नेपालमा घर पाल्तु जनावर हरु मध्ये सबैभन्दा बढी रुचाइएको जन्तु बाख्रा हो , विशेषगरी मासु उत्पादनको लागी बाख्रापालन गरिन्छ । खासगरी खसिको मासु नेपाली जनमानसमा यसको स्वादको लागि परिचित छ भने पौष्टिक तत्वको हिसाबले पनि खसीको मासु राम्रो मानिन्छ । खसिको मासु नेपालमा मात्र नभएर विश्वका करिब ७० प्रतिशत मानिसले खसिको मासु रुचाउँछन् । बेलाबखतमा नगद आम्दानी हुने र आफ्नो गर्जो टर्ने भएको हुनाले पनि बाख्रापालनलाई नेपाली किसानले निर्वाहमुखी पेशाको रुपमा लिँदै आएका छन् । बाख्रापालन ग्रामीण तथा दुर्गम क्षेत्रका कृषकहरुको आम्दानीको प्रमुख श्रोत हो । बाख्रालाई “गरिबहरुको गाई” वा “गरिबको जीवित बैँक” को रुपमा पनि मानिन्छ । यद्यपि कृषकहरुमा बाख्रापालनको उचित व्यवस्थापकीय ज्ञानको कमीका कारण उचित लाभ लिन सकेको देखिँदैन ।
बाख्रापालक कृषकलाई बाख्रापालन व्यवसाय व्यवस्थित गर्दै थप लाभ लिन सहयोगी हुने केही महत्वपूर्ण जानकारी निम्नानुसार प्रस्तुत गरिएको छ ।
१. खोर व्यवस्थापन :
- बाख्राको सङ्ख्याको आधारमा खोर निर्माण गर्नुपर्छ । पहाडी भेगमा खोर बनाउँदा दक्षिण वा पूर्व मोहोडा र तराई वा गर्मी ठाउँमा उत्तर वा पश्चिम मोहोडा पारी खोर बनाउनु उपयुक्त हुन्छ ।
- खोर बनाउँदा पानी नजम्ने, घाम लाग्ने पारिलो ठाउँमा बनाउनु पर्दछ । थारा, माउ बाख्रा, पाठापाठी, ब्याडे बोका तथा ब्याउने माउ बाख्रा राख्नको लागि छुट्टाछुट्टै कोठाहरु बनाउनु पर्दछ । यसो गर्दा अनियन्त्रित (हाडनाता प्रजनन) गर्भधारण हुनबाट जोगिने र ब्याउने बाख्राहरुको गर्भ तुहिने समस्या कम हुन्छ ।
- बाख्राले साधारणतया भुईँमा खसेको घाँस वा दाना टिपेर खान नरुचाउने भएकाले घाँस राख्ने ¥याक वा टाट्नो बनाउनु पर्दछ ।
- खोर बनाउँदा जमिनभन्दा माथि कम्तिमा २.५ फिटदेखि ३ फिट अग्लो टाँड बनाउनु पर्छ । टाँडमा बड्कौला मात्र खस्ने गरी टाँडको ल्याक /पटरा बिचको दुरी आधा इन्च मात्र राख्नु पर्छ ।
- खोरमा टाँड माथि र तल पनि दोहोरो हावा खेल्ने भेन्टिलेसनको व्यवस्था मिलाउनु पर्दछ ।
- हप्तामा कम्तिमा २ पटक बाख्राको खोरबाट बड्कौला निकाल्ने व्यवस्था मिलाउनु पर्दछ । नत्र भने यसबाट निस्कने ग्याँसजन्य बिषाक्त पदार्थले बाख्राको स्वास्थ्यलाई नकारात्मक असर पार्दछ ।
- खोरगोठको नियमित सरसफाई गरेमा विभिन्न परजीविको असरबाट बाख्रालाई बचाउन सकिन्छ ।
- दानापानी दिने भाँडा वा डुँडलाई दैनिक सफा गर्नुका साथै नियमित रुपमा खोरलाई सफा गर्नु पर्दछ ।
- खोरगोठमा तारबार, चुनको प्रयोग गरी जैविक सुरक्षाको व्यवस्था मिलाउनु पर्दछ ।
२. दानापानी तथा आहारा व्यवस्थापन :
- उच्च पाचनशील घाँसहरु (हरियो डाले घाँस, चरन घाँस तथा भुई घाँसहरु) बाख्रालाई बाह्रै महिना खुवाउनु पर्दछ ।
- बाख्राहरुले भुई घाँसभन्दा डाले घाँसहरु बढी मन पराउने भएकाले स्थानीय वातावरणमा सजिलै चाँडो हुर्कने उन्नत जातको डाले घाँसहरु जस्तै : इपिल इपिल, किम्बु, बकाईनो, पाखुरी, काब्रो, बडहर, भटमासे आदि आफ्नो बारीमा तथा खाली जमिनमा लगाई बाख्रालाई सन्तुलित रुपले खुवाउनु पर्दछ ।
- घाँसको अतिरिक्त बाख्रालाई सन्तुलित दाना पनि उपलब्ध गराउनु पर्दछ ।
- बाख्राको जात, उमेर र शारीरिक अवस्थाको आधारमा पाठापाठी, बोका, खसीलाई दाना दिने र अवस्था हेरी घाँस दिने व्यवस्था मिलाउनु पर्छ ।
- स्थानीय स्तरमा उपलब्ध हुने दानामा कार्बोहाइड्रेट पाइने खाद्यान्न जस्तै : मकै, गहुँ, कोदो, धानको ढुटो, चामलको कनिका; प्रोटिन पाइने दालजन्य बालीहरुका साथमा भिटामिन तथा खनिज तङ्खव पाइने बालीको मात्रा मिलाएर दिन सकिन्छ । साथमा पिना, अण्डाको बोक्रा, हड्डीको धुलो, तराईमा माछाको सिद्रा, घुँगीको खपटा तथा शङ्खे किराको खपटा, नुन जस्ता चिजहरु मिसाएर घरमा नै सन्तुलित दाना बनाएर दिन सकिन्छ ।
- बाख्रालाई आवश्यक पर्ने खनिज तङ्खव पूरा गर्नको लागि मिनिरल ब्लक (खनिज ढिक्का) बनाई सबै बाख्रालाई पहुँच पुग्ने गरी खुवाउने व्यवस्था मिलाउनु पर्दछ ।
- सधँ स्वच्छ पानी खान दिने व्यवस्था मिलाउनु पर्दछ ।
- ढुसी परेको र सडेगलेको खानेकुरा बाख्रालाई खान दिनुहुँदैन ।
Source : Li- Bird