बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

बहुउपयोगी चिउरीको संरक्षण गर्न आवश्यक

बिहीबार , असार ७ २०८१
8 views
बहुउपयोगी चिउरीको संरक्षण गर्न आवश्यक

समाचार शेयर गर्नुहोस्

Share this news

परिचय

चिउरी सापोट्यासी (Sapotaceae) परिवारको रुख वर्गको पतझड वनस्पति हो । यसको फल खाईन्छ र बीयाँ/बीउबाट घ्यू बनाउने भएकोले यो एक बहुउपयोगि वनस्पति हो । गाउँ घरतिर यसको फल खाने, बीयाँ कोलमा पेलेर घ्यू निकाल्ने गरिन्छ जुन खान र बत्ती बाल्न प्रयोग गरिन्छ भने घ्यू निकाली सकेपछि बाँकी पिना खेतबारीमा जैविक मलको रुपमा पनि प्रयोग गरिन्छ ।भारतीय उप–महाद्विपको नेपाल, भारत र भुटानमा पाउने यो रुखको ब्यवसायिक रुपमा खेती भने गरेको देखिँदैन ।

नेपालमा यो बिरुवा पुर्व देखि पश्चिम सम्म ५० जिल्लामा फैलिएको छ र ५० लाख भन्दा वढि बीउ दिने रुख भएको अनुमान गरिएको छ (MSFP Report, 2016)। परम्परागत रुपमा यसको प्रयोग धेरै भएता पनि आधुनिक युगमा सौन्दर्य सामाग्रीहरुमा, साबुन बनाउन, तथा मैनबत्ती वनाउन यसको घ्यू उपयोग गर्ने सकिने भएकोले यसको व्यापारिक महत्व क्रमशः बढ्दै गएको देखिन्छ ।

वनस्पतिको पहिचान

बैज्ञानिक नामः Diploknema butyracea (Roxb.) H.J.Lam
बैज्ञानिक पर्यायवाची नामः Bassia butyracea Roxb., Aesandra butyracea (Roxb.) Baehni, Madhuca butyracea (Roxb.) J.F.Macbr.
वनस्पतिक परिवारः Sapotaceae
अंग्रेजी नामः Indian Butter tree , Honey Tree
स्थानीय तथा अन्य नामः च्यूरी, चिउरी (नेपाली), मधुका (हिन्दी), मधुपुष्प (संस्कृत), ल्हुचिपासी (नेवारी)

प्रयोग हुने/संकलन गरिने प्रमुख भाग

यसको फल, बीयाँ, पिना, चोप, पात, काठ आदि सवै भाग प्रयोगमा ल्याइन्छ ।

उपयोगिता

१. परम्परागत प्रयोग

चिउरी एक बहुउपयोगि बिरुवा भएकोले यसको फल, पात तथा काठ सबैको उपयोग हुन्छ । यसको फल एकदम गुलियो हुन्छ जसबाट जुस, जाम आदि बनाइन्छ र गाउँ घरमा रक्सी पनि पार्ने गरिन्छ । पात टपरी बनाउन तथा गाईबस्तुलाई स्याउलाको रुपमा प्रयोग गरिन्छ । यसको काठ बलियो हुने भएकोले निर्माण सामग्रीको रुपमा झ्याल, ढोका आदि बनाउन प्रयोग गरिन्छ ।

औषधीको रुपमा यसको घ्यू बाथको रोग तथा छाला फुटेकोमा लगाइने गरिन्छ ।यसको काठबाट निस्किने चोप गुँदको रुपमा प्रयोग गरिन्छ । चिउरी नेपालको रैथाने बिरुवाको रुपमा लिन सकिन्छ किनकी यहाँका केही आदिवासी समुदायहरु खासगरी चेपाङ्ग जातीको च्युरीको बोटसँग बिशेष साँस्कृतिक महत्व पनि गाँसिएको छ ।

चेपाङ्ग र चिउरीलाई एक अर्काको पर्यायवाचीको रुपमा हेरिन्छ किनकी जहाँ चेपाङ्ग बस्ती छ, त्यहाँ च्यूरी बोट हुन्छ भन्ने कहावत नै छ । चेपाङ्ग समुदायमा छोरी/चेलीहरुको बिहे गरेर पठाउँदा चिउरीको बोट दाईजो दिनै पर्ने परम्परा अहिले सम्म पनि विद्यमान छ (Baral & Kurmi, 2002; GON, 2006; Gurung, 2008;
Manandhar, 2002)|


