वैज्ञानिक नामः Tectaria coadunata (J.Sm.) C.Chr.
परिवारः Dryopteridaceae
यो प्रजाति १ मिटरसम्म अग्लो हुन्छ । डाँठ (stipe) तथा पात आउने डाँठ (rachis प्रायः कालो हुने भएकोले यो निउरो लाई काली निउरो भनिन्छ । डाँठहरू (stipes) लामा हुन्छन् जस्का फेदमा बाक्ला र गाढा खैरा कत्लाहरू (scales) हुन्छन् । पातको माथिल्लो भागमा छरिएका छोटा रौँहरू हुन्छन् । त्यस्तै पातको तल्लो भागमा रहेका शिराहरूमा मसिना रौँहरू देखिन्छन् ।
पातमा मसिना शिराहरू जोडिएका बनेका धेरै कोठाहरू (areoles) देखिन्छन् । पातको पछाडि गोला (round) बीउ (sori) लागेका हुन्छन् ।
यो खुल्ला ठाउँमा बाटो, गोरेटो को छेउछाउमा र जङ्गलमा ३०० मिटरदेखि २,२०० मिटरसम्मको उचाइमा उम्रिन्छ । यो स्वादिलो निउरो पोखरा, काठमाण्डू लगायतका बजारमा बिक्री हुन्छ । यसलाई काँचै पनि खान सकिन्छ । जेठ, असारमा संकलन गरी घाममा सुकाएर पछि खानको लागि पनि राखिन्छ । काली निउरो औषधिको रूपमा पनि प्रयोग हुन्छ ।