बाली पात्रो
मंगलबार, कात्तिक १८ गते २०८३

क्याक्टस तथा सकुलेण्टहरु

शुक्रबार, साउन २५ २०८१
8 views
क्याक्टस तथा सकुलेण्टहरु

समाचार शेयर गर्नुहोस्

Share this news

क्याक्टसको उत्पत्ति आजभन्दा ६ करोड वर्ष अघि भएको मानिन्छ । क्याक्टस प्रकृतिमा मरुभुमिको बालुवामा, चट्टानहरुमा र साथै रुखमा समेत हुर्केको पाउन सकिन्छ । क्याक्टसका हजारौं प्रजातिहरु पाइन्छ । यिनीहरुको प्रकार यति धेरै छ कि यसको वर्गीकरण समेत अत्यन्त जटिल छ । एउटा समानता चाहि के छ भने यिनीहरु मा एरिओल्स नामक एक किसिमको टुसा हुन्छ जसबाट काँडा र डाँठ उत्पन्न हुन्छ ।

क्याक्टस र सकुलेण्टहरु राम्रोसँग हुर्काउन दक्षिणतर्फ झ्याल भएको र दिनमा कम्तिमा ४ घण्टा सोझै घाम लाग्ने कोठा हुनु पर्दछ । अधिकाँश क्याक्टस
र सकुलेण्टहरुले सुख्खा सहन सक्दछन्। तर क्रिसमस क्याक्टस र ह्यावर्थिया
जस्ता साना सकुलेण्टहरुलाई भने नियमित सिंचाई दिनु पर्दछ ।

मरुभुमिमा हुने क्याक्टस र अगेभ प्रजातिका बिरुवाहरुलाई महिनौं दिनसम्म पानी नहाले पनि फरक पर्दैन । क्याक्टस र सकुलेण्टहरु लगाएको गमलाको सतहमा मसिनो गिटी वा ग्राभेल वा बालुवा राख्दा राम्रो देखिने र बिरुवाको लागि पनि राम्रो हुन्छ । सतहमा मसिनो ढुङ्गा वा ग्राभेल राख्दा विभिन्न रङ्गको राख्न सकेमा आकर्षक
पनि देखिन्छ ।

क्याक्टस र सकुलेण्टहरु न्यानो मन पराउने वनस्पति हुनाले हिउँदमा चिसोबाट जोगाउने प्रबन्ध गर्नु पर्दछ । तापक्रम १६ डिग्रि सेन्टिग्रेटभन्दा तल जाने अवस्थामा
हिटरको व्यवस्था गर्नु पर्ने हुन्छ । यिनीहरु अत्यन्त ढिलो बढ्ने भएको कारण मलखाद पनि निकै कम प्रयोग गर्नु पर्दछ । यसको बृद्धि हुने समयमा नाइट्रोजनको मात्रा कम भएको मलखाद अन्य इन्डोरहरुलाई भन्दा आधा कम मात्रामा प्रयोग गर्नु पर्दछ । क्याक्टस र सकुलेण्ट हुर्काउन असफल हुनुको मूख्य कारण नै हिउँदमा बढी पानी हाल्नु हो। हिउँदमा बिरुवाहरु विश्रामको अवस्थामा हुन्छन्। यस्तोमा पानी बढी
भयो भने जरा कुहिन थाल्दछ ।

जाडो मौसममा सिंचाई गर्दा हजारीले हाल्नुको सट्टा हाते स्प्रेयरको मद्दतले अलि अलि भिजाउनु राम्रो हुन्छ । क्याक्टस र सकुलेण्टहरुलाई गर्मी मौसममा घाम लागेको बेला बढी पानी आवश्यक पर्दछ । यस्तो अवस्थामा सिंचाई गर्दा समेत एकैचोटी धेरै पानी
हाल्नुको सट्टा अलि अलि गरेर पटक पटक हाल्नु राम्रो हुन्छ । क्याक्टस र
सकुलेण्टहरुलाई पानी छिटोनिकास हुने खालको माटो आवश्यक पर्दछ । यसको
लागि पटिङ्ग मिश्रण बनाउँदा बालुवा र मसिनो गिटी (६ मि.मि. साइजको)
मिसाउनु पर्दछ । अझ पाउन सकिन्छ भने बालुवाको साटो पर्लाइट राख्नु राम्रो
हुन्छ ।

