बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

बार्हैमहिना फलिरहने सपोटा_चिकु_Sapodilla फल

मंगलबार, असार ५ २०८१
9 views
बार्हैमहिना फलिरहने सपोटा_चिकु_Sapodilla फल

समाचार शेयर गर्नुहोस्

Share this news

सपोटा बिस्तारै बढ्ने लामो आयु भएको बार्हमासे फलीरहने सदाबहार प्रकृतिको उष्ण प्रदेशिय फल हो । यस फलको मीठो गुलियो र बास्नादार स्वादको संसारभरी प्रसिद्ध छ । विभिन्न देश र भाषा अनुसार यस फल चिकु, सपोटा, चिकल, चिको, बारामसी, स्पोडिला बयर, मुय, नेइसबेरी, स्पोटिला, जापोटा आदि नामले चिनिन्छ । मेक्सिको ग्वाटोमाला अमेरिका भारत लगायतको देशहरुमा यसको ब्यापाक उपयोग र प्रशस्त मात्रामा खेती गरिन्छ । हाम्रो देशमा प्रचारप्रसार र जानकारी अभावको कारण प्रशस्त सम्भावना हुँदाहुँदै पनि नौलो फलको रुपमा नै रहेको छ ।
 
✅वास्पतिक परिचय
 
-यसलाइ अङ्ग्रेजीमा Sapodalaa भनिन्छ । यो बानस्पतिक परिवार Sapidaceae अन्तर्गत पर्दछ भने यसको वैज्ञानिक नाम Manilkara zapota हो ।
-यसको रुख ठूलो साइज चौडा अकारको र विस्तारै बढ्ने हुन्छ ।
-१० देखि २० मिटर अगलो र ०.५ मिटर देखि १.५ मिटर चौडा हुन्छन ।
-पातहरु हरियो रङ्गको आकर्षक चमकदार, लाम्चो आकारको र टुप्पोको छेउमा गोलाकार कलस्टर गरिएको हुन्छ ।
-फूलहरु सानो घन्टीको जस्तो फिक्का हरियो र खैरो रङ्गको हुन्छ ।
-फलहरु जात अनुसार गोलो लामो र अन्डकार अकारको हुन्छन ।
-फलहरु काँचो हुँदा कडा र चोप आउने खालको हुन्छ्न भने पाकेपछि नरम हुन्छ ।
 
✅उत्पत्ति र फैलावट
 
-यस फलको उत्पत्ति दक्षिणी मेक्सिको आसपासको क्षेत्रमा भएको मानिन्छ । यसको रुखहरु अमेरिका ग्वाटोमाला नाइजेरियाको जङ्गलहरुमा प्रशस्त मामात्रा प्राचीन कालदेखि नै पाइएको छ ।
-औपनिवेशिकको समयमा फिलिपिन्सबाट सुरु हुँदै समुन्द्र तटवर्ती देशहरु भारत, श्रीलंका, थाइल्यान्ड, मलेसिया आदि देशहरुमा फैलिएको थियो। यस -फलको व्यावसायिक खेती भारतको गुजरात, कर्नाटक, पश्चिमी बङ्गाल, तामिलनाडु, झारखण्ड र बिहार राज्यमा ठूलो क्षेत्रफलमा गरिन्छ ।
 
✅प्रयोग:
 
-एसियाली क्षेत्रहरुमा फल उत्पादनको लागि खेती गरिन्छ भने मेक्सिको ग्वाटोमाला लगायतको अमेरिकी क्षेत्रहरुमा चोप ,गम (चुइगम बनाउने समाग्रीहरु) उत्पादनको लागि खेती गरिन्छ ।
-यसको पातहरु पशुपालनको लागि घाँस को रूपमा प्रयोग गरिन्छ ।
-रुखहरु मजबुत काठ र काठजन्य समाग्री बनाउने काममा प्रयोग ल्याइन्छ ।
 
✅पौष्टिक महत्व:
 
-प्रति १०० ग्राम फलमा ८३ क्यालोरी शक्ति, २० ग्राम कार्बोहाइड्रेट, १९२ मिलि ग्राम पोटासियम, १२ मिलिग्राम सोडियम, १.१ ग्राम बोसो र भिटामिन – ए १ %, आईरन – ४ %, म्याग्नेसियम २४ % उपलब्ध हुन्छ ।
-साथै यसमा विभिन्न रोग प्रतिरोधात्मक गुणको कारण धेरै किसिमको रोगहरुबाट बच्न सकिन्छ।
 
✅हावापानी:
 
-यो उष्ण प्रदेशीय फल भएपनि उष्ण तथा उपोष्ण दुइटै क्षेत्रमा राम्रो फल्दछ । न्यानो किसिमको हावापानी उपयुक्त हुन्छ ।
-यसको व्यवसायिक खेतीको लागि १० देखी ३८ डिग्री सेन्टीग्रेड वीचको तापक्रम राम्रो मानिन्छ ।
-वार्षिक वर्षा १२५०देखि २५०० मि.मि आवश्यक हुन्छ । भारतमा १५०० मिटर उचाईसम्म यसको खेती सफलतापूर्वक गरिएको छ । हाम्रो देशमा पनि तराई भित्री मधेस र मध्य पहाडको सुख्खा हुने र पानी नजम्ने क्षेत्रहरुमा व्यावसायिक खेतीको प्रशस्त सम्भावना रहेको छ ।
 
