बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

मौसमी गुणकारी फल : अमला

आइतबार, साउन १३ २०८१
17 views
मौसमी  गुणकारी फल : अमला

समाचार शेयर गर्नुहोस्

Share this news

परिचयः
अमला मझौला खालको पतझर रुख हो । यसका पातहरु एउटै डाँथमा दुवैतिर लहरै मिलेका र मसिना हुन्छन् । यसको बोक्रा खैरो र मस्याईलो हुन्छ । छिप्पिएको रुखमा बोक्राहरु पत्र परेर रहेका हुन्छन । फूलहरुपातको मुन्तिर टम्म मिलेर फुल्दछन् । फूलहरु वासनादार, हरिया तथा पहेलो  रंगका हुन्छन् । यसका फलहरु गुदीदार हुन्छन् ।

फलको आकार गोलो करीब २ से.मी. सम्म व्यास भएको हुन्छ । फलहरु पहिले हरिया र पाकेपछि हल्का पहेंला हुन्छन् । फलमा हल्का ६ वटा रेखाहरु देखिन्छन् । फलको भित्री भागमा वीउहरु पाटै   पाटा भएका कडा आवरणले छोपिएका हुन्छन र एउटा पलमा करीव ६ वट वीउहरु हुन्छन् । आश्विन  महिनादेखि फागुन महिनासम्म फल लागेको भेटिन्छ । आजकल उन्नत जातका अमलाहरुको विकास गरिएको  छ । यी फलहरु जंगली अमला भन्दा ३÷४ गुणा ठूला हुन्छन् ।

प्राकृतिक बासस्थानः
अमला तराई तथा तल्लो पहाडी क्षेत्रमा १५०० मी. सम्मको उचाईमा पाइन्छ । यो घाम मन पराउने विरुवा  हो ।

फूल फुल्ने समयः चैत्र—वैशाख

उपयोगिताः
अमलाको फल त्यसै खाने गरिन्छ । यो स्वादमा अमिलो र केही टर्रो हुन्छ । यसको अचार, तितौरा आदि बनाइन्छ । यसको फलमा ८१ प्रतिशत जलीय तत्व हुन्छ भने ०.५ प्रतिशत प्रोटिन, मिनरल ०.७ प्रतिशत र रेसादार पदार्थको मात्रा ३.४ प्रतिशत हुन्छ । यसमा १४ प्रतिशत कार्वोहाइड्रेट, ०.०५ प्रतिशत क्याल्सियम र ०.०२ प्रतिशत फस्फोरस हुन्छ । साथै यसमा प्रति १०० ग्राम मध्ये फलाम १.२ मिलिग्राम, निकोटिनिक एसिड ०.२ मिलिग्राम र भिटामिन सी ६०० मिलिग्राम पाइन्छ ।

 

सुन्तलाको (त्यति नै मात्राको) रसभन्दा अमलामा २० गुणा बढी भिटामिन सी पाइन्छ । यसको फल भिटामिन सीको मुख्य स्रोत मानिन्छ । यो प्रसिद्ध आयुर्वेदिक औषधी त्रिफलाको एउटा घटक वस्तु हो । त्रिफलाले पेट सफा गर्ने, सुन्निएको कलेजो, ववासिर र पेट सम्बन्धी अन्य सिकायतहरुमा फाईदा गर्दछ । अमलाको फल खाना पचाउने, रक्त अल्पता, कमलपित्तमा पनि उपयोगी मानिन्छ । सुकेका फलहरु आँउ र दिसा पखालामा पनि प्रयोग गर्ने चलन छ । यस बाहेक यसका फलहरु कपाल कालो बनाउने, कालो मसी बनाउने काममा प्रयोग गरिन्छ भने फल तथा बोक्रा छाला प्रशोधन गर्न रंगाउन पनि प्रयोग गरिन्छ ।

संकलन समय र विधिः
व्यापारिक र औषधीय प्रयोजनका लागि फलहरु संकलन गरिने भएता पनि यसको बोक्रा परंपरागत औषधिमा प्रयोग गरिन्छ र अल्प मात्रामा संकलन गरिन्छ । अमलाको बोट लगाएको ७/८ वर्षमा राम्ररी फल लाग्दछ ।  असोज देखि फागुन सम्म फलहरु संकलन गर्ने गरिन्छ । करीव १० वर्ष र त्यस भन्दा बढी उमेरका रुखहरुबाट प्रति बोट वार्षिक ८० के.जी. जति फल संकलन गर्न सकिन्छ ।

प्रसारण विधिः
क) वीउबाटः

प्राय यसको वेर्नाहरु वीउबाटै उत्पादन गर्ने गरिन्छ । ठाउँ हेरी असोज देखि फागुन सम्म यसका फलहरु पाक्दछन् । पाकेका फलहरु हल्का पहेंला हुन्छन् । पाकेका फलहरु टिप्ने वित्तिकै वाहिरको गुदीलाई काटेर फ्याक्नु पर्दछ । त्यस भित्रको कडा आवरण भित्र ४ देखि ६ वटा वीउहरु हुन्छन् ।

घाममासुकाएपछि कडा आवरण आफैं फुटी वीउहरु बाहिर निस्कन्छन् । यसका वीउहरुको उमार शक्ति एक वर्ष रहन्छ तापनि निकाल्ने वित्तिकै उमार्दा बढी संख्यामा उम्रने हुन्छ । फल पाक्ने वित्तिकै वीउ संकलन गरी छरेमा करीब ८/९ महिना सम्म वेर्नाहरु नर्सरीमा राख्न सकिन्छ र असार श्रावण तिर फिल्डमा सार्नु पर्दछ । फागुन—चैत्रमा उमारेका वेर्नाहरु पनि नर्सरीमा राखी असारमा सार्न सकिन्छ ।

ख) बडीङ्बाटः

वीउबाट उत्पादन गरिएको रुखबाट ढीलो फल प्राप्त हुनका साथै साना फल फल्ने हुँदा राम्रो  जातको फल फल्ने रुखबाट वडिङ्द्वारा प्रजनन् गर्न सकिन्छ । सामान्य विरुवाहरुको एक वर्ष पुरानो विरुवामा बडिङ्ग गरेर उच्चस्तरिय फल उमार्न सकिन्छ ।

ग) हाँगाको कलमीबाटः

हाँगाहरु काटेर पनि यसका वेर्ना तयार गर्न सकिन्छ । यसका लागि एक वर्ष पुरानो हाँगाहरु करीब ६ इन्च जति लामा दुवै तिर छड्के पारेर काटेर तयार गरिएको व्याडमा ४५ डिग्रीको कोण बनाएर गाडिन्छ । माघ फागुन महिनामा यसरी काटेर गाडिएका कलमीहरुले दुई महिनापछि जरा दिन्छन् ।

प्रमुख रसायनिक तत्वः

यसको फल भिटामिन ‘सी’ को प्रमुख स्रोतको रुपमा रहेको छ । 

स्रोत : वनस्पती विभाग,थापाथली काठमाडौँ 

सम्बन्धित विषय

थप समाचार