क्याक्टस र सकुलेण्टहरुको जरा गुजल्टिन थाल्यो भने वा साइज बढेर गमलाको किनार छुन खोज्यो भने रिपटिङ्ग गर्नु पर्दछ । धेरैजसो क्याक्टस र सकुलेण्टहरु चौडा तर कम गहिराई भएका गमलाहरुमा राम्रो हुन्छ । कतिपय अग्लो जाने बिरुवाहरुको लागि भने गहिरो गमलाको व्यवस्था गर्नु पर्दछ ।

क्याक्टसलाई रिपटिङ्ग गर्दा बाक्लो छाला वा रबरको पञ्जा लगाउनु पर्दछ । सबैभन्दा पहिले नयाँ गमलाको पिँधमा गिटीको एक तह राख्नु पर्दछ । त्यसपछि ५ से.मी. जति पटिङ्ग मिश्रण राख्नु पर्दछ । क्याक्टस रोप्नु भन्दा पहिले पटिङ्ग मिश्रणलाई हल्का भिजाउनु पर्दछ । त्यसपछि क्याक्टसको जरालाई मिलाएर गमलाभित्र सेट गर्ने र हाते स्प्रेयरले क्याक्टसको जरा भिजाउनु पर्दछ ।

त्यसपछि क्याक्टसको जराको डल्ला र गमलाबिचको भागमा मिश्रण भर्नु पर्दछ ।
क्याक्टसको काँडामा माटो लागेको रहेछ भने ब्रुसले सफा गरिदिनु पर्दछ । गमलाको माथिल्लो भागमा रङ्गिन ग्राभेल वा बालुवा राख्नु पर्दछ । गमलालाई केही दिन उज्यालो तर सिधा घाम नलाग्ने ठाउँमा राख्नु पर्दछ । रोपेको १ हप्तापछि मात्र आवश्यकता अनुसार सिंचाई दिनु पर्दछ । धेरैजसो सकुलेण्टहरुमा काँडा नहुने भएकोले क्याक्टसको तुलनामा यसलाई रिपटिङ्ग गर्न सजिलो हुन्छ । तर सकुलेण्टका पातहरु सजिलै भाँचिन सक्ने हुनाले रिपटिङ्ग गर्दा विशेष चनाखो हुनु पर्दछ । धेरै नाजुक किसिमका सकुलेण्टहरुसँग काम गर्नु पर्दा विरुवालाई कपडाले बेरेर काम गर्न सकिन्छ ।

क्याक्टस र सकुलेण्टहरुलाई कटिङ्ग विधिबाट सजिलै प्रसारण गर्न सकिन्छ । कटिङ्गहरुले करिब २१ डि.से. तापक्रमा जरा दिन थाल्दछन्। कटिङ्ग राख्ने सबैभन्दा उपयुक्त समय भनेको यिनीको सकृय बृद्धिको समयमा हो। वसन्त ऋतुको अन्ततिर कटिङ्ग राख्दा सफलताको दर राम्रो हुन्छ । रुटिङ्ग मिडिया बनाउँदा माटोको प्रयोग नगरिकन १ भाग बालुवा र १ भाग पर्लाइट मिसाउनु राम्रो हुन्छ ।

धेरैजसो क्याक्टसहरुमा माउबोटको फेदबाट साना अफसेटहरुको विकास हुन्छ । त्यसलाई धरिलो चक्कुले काटेर निकाल्नु पर्दछ र दुईचार दिनको लागि काटिएको भागमा क्यालस बन्न दिनु पर्दछ । त्यसपछि सानो गमलामा रुटिङ मिडिया राखेर अफसेट रोपेर त्यसलाई छायादार ठाउँमा राख्नु पर्द ।

बेलाबेलामा रुटिङ्ग मिडियामा पानी हालेर चिसो बनाइराख्नु पर्दछ । करिब एक महिनामा अफसेटले जरा हाल्दछ । जरा राम्ररी विकास भएपछि अर्को गमलामा सार्नु पर्दछ । सकुलेण्टहरुको प्रसारण अपेक्षाकृत सजिलो छ । माउबोटको वरिपरि अफसेट वा बच्चा देखापर्दछ । त्यसलाई माउबोटबाट छुट्याएर सारेमा सजिलै जरा हाल्दछ । कटिङ्ग राख्ने उपयुक्त समय वसन्त ऋतुको अन्त वा गृष्म ऋतुको शुरुवात हो। अफसेटलाई माउबोटबाट काटेर निकालेपछि घाउ पुरिनको लागि कम्तीमा एकदिन राखेर मात्र रोप्नु पर्दछ ।

Source : 

सम्बन्धित विषय

थप समाचार