२. औषधीय प्रयोग

यसको बीउमा धेरै प्रकारका औषधीय गुणहरु छन् । यसमा भएको Flavenoids, Terpenes आदि ले एन्टी माइक्रोवियल (Anti microbial) तथा एन्टी अक्सिडेन्ट (Anti oxidant) गुण देखाउँछ । यसमा भएको Saponin, glycosides आदिवाट रक्तचाप घटाउने, ताकत बढाउने, छालाको रोग निको पार्ने औषधी बनाउन सकिन्छ । यसैले यसको बीउ तथा घ्यू जोर्नी दुखाई, छालाका
रोगहरु, हातखुट्टा फुटेको आदि को औषधी वनाउन प्रयोग गरिन्छ । यसका साथै यसको वोक्राको रस बाथ, दम, पाचन शक्ति बढाउने औषधीमा प्रयोग गरिन्छ (Devkota et al.2012 )।

३. अन्य प्रयोग

यसको फूलहरुबाट मह उत्पादनमा सहयोग पुग्छ जुन अति औषधीय गुण भएको मानिन्छ । चिउरीको पिना जैविक मलको रुपमा प्रयोग गरिन्छ । चिउरीको वोटले भूक्षय रोक्न पनि सहयोग पुर्याउने भएकोले हैसियत बिग्रेका वन तथा पर्ति जग्गाहरुमा वृक्षरोपण गर्न पनि प्रयोग गरिन्छ ।


प्राकृतिक वासस्थान

समुद्रि सतहबाट करीव ३०० देखि १५०० मीटर उचाई सम्म फैलिने यो रुख उष्ण तथा उपोष्ण हावापानीमा बढि फस्टाउँछ । यो बिरुवा नेपाल, चीन, भारत, फिलिपिन्स, थाईल्याण्ड, म्यानमार, इण्डोनेसिया, मलेसिया आदि देशहरुमा पाइन्छ । नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्मको चुरे, भित्री मधेश तथा महाभारत पहाडमा चिउरी पाइन्छ
(Acharya and Sharma, 2014; Dhakal et al., 2006)।

Capture.JPG

 

पारिस्थितिकीय विशेषता

चिउरीको रुख चट्टानयुक्त भीरपाखाहरुमा, नदी किनार संगसंगैका जंगलहरुमा पाईन्छ । प्राकृतिक रुपमै यसको उपलब्धता राम्रै भएकोले व्यवसायिक खेती कम मात्रामा गरिएको पाईन्छ । नेपालको करीव ५० जिल्लाहरुमा फैलिएको यो बिरुवा मध्य तथा पश्चिमी नेपालमा अझ बढि पाईन्छ ।

सन् २०१७ मा ANSAB Nepal जिल्ला वन कार्यालय रोल्पाले गरेको एक अध्ययन अनुसार नेपालको मध्य मश्चिमको ३ वटा जिल्लाहरु प्यूठान, दाङ्ग र सुर्खेतबाट मात्रै बार्षिक रुपमा करीव ६,००० टन चिउरी संकलन गर्न सक्ने अनुमान गरिएको छ । यस्तै रोल्पा जिल्लामा भएको एक अनुसन्धान अनुसार त्यहाँ करिव २६०० टन बीयाँ संकलन गरी करिव ६०० टन तेल वा घिउ उत्पादन गर्न सकिन्छ।


वानस्पतिक विवरण

यो साधारणतयाः १५ देखि २० मिटर सम्म अग्लो हुने र धेरै हाँगाहरु निस्की झ्याम्म पर्ने एक पतझड रुख हो । यसका पातहरु प्रायः हाँगाहरुको टुप्पोमा गुचमुच्च परेको अण्डाकारको तथा अलि बाक्लो खालको हुन्छ । पातको माथिल्लो भाग चिल्लो हुन्छ भने तल्लो भागमा हल्का संकेत झुसहरु हुन्छन् ।

फूलहरु हल्का पहेंलो÷सेतो र हाँगाहरुको टुप्पोमा झुप्पा भएर फुल्दछन् । यसको बीउ अण्डाकार र फिक्का हरियो रंगको करीव २ से.मी. चौडा र ४ से.मी.लम्बाई हुन्छ भने यसको बीयाँ खैरो रंगको, चिल्लो र दुबै छेउ चुच्चो परेको हुन्छ ।

