बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

सदावहार फलफूल: बगैंचा स्थापना

मंगलबार, असार २६ २०८१
6 views
सदावहार फलफूल: बगैंचा स्थापना

समाचार शेयर गर्नुहोस्

Share this news

सदाबहार फलफूलको बगैँचा स्थापना गर्नको लागि वैशाख–जेठ महिना उपयुक्त मानिन्छ । व्यवसायिक बगैँचा स्थापना गर्दा सुरुदेखी नै सचेत नरहेमा पछि गएर विभिन्न समस्याहरू, जस्तै फल नलाग्ने, कम फल लाग्ने, कमसल फल लाग्ने, आदि देखा पर्न सक्छ । त्यसैले बगैँचा स्थापना गर्नु अगावै विभिन्न
कुरामा ध्यान दिनु जरुरी हुन्छ । जग्गा छनौटः जग्गा छनौट गर्दा त्यस स्थानको हावापानी, माटो, सिँचाइ र पानी निकासलाई विषेश ध्यान दिनु जरुरी हुन्छ ।

हावा पानी

उष्ण प्रदेशीय सदाबहार फलफूल जस्तै आँप, केरा, लिची, मेवा, रूखकटहर, भुइँकटहर, नरिवल, सुपारी आदि समुद्र सतह देखि ८०० लगाउन
सकिन्छ । त्यस्तै उपोष्ण प्रदेशीय सदाबहार फलफूल जस्तै सुन्तला, कागती, निबुवा, जुनार, अनार आदि ६०० मिटर देखि १५०० मिटर सम्म उचाइ भएको स्थानमा सफल भएको पाइएको छ । माटोः सदाबहार फलफूलको बगैँचा स्थापनाको लागि बलौटे दोमट माटो उपयुक्त मानिन्छ । बगैँचाको लागि जग्गा छनौट गर्दा २ मिटर सम्म मट्याइलो, मलिलो र पानी नजम्ने खालको जग्गा छान्नुपर्दछ । माटोको पि.एच. ५.५—६.५ सम्म उपयुक्त हुन्छ । माटोमा पि.एच.को मात्रा कम भएमा बिरुवालाई आवश्यक पर्ने खाद्यतत्व उपलब्ध नहुन सक्छ । त्यस्तै माटोमा पि.एच.को मात्रा बढी भएमा बिरुवालाई आवश्यकता भन्दा बढी खाद्यतत्व उपलब्ध हुन गई बिरुवाको लागि विषालु हुनसक्छ ।

सिँचाइ/ निकास

छनौट गरिएको जग्गा पानीको स्रोत नजिकै भएमा आवश्यक परेको बेला सिँचाइ उपलब्ध गराउन सजिलो हुन्छ । वर्षायाममा पानी जम्ने समस्या हुने हुनाले सम्म परेको जग्गा छनौट गर्नुपर्दछ, नत्रभने निकासको राम्रो प्रबन्ध मिलाउनु पर्नेछ ।

बजार/यतायात

बगैँचा बजारको नजिकै यतायातको व्यवस्था भएको ठाँउमा हुनु जरुरी छ । यसो भएमा आवश्यक परेको बेलामा मलखाद, विषदी, औजार आदि समय मै ल्याउन सकिन्छ र फल ढुवानीमा कम खर्च लाग्नुका साथै क्षति पनि कम हुन आउँछ । बिरुवा रोप्नु अघिको प्रारम्भिक कार्य योजनाः बगैँचामा बिरुवा लगाउनु अगावै त्यस क्षेत्रको योजना बनाउनु पर्दछ । फलफूलका बोटहरू लामो समयसम्म रहिरहने हुनाले क्षेत्रको भौगोलिक अवस्था अनुसार बिरुवाहरू लगाउने स्थान, फार्मघर, बाटो, कुलो आदिको स्थान यकिन गर्नुका साथै भविष्यका गरिने कार्यहरुको लागि पनि छुट्टै स्थान राख्नुपर्दछ ।

जमिन तयारी

योजना बनाएपछि जमिन तयारी सुरु गर्नुपर्दछ । वनबुट्यान, झाडी, जङ्गल सफा गरेर गहिरोसँग खनजोत गर्नु पर्दछ र नमिलेको प्लटलाई सम्याएर प्राङ्गारिक मलको प्रयोग गरी माटोलाई उर्वर बनाउनु पर्दछ ।

बार/पर्खाल

जमिन तयारी पश्चात बगैँचाको संरक्षणको लागि चारैतिर काँडेतार वा ढुङ्गाको पर्खाल वा केतुकी, सिउँडी आदिको बार लगाउनुपर्दछ । बगैँचालाई
हुरीबतासबाट बचाउन अग्ला वायुरोधक रूख जस्तै सिसौ, निम, बकाइनो, उत्तिस आदि बारको नजिक लगाउनु पर्दछ ।

दूरी

फलफूलको बिरुवा लगाउँदा सानो भएतापनि समयसँगै बढ्दै गएर ठूलो हुने हुनाले नजिक लगाएमा पछि एक आपसमा जोडिएर खुला हावा र प्रकाशको अभावमा फुल्ने र फल्ने क्रम रोकिन सक्छ । बोटको जराहरू एक आपसमा प्रतिस्पर्धा गर्न थाल्छन् । त्यसैले फलफूलको किसिम हेरेर एकदेखि अर्को बोटको दूरी राख्नु पर्दछ । आँप, लिचि, रुखकटहर, ओखर जस्ता फलफूलको लागि १०–१२ मिटरको दूरी राखिन्छ । त्यस्तै स्याउ, सुन्तला, आरु, नासपति, अम्बा आदिको लागि ६–७ मिटर र केरा, अङ्गुर, मेवा आदिको लागि २–३ मिटरको दूरी राखिन्छ ।