✅माटो:
 
-सबै किसिमको माटोमा राम्रो भएपनी गहिरो बलौटो दोमट, चिम्टे दोमट, पानी नजम्ने माटोहरु अति नै उपयुक्त हुन्छ । चट्टान तथा तलतिर डुङ्गा भएको चुनबाट बनेको माटो उपयुक्त मानिदैन ।
 
✅जातहरु;
 
-भारतमा १०० भन्दा धेरै जात भएपनि व्यवसायिक खेतीको लागि उन्नत र प्रचलित जातहरु क्रीकेट बल, काली पति, बुरी पति, थाइ आदि हुन् ।
 
✅खाडलको तयारी तथा मलखाद:
 
गहिरो खनजोत गरीसकेपछि जग्गा सम्याई ८×८ वा ९×९ वा १०×१० मिटर बोट देखि बोट र लाइन देखि लाइनको दुरी कायम राखी रेखाकन गरी चिन्ह लगाउनुपर्छ । चिन्ह लगाएको ठाउँमा १×१×१ मिटर आकारमा खाल्डो खनी २० देखि ३० केजी गोवर २०० : ७५ : २०० ग्रामको दरले प्रति खाल्डोमा नाइट्रोजन, फ़स्फोरस, पोटासियम हालेर खाडल तयार गर्नुपर्छ । माटोजन्य कीरा मार्नलाई २ मिलि क्लोरीपाईरिफोस प्रति लिटर पानीमा मिसाई माटो भिज्ने गरि खाल्डो भरि छर्नुपर्छ ।
 
✅सिचाई:
 
सिचाईको खासै आवश्यकता नपरेपनी सुख्खा हेरी महिनाको १ पटक सिचाइ गर्दा फल्ने क्रीयामा वृद्धि र फलको गुणस्तरमा सुधार आउंदछ ।
 
✅काँटछाँट:
 
यसको हाङ्गाहरु समानान्तर लाइनमा बढने हुँदा खासै काँटछाँटको आवश्यकता पर्दैन । तरपनि high density plantation मा अकार सानो राख्नलाई काँटछाँट गर्न आवश्यक हुन्छ । साथै रोगकीरा लागेको हाङ्गाहरु र अनावश्यक हाङ्गाहरुलाई बेलाबेलामा काटछाट गर्न जरुरी हुन्छ ।
 
✅अन्तरवाली:
 
रुख अगलो र ठूलो हुने भएकोले बगैचाभित्र मेवा, केरा, गोलभेडा, भन्टा, कोशेबाली तथा तेलबालीहरु अन्तर बालीको रुपमा लगाई थप आय प्राप्त गर्न सकिन्छ ।
 
✅फूल तथा फल लाग्ने समय:
 
कलमी बिरुवा रोपेको दोस्रो वर्षबाट उत्पादन सुरु हुन्छ । बार्हमासे फूल फुल्ने तथा फल लागने प्रक्रिया भै नै रहेको हुन्छन । तर फल उत्पादनको दुई सिजन हुन्छ पहिलो फल चैत र दोस्रो भने असोज कार्तिकमा टिपिंछ । फूल फुलेको ४ महिनामा फल परिपक्व हुन्छ ।
 
✅फल टिप्ने कार्य:
 
झुस झर्न थालेपछि, फलको बाहिरी बोक्रा कोट्याउदा, दूध (चोप) आउन छोडेपछि फल टिप्न तयार भएको बुझ्न सकिन्छ । २-४ दाना पाक्न थालेपछि बजार पठाउनु १ हप्ता अगाडि फल टिप्नुपर्छ । फलको टिपाई चैत बैशाख र असोज कार्तिक दुई चोटि गरिन्छ ।
 
✅उत्पादन:
 
फलको औषत वजन ८० देखि १५० ग्राम सम्मको हुन्छ । बोटको उमेर बढ्दै जादा उत्पादन क्षमता पनि बढ्दै जान्छ । साधारणतया १० वर्षको रुखले ५० देखि १५० के.जी सम्म फल्दछ । २० वर्ष भन्दा पुरानो रुखहरुमा २००० देखि ३५०० सम्म दाना फलेको पाइएको छ ।
 
✅बजार भाउ
 
माग र सिजन अनुसार १५० देखि २५० प्रति केजीमा बिक्री हुन्छ।
 
✅भण्डारण
 
फल पाकीसकेपछि २० देखि ३० डिग्री सेन्टीग्रेडको तापक्रममा १ – २ हप्ता भणडारण गरि राख्न सकिन्छ भने कोल्ड स्टोरहरुमा १ महिना सम्म पनि राख्न सकिन्छ।
 
स्रोत: रितेश फलफूल नर्सरी, रौतहट 

थप समाचार