औषधीय भागको विवरण

यसको बीयाँ मा ४२–४७% तेल हुन्छ । यो तेल घ्यू जस्तै जमेको, सेतो र मीठो वास्ना भएको हुन्छ । यसमा पाल्मीटिक एसिड (Palmitic acid) वढि मात्रामा (५६५) पाइन्छ । यसको रसायनिक तत्व  (phytochemical profile) को पहिचान गरेर मात्र खेती गरिने प्रजातीको गुणस्तर यकिन गर्नु पर्दछ । साधारणतयाः यसमा Flavenoides २३५ तथा  terpenes ९२५,  Saponin/
glycosides २०५, हुनु पर्छ (Devkota et al., 2012)।

Capture.JPG
चिउरीको वानस्पकि पहिचान


खेतीको लागि आवश्यक माटो तथा हावापानी

समुद्रि सतहबाट करीव ३०० देखि १५०० मिटर उचाई सम्म उष्ण तथा उपोष्ण हावापानी यसको लागि उपयुक्त भएतापनि ११०० देखि १२०० मिटर सम्मको उचाइमा भएका रुखबाट तेल प्रतिशत राम्रो पाईएको छ । १५०० मिटर भन्दा माथि तथा ८०० मिटर भन्दा तल तेल उत्पादन कम भएको देखिन्छ । यसको खेतीको लागि खुला, पारिलो तर ओसिलो तापक्रम ३०–४०0C सम्मको र वर्षा ८००–१९०० मिमि भएको ठाउँ उपयुक्त हुन्छ । यो जस्तोसुकै माटोमा हुर्कन सक्ने भएतापनि बलौटे, दोमट माटो भएको भीरपाखा, खोला
खोल्सी, खेतबारीको कान्लामा, तथा अन्य बाली लगाउन नसकिने जग्गा (Waste land)|

जग्गा तयारी तथा रोपण

बेर्ना सार्नको लागि सबैभन्दा पहिले २ फिट लम्बाई, २ फिट चौडाई र २ फिट गहिरो खाल्डो खनी हरेक खाल्डोमा १–२ डोका पाकेको मल हाली माटो खुकुलो बनाउनु पर्छ । एक खाल्डोबाट अर्को खाल्डोको दुरी कम्तिमा करीव ७–८ मिटर फरक पर्छ । बिरुवा सिधा पारी रोप्नु पर्छ र रोपि सके पछि पानी दिन भुल्नु हुँदैन । साथै समय समयमा आवश्यकता अनुसार सिंचाई गर्नु पर्छ । १ हेक्टर जमिनमा चिउरीको वृक्षारोपण गर्दा कम्तिमा २०० बेर्ना चाहिन्छ (नेहपा, २०६९) ।

गोडमेल

यस बिरुवाको खासेै हेरचाह गर्नु नपरेतापनि समय समयमा गोडमेल तथा घाँसपातहरु उखेल्ने गर्नाले विरुवाहरु छिटो हुर्कने तथा हाँगाहरु धेरै फैलिन्छ । यसको बोट जति बढि झाँगिएर फैलिन्छ त्यति नै धेरै बीउ उत्पादन हुन्छ । झारपातको अवस्था हेरी विरुवा नसरुन्जेल गोडमेल गरी दिने, छापो दिने गर्नु पर्छ । त्यस पछि खासै गोडमेलको आवश्यकता पर्दैन । तर जनावर, गाई वस्तु आदिबाट वचाउनु जरुरी हुन्छ ।

मलखाद व्यवस्थापन

बेर्ना रोप्न अघि तयार गरेका हरेक खाल्डोमा १—२ डोको पाकेको कम्पोष्ट मल खाल्डाको माटो सित मिलाएर राख्नु पर्दछ । बेर्ना सरिसके पछि एवं प्रतिवर्ष हरेक गोडमेल पछि पनि ५—५ के. जी. पाकेको कम्पोष्ट मल प्रत्येक रुखको फेदमा थप्नु पर्दछ ।

रोग/किराको नियन्त्रण

चिउरी बोटमा प्रायः कुनै पनि रोग तथा किराहरु लागेको देखिदैन । तर कतै कतै यसको पातमा डढुवा रोग लागेको देखिन्छ । सकेसम्म स्वस्थ्य तथा रोग प्रतिरोधात्मक बीउ विजनको प्रयोग गर्ने वा एकिकृत कीट व्यवस्थापन पद्धति (Integrated pest management) प्रकृया अपनाउने । यदि रोग/किरा नाशक विषाधीहरु छर्नै परेमा यसको प्याकेटमा निर्देश गरिए अनुसार विधि
अपनाई आफ्नो ब्यक्तिगत स्वास्थ्यको ख्याल गरी मास्क, पञ्जा आदि लगाएर छर्नु पर्दछ ।

चिउरीको फूल फुलेको अवस्थामा किट नाशक विषादी छरेमा फूलमा रस चुस्न आउने मौरीहरु मारिने संभावना हुन्छ एवं यसका कारणले परागसेचन कार्य गडबड भई बीउ लाग्न नसक्ने पनि हुन सक्छ, साथै चिउरीको मह उत्पादन कार्यमा पनि बाधा आउन सक्छ (नेहपा, २०६९; पुन, २०७४) ।

बाली संकलन

चिउरीमा बिरुवा रोपेको ८ देखि १० वर्षमा फल लाग्न शुरु हुन्छ । चिउरीका दुई उप–प्रजाती छन् । एक उप–प्रजातीेमा वैशाख, जेष्ठमा फल लाग्दछ भने अर्को उप–प्रजातीमा असारतिर मात्र लाग्दछ । चिउरी प्राय जसो नदी किनारमा, भिर पाखामा हुने भएकोले यसको रुख चढेर फल संकलन गर्नु खतरापूर्ण तथा चुनौतीपूर्ण हुन्छ । संकलनकर्ताले एक हातले डोको बोकी अर्को हातले रुख चढी फल संकलन गर्नु पर्ने हुन्छ ।

त्यसैले प्रायजसो रुख चढेर भन्दा आफै पाकेर झरेका फलहरु संकलन गर्ने गरिन्छ । यस्ता बीउहरु गुणस्तरीय हुन्छन् अर्थात तेल बढि उत्पादन हुन्छ । तर ब्यावसायिक खेती गर्दा समय समयमा काटछाँट गरी रुखको उचाइ ठिक्कको चढ्न मिल्ने पारियो, र झाडी सफाई आदि गरेमा फल संकलन सजिलोसँग गर्न सकिन्छ । १० वर्ष भन्दा बढी उमेरका स्वस्थ्य रुखले ७०–१२० के.जी. सम्म फल दिन सक्दछ ।

जंगलबाट संकलन गर्ने बेलामा धेरै कुराको ख्याल गर्नु पर्छ । जंगलबाट संकलन गर्न सर्वप्रथम त सम्बन्धित निकाय अर्थात् स्थानीय निकाय, सामुदायिक वन उपभोक्ता समिति वा वन कार्यालयबाट संकलन स्वीकृति लिनुपर्ने हुन्छ । कहाँबाट संकलन गर्ने हो, प्लट वा ठाउँ छनौट गर्नु पर्छ । साथै संकलन गर्ने समयको पनि ख्याल गर्नु पर्छ ।

प्रायजसो, यसको फल चैत्र देखि असार सम्म पाक्ने हुन्छ । तसर्थ जेठ देखि श्रावण सम्मै यसको फल संकलन गर्न सकिन्छ । साधारणतयाः एउटा परिपक्व रुखले वार्षिक रुपमा सरदर ७० के.जी. देखि २५० के.जी. सम्म फल दिन्छ यसबाट २८ देखि ४५ के.जी. बीयाँ उत्पादन हुन्छ जसको ५० देखि ६० प्रतिशत तेल उत्पादन हुन्छ (नेहपा, २०६९)।

प्रााकृतिक अवस्थामा राष्ट्रिय वनमा रहेका चिउरीको संकलन गर्दा प्रति के.जी. रु ३ का दरले राजस्व तिर्नु पर्ने हुन्छ । चिउरीको फल संकलन गर्नुपूर्व रुखमा मौरी, कीरा आदिको गुँड छ छैन याद गर्नु पर्छ । संकलन कर्ताले सुरक्षा तथा संकलनको पुर्ण तयारीको ब्यवस्था गरेर मात्र रुख चढ्नु पर्छ । जस्तैः सिकेचर, सेफ्टी वेल्ट, डोरी, खुर्पा खुरपेटी, डोको, त्रिपाल आदिको व्यवस्था गरी बाली संकलन गर्नु पर्छ ।

फल संकलन गर्दा सिकेचर प्रयोग गरी बीउको झुप्पा काटेर गर्नु पर्छ । हाँगा काटेर फल संकलन गर्नु हुँदैन। अथवा भूइँमा त्रिपाल ओछ्याएर फल झारेर पनि संकलन गर्न सकिन्छ । फल संकलन गर्दा २५५ बीउ रुखमा नै पुनः उत्पादनको लागि छाडी संकलन गर्नु पर्छ (वनस्पति विभाग, २०७४) ।  मा यसको खेती गर्न सकिन्छ (नेहपा, २०६९) ।

स्रोत: असल खेती तथा संकलन अभ्यास, चिउरी, वनस्पति विभाग थापाथली, काठमाण्डौं, नेपाल|

थप समाचार