्य खानाको रूपमा लिने बाँसका पातहरू धेरै पौष्टिक नहुने र हाब्रेले पूर्णतया पचाउन पनि नसक्ने भएकाले यसको शरीरमा बढी श्रम गर्न आवश्यक शक्तिको अभाव रहन्छ त्यसैले यो जीव दिउँसोभरि रूखमा चढेर सुत्ने गर्छ त्यसैले यसलाई अल्छी जीव पनि भन्ने गरिन्छ । हाब्रे कस्तुरीको जस्तो गन्ध निकाल्ने गर्छ जसबाट उसले आˆना साथीहरू र आफ्नो आधार क्षेत्रको पहिचान र रक्षा गर्ने गर्छ ।

रातो पाण्डको बानी व्यहोरा : 

रातो पाण्डाले वर्षमा एकचोटि मात्रै बच्चा जन्माउने गर्छ । खासगरी डिसेम्बरदेखि मध्ये फेब्रुअरी महिना नै हाब्रेले बच्चा जन्माउने मुख्य समय हो । करिब डेढ सय दिनको गर्भावस्थापछि पोथीले एकदेखि चारवटासम्म बच्चा जन्माउने गर्छ । जुन शिशु अन्धो हुन्छ र आँखा पूर्णत विकाश भइसकेका हुँदैनन् । बच्चा जन्माउनुभन्दा केही दिन अघि हाब्रेले सुकेको घाँस, काठलगायतका वस्तु जम्मा गरेर रूखको प्वालमा गुँड बनाउने गर्छ । करिब एक महिनापछि मात्रै शिशु हाब्रेका आँखा पूर्णतः विकशित हुन्छन् । करिब बाह्र हप्ताको गुँड बसाइँपछि बच्चा हाब्रे बाहिर निस्किन्छ र आमासँगै हिँड्न थाल्छ । बच्चाले आठ महिनासम्म आमाको दूध खाने गर्छ । करिब १८ महिनापछि बच्चा हाब्रे प्रजननका लागि सक्षम बन्छ । हाब्रेको औषत आयु आठ देखि दस वर्षसम्म रहने गर्छ ।

रातो पण्डाको मुख्य विशेषता भनेको यो मुख्यतया बाँस खान्छ।  यो आईयुसीएन रेड लिस्टमा संकटापन्न प्रजाति र साइटिसको परिशिष्ट १ मा सूचीकृत छ। नेपालमा यस प्रजातिको कानुनी हैसियत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०३० अनुसार संरक्षित (परिशिष्ट १) छ। राष्ट्रिय स्तनधारी प्राणीको रातो सूचीमा यसलाई संकटापन्न प्रजातिमा सूचीकृत गरिएको छ। यसको बासस्थानको व्यापक क्षति भएकाले यो संरक्षित छ। यसको रङ्गिला छालाका कारण यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा व्यापार हुने गरेको छ।

Source : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, wikipedia 

सम्बन्धित विषय

थप समाचार