बगैँचा रेखाङ्कन

व्यवसायिक बगैँचा खेती गर्दा रेखाङ्कन गर्नु आवश्यक हुन्छ । रेखाङ्कन गर्नाले बगैँचा बढी आकर्षक देखिनुका साथै काम गर्न सजिलो र कम खर्चिलो हुन्छ । रेखाङ्कन विभिन्न आकारमा गर्न सकिन्छ, जस्तैः– वर्गाकार, आयातकार, त्रिभुजाकार /षट्कोणाकार आदि । त्यस्तै ओरालो जमिनमा गरा/कान्ला अथवा कन्टुर तरिकाबाट रेखाङ्कन गर्न सकिन्छ । र कम क्षेत्रफलमा बढी बिरुवा अटाउनको लागि क्विनकङ्स तरिका अपनाउन सकिन्छ । निश्चित दूरी मिलाएर रेखाङ्कन गरेपछि बिरुवा लगाउनु एक–डेढ महिना अगावै खाडल खन्ने काम सुरु गरिन्छ । खाडल करिब १ मिटर गहिरो र १ मिटर चौडा हुनु पर्दछ । केरा, मेवा जस्ता छोटो जरा भएका फलफूलका लागि ३० से.मी. को खाडल काफी हुन्छ । खाडल खन्दा माथिको मलिलो र तलको रूखो माटो
छुट्टा–छुट्टै राख्नु पर्दछ । माथिको मलिला माटोमा २ डोको राम्रोसँग सडेको कम्पोष्ट अथवा पाकेको गोबर मल र ५० ग्राम अल्ड्रिनको धूलो राम्रोसँग मिलाई खाडल पुर्नुपर्दछ । खाडल खन्दा र बिरुवा लगाउँदा ‘प्लान्टिङ्ग बोर्ड’ को प्रयोग गरेमा लाइन सीधा हुन्छ ।

बिरुवा रोप्ने कार्य

बिरुवा लगाएको ४–५ वर्षपछि मात्रा फल्न सुरु हुने हुनाले लामो समयपछि मेहनत, समय र पैसा खेर गएको थाहा हुन्छ । त्यसैले बिरुवा लगाउने समयदेखि नै धेरै सावधानी अपनाउनुपर्छ । जात र बिरुवा छनौटः सर्वप्रथम फलफूलको कुन जात लगाउने हो त्यो यकिन गर्नुपर्नेछ । बगैँचा स्थापना गर्न छानिएको जग्गाको हावापानीमा जुन जातले राम्रो उत्पादन दिन्छ त्यहिँ जात छान्नु पर्दछ । सकभर विना जानकारी नयाँ जातसँग परीक्षण गर्नु उचित हुँदैन र यदि गर्न नै इच्छा भएमा ठूलो जग्गामा परीक्षण गर्नुहुँदैन । बिरुवा खरिद गर्दा सरकरी फार्म अथवा भरपर्दो नर्सरीबाट राम्रोसँग जरा आएको स्वस्थ बिरुवा छान्नु पर्दछ । कलमी बिरुवा भए राम्रोसँग जोडिएको र रुटस्टकबाट मुना ननिस्केको हुनुपर्दछ । बिरुवा लगाइसक्दा पनि यस्ता मुना निस्कन सक्ने हुनाले बगैँचा र बिरुवाहरुको बरोबर निरीक्षण गरिरहनु पर्दछ ।

रोप्ने समय

सदाबहार फलफूलका बिरुवा जेठदेखि साउन महिनासम्म लगाउन सकिन्छ । सिँचाइ सुविधा भएको ठाउँमा माघ महिनामा पनि सदाबहार फलफूल
लगाउन सकिन्छ ।

रोप्ने तरिका

बिरुवा रोप्नको लागि साँझको समय उपयुक्त मानिन्छ । रेखाङ्कन गरी तयार गरिएको खाडलमा केहि खोस्रिएर जरा चारैतर्फ फैलने गरी सोझो पारेर बिरुवा रोप्नुपर्दछ । बिरुवा प्लाष्टिक थैलोमा भए प्लाष्टिक हटाएर बिरुवा रोप्नुपर्दछ । बिरुवा सारेपछि चारैतिरबाट माटोले थिचिदिनु पर्दछ । बिरुवा रोप्दा माटोको गोला भएको जरा भाग मात्र पुर्नु पर्दछ, कलमी गरेको भाग पुर्नुहुँदैन । यसरी वैज्ञानिक दृष्टिकोणबाट सदाबहार फलफूलको बगैँचा स्थापना गरिन्छ । तर बिरुवा रोपेपछि सबै काम सकिने होइन, त्यसपछि पनि बगैँचाको धेरै ख्याल राख्नुपर्दछ । समयमा र आवश्यकता अनुसार गोडमेल
गर्ने, मलखाद दिने, सिँचाइ गर्ने, तालिम तथा काँटछाट गर्ने गर्नुपर्दछ । बिरुवालाई हावाहुरीबाट बचाउन किला गाडी डोरीले बाँधिदिनु पर्दछ र माटोमा चिस्यान कायम राख्न छापो लगाउनुपर्दछ । बोटबिरुवा ठूलो हुने बेलासम्म विभिन्न विनाशकारी वस्तुहरू जस्तैः–रोग, कीरा, निमाटोड, मुसा, चरा, बाँदर र अन्य मेरुदण्डधारी प्राणीहरूबाट जोगाई राख्नुपर्दछ ।

स्रोत: सदावहार फलफूल: बगैंचा स्थापना, दैमासिक कृषि, कृषि सुचाना तथा संचार केन्द्र, हरिहरभवन, ललितपुर | 

 

थप